Menu

जङ्गली मासुको मूल्य

सिक्किमको एउटा हरियो र राम्रो गाउँमा अनुम आङ्गा नामका एकजना मानिस बस्थे। उनी आफ्नो शिकार कौशलका लागि चिनिन्थे। उनलाई शिकार गर्न पाउँदा निकै गर्व लाग्थ्यो। तर उनकी श्रीमती अनोम छेकितलाई भने घर चलाउन निकै गाह्रो परिरहेको थियो।

"खेतमा मकै पाकेर काट्ने बेला भइक्यो। मकै काटेपछि खेतलाई फेरि जोत्नु र खन्नु पर्नेछ। तर तिम्रो आप्पालाई खेतबारीको कुनै मतलब नै छैन, "अनोम छेकितले भान्साघरमा खाना पकाउँदै र आफ्नो कान्छो बच्चालाई काखमा खेलाउँदै दुःख पोखिन्। "उनी कस्ता घरमूली हुन् हँ?! दिनभरि शिकार गर्ने र माछा मार्ने कुरामा मात्र उनको ध्यान जान्छ। म एक्लैले कहिलेसम्म यो सबै कामको बोझ उठाउने?" भान्साघरको अर्कोतिर, उनका तीनजना छोराछोरी सानो आगोको वरिपरि बसेर आमालाई हेरिरहेका थिए। आमाले आफ्नो कचकच जारी राख्दै थपिन्, "तिम्रो आप्पालाई जङ्गलमा शिकार गर्न र नदीमा माछा मार्न मात्र आउँछ। थाहा छैन उनलाई यी बेकारका काम कसले सिकायो! खेतमा काम गर्नुपर्दा त उनलाई श्राप परे जस्तै हुन्छ रे। हे भगवान, मैले उनलाई आफ्नो खेतबारी हेरचाह गर्न कहिलेसम्म सम्झाइरहनु पर्ने हो?"

नोरदेन सम्बोमु लेप्चा

त्यत्तिकैमा अनुम आङ्गा जङ्गलबाट घर फर्किए। उनको काँधमा एउटा पुरानो बन्दुक झुण्डिएको थियो भने हातमा एउटा शिकार गरेको स्याल थियो। उनको शरीरभरि जङ्गलका पातपतिङ्गर टाँसिएका थिए। जुकाले टोकेका घाउहरूबाट अझै रगत बगिरहेको थियो। उनका लुगाहरू हिलोले लतपतिएका थिए; हेर्दा लाग्थ्यो, उनी पानी परेको बेला जङ्गलको बाटोमा धेरै पटक चिप्लिएका थिए। उनले झण्डै एक हप्तादेखि पेटभरि खाना खान पाएका थिएनन्। त्यसैले घर पुग्ने बित्तिकै उनले घर लथालिङ्ग भएको र श्रीमती दुःखी भएकी कुरालाई कुनै वास्ता गरेनन्। भोकले गर्दा उनका आँखाहरू राता भएका थिए। उनले भान्साघरमा भएको बासी भात र खुर्सानीको अचार हतार-हतार खान थाले।

जब श्रीमती अनोम छेकितले उनको हातमा स्याल देखिन्, तब उनको रिस ओइलायो र आँखा खुसीले चम्किए। अब घरमा मासु खान पाइने भयो भन्ने सोचेर उनी ढुक्क भइन्। उनले फुरुङ्ग हुँदै भनिन्, "यस्तो झरीबादल र बर्खाको समयमा पनि तिमीले घरमा मासु लिएर आयौ!"

उनले आफ्नो श्रीमानको मगमा चिया खन्याउँदै भनिन्, "म त साह्रै डराएकी थिएँ, वनदेवताले तिमीलाई लग्यो कि भनेर। हिजो हाम्रा छिमेकी छोडाले अलिकति ची ल्याइदिएका थिए र पो, नत्र त मेरो सातो गइसकेको थियो। त्यसले गर्दा मन अलि ढुक्क भयो।"

उनले निकै आश गर्दै अगाडि सोधिन्, "अनि, तिमीले अलिकति पनि दोर्बी भेटेनौ? पुरङ्गदुङ वा पुरम्याकहरू पनि पाएनौ? अहिले त यसको बेला हो नि त।, जताततै टन्नै पाउनुपर्ने त?"

मुखभरि गाँस हालेर अनुम आङ्गाले उनलाई आँखा तरेर हेरे। "म यहाँ ज्यान फालेर, दुःख गरेर मासु लिएर आउँदैछु, तिमीलाई चाहिँ अझै सागसब्जी नै चाहिने? पख, अर्को पालि त तिमीलाई जङ्गली सागसब्जी मात्रै ल्याइदिन्छु!"

रिसको झोकमा उनले खानाको थाल पर सारिदिए। अनोमले काखको नानीलाई फकाउँदै लामो सास तानिन्, "तर मकैबारीको के गर्ने नि त? बेलैमा मकै भाँचेर भित्र्याएनौ भने त सबै कुहिएर सोत्तर हुन्छ।" तर अनुम आङ्गा भने बाटोको हिँडाइले निकै थाकेका हुनाले, उनको कचकचलाई वास्तै नदिई सुत्न गए।

एकछिन ढल्केर ब्युँझिएपछि, उनले स्यालको मासु आफै पकाए र परिवार सबैसँग बाँडेर खाए। मासु खाँदा उनको अनुहारमा एउटा छुट्टै खुसी र घमण्ड देखिन्थ्यो।  "हाहा!  वनदेवताले मलाई यो राम्रो बन्दुक दिएर ठूलो वरदान दिनुभएको छ," उनले घमण्ड गर्दै भने, "म साँच्चै भन्दैछु अनोम, अब त म बाट कुनै पनि जनावर उम्केर भाग्नै सक्दैन!"

भोलिपल्ट बिहान, अनुम आङ्गाले बिहानको खाजा खाए। उनले आफ्नो झोला र माछा मार्ने जालसँगै एउटा डोको भिरे, अनि रुङ्ग्लोङ नदीतिर लागे। निस्कने बेलामा उनले अनोमलाई गिज्याउँदै भने, "तिमीहरू जस्ता बुहारीहरूलाई घरमा केही काम नै हुँदैन। खेतको काम गर्न अरू कसैलाई खोज, अनि काम सिध्याऊ!!"

उनका यी कडा शब्दले अनोमको मन निकै रोयो। उनले आफ्नो पुराना दिनहरू सम्झिन थालिन, यदि उनले आमाबुबाले रोजिदिएको केटासँग विवाह गरेको भए उनको जिन्दगी आज कस्तो हुन्थ्यो होला? अनुम आङ्गासँग भागेर विवाह गर्नुको साटो त्यही केटासँग विवाह गरेको भए धेरै राम्रो हुने थियो भन्ने उनलाई लाग्यो। अगेनोमा आगो बाल्दै उनले सोचिन्, "मेरी कान्छी बहिनी, जसले पछि उनीसँग विवाह गरिन्, म उनीजति शिक्षित पनि छैनँ। आज उनी सुख र आरामको जीवन बिताइरहेकी छिन्। मेरा लागि त सुख र सम्पत्ति एकादेशको कथा जस्तै भयो।" लामो सास फेर्दै उनले आफ्नो भाग्यलाई चित्त बुझाइन्।

उनी यसरी आफ्नै सोचाइमा हराइरहेकै बेला छिमेकी रेघो आन्यु रेमित पाकेका नास्पातीको झोला बोकेर आइपुगिन्। उनको आवाजले अनोम झसङ्ग भइन्। आन्युले बाहिरैबाट हर्षित हुँदै कराइन्, "अँ क्युङ्ग मित सोङ! तिमी उठ्यौ? अब उठ्ने बेला भयो, तिम्रो मकैबारी त काट्ने बेला भइसकेछ नि!"

अनोम उनलाई भेट्न कोठाबाट बाहिर निस्किन् र भनिन्, "अहो आन्यु! यहाँ कसरी आइपुग्यौ? यी नास्पातीहरू नल्याएको भए पनि हुन्थ्यो नि!" नास्पातीको झोला लिँदै उनले आन्युलाई भित्र बोलाइन् र भनिन्, "हाम्रो घर त अलि लथालिङ्ग नै छ, अन्यथा नलिनू है। ल यो भर्खरै उमालेको तातो चिया खाऊ। हामीसँग ची पनि छ। तिमी एकछिन बस्दै गर, म तिम्रा लागि केही खाजा पकाइहाल्छु।"

आन्यु रेमितले आफ्नो टाउकोको रुमाल खोलिन् र ची पिइन्। उनले भनिन्, "यो ची त निकै कडा र  अमिलो-तीतो रहेछ! अनि अनोम, मेरो लागि के खाजा पकाउँदैछौ?" अनोमले मसाला हालेर कराइमा मासु भुटिरहेको बास्ना सुँघ्दै उनले सोधिन्। अचानक उनले त्यो बास्ना चिनिन् र खुसी हुँदै भनिन्, "ओहो, यो त स्यालको मासु पो हो त! यस्तो झरीबादलको समयमा पनि मासु खान पाउनु? तिमी त निकै भाग्यमानी रहेछौ, कस्तो राम्रो शिकारी श्रीमान् पाएकी!"

अनोमले जवाफ दिइन्, "हो नि, डोमाका आप्पाले हिजो मात्र जङ्गलबाट ल्याउनुभएको हो। उहाँलाई घरको कामकाज त बोझ जस्तै लाग्छ, तर जङ्गलमा शिकार गर्ने र नदीमा माछा मार्ने काममा भने उहाँ निकै सिपालु हुनुहुन्छ!"

त्यत्तिकैमा जेठो छोरा हातमा एउटा पोगोरिप बोकेर आयो र आमालाई दिँदै खुसी भएर भन्यो, "आमा! आज बुबाले टन्नै माछा मारेर ल्याउनुहुन्छ होला, म त निकै उत्साहित छु!"

आन्युले चिया पिउँदै भनिन्, "अहो! हो र? लौ राम्रो भएछ।"

नोरदेन सम्बोमु लेप्चा

तर अचानक आन्यु रेमितको अनुहार अलि चिन्तित देखियो। उनले भनिन्, "अनोम, आज मैले एउटा नराम्रो सपना देखेँ। सपनामा कुकुरहरू रोइरहेका थिए र हाम्रा गाईहरू भाग्दै थिए! आज बिहान उठ्दा छोराछोरीले गाईहरूलाई खोरमै बाँधिएको त भेटे, तर पनि त्यो सपनाले मेरो मनमा कस्तो कस्तो डर पैदा गरिरहेको छ।"

यो सुनेपछि अनोमले पनि आफ्नो सपना सुनाउँदै भनिन्, "मैले पनि आज त्यस्तै नराम्रो सपना देखेकी थिएँ! म उठ्दा हाम्री छोरी निद्रामै रोइरहेकी थिइन्। उनलाई फकाउन मलाई निकै गाह्रो पर्‍यो। त्यसपछि अनुमले, “म नदीबाट माछा लिएर चाँडै फर्कनेछु ल,” भन्दै उनलाई फकाउनुभयो। अहिले उहाँ नदीतिरै जानुभएको छ।”

उनीहरू दुवैजना आ-आफ्नो मनको डर लुकाउँदै चुपचाप ची पिउन थाले। यी नराम्रा सपनाहरू साँचो नहोस, मनको डर मात्र होस, भनेर उनीहरूले मनमनै सोचिरहेका थिए।"

आन्युले आफ्ना प्लेट र गिलासहरू भुइँमा राखिन् र भनिन्, "अनोम, म अब घरतिर लाग्छु। डोमाका आप्पालाई भेटेर हाम्रो घरको वरिपरि बार लगाउने कुरा गर्नुछ। सायद अर्को पटक भेट्दा उहाँसँग यो कुरा गरौँला।" उनले काँध हल्लाउँदै भनिन्।

अनोमले रुमालमा केही अम्बक बाँधिदिँदै जवाफ फर्काइन्, "हो नि, उहाँ बार लगाउने काममा निकै सिपालु हुनुहुन्छ। यो अम्बक तिम्रा छोराछोरीका लागि लैजाऊ।" उनीहरूले  मुस्कुराएर एकअर्कालाई बिदा गरे र आन्यु अम्बक बोकेर आफ्नो बाटो लागिन्। 

यसैबीच, रुङ्ग्लोङ नदीको किनारमा अनुम आङ्गा आफ्ना साथीहरू आछिङ र आङ्गोकसँग एउटा ठूलो ढुङ्गामा आराम गरिरहेका थिए। दिनभरि मारेका ताजा माछाहरूले उनीहरूका डोकोहरू टन्न भरिएका थिए र तिनीहरू निकै खुसी देखिन्थे।

चुपचाप बसेका अनुम आङ्गाले अचानक भने,  "साथीहरू, हिँड अझै केही माछा मारौँ। हामीसँग अझै समय छ। हिजो राती मैले सपनामा हामीले धेरै माछा पारेको देखेको थिएँ!"

उनीहरू सबै राजी भए र नदीको छेवैमा रहेको एउटा पोखरीतिर लागे। तिनीहरू नदी देखिने एउटा ठूलो ढुङ्गामाथि बसे। अनुमले पानीको चाललाई राम्रोसँग हेरे र आफ्ना साथीहरूलाई भने,"लौ हेर! त्यहाँ त निकै धेरै माछाहरू छन्। हाम्रा सामानहरू तयार पारौँ।"

उनीहरूले अलिकति पनि समय खेर फालेनन्।

आछिङ हतार-हतार तुकन्याल लिन दौडिए। यसैबीच, आङ्गोकले ती पातहरूलाई ढुङ्गामा पिसेर लेदो बनाए र अनुमलाई दिए। अनुम तुरुन्तै पोखरीको अर्को छेउमा गएर बसे र निकै छिटो-छिटो माछाहरू समात्न थाले। हेर्दाहेर्दै, केही बेरमै तीनैजनाले निकै धेरै माछा जम्मा पारिसकेका थिए।

त्यसपछि अनुम आङ्गाले पोखरीको कुनामा एउटा विशाल माछा ढुङ्गाको कापमा अड्किएको देखे। लोभले अन्धो भएर, उनी त्यो माछा निकाल्नका लागि पानीभित्र पसे। त्यही समयमा, डाँडामाथि रहेका उनका साथीहरू एउटा सानो ढुङ्गाको भरमा बसेको ठूलो चट्टानमाथि ती जङ्गली पातहरू कुटिरहेका थिए।

दुर्भाग्यवश, त्यो सानो ढुङ्गा आफ्नो ठाउँबाट चिप्लियो र त्यो विशाल चट्टान सिधै पोखरीमा खस्यो। आङ्गोक र आछिङले कोही जोडले कराएको आवाज सुने।

"ऐय्या आआआ!"

ती दुवैजना तर्सिए र अनुमलाई खोज्न हतार-हतार तलतिर दौडिए। तिनीहरूले कराउँदै सोधे, "डोमाका आप्पा, तिमी कहाँ छौ?" अनुम आङ्गाको त्यो चिच्याएको आवाज निकै टाढा गाउँसम्म सुनिएको थियो, तर उनी कतै पनि फेला परेनन्। पोखरीको पानी रगतले रातो भयो र चारैतिर कतै केही आवाज नआउने गरी सुनसान छायो। 

लोभ र लापरवाहीले जङ्गल जस्तो उदार ठाउँमा पनि निकै नराम्रो परिणाम निम्त्याउँछ भन्ने यो घटनाले प्रष्ट पारिदियो । 

त्यस दिन गाउँलेहरूले जीवनमा 'सन्तुलन' को महत्त्व के हो, जङ्गली मासुको वास्तविक मूल्य के रहेछ र जङ्गली जनावरहरूको शिकार गर्दा कस्तो गम्भीर असर पर्छ भन्ने कुरा राम्ररी बुझे। अनुम आङ्गाको यो दुःखद अन्त्यले सबैलाई एउटा ठूलो पाठ सिकायो कि हामीलाई जति आवश्यक छ त्यति मात्र जङ्गलबाट लिनुपर्छ र आफ्ना खेतबारीको हेरचाह गर्दै प्रकृतिसँग मिलेर बस्नुपर्छ। 

लेखक: नोर्डेन साम्बोमु लेप्चा
विशाल मङ्गरले नेपालीमा अनुवाद गरेका हुन्

अनुवादक: लुङ्मिङ लेप्चा

पहिलो सम्पादन: It's Wild Out Here द्वारा

शब्दार्थ:
1. डोमा आप्पा- डोमाका बुबा।
2. तुकन्याल- तितेपाती।
3. पोगोरिप- स्थानीय भाषामा यसलाई 'टोटोलाको फूल' भनिन्छ।
4. ची- स्थानीय रूपमा घरमै बनाइने एक प्रकारको जाँड।
5. दोर्बी- लेप्चा भाषामा च्याउ।
6. पुरङ्गदुङ- लेप्चा भाषामा बाँसको तामाको एक प्रकार।
7. पुरम्याक- लेप्चा भाषामा बाँसको तामाको एक प्रकार।
8. अँ क्युङ्ग मित सोङ!- "ए छिमेकीहरू हो!"

Translated by: बिशाल मंगर
About the Author

नोरदेन सम्बोमु लेप्चा सिक्किमका एक लेखक हुन्, जसले लेप्चा भाषामा लेख्छन्। उनी विशेष गरी आफ्नो कथा 'पुन्जोक मुन अफार'- जसको अर्थ 'जङ्गली मासुको मूल्य' का लागि परिचित छन्। यो कथा कक्षा ९ र १० का लेप्चा भाषाका पाठ्यपुस्तकहरूमा समावेश गरिएको छ।

अनुवादकको बारेमा: लुङम्यिङ लेप्चा सिक्किमको गान्तोककी एक युवा लेखिका तथा दृश्य कथाकार हुन्। आफ्नो लेप्चा सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएकी हुनाले उनका कविता र सिर्जनात्मक गैरआख्यानहरूमा मिथक, लोककथा, मौखिक परम्परा तथा दैनिक सांस्कृतिक अभ्यासहरू अभिव्यक्त हुन्छन्। शब्द र दृश्यका माध्यमबाट आफ्नो समुदायका कथाहरूको संरक्षण गर्दै तिनलाई व्यापक पाठकवर्गसम्म पुर्‍याउने उनको चाहना छ। साथै,उनको उद्देश्य विभिन्न संस्कृतिका मानिसहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने कथाहरू सिर्जना गर्नु पनि हो।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram