Menu

कला मार्फत जलवायु परिवर्तनको खोजी: रकिज रिपिट (२०२१)

"हामी यही भूमिसँगै हुर्कियौँ, यो हाम्रो रगतमै छ…। 

हिमनदीसँगै, भूमिसँगै मेरो संस्कृति पनि पछि हट्दै गएजस्तो लाग्छ।"
— रकी पर्वतमाला चित्रण गर्ने यात्रामा निस्केकी छजना कलाकारमध्येकी एक चेयेन ओजिन्जा थिहाले वृत्तचित्र रकिज रिपिट (२०२१) मा यसरी भनेकी छन्।

जलवायु परिवर्तनको छायाँ हाम्रो जीवनका विविध क्षेत्रमा गहिरिँदै गएको छ। साझा वातावरणीय भविष्यको जरुरी चुनौतीको सामना गर्न यसले कलासहित समाजका हरेक क्षेत्रको ध्यान माग गर्छ। जलवायुमा आएका परिवर्तनहरू मुख्यतः मानवीय गतिविधि र वर्षौँदेखिको कार्बन उत्सर्जनले गर्दा भएका हुन्। यसका परिणाम हिमनदी पग्लिनु, चरम मौसमी घटना र जैविक विविधताको ह्रासलगायत व्यापक छन्।

वृत्तचित्र रकिज रिपिट (२०२१) ले कलाको दृष्टिबाट जलवायु परिवर्तनको विचारोत्तेजक अन्वेषण गर्छ। यो चलचित्र क्यानाडाको अल्बर्टा र ब्रिटिस कोलम्बियाका रकी पर्वतमा आधारित छ। कलालाई बोध र अभिव्यक्तिको माध्यम बनाएर यसले जलवायु परिवर्तनलाई एउटा विशिष्ट कोणबाट हेर्छ। यसका चिन्ता क्यानाडादेखि संयुक्त राज्य अमेरिका हुँदै न्यु मेक्सिकोसम्म फैलिएको फराकिलो रकी पर्वत शृङ्खलाभरि प्रतिध्वनित हुन्छन्। यस समीक्षाले वृत्तचित्रले जलवायु परिवर्तनलाई कसरी खोज्छ भन्ने कुरा जलवायु सञ्चार, कलाकारको बोध, आदिवासी समुदायको भूदृश्यसँगको सम्बन्ध, र हिमालय तथा पर्वतीय पारिस्थितिक प्रणालीसँगको यसको व्यापक सम्बन्धमा केन्द्रित भएर विश्लेषण गर्ने लक्ष्य राख्छ।

जलवायुको सञ्चार

फेजिना एट अल. (2010) को एउटा अध्ययनले इन्कार र प्रणाली-औचित्यकरणको प्रवृत्ति जस्ता मनोभावनात्मक अवरोधहरू पहिचान गरेको छ। यिनले मानिसलाई जलवायुसम्बन्धी विषयमा संलग्न हुन अनिच्छुक बनाउँछन्। अध्ययनले के पनि सुझाउँछ भने दृश्य कलाकृतिहरूले यी अवरोधलाई मौखिक वा लिखित सञ्चारभन्दा बढी प्रभावकारी ढङ्गले सम्बोधन गर्न सक्छन्, किनभने तिनले दर्शकलाई सन्देश बढी व्यक्तिगत र आत्मपरक ढङ्गले बुझ्ने ठाउँ दिन्छन् (Roosen et al., 2017)। 

सञ्चारका अन्य रूपभन्दा फरक, कलाले दर्शकको स्वायत्तताको सम्मान गर्न सक्छ र उनीहरूलाई आफ्नै निष्कर्षमा पुग्न दिन सक्छ। यसले प्रेरणा र व्यवहार परिवर्तनलाई बलियो बनाउँछ (Chatzisarantis & Hagger, 2009)। रकिज रिपिट मा कलाकारहरू पहाड र हिमनदीको अगाडि उभिएर एक शताब्दीअघि (१९३० को दशकमा) क्याथरिन रब ह्वाइटले आफ्ना चित्रमा रकी पर्वतका भूदृश्य कहाँबाट कैद गरेकी थिइन् भन्ने ठम्याउँछन्। छजना महिला कलाकार स्वच्छ पानीका धारा भएको रकी पर्वतमा पदयात्रा गर्दा निर्देशक क्यारोलिन हेडिनको कथावाचनको कला चम्किन्छ। उनले उदीयमान महिला कलाकारहरूका कथालाई जीवन्त तुल्याउँदै बदलिँदो जलवायुले ती उही दृश्यहरूलाई कसरी रूपान्तरित गरेको छ भन्ने चित्र उतार्छिन्। अन्तर्वार्ता, दृश्य बिम्ब र कलात्मक व्याख्याका माध्यमबाट यस चलचित्रले मानवीय गतिविधिले वातावरणलाई कसरी पुनर्आकार दिइरहेका छन् र भावी पुस्ताका लागि त्यसको के अर्थ छ भनेर विचार गर्न दर्शकलाई निम्तो दिन्छ।

जलवायुसम्बन्धी कथनहरूमा समस्याबारेका आख्यानमा क्षति र शोकलाई ठुलो जोड दिइए पनि समाधानबारेका छलफलमा भने त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति छ। Randall (2009) ले एकीकृत जलवायु सञ्चारले जलवायु परिवर्तनका कारण धेरै व्यक्तिले भोगेको क्षतिलाई सम्बोधन गर्नुपर्छ र साथसाथै सकारात्मक कदमलाई पनि जोड दिनुपर्छ भन्ने सुझाव दिएका छन्। यो चलचित्रले चित्रकला र काँचकला जस्ता कलाकृतिलाई व्यक्तिहरूले आफ्नो क्षतिको अनुभूति स्वीकार्न र त्यसलाई पार गर्न मद्दत गर्ने माध्यमका रूपमा प्रस्तुत गर्छ। यसले अर्थपूर्ण शोक-प्रक्रिया सम्भव बनाउँछ र भावनात्मक समाधानमा सहयोग पुर्‍याउँछ।

जलवायु परिवर्तनको बोधबारे

वातावरण सधैँ कलाकारहरूका लागि प्रेरणाको स्रोत रहिआएको छ, र पुराश्मयुगका गुफाचित्रदेखि नै जलवायु परिवर्तन चासोको विषय रहिआएको छ। तर कला र सौन्दर्यमा पहुँच अहिले विशेषाधिकारको कुरा भइसकेको छ भन्ने नबिर्सौँ। सन् १९२० को दशकमा चित्रकार क्याथरिन रबको सम्पन्न पारिवारिक पृष्ठभूमिले उनलाई उत्कृष्ट प्रशिक्षण र अवसरमा प्रत्यक्ष पहुँच दिएको थियो। उनले देश र महादेश घुम्दै कला र कलाकृतिको अन्वेषण गरिन्। सन् १९३० मा महत्त्वाकाङ्क्षी कलाकार पिटर ह्वाइटसँग विवाह गरेपछि दम्पती बान्फ राष्ट्रिय निकुञ्जमा सरे र रकी पर्वतको चित्रण गर्दै आफ्नो जीवनका सबैभन्दा अविस्मरणीय समय बिताए। यो चलचित्रका कलाकारहरू आफ्नो सिर्जनात्मक कामबाट भूदृश्यमा आएका परिवर्तनका जटिलतासँग जुध्छन् र विस्मय, चिन्ता र तत्कालको भावना व्यक्त गर्छन्। क्याथरिनको चित्रको चहकिलो नीलो आकाश अहिले कलाकारहरूले देखेको धमिलो भूदृश्यको ठीक विपरित छ। दर्शकलाई कलाकारका आँखाबाट संसार हेर्न आमन्त्रण गर्दै रकिज रिपिट ले सहानुभूति, चिन्तन र सबै जीवरूपबिचको अन्तरसम्बन्धप्रति गहिरो कदरभाव जगाउँछ। जलवायु सञ्चारमा अझै अभाव रहेका नवीन रूपक, उपमा वा आख्यानहरू यो चलचित्रले प्रायः प्रयोग गर्छ, किनभने धेरै मानिसले अझै पनि जलवायु परिवर्तनलाई तत्कालको खतरा नभएको अमूर्त समस्याका रूपमा लिन्छन्।

क्याथरिन रब ह्वाइटको मौलिक चित्र र लेक म्याकआर्थरको हालको धमिलो दृश्यको तुलना
टिप्पणी: "क्याथरिन रोब व्हाइटको मूल चित्र योहो राष्ट्रिय निकुञ्जमा रहेको ताल म्याकआर्थरको हालको दृश्यसँग मिल्दोजुल्दो छ," भि. नर्थ, २०२१, सीबीसी बाट

आदिवासी समुदाय र भूदृश्य तथा पारिस्थितिक प्रणालीसँगको उनीहरूको आत्मीयता

रकिज रिपिट को एउटा उल्लेखनीय पक्ष आदिवासी समुदाय र भूमिबिचको सम्बन्धको खोजी हो। क्यानाडाको रकी पर्वत क्षेत्रमा हजारौँ वर्षदेखि बसोबास गर्दै आएका आदिवासी जनताले भूदृश्य र त्यहाँका पारिस्थितिक प्रणालीसँग गहिरो सम्बन्ध विकास गरेका छन्। पर्वतीय समुदायका कथाहरूले प्रकृतिसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै त्यसका स्रोतमा आफ्नो अस्तित्व र कल्याणका लागि भर पर्ने जनताको जलवायुसम्बन्धी ज्ञान र आध्यात्मिक आस्थालाई सम्झाउँछन्।

आदिवासी कलाकारहरूले वर्णन गरेझैँ, यो चलचित्रले जलवायु परिवर्तनपछि आदिवासी समुदायले भोगेका चुनौतीमा प्रकाश पार्छ। बढ्दो तापक्रम, पग्लिँदा हिमनदी र वर्षाको बदलिँदो स्वरूपले जीवनशैलीलाई खतरामा पारेको छ र आदिवासीहरू निर्भर रहेका पारिस्थितिक प्रणालीलाई अस्तव्यस्त पारेको छ भन्ने कुरा तिनले बताउँछन्। परम्परागत भूमिमा आधारित संस्कृति र आध्यात्मिक अभ्यासले अझै पनि विश्वव्यापी वातावरणीय बहसलाई इन्धन दिइरहे पनि विगत एक शताब्दीमा मानवीय प्रभावका कारण तिनमा उल्लेखनीय परिवर्तन आएका छन् (Lepcha, 2021)। त्यसैगरी लिन्डा होगन भन्छिन्, "जसले हामीलाई कुनै बेला पीडित बनायो, त्यो अहिले धार्मिक अध्ययनको एउटा विशेष क्षेत्र बनेको छ" (2013)। आदिवासी जीवनदृष्टि र वातावरणीय ज्ञानलाई दिगोपनका विश्वव्यापी प्रयासमा कसरी समाहित गरिँदैछ भनेर कोही सोच्न सक्छ। संसारभरका अरू पर्वतीय समुदाय जस्तै एन्डिज, हिमालय र आर्कटिकका यी समुदायले पनि उपचार, पुनर्स्थापना र समग्रताको आवश्यकता व्यक्त गरिरहेका छन्।

हिमालयमा जलवायु कला

रकिज रिपिट ले जलवायु परिवर्तनले विश्व समुदायमा पार्ने व्यापक प्रभावलाई जोड दिन्छ। वृत्तचित्र क्यानाडाको अल्बर्टा र ब्रिटिस कोलम्बियाका रकी पर्वतमा केन्द्रित भए पनि यसको सन्देश त्यसभन्दा धेरै टाढासम्म प्रतिध्वनित हुन्छ। जलवायु परिवर्तन सामूहिक कदम माग्ने विश्वव्यापी चुनौती हो भन्ने कुरा यसले दर्शकलाई सम्झाउँछ। पारिस्थितिक प्रणाली, अर्थतन्त्र र समाजका अन्तरसम्बन्धलाई उजागर गर्दै यो चलचित्रले जलवायु परिवर्तनको सामना गर्न विश्वव्यापी सहकार्य र एकताको महत्त्वलाई सम्बोधन गर्छ।

जटिल विषयलाई उज्यालो पार्ने, भाषाका सीमा नाघ्ने र कर्मका लागि प्रेरित गर्ने कलाको शक्तिको यो एउटा महत्त्वपूर्ण सम्झना हो। रकी पर्वतमा जलवायु परिवर्तनको खोजी गर्दै यो वृत्तचित्रले दर्शकलाई वातावरणसँगको आफ्नो सम्बन्ध र अझ दिगो र न्यायपूर्ण भविष्य निर्माणमा आफूले खेल्न सक्ने भूमिकाबारे विचार गर्न निम्तो दिन्छ।

प्रचुर जैविक विविधता र जातीय समुदायको घर रहेको हिमाली क्षेत्रसँग पनि सुनाउनलाई आफ्नै कथा छ। सन् २०२३ मा सुरु भएको लद्दाखको उच्च-पहाडी कला प्रदर्शनी "सा लद्दाख" (Sā Ladakh) ले जलवायु सचेतना जगाउनुभन्दा अघि बढेर प्रत्यक्ष जलवायु आशावाद प्रस्तुत गर्छ। यसको तेस्रो संस्करण भर्खरै सन् २०२६ को अगस्टमा सम्पन्न भएको थियो। यो कला प्रदर्शनीले स्थानीय समुदायका लागि अवसर सिर्जना गर्ने र प्रदर्शनी सकिएपछि पनि लामो समयसम्म टिक्ने सम्बन्ध बढाउने आकाङ्क्षा राख्छ। कलाकारहरूले रचनात्मक दृष्टिकोण अपनाउँदै तल्लो तहको महत्त्व र आधुनिक प्रणालीहरूलाई शून्यबाट पुनर्संरचना गर्नुपर्ने कुरा सम्झाउँछन्।

यदि हामीले पहाडहरूको प्रार्थना गर्ने हो भने?
टिप्पणी: “के हुन्छ यदि हामीले हिमालहरूसामु प्रार्थना गर्यौँ भने?” कर्मा सोनाम ताशीद्वारा, २०२३, सा लद्दाख, स्टिर वर्ल्ड (Stir World)

कालिम्पोङकी आदिवासी लेप्चा कलाकार आल्येन फोनिङले एउटा कला-संस्थापन र दृश्य लोक-आख्यान रचेकी छन्, जसले यस क्षेत्रको प्रमुख जलस्रोत टिस्टा नदीलाई स्वर दिन्छ। उनको कलाले हिमाली पर्वत र नदीसँगको उनको आध्यात्मिक बन्धनको अनुभूति जगाउँछ। प्रकृतिसँगको हाम्रो पारिस्थितिक नाता र उनका पुर्खाका जराहरूलाई उजागर गर्न उनले कपडा र डिजाइनको सुसंगतिलाई कसरी सामञ्जस्यपूर्ण ढङ्गले मिसाएकी छन् भन्ने कुराको न्याय शब्दले निकै कम गर्न सक्छन्।

म्युनको कथा
टिप्पणी: “द भेल: स्टोरी अफ द मुन” , ए. फोनिङ, २०२२, इन्स्टाग्राम
मुउनको कथा
"मुनको कथा," ए. फोनिङद्वारा, २०२२, इन्स्टाग्राम

नेपालका उच्च हिमाली भेगमा चुहिने छाना र बढ्दो ओसले ऐतिहासिक थाङ्का कला मात्र होइन, त्यससँग जोडिएको सांस्कृतिक सम्पदा पनि नष्ट गरेको छ। पत्रकार तथा चलचित्रकर्मी तुलसी रौनियार (२०२४) ले नेपालको मुस्ताङका गुम्बाहरूमा थाङ्का पुनर्स्थापनाको दृश्य कैद गरेकी छन्। महिला, पुरुष र युवाहरू मिलेर थान्काहरू मर्मत गर्छन्, जुन अहिले उनीहरूको सानो आम्दानीको स्रोत पनि बनेका छन्।

कलाकारको बोध वृत्तचित्रको आख्यानमा चित्रित कलाकारहरूकै दृष्टिकोण हो, जो बदलिँदो भूदृश्यका द्रष्टा र व्याख्याता दुवै हुन्। हाम्रो क्षेत्रमा हिमनदी पवित्र छन्; ती निरन्तर बग्ने जलस्रोतका मुटु र घर हुन्। नेपालमा (२०२५) र सिक्किम तथा दार्जिलिङ हिमालयमा तिस्ता (२०२३) मा भएका हालैका विनाशकारी घटनाहरूले मानवजन्य हस्तक्षेपको निरन्तर वृद्धिको मार जलवायु परिवर्तनमा कसले बेहोर्नुपर्छ भन्ने प्रश्न उठाउन हामीलाई बाध्य तुल्याएका छन्। ज्यानको क्षति, जीविकाको क्षति, र अनिश्चित ठाउँतिर बगाइएका मानिसहरू, त्यो पनि विश्वव्यापी दक्षिणको यस्तो क्षेत्रमा जो पहिलेदेखि नै आर्थिक रूपमा जोखिमपूर्ण छ। दार्जिलिङ हिमालय इनिसिएटिभको लेस्ट वी फर्गेट: द टिस्टा डिजास्टर  यस्तै एउटा कलात्मक प्रस्तुति र फोटो प्रदर्शनी हो। यो सन् २०२३ को जाडो डिसेम्बरमा कालिम्पोङमा भएको थियो र सन् २०२५ को डिसेम्बरमा सिक्किमको गान्तोकमा सेयर्ड फ्युचर्स सम्मेलनले यसको आयोजना गरेको थियो।

नबिर्सियून् ती दिनहरू: टिस्टा विपद्
'रिडिङ हिमालय, २०२५' मा समावेश, दार्जिलिङ हिमालय इनिसिएटिभद्वारा लिखित "नबिर्सियून् ती दिनहरू: टिस्टा विपद्" बाट

प्रविधिको यस युगमा रुचि जगाउने दृश्य प्रस्तुति सञ्चारको प्रभावकारी माध्यम पनि हो। वातावरणीय मुद्दाबारे सञ्चार गर्न र त्यसमा कदम चाल्न कलालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने यी केही उदाहरण मात्र हुन्। यसले भविष्यका कामका लागि पनि बाटो खोल्छ, किनभने दृश्य कथनहरूले फराकिलो दर्शकसम्म ज्ञान पुर्‍याउन ठोस भूमिका खेल्छन्।

"रकिज रिपिट" मा भूदृश्य चित्रण गर्दै गरेकी आदिवासी कलाकार
टिप्पणी: "'रकीज रिपीट' मा परिदृश्य चित्रण गर्ने आदिवासी कलाकार" बाट, २०२१, अकिम्बो

*अस्वीकरण: लेखकले यस लेखलाई परिष्कृत गर्न र यसको व्याकरण जाँच गर्न एआई उपकरण (Grammarly) को प्रयोग गरेका छन्।

* मास्टहेडमा रहेको तस्बिर 'फोटो इन्साइडर्स: रक्कीज रिपिट', अल्पाइन क्लब अफ क्यानडा बाट लिइएको हो।

Translated by: टिका भाइ
About the Author

यासिका खरसाङकी हुन्। पाहाडमा हिँड्दै हुर्कँदा मानव-प्रकृति सम्बन्धबारे उनमा जिज्ञासा जाग्यो, र अहिले उनको अनुसन्धानले यिनै पाहाडमा रहेका उनका जराहरूलाई आधार बनाउँछ। उनले सिक्किम विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेकी छन् र आइआइटी (आइएसएम) धनबादमा डक्टरल अनुसन्धानकर्ता हुन्। माउन्टेन सेन्टिनल्स एलायन्सकी फेलोका रूपमा उनी दृश्य नृजातिविज्ञानमार्फत पूर्वी हिमालयका जलवायु ज्ञान र पर्वतीय समुदायका जिएका अनुभवहरूको अन्वेषण गर्छिन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram