Menu

पुस्तक र विचारहरूको एउटा सेतु

जीवनको निम्ति रमन श्रेष्ठको  सार बताउने कुनै शब्द छ भने त्यो हो ‘बाँड्नु’। सोझो-सरल थालनीबाट रमनले गान्तोकस्थित जुन रचना बुक्सलाई पुनरुत्थान गरे अनि त्यसलाई एउटा नयाँ रूप दिए त्यो पसल अहिले युवा र जोशिलो सिक्किमको ऊर्जाको पर्यायवाची बनेको छ। पुराना मार्गहरूमा नयाँ पदचिन्हहरू बनाउँदै रमनले रचनात्मकता, छलफल र सङ्गीतको निम्ति एउटा ठाउँ सिर्जना गरे। पुस्तक पसलमा भएको ‘क्याफे फिक्सन’-ले सबै जनालाई कफी पिउन र पुस्तकहरू पल्टाउन, साटासाट गर्न  अनि चिन्तन-मनन गर्न आमन्त्रित गर्दछ।

सबै महत्त्वाकाङ्क्षी युवाहरूजस्तै, रमनले पनि जीवन अन्त कतै छ भनी सोचे- सिक्किम एउटा नर्सरी थियो, तर आफ्ना पखेटा फैलाउनका लागि उनलाई एउटा ठूलो र अझ बढ़ी चुनौतीपूर्ण वातावरणको आवश्यकता आइपरेको थियो। तर सन् १९९९ मा उनले आफ्नो भाइलाई दार्जीलिङमा कम्प्यूटर व्यवसाय स्थापित गर्न मदत गरेपछि उनको सोच्ने तरिका नै बद्लियो। उनी गान्तोक फर्किने क्रममा टिस्टाको किनारैकिनार गाड़ी हाँकिरहेको बेला उनीभित्र कुनै कुराको हलचल भयो। उनी सिक्किम र उत्तर बङ्गालको सिमाना-शहर रम्फू पुग्दासम्म स्थायी रूपमा बस्न गइरहेको कुरामा विश्वस्त भइसकेका थिए। यहाँ उनले जीवन  जिउन र कर्म गर्नका लागि एउटा बाटो खोजिनिकाल्नु थियो। नोकरशाहीमा सामेल हुन रमन इच्छुक थिएनन्, उनी त छुट्टै केही गर्न चाहन्थे।

उनका पिताले सन् १९७९ मै रचना बुक्स सुरु गर्नुभएको थियो, तर त्यो अहिले बन्द थियो। ठूलो हुँदै गएपछि रमन प्रत्येक दिन आफ्नो घरको भूतलमा भएको यस पुस्तक पसलको छेउबाट भएर जान्थे र त्यो कुनै दिन उनको जीवनको उड़ान-पट्टी हुनेछ भन्ने कुरा उनले कहिल्यै सोचेका समेत थिएनन् ।

Writing workshop at Rachna Books. Photo by Yawan Rai
Writing workshop at Rachna Books (Photo: Yawan Rai)

उनले धुलो भरिएको भूतललाई सफा गर्ने कामबाट शुरु गरे। पुस्तकका दराजहरू अझै पनि त्यहीँ थिए, ठाउँ सानो थियो।

रमन आफ्नो भूमिकालाई एकजना पुस्तक विक्रेताका रूपमा मात्र परिभाषित गर्दैनन्, तर एकजना सहजकर्ताका रूपमा पनि परिभाषित गर्दछन् जसले अर्थपूर्ण कुराकानीहरू शुरु गर्छन् र ती कुराकानीहरूलाई दिगो राख्छन् तथा प्रश्नहरू उठाउन मानिसहरूलाई अवसर प्रदान गर्दछन्। उनले चुन्नुभएको भूमिकामाथि जोड दिँदै उनी भन्छन्, ‘यो एउटा पुस्तक पसल हो तर म आफ्नो कामलाई एउटा सेतुको रूपमा हेर्ने गर्दछु।’

रमन कामकुराहरूको योजना बनाउँदैनन्। ती कामकुराहरू त आफैआफ सम्पन्न हुँदैजान्छन्। स्व. पी. जी. तेञ्जिङले आफ्नो पुस्तकबारे लेखेका– ‘थाम्जी’-को धारणा- ‘कुनै बुढ़ो व्यक्तिलाई दिशा नसोध’- ले नै उनको यस अग्रसरतालाई उचित रूपमा परिभाषित गर्दछ। यसको निकटतम शब्द हुनेछ ‘आकस्मिक लाभ’।

वास्तवमा मार्च २००९ मा, भारतमा आफ्नो किसिमको हास्य पुस्तक ‘वूल्फ्स फ्यांग्स’-सँगसँगै रचना बुक्समा लोकार्पण गरिएको पहिलो पुस्तक पी. जी. तेञ्जिङको पुस्तक नै थियो। रमनले पी. जी. तेञ्जिङको पुस्तकका २०० प्रति मगाएका थिए अनि त्यो साँझ आफ्नो पसल बन्द गर्नलाग्दा त्यस पुस्तकको अन्तिम प्रति पनि बिक्री भयो जुन उनको निम्ति पूर्ण सन्तुष्टिको कुरा थियो।  

चेतन राज श्रेष्ठको पुस्तक ‘किंग्स हार्वेस्ट’ जून २०१३ मा रचना बुक्समा पहिलोपल्ट लोकार्पण गरिएको थियो। आलेफ पब्लिसिङबाट आएका उनका सम्पादक रवि सिंह पनि उक्त कार्यक्रममा उपस्थित भएका थिए। त्यो पुस्तक लोकार्पणको कार्यक्रम ‘राइटिङ एन्ड गेटिङ पब्लिस्ड’-माथि एकदिने कार्यशालाको रूपमा चलिरह्यो जुन कार्यक्रममा स्थानीय लेखक र सम्पादकहरू उपस्थित भएका थिए।

रचना बुक्सले चयनयोग्य शीर्षकका पुस्तकहरू प्रकाशन गर्दै आइरहेको छ जुन यस क्षेत्रका साहित्यिक, ऐतिहासिक, सांस्कृतिक र शैक्षिक परिदृश्यमा महत्त्वपूर्ण ठहरिएका छन्।

प्रज्ज्वल पराजुलीले लेखेका पुस्तकहरू ‘गुर्खाज् डटर’ अनि ‘ल्यान्ड ह्वेर आई फ्ली’ पनि रचना बुक्समै लोकार्पण गरिएका थिए। सन् २०१२ मा साउल मूलार्डको पुस्तक ‘ओपनिंग द हिडन ल्यान्ड’ -माथि रचना बुक्समै चर्चा-परिचर्चा भएको थियो। छोग्यालको शासनकालमा लोकप्रिय बनेको सिक्किमको इतिहासको स्वीकृत संस्करणलाई अक्सफोर्डका एक शोधार्थीले तिब्बती स्रोतहरूलाई आधार बनाएर पहिलोचोटि चुनौती दिएका थिए। श्रोताहरूमध्ये केही सदस्यहरू बाहिरिँदा त्यो एउटा विवादास्पद सत्र बनेको थियो। त्यस बेलादेखि रचना बुक्सले चयनयोग्य शीर्षकका पुस्तकहरू प्रकाशन गर्दै आइरहेको छ जुन यस क्षेत्रका साहित्यिक, ऐतिहासिक, सांस्कृतिक र शैक्षिक परिदृश्यमा महत्त्वपूर्ण ठहरिएका छन्।

Group photo Converse 2018
Group photo: Converse 2018 (Courtesy: Raman Shrestha)

एकजना जापानी कलाकार प्रोफेसरको उपस्थिति एउटा उल्लासपूर्ण अनुभवमा परिणत भयो। केवल दुइ दिनमै पुस्तक पसल एउटा यस्तो स्थानमा परिणत भयो जहाँ कला र विज्ञानको कलात्मक मेलले एउटा जादुमय अनुभव सिर्जना गर्थ्यो। छानोको एक भागलाई पातहरूको मण्डपले ढाकेको थियो जसबाट छिरेको प्रकाश-पुञ्जहरू गलैँचामा चम्किरहेका थिए। ती प्रकाश-पुञ्जहरूको कारणले भुइँमा ताराहरू टिमटिमाइरहेको भ्रम हुन्थ्यो। सहभागीहरूलाई पुतली समात्ने साधन दिइएको थियो अनि प्रत्येकले एउटा तारा समात्ने प्रयास गरे।

कार्यक्रमहरू चरममा पुग्दा रमनले आयोजन गर्नु, बस्ने बन्दोबस्त मिलाउनु, स्पीकरहरू मिलाउनुदेखि लिएर सबै काम आफूले गरेको पाए। त्यसपछि तिनको मनमा ‘रचनामा साथीहरू’-को विचार आयो, साथीहरूको भेला जसले कुनै अवसर आउँदा हात बढ़ाउँथे। धेरैजना स्वेच्छापूर्वक यसमा सामेल भए।

सेप्टेम्बर २०११ मा उत्तर सिक्किममा आएको विनाशकारी भुइँचालोले रचनामा भएका साथीहरूबाट शाश्वत प्रतिक्रिया देख्यो, ती साथीहरूले रचना बुक्स पनि राहत कार्यमा ओर्लिनुपर्छ भन्ने सुझाउ राखे। रचनामा भएका साथीहरू काममा लागिपरे अनि चाँड़ै राहत सामग्रीहरू, औषधि, लुगा, खाना, पानी आदिको ओइरो लाग्यो अनि ती सरसामानहरू प्रभावित स्थानहरूमा पठाइए।

रमाइला घटनाहरूको निम्ति रमण भन्छन्, ‘यो कुरा गान्तोक भएर जाने अनि आफ्ना विचार, प्रतिभा र ज्ञान बाँड्न चाहनेहरूमाथि नै भर पर्दछ।’ उहाँलाई आश्चर्यचकित तुल्याउँदै ‘न्यू योर्क स्कूल अव् आर्ट्स’-देखि लिएर अक्सफोर्ड अनि ‘स्कूल अव् ओरियन्टल’ र अफिक्री अध्ययन, लन्डन, जवाहरलाल नेहरू युनिभर्सिटी आदिका शोधार्थीहरू यहाँ आए अनि स्थानीय श्रोताहरूसित एक साँझ बिताए। तिनीहरूले व्यापक रूपमा विस्तृत विषयहरू – साहित्य, कला, गणित अनि इतिहास र भौतिकीलाई समेटे। 

यो पुस्तक पसलमा ‘क्याफे फिक्शन’ नामको क्याफे पनि संलग्न छ अनि पसलमाथिका केही कोठाहरूलाई ‘बुकम्यान्स बेड एन्ड ब्रेकफास्ट’-मा परिणत गरिएको छ।

रचना बुक्समा पुस्तक लोकार्पण अनि चर्चा-परिचर्चाहरू नियमित विशेषता बनिसकेका छन् अनि सङ्गीत प्रस्तुति र फोटो प्रदर्शनीहरू पनि। प्रत्येक वर्ष रचनाले ‘कन्भर्स’ (गफगाफ) कार्यक्रम पनि आयोजन गर्दछ जसमा भारतका पूर्वोत्तरबाट आएका कविहरू (अङ्ग्रेजीमा) भेला हुने गर्दछन्। चलचित्र प्रदर्शन, शैक्षिक चर्चाहरू, प्रदर्शनीहरू र अन्य रचनात्मक क्रियाकलापहरूको क्रम निरन्तर चलिरहन्छन् जसलाई ‘थाम्जी’-द्वारा धेरै ईन्धन दिने गरिन्छ। यी क्रियाकलापहरूको निम्ति अवसर सिर्जना गर्नका लागि आवश्यकताअनुसार व्यवस्थापनमा रचना बुक्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।

यो पुस्तक पसलमा ‘क्याफे फिक्शन’ नामको क्याफे पनि संलग्न छ अनि पसलमाथिका केही कोठाहरूलाई ‘बुकम्यान्स बेड एन्ड ब्रेकफास्ट’-मा परिणत गरिएको छ। क्याफेको अगाड़ि लगाइएको ब्यानरले यसो भन्दछः ‘तपाईंको जीवन एउटा कथा हो।’ अनि यसरी नै रचना बुक्सको कथा पनि जारी रहन्छ। 

अनुवादक: प्रदीप रसाइली

Photo Gallery
(Click to enlarge)

One comment on “पुस्तक र विचारहरूको एउटा सेतु”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram