Menu

वस्तुहरूको जीवन: गान्तोकमा सामानहरू र स्मृति

परिचय: पुनर्निर्माण हुँदै गरेको सहर

बाबाले हामीलाई हिँड्दा माथि हेर्न लगाउनु हुन्थ्यो, जबकि आमाले हामीलाई बेलाबेलामा आफ्नो खुट्टातिर हेर्ने सल्लाह दिनुहुन्थ्यो ताकि हामी एक पाइला पनि नछुटोस्। गान्तोकमा हुर्किँदा, मेरा लागि माथितिर हेर्नुको अर्थ टिभी टावरतिर हेर्नु हुन्थ्यो, त्यसलाई हेर्नु र कहिलेकाहीँ त्यसको आरपार हेर्नुसमेत हुन्थ्यो। जब म छ माइलमा बस्थेँ, सहरतिर अघि बढ्दै जाँदा टिभी टावर झन् ठूलो हुँदै गएझैँ देखिन्थ्यो। पछि म ठुली हुँदै गएँ र विकास क्षेत्रमा बसाइँ सरेँ। त्यसपछि यसले सामान्यतः मानिने उक्त नियमलाई अस्वीकार गरिदियो—हामी साना हुँदा ठुलो देखिने वस्तु हामी हुर्किंदै जाँदा सानो देखिन थाल्छ। गान्तोकभित्र मेरो आवागमन र बसाइँसराइले रूपकात्मक र भौतिक दुवै रूपमा मेरा आमाबाबुको वर्गीय गतिशीलतालाई प्रतिबिम्बित गर्‍यो, जसले यस्तो परिवर्तन सम्भव बनाएको थियो—हामी पाहाडको फेदी नजिकबाट कतै माथिल्लो भागतिर सरेका थियौँ। टिभी टावर भने आफ्नो आकार र भव्यतामा यथावत् रह्यो। कुनै समय गान्तोकको क्षितिजको पर्यायवाची र छिमेकी पाहाडहरूबाट देखिने टिभी टावर, २०२४ मा भत्काउनु अघि ३१ वर्षसम्म उभिएको थियो। गान्तोकको मेरो प्रारम्भिक सम्झनाहरू यसको छविले भरिएका छन्। यो अब अवस्थित छैन, तर यो जीवित छ।

तस्वीर: वर्षौँका अन्तराल विलुप्त बनेको टिभीटावर (जुन २०२४, सेप्टेम्बर २०२४, मार्च २०२५)
श्रेय: आकृति थटल

अहिले म प्रश्न गर्छु—कुन कुराले एउटा सहरलाई परिचित बनाउँछ? म आफूलाई कहाँको भएको महसुस गर्छु? निरन्तर परिवर्तन भइरहने सहरसँग म कसरी सम्बन्ध स्थापित गर्छु?

यी प्रश्नहरू ठुला छन् र आफैँमा असङ्ख्य संसारहरू गठन गर्छन्, तर तिनीहरू सहरको व्यक्तिको अनुभवबाट उत्पन्न हुन्छन्। मेरा लागि, त्यो अनुभव त्यस्तो भएको छ जुन चिन्न अघि नै परिवर्तन हुन्छ, सच्याउनु अघि नै ध्वस्त हुन्छ, र समायोजन हुनु अघि नै उत्परिवर्तन हुन्छ ।

गान्तोक र स्मार्ट सिटीको प्रतिज्ञा

२०१५ मा, भारत सरकारले राष्ट्रिय स्मार्ट सिटिज मिसन (एससिएम) सुरु गर्‍यो। धेरै चरणका प्रस्तावहरू पछि, देशभर १०० सहरहरू छनोट गरियो, जसमध्ये गान्तोक पनि एउटा थियो। शहरी विकास मन्त्रालयले "स्मार्ट सिटी" को कुनै स्पष्ट परिभाषा प्रस्तुत गरेको छैन। तथापि, स्मार्ट सिटी जनताका आवश्यकतामा आधारित हुनुपर्ने मानिन्छ। स्मार्ट सिटीको परिकल्पना गर्दा सेवाहरू तथा पूर्वाधारमा परिवर्तनको कल्पना गरिन्छ, जुन नागरिकका आकाङ्क्षासँग सम्बन्धित हुन्छन्  (अप्पादुराई, २००४)। यद्यपि, आकांक्षाहरू कहिल्यै तटस्थ हुँदैनन्; तिनीहरू सामाजिक र सांस्कृतिक सन्दर्भद्वारा आकार लिने हुन्छन्, र सिक्किमको सन्दर्भमा भने राज्यले पर्यटनको प्रवर्द्धन तथा सिक्किमेली संस्कृतिको वरिपरि निर्माण गरेका विशेष आख्यानहरूले पनि यी आकाङ्क्षाहरूलाई प्रभावित गर्छन्।

गान्तोक एससिएमले धेरै परियोजनाहरू कार्यान्वयन गर्‍यो: १४ तले वेस्ट पोइन्ट टावर, यसको सपिङ कम्प्लेक्स, होटल र पार्किङ स्थल सहित; लाल बजारको रेट्रोफिटिङ; रिज पार्क र त्सुक्लाखाङ प्यालेस परिसरमा मा गरिएको काम, साथै पैदलमार्ग, सडक तथा जङ्सनहरूको सुधार समावेश छन्। यीमध्ये कुनै पनि कुरा कार्यान्वयनको असफलताको सङ्केत होइन; तथापि, सहरको विकासलाई समग्र रूपमा हेर्ने दृष्टिकोणको अभाव देखिन्छ।

यस निबन्धका लागि म पूर्वाधार भन्नाले मानिसहरूले कुनै स्थानलाई कसरी अनुभव गर्छन् भन्ने कुरालाई प्रभावित गर्ने स्थानका अवयवहरूलाई बुझ्दछु (डोरिश र बेल, २००७) अर्थात् भौतिक र अभौतिक, मानव र गैर-मानवबीच निरन्तर परिवर्तन भइरहने सीमाहरू। पूर्वाधारले सार्वजनिक र निजी तथा राज्य र गैर-राज्यबीचको विभाजनलाई प्रभावित गर्ने शक्ति–सम्बन्धहरूलाई पनि उजागर गर्छ। यसबाहेक, यी पूर्वाधारहरूको निर्माणको जाँच गर्नुपर्छ: स्रोतहरू कहाँबाट लिइन्छ, र यी स्रोतहरू कसलाई वितरण गरिन्छ? गान्तोकको सहरीकरणको योजनामा सार्वजनिक सहभागिताले कस्तो भूमिका खेलेको छ? सहरको आफ्नै जीवन हुन्छ, तर त्यो जीवन त्यो ठाउँमा बस्ने मानिसहरूद्वारा भरिएको हुन्छ, र हामीले त्यस सहरसँग सम्बन्धित भनेर कल्पना गर्ने जीवन पनि वास्तवमा सहरसँग हाम्रो सम्बन्ध नै हो।

वर्तमानका लागि बनाइएको परिदृश्य पछि समस्याग्रस्त हुन सक्छ - जब श्रम र पूँजीका आवश्यकताहरू परिवर्तन हुन्छन् (हार्वे, १९८५)। दुर्भाग्यवश, गान्तोकका लागि स्मार्ट सिटी मिसनले यो मोड लिएको छ। “सार्वजनिक” भन्ने अवधारणाकै अर्थमाथि प्रश्न उठिरहेको अवस्थामा यसले सुरक्षित सार्वजनिक भविष्यको प्रतिज्ञा गर्छ। सार्वजनिक स्थानहरूको बढ्दो निजीकरणको बारेमा हेबरमासको (१९९१) भविष्यवाणी यहाँ लागु हुन्छ: कम सार्वजनिक हुने ठाउँ पनि कम लोकतान्त्रिक हुन्छ।

लाइभ्स अफ थिङ्स वक: सामान्यतःउपेक्षित कुराहरूलाई हेर्दै

गान्तोकको लोकप्रिय छविले गुम्बा, दृश्य स्थल, बजार आदि जस्ता स्थलचिह्नहरूको सम्झना दिन्छ। तर यसको दैनिक जीवनको धेरैजसो भाग शान्त, घनिष्ठ सङ्केतहरू मार्फत प्रकट हुन्छ। १८ अप्रिल २०२६ मा, विश्व सम्पदा दिवसका लागि, मैले सहपेडिया र गान्तोकका सहर-क्युरेटर, अभिव्यञ्जना रुबी ठटालसँग सहकार्यमा एउटा पैदल यात्रालाई संरचित तथा नेतृत्व गरेँ। यो यात्रा ‘सम्पदा’ भन्ने अवधारणाको सचेत आलोचनामा आधारित थियो र यसले ध्यानलाई मूर्तबाट अमूर्ततर्फ स्थानान्तरण गरेको थियो। गान्तोक र बाहिरका छत्तीस सहभागीहरू सहरका विभिन्न बिन्दुहरू हुँदै गए, साइनबोर्डहरू, बोटबिरुवाहरू, मार्गहरू, र एमजी मार्गमा पान्डाको मूर्ति जस्ता स्पष्ट संरचनाहरू जस्ता वस्तुहरू अवलोकन गरे, प्रायः बेवास्ता गरिएका विवरणहरू अवलोकन गर्न रोकिए । साझा सहरी स्थानहरूमा भइरहने सूक्ष्म परिवर्तनहरूले मानिसहरूले गान्तोकसँग निरन्तर कसरी सम्बन्ध स्थापित, वार्ता र पुनर्निर्माण गरिरहेका छन् भन्ने देखाउँछन्। सहभागीहरूले यी भौतिक तथा संवेदी अंशहरूका माध्यमबाट गान्तोकलाई अनुभव गरे। यस प्रक्रियाले गान्तोकलाई निरन्तर विकसित भइरहने एउटा जीवित अभिलेखका रूपमा कल्पना गर्ने नयाँ सम्भावनाहरू खोल्यो। यस्तो अभिलेख मानिसहरूका जीवित अनुभवहरूद्वारा निर्मित हुन्छ, जसलाई दैनिक जीवनका वस्तुहरूको उपस्थिति, अनुपस्थिति र सबैभन्दा महत्त्वपूर्ण रूपमा तिनसँग जोडिएका स्मृतिहरूले आकार दिन्छन्।

अन्वेषणात्मक पदयात्राको रूपमा संरचित, अनिर्णीत छलफल पछि, यो अनुभवले निम्न बुँदाहरूलाई जन्म दियो:

  1. सार्वजनिक स्थान र दैनिक जीवनका वार्ताहरू

पैदल यात्रा लाल बजारको डेन्जोङ सिनेमा हलबाट सुरु भयो। छोटो छलफल पछि, हामी एमजी मार्ग तर्फ जाने ठाडो लाइन उक्लियौँ, पुरानो र नयाँ खण्डहरू पार गर्दै, अस्पताल डाँडामा पुग्यौँ, र विकास क्षेत्रमा समाप्त भयो । गान्तोकको सार्वजनिक स्थानहरूको अवशेषहरू पत्ता लगाउने प्रयासको रूपमा यी क्षेत्रहरू जानाजानी छनौट गरिएको थियो।

छवि: प्रस्तावित मार्गको गुगल म्याप्सको स्क्रिनसट
स्थानहरू देखाइएको नक्साको लिङ्क

धेरै सहभागीहरूले यस मार्गलाई सामान्य दैनिक बाटोका रूपमा पहिचान गरे—मनोरञ्जन तथा फुर्सदका लागि सहरतिर जान वा काममा आउजाउ गर्न उनीहरूले प्रयोग गर्ने बाटोका रूपमा। केही सहभागीहरूले यसलाई सहरको अझ बढी “व्यावसायिक” चित्रण भएको भन्दै असहमति जनाए। उनीहरूका अनुसार उनीहरूले आफूहरूले वास्तविक रूपमा स्थानसँग सम्बन्ध स्थापित गर्ने छोटा बाटा वा “चोर बाटो” रोज्न बढी रुचाउँथे। यी छोटा बाटाहरूमाथि दिइएको ध्यान आकस्मिक थिएन। यसले मानिसहरू दैनिक रूपमा आवतजावत गर्ने स्थानहरूबाट वास्तवमा के चाहन्छन् भन्ने कुरातर्फ सङ्केत गर्छ। यसले सामाजिक अन्तर्क्रियालाई तथा यी स्थानहरूले मानिसहरूलाई केवल पार भएर जान बाध्य पार्नुको सट्टा कसरी आफूतिर आकर्षित गर्छन् भन्ने कुरालाई केन्द्रमा राख्छ (सिमोन, २००४)।

यसका अतिरिक्त, धेरै सहभागीहरूले यो मार्ग प्रयोग गर्न कुनै प्रवेश शुल्क नलाग्ने कुरा उल्लेख गरे। पुरानो एसटिएनएम नजिकैको वेलनेस पार्क वा रिज पार्कका केही भागमा प्रवेशका लागि शुल्क लाग्छ। विकास क्षेत्रको सङ्ग्राम हल नजिक रहेको पहिले सबैका लागि खुला तर अहिले असुरक्षित बनेको पार्किङ स्थलको पनि बारम्बार चर्चा भयो। सहभागीहरूले त्यस स्थानलाई सूर्यास्त हेर्न सकिने ठाउँका रूपमा सम्झिए र पैदल हिँडाइ, दौड वा लामो दिनको थकानबिचको केही समय विश्राम गर्ने स्थानका रूपमा त्यसको महत्त्व बताए।

लगभग आधा सहभागीहरू सिक्किममा पहिलो पटक आएका थिए , र सम्पदा हटस्पटहरूतर्फ लैजाने गाइड नभएकाले सुरुवाती चरणमा आफै सहरसँग अन्तर्क्रिया गर्नुपर्दा केही असहज महसुस भएको उनीहरूमध्ये धेरैले बताए तर यात्राको अन्त्यसम्म आइपुग्दा अधिकांशले यस्तो अनुभव उनीहरूका लागि अझ प्रभावकारी भएको बताए। यसबाट उनीहरूले स्थानलाई “स्थानीय” दृष्टिकोणबाट बुझ्ने अवसर पाए र निर्देशित भ्रमणले छुटाउन सक्ने बाटोका साना–साना कुराहरूलाई समेत ध्यान दिन थाले। गुम्बा र पहाडका तस्बिरहरू मात्र लिएर फर्किने पर्यटकको दृष्टिकोणभन्दा फरक, दैनिक जीवनका वस्तुहरूसँगको यस्तो अन्तर्क्रियाले सहभागीहरूको कल्पनालाई यी सहरहरूमा मानिसहरू वास्तवमा कसरी जीवन बिताउँछन् भन्ने दिशातर्फ विस्तार गर्‍यो, जसले उनीहरूलाई यात्रीको रूपमा आफ्नो स्थिति र योगदानको बारेमा बढी सचेत बनायो।

ख. अति स्थानीय र ल्याइएका

गुजरातका एक सहभागीले सहरभरि लगाइएका साइनबोर्डहरूको फोटो खिचे र एमजी मार्गमा फिक्स्चरको अगाडि तिब्बती अक्षर जस्ता "अति स्थानीय " विशेषताहरू देखे, त्यससँगै उनले डिजिटल प्रविधिबाट बनाइएका साइनबोर्डजस्ता केही “आधुनिक” तत्त्वहरू तथा पछिल्लो समय बढेका क्याफे र पसल-व्यवसायसँग सम्बन्धित विभिन्न साइनबोर्डहरूको मिश्रण पनि देखाए। गान्तोकमा साइनबोर्ड विरलै एक्लो रूपमा अवस्थित हुन्छ; यो यसको वरिपरि साइनबोर्डहरूसँग निरन्तर संवादमा हुन्छ, यसरी तिनले कुनै व्यवसायका आदर्श वा उद्देश्यबारे मात्र होइन, त्यससँग जोडिएको पुरानो स्मृति, पुरातनताको भाव वा संरक्षणको चाहनाबारे पनि अभिव्यक्ति दिन्छन्।

तस्वीर: एमजी मार्गमा रहेका संरचनाहरूमा तिब्बती अक्षरहरू
श्रेय: साई प्रिया तामाङ
तस्बिर: साइनेजको सङ्ग्रह
श्रेय: राजन र आकृति ठटाल
छवि: ठाडो लाइनमा पुरानो, हस्तचित्रित चिन्ह
श्रेय: आकृति ठटाल
तस्वीर: ठाडो लाइनमा रहेको पुरानो, हातले रङ्गाइएको साइनबोर्ड
श्रेय: आकृति ठटाल
तस्वीर: ठाडो लाइनमा अन्य तत्त्वहरू सहित डिजिटल रूपमा छापिएको चिन्ह
श्रेय: आकृति ठटाल

अर्का एक सहभागीले सहरका करिब २० वटा स्थानमा देखिने ड्रागनका आकृतिहरूलाई अभिलेख गरे। लाल बजार, डेन्जोङ सिनेमा हल र स्टेट ब्याङ्कका गेटहरूमा कुँदिएका, उपहार पसलहरूमा फ्रिज म्याग्नेट र थाङ्का चित्रहरूमा चित्रित थिए; ट्याटु पसलहरूमा देखिन्थे; सहरका विभिन्न ठाउँमा ग्राफिटीका रूपमा स्प्रे गरिएका थिए; रेस्टुरेन्टहरूमा पनि प्रयोग गरिएका थिए, विशेषतः एमजी मार्गमा भुटानी झन्डामा फहराइएको 'द ड्र्यागन वर्क', र ठाकुरबारी मन्दिर बाहिर मूर्तिको रूपमा पनि राखिएका थिए।

तस्बिर: सहरमा ड्र्यागन ग्राफिटी र पोस्टर
श्रेय:: आशिष एन. शर्मा
तस्बिर: डेन्जोङ सिनेमा हलको ढोकामा ड्रेगनहरू
श्रेय: राजन

यसले एउटा बहस जन्मायो—ड्रागन वास्तवमै “सिक्किमेली” प्रतीक हो त? अथवा सिक्किम बौद्ध राज्यका रूपमा स्थापित हुँदै गर्दा तिब्बत र चीनसँग भएको व्यापार तथा सांस्कृतिक आदानप्रदानबाट उधारो लिइएको प्रतीक हो? यो प्रश्न यस लेखको सीमाभन्दा बाहिरको विषय हो। यति भन्नु पर्याप्त हुन्छ कि “सिक्किमेली” भन्ने शब्द स्वयंले एउटै निश्चित परिभाषालाई स्वीकार गर्दैन (ठटाल, २०२३), र म मेरो भन्दा यस विषयले पाठकको आफ्नै पूर्व धारणाहरूलाई अस्थिर बनाओस् भन्ने चाहन्छु। मिडिया स्टडिजबाट लिइएको शब्द "हाइपरलोकल" को बारेमा पनि यही कुरा सत्य हो, जुन पदसँगको सम्बन्धलाई वर्णन गर्न प्रयोग गरिएको हो। तर यस पैदल यात्रामा सहभागी सबैजना स्थानीय थिएनन् भने उनीहरूका लागि “स्थानीय”—त्यसमाथि “अति-स्थानीय”—भन्नाले केलाई जनाउँछ? यो प्रश्न म खुलै छोड्छु। यससँगै यस शब्दले सङ्केत गर्ने व्यापारिक मार्गहरू र सांस्कृतिक आदानप्रदानको अझ व्यापक प्रश्नलाई पनि म अनुत्तरित नै छोड्छु।

  1. (पुन) र्निर्माण गरिएका कुरासँग मानिसहरू कसरी बाँच्छन्?

सार्वजनिक ठाउँहरू स्थिर हुँदैनन्। सहरहरू केवल माथिबाट योजनाबद्ध मात्र हुँदैनन्, तिनीहरू समाजको हरेक तहबाट निरन्तर उत्पादन हुन्छन्। एक सहभागीले गान्तोकका सिँडीहरू अवलोकन गरे - ती सिँडीहरू सहरसँग उनीहरूको हिँडडुल र निरन्तरको अन्तर्क्रियाका साक्षी हुन्, साथीहरू भेट्ने ठाउँ हुन्, केही मानिसहरूबाट जोगिन प्रयोग गरिने स्थान हुन्, र छिटो गन्तव्यमा पुग्न प्रयोग गरिने छोटा बाटा पनि हुन्।  सहरमा उनीहरूको आफ्नोपनको भावना कायम राख्नाका लागि तिनीहरूको संरक्षण कसरी महत्त्वपूर्ण छ भन्ने बताए।

तस्वीर: ठाडो लाइनबाट नयाँ बजार जाने छोटो बाटो
श्रेय: आकृति ठटाल
तस्वीर: लाल बजारको विकास क्षेत्र ट्याक्सी स्ट्यान्डबाट थाडो लाइनसम्मको छोटो बाटो
श्रेय: आकृति ठटाल
तस्वीर: लाल बजारको विकास क्षेत्र ट्याक्सी स्ट्यान्डबाट ठाडो लाइनसम्मको छोटो बाटो
श्रेय: आकृति ठटाल

गान्तोकको फुटपाथहरूसँग मेरो समान सम्बन्ध छ, जुन मेरो स्मृतिको आधारशिला हो, गान्तोक वरिपरि हिंड्नको लागि सुरक्षित परिधिको रूपमा काम गर्दछ, गान्तोक वरिपरि हिँड्नका लागि तिनले एउटा सुरक्षित परिधिको काम गर्दै आएका छन्। वर्षौंसम्म निरन्तर पुनर्निर्माण र परिवर्तन हुँदै आएका यी पैदलमार्गहरू अहिले रानीपुलदेखि गान्तोकसम्म लगभग निरन्तर फैलिएको मार्गमा परिणत भएका छन्, यद्यपि बीच-बीचमा केही असम्बद्ध भागहरू अझै छन्। परिवर्तनहरू एससिएम आउनुभन्दा पहिले सुरु भयो, पहिले नयाँ टाइलहरू, त्यसपछि पूर्ण रूपमा पुन: डिजाइन गरिएको रेलिङ र त्यसपछि मार्गका केही भागमा अहिले देखिने माथिल्लो छाना थपिँदै गए। सैद्धान्तिक रूपमा यी छानाहरूले गान्तोकको घाम र निरन्तर पर्ने वर्षाबाट पैदलयात्रीहरूलाई जोगाउनुपर्ने हो। तर व्यवहारमा ती छानाहरू ठाडो रूपमा खस्ने पानीलाई ध्यानमा राखेर बनाइएका भएकाले यहाँ वास्तवमा पर्ने तेर्सो वा छड्के वर्षाबाट खासै सुरक्षा दिन सक्दैनन्। रणनीतिक स्थानहरूमा पानी निकासका लागि आवश्यक क्रस-डक्टहरू प्रायः छैनन्, त्यसैले पैदल यात्रीहरू प्रायः फुटपाथ रेलिङमा चढेर पार गर्छन्; फुट-ओभर ब्रिजहरूभने, धेरथोरै, अझै पनि आफ्नो काम गरिरहेको छ। नयाँ सदर प्रहरी चौकी र विकास क्षेत्रको प्रवेश द्वार बिचको यो पैदलमार्ग सयौँ रूख काटेर निर्माण गरिएको थियो। यसले अहिले पैदलयात्रीलाई छायाँ दिने उद्देश्यले बनाइएका छानाहरूलाई एउटा कटु विडम्बनामा परिणत गरिदिएको छ-नयाँ आश्रयस्थल बनाउन काटिएका रूखहरूले घामलाई अझ कठोर बनाएका छन्, अनि त्यही कठोर घामबाट जोगाउन छाना बनाइएको छ।

धेरै सहभागीहरूले गान्तोकमा निरन्तर भइरहेको निर्माणको बारेमा पनि बोले। उनीहरूले सुझाव गरिएको मार्ग, जुन एक समय सुन्दर थियो र त्यहाँ दैनिक जीवनबाट केही समय विश्राम लिन सकिने मात्र होइन, सौन्दर्य अनुभव गर्न सकिने धेरै दृश्यावलोकन स्थलहरू थिए। तर अहिले त्यो क्षेत्र एउटा सहरी जङ्गलमा परिणत भएको छ। यो केवल पुरानो समयप्रतिको नोस्टाल्जिया होइन, यो भूमिसँग मानिसहरूको बदलिएको सम्बन्ध हो।भू परिदृश्य परिवर्तन हुँदै जाँदा, स्मृति दृश्य पनि परिवर्तन हुन्छ। हाम्रो दिमागमा पहिले अवस्थित छविहरू अब यहाँ सम्बन्धित नभएका संरचनाहरूद्वारा उपनिवेशित छन्, जसले भौगोलिक र पारिस्थितिक रूपमा सहरमा हाम्रो सम्बन्धको भावनालाई चुनौती दिन्छ ।

तस्वीर: एमजी मार्गमा निर्माण
श्रेय: आकृति ठटाल
तस्बिर: हस्पिटल डाँडा नजिकै निर्माण
श्रेय: आकृति ठटाल

व्यापक रूपमा उद्धृत गरिने र उचित रूपमा स्वीकार गरिने कुरा के हो भने परिवर्तन अपरिहार्य हुन्छ। तर परिवर्तन त्यतिबेला मात्र रचनात्मक र अनुकूल हुन्छ, जब त्यसले त्यो परिवर्तनलाई अनुभव गर्ने मानिसहरूलाई ध्यानमा राख्छ। मानिसहरूको अनुभवमा आधारित परिवर्तन नै स्वीकार्य हुन्छ; अन्यथा त्यो अनावश्यक सजावट वा बाह्य तामझाममा परिणत हुने जोखिम हुन्छ। समुदायहरूले परिवर्तनका लागि जिम्मेवार महसुस गर्नुपर्छ, र त्यो जिम्मेवारी र जवाफदेहिता ग्रहण गर्नाका लागि ,तिनीहरूलाई परिवर्तनसम्बन्धी विमर्शको हिस्सा बनाउनुपर्छ। कसैले महसुस गर्नु अघि, हाम्रा चिन्ताहरू साना बाकसमा प्याक गरिन्छन् र हामीलाई ठाउँ पुनर्निर्माण गर्ने सपना र आकांक्षाको रूपमा फिर्ता बेचिन्छन्। झ्यालहरू, निर्माण पानाहरू, पसलहरूको अगाडि, श्रम, झन्डा, आकृतिहरू, बत्तीको पोस्ट, छाता र पोस्टरहरू बिच, सहर यसको वस्तुहरू मार्फत अनुभव गरिन्छ अनि सहर योजनाको ठुला योजनाहरूबाट सहरसम्बन्धी व्यक्तिको आफ्नै अनुभवलाई हटाउनु वा अझ खराब, त्यसलाई बेवास्ता गर्नु भनेको कामहरू सहरसँग मिलेर होइन, सहरमाथि गरिँदैछन् भन्ने सङ्केत हो।

निष्कर्षका विचारहरू: गान्तोक एक विशाल निर्माण स्थलको रूपमा

यहाँ उल्लेख गरिएका कुराहरू अनुभवहरूको अझ व्यापक, र अनिवार्य रूपमा अपूर्ण अभिलेखबाट लिइएको हो भन्ने कुरा दोहोर्‍याउन लायक छ। यो निबन्ध एससिएमको आलोचना जत्ति मात्र हो, त्यति नै गान्तोकका बासिन्दाहरूले आफ्नो सहरसँग जोडेर बोकेर हिँडिरहेका स्मृति र जीवन्त अनुभवहरूको भण्डारलाई दृश्यमा ल्याउने प्रयास पनि हो। साथै, यस प्रक्रियामा ती स्मृति र अनुभवहरू कसरी पुनःआकार दिइँदैछन् भन्ने विषय पनि यसमा समेटिएको छ। तर यो पुनःआकार दिने प्रक्रिया विरलै मात्र आपसी छलफल र सहमतिमा आधारित भएको छ। एससिएमले आफ्नो कार्यान्वयन, धेरै हदसम्म, सहरलाई सामूहिक रूपमा कल्पना गर्ने ठाउँको सट्टा अनुकूलित गर्ने ठाउँको रूपमा व्यवहार गर्दै, अर्थपूर्ण सार्वजनिक छलफल बिना नै अगाडि बढाएको छ।

होल्स्टन र अप्पादुराई (१९९६) को तर्कअनुसार नागरिकता साझा अभिप्राय र एक-अर्कासँग तुलनीय नागरिकहरूको समुदायको धारणामा आधारित हुन्छ। यस धारणाले यस्तो समुदाय आधुनिकताका परिस्थितिअनुकूल साझा जीवन निर्माण गर्न समर्पित हुन्छ भन्ने मान्यता राख्छ। तर यसले सबै मानिसहरू समान छन् भन्ने कुरा पनि पूर्वमान्यताका रूपमा स्वीकार गर्छ। यहाँ “साझा संस्कृति” को धारणा कमजोर हुन पुग्छ, किनभने आधुनिकताको सामना गर्दा नागरिकहरू एक-अर्कासँग पूर्ण रूपमा तुलनीय छैनन् भन्ने कुरा स्पष्ट हुन्छ। त्यसैले नागरिकहरूबिचको यो असमान तुलनीयता केवल सामाजिक वा राजनीतिक तथ्य मात्र होइन, मूलतः स्थानिक तथ्य पनि हो। यदि सबै नागरिकहरूको एउटै र एकीकृत अभिप्राय हुन्छ भनेर मान्न सकिँदैन भने, उनीहरूले बसोबास गर्ने स्थानहरूलाई पनि एउटै र एकरूप स्थानका रूपमा बुझ्न सकिँदैन। 

यो ठाउँलाई "निर्माणाधीन" मानिलिऔं। एससिएमको उद्देश्यले मेस्सी (२००५) ले स्थानलाई “सँगसँगै अस्तित्वमा रहने विविधताको क्षेत्र” भनेर गरेको वर्णनसँग मेल खाँदैन, जुन बहुलताको सह-घटनाबाट प्रभावित छ। बहुलता बिना, कुनै पनि ठाउँ वास्तवमा अवस्थित हुँदैन। विकासको इन्जिनको रूपमा पर्यटनलाई सिक्किममा अघि हाँक्ने प्रयत्नले पनि गान्तोकको छविलाई मिसनले जत्तिकै आकार दिएको छ (ठटाल, २०२३)।

अन्त्यमा, गान्तोकमा पूर्वाधार विकासको वाचा समावेशिता र सुविधासँग जोडिएको थियो—यस्ता स्थानहरूको निर्माण, जसले गान्तोकवासीहरूलाई आफूभित्रको सम्भावनालाई अझ पूर्ण रूपमा अभिव्यक्त गर्न सक्ने बनाउनेछन्। तर पैदल यात्रामा सहभागीहरूले सुनाएका अनुभवहरूले स्पष्ट पारेझैँ, वास्तवमा प्राप्त भएको कुरा प्रत्यक्ष वा स्पष्ट बहिष्करण होइन, तर उनीहरूलाई ध्यानमा नराखी निर्माण गरिएको कुराका लागि समाधान खोज्न अनुकूलन गर्न स्थिर, लगभग अदृश्य दबाब हो। यो प्रतिज्ञा गरिएको समावेशीता होइन। म यो कुरा गान्तोकलाई अहिले जस्तो छ वा पहिले जस्तो थियो त्यही रूपमा राख्नुपर्छ, अथवा सबै विकास परियोजनालाई अन्धाधुन्ध चुनौती दिनुपर्छ भन्ने तर्कका रूपमा उठाइरहेको होइन। “अछुतो” वा “निर्मल” स्थानको अवधारणामै विशेषाधिकारको गन्ध आउँछ, र त्यस्तो ठाउँमा बसेर जीवन बिताएको जो कोहीलाई थाहा हुन्छ कि यसको अर्थ वास्तवमा निरन्तर बाँचिरहनु र देखिनुचको सम्झौता तथा सङ्घर्ष हो। बरु, यो हाम्रो सहरका लागि अझ राम्रो भविष्यतर्फ समाजका रूपमा हामीले राख्ने आकांक्षाहरूलाई पुनःसन्तुलित गर्ने प्रयास हो। हाम्रा पहिचानहरू स्वभावतः कुनै न कुनै स्थानसँग जोडिएका हुन्छन्। जब कुनै स्थान हामीले त्यसलाई बुझ्न र अर्थ्याउन सक्ने गतिभन्दा तीव्र गतिमा परिवर्तन हुन्छ, तब हामीले आफ्नै केही पक्षहरूलाई तिनलाई पहिचान गर्नुअघि नै गुमाउन थाल्छौँ। सहरी पुनर्सरचनाको कार्यसँगै हामी सबैले साझा गर्ने सहरको सामाजिक संरचनाको पनि पुनर्सरचना हुन्छ, र त्यो परिवर्तन हामी वरिपरिका दैनिक जीवनका वस्तुहरूमा हुने रूपान्तरणमार्फत मूर्त रूपमा अभिव्यक्त हुन्छ। प्रत्येक सौन्दर्यीकरण अभियानको मूल्य हुन्छ, जुन प्रायः हामी उभिएको जमिन र हामीले सास फेर्ने हावाले तिर्छ। प्रश्न कहिल्यै विकास भइरहेको छ कि छैन भन्ने थिएन, वास्तविक प्रश्न त यो थियो—निर्माण हुँदै गरेको सहरलाई कल्पना गर्ने अधिकार कसलाई छ? र, के त्यहाँका बासिन्दाहरूलाई त्यस प्रक्रियाको हिस्सा बनाइन्छ, कि निर्माण भइसकेपछि त्यसबारे केवल जानकारी दिइन्छ? यदि गान्तोक निरन्तर विकसित र परिवर्तन हुँदै जाने हो भने, त्यो परिवर्तन आफ्ना मानिसहरूसँगै हुनुपर्छ।

सायद, त्यसो भए, गान्तोकलाई साँच्चै हेर्नाका लागि, र केवल एससिएमले कल्पना गरे जस्तै होइन, दुवै गर्न सिक्नुपर्छ: बाबाले आग्रह गरे जस्तै माथि हेर्नु, र आमाले चेतावनी दिए जस्तै तल हेर्नु, कल्पना गरिएको र पहिले नै खुट्टामुनि रहेको कुरालाई एकसाथ समेटेर।

पदयात्राका सहभागीहरूले खिचेका केही तस्बिरहरू यहाँ प्राप्त गर्न सकिन्छ: https://drive.google.com/drive/folders/1WTm73dvjboo4jTUaC8ZJMnIWmtz1jG7I?usp=sharing

सबै तस्बिरहरू निर्माताहरूले पूर्व सहमति लिएर अपलोड गरेका छन् र तस्बिरहरूको प्रयोगको बारेमा सचेत गराइएको छ।
सहमति बिना र निर्माताहरूलाई उचित रूपमा श्रेय नदिई यी तस्बिरहरू प्रयोग नगर्नुहोस्।

ग्रन्थसूची : (२१७ शब्दहरू)

Thatal, A. (2023). Café Culture: Exploring the roles of cafés in cultural production among the urban middle class in Gangtok, Sikkim. [MA Thesis]. Tata Institute of Social Sciences.

About the mission | Smartcities. (n.d.). Ministry of Housing and Urban Affairs, Government of India. Retrieved July 1, 2026, from https://smartcities.gov.in/about-the-mission

Anand, N., Gupta, A., & Appel, H. (Eds). (2018). The Promise of Infrastructure. Duke University Press. https://doi.org/10.2307/j.ctv12101q3

Appadurai, A. (2004). The capacity to aspire: culture and the terms of recognition. In V. Rao & M. Walton (Eds.), Culture and Public Action. Stanford University Press.

Dourish, P., & Bell, G. (2007). The Infrastructure of Experience and the Experience of Infrastructure: Meaning and Structure in Everyday Encounters with Space. Environment and Planning B Planning and Design, 34(3), 414–430. https://doi.org/10.1068/b32035t

Gangtok Smart City Development Limited. (n.d.). Gangtok Smart City Development Limited. Retrieved July 1, 2026, from https://smartcitygangtok.com/

Habermas, J. (1991). The structural transformation of the public sphere: An inquiry into a category of bourgeois society. MIT Press (MA).

Harvey, D. (1985). The urbanization of capital. Johns Hopkins University Press.

Holston, J., & Appadurai, A. (1998). Cities and citizenship. Public Culture, 8, 187–204. https://doi.org/10.2307/j.ctv11cw70j

Massey, D. (2005). For space. SAGE Publications Limited.

Simone, A. (2004). People as infrastructure: Intersecting fragments in Johannesburg. Public Culture, 16(3), 407–429. https://doi.org/10.1215/08992363-16-3-407

Translated by: टिका भाइ
About the Author

आकृति थटल (उनी/उनीहरू) लेखन, फोटोग्राफी र फिल्ममा काम गर्ने बहुआयामिक कलाकार-अनुसन्धानकर्ता हुन्। मिडिया र सांस्कृतिक अध्ययन र मानवशास्त्रमा पृष्ठभूमि भएकी उनी पहिचान, संस्कृति र सम्बन्धका प्रश्नहरूमा आलोचनात्मक रूपमा संलग्न छिन्। उनको काम घरको विचार, शहरी स्थानहरूमा सार्वजनिक सहभागिताको अन्वेषण र यसको उपस्थिति वा अनुपस्थितिले शहरी जीवन, भौतिक परिदृश्य र शहरी आकांक्षाहरूलाई कसरी आकार दिन्छ भन्ने कुरामा संलग्न छ। उनको काम जाति र लिङ्गद्वारा उत्पादित तहगत समावेशीकरण र बहिष्करणहरूद्वारा सूचित गरिएको छ। आकृतिको हालको अनुसन्धान स्थिर र गतिशील छविहरू मार्फत स्मृति बनाउने र रेकर्ड गर्ने र गान्तोकमा द्रुत शहरीकरणसँग यसको संलग्नता, साथै कलाले आलोचनात्मक सोचको लागि उत्प्रेरकको रूपमा कसरी काम गर्न सक्छ भन्ने कुरामा केन्द्रित छ। उनले पहिले गैरसरकारी संस्थाहरू हमसफर ट्रस्ट र PRADAN सँग, Scroll.In मा उत्पादन सहायकको रूपमा, र बिशप कटन गर्ल्स स्कूलमा मिडिया अध्ययन शिक्षिकाको रूपमा काम गरेकी थिइन्। उनी हाल इन्डिया डेभलपमेन्ट रिभ्यूसँग फेलो छिन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram