Menu

बाँच्ने सङ्घर्ष र धैर्यको प्रतिध्वनि: २०२३ को हिमताल बाढीका सम्झनाहरू

३३ वर्षीय कुमार पौड्यालले आफू कसरी बाढीमा फसेँ भन्ने कुरा सुनाए। पौडिन नआए पनि उनी चमत्कारिक रूपले बाँच्न सफल भए। "म पौडिन सक्दिनथेँ, अनि पानीले चारैतिरबाट मलाई तल तान्दै थियो, मलाई केही होइन जस्तो गरी यताउता हुत्याउँदै थियो," उनी काँप्दै सम्झन्छन्। "मैले अब मेरो जीवन सकियो भन्ने सोचेको थिएँ।" तर जसोतसो, सबै कठिनाइलाई जितेर कुमार बाँचे। यो पललाई उनी आफ्नो "दोस्रो जन्म" भन्छन्- एउटा यस्तो चमत्कार जसलाई उनी अझै पूरा बयान गर्न सक्दैनन्। आज पनि उनी त्यो दिनका देखिने र नदेखिने दुवै चोटहरू बोकेर हिँड्छन्, तर आफूसँग अझै भएको जीवनप्रति मनैदेखि धन्यवाद पनि दिन्छन्। "अहिले हरेक दिन एउटा उपहार जस्तो लाग्छ," उनी भन्छन्, उनका आँखामा पीडा र आशा मिसिएको भाव झल्किन्छ। "मलाई किन बचाइयो थाहा छैन, तर म त्यो मौकाको कदर हुने गरी बाँच्ने कोसिस गर्दैछु।" अहिले उनी आफ्नो यो नयाँ पाएको जीवनलाई खुसीसाथ अँगाल्दै छन्।

३ अक्टोबर २०२३ मा साउथ ल्होनक हिमताल फुट्यो। हिमताल फुटेर ठूलो बाढी आयो। बाढीको पानी बेस्सरी बग्दै तल चुङथाङको टिस्टा-३ बाँधमा ठोक्कियो, अनि बाँधका ६० मिटर अग्ला पर्खालहरू १० मिनेटभित्रै भत्किए त्यसपछि दुई घण्टाभित्रै बाढीको पानी सिक्किमको सिङताम, मल्ली र पश्चिम बङ्गालपट्टिको टिस्टा बजारका बस्तीहरूमा पुग्यो अनि बाटोभरि ठूलो बिनाश मच्चायो।

६ अक्टोबर २०२३ मा हाम्रो चर्च 'इभान्जेलिकल प्रेस्बिटेरियन चर्च अफ सिक्किम' (EPCS) को एउटा मद्दत गर्ने टोली पूर्वी सिक्किमको रम्फू र मामरिङका पीडित मानिसहरूलाई सघाउन ती बाढीले बिगारेका ठाउँहरूमा गयो। टोलीका अरू साथीहरू चाहिने सामान बाँड्न व्यस्त हुँदा मैले यी तस्बिरहरू खिचेँ।

तस्बिरहरूको यो सँगालो के भयो भन्ने कुराको सम्झना मात्र होइन, यो ठाउँलाई आफ्नो घर मान्ने मानिसहरूको भावना र सङ्घर्ष हेर्ने एउटा झ्याल पनि हो। यी तस्बिरहरूले गुमाउनुको पीडालाई मात्र होइन, सँगै जुट्ने समाजको ताकत, बाँकी रहेका चिज जोगाउने र फेरि बनाउने अठोट, अनि सबैभन्दा अँध्यारो समयमा पनि पलाउने आशाका शान्त पलहरूलाई कैद गरेका छन्।

यी फोटोहरूले बाँच्ने सङ्घर्ष र एकताको कथा भन्छन्। यिनले हामीलाई जीवन कति कमजोर हुन सक्छ भन्ने सम्झाउँछन्, तर मान्छेको आत्मबल कति बलियो हुन्छ भन्ने पनि देखाउँछन्। यो सिक्किमको कथा हो- मन भाँचिएको कथा, तर सम्हालिने र आशा पलाउने कथा पनि हो।

बाढीको वेगले गरेको विनाश कति भयानक थियो भन्ने कुरा प्रस्टै देखिन्थ्यो। हिलो र भग्नावशेषको बाक्लो थुप्रोले जमिनलाई मात्र छोपेन, टिस्टा किनारमा बस्ने मानिसहरूको पुस्तौँको सम्झना, आशा र जीवन पनि बगाएर लग्यो। अविश्वास, आघात र डरको गहिरो भावना पीडित ठाउँहरू र त्यसभन्दा बाहिर पनि फैलियो, जसले गर्दा धेरै जसोलाई कति ठूलो बिनाश भयो भनेर बुझ्नै गाह्रो भयो।

तैपनि, बाँच्नु नै मुख्य कुरा थियो। आफ्ना जीवनहरू फेरि बसाल्नु बाहेक अरू विकल्प नभएपछि, उनीहरूले आफ्नो जीवनका जे-जति चिज बाँकी थिए तिनलाई सफा गर्ने र जोगाउने कठिन कामबाट फेरि नयाँ सुरुवात गरे।

तर, सोच्नै नसकिने नोक्सानीको अगाडि बाँच्नु मात्र पुग्दैन; यसका लागि हिम्मत, धैर्य र सामूहिक ताकत चाहिन्छ। रम्फूमा सहायताका कामहरू एकताको बलियो उदाहरण बने, जसले मानिसहरूलाई "हामी सबै यस दुःखमा सँगै छौँ" भन्ने सम्झायो। खानेकुरा, लुगाफाटा, अत्यावश्यक सामान र अरू चाहिने चिजहरू जम्मा गरियो अनि पीडितहरूलाई बाँडियो।

आपसी जिम्मेवारीका यी पलहरूले मलाई महसुस गरायो कि मान्छे-मान्छे बीचको सम्बन्धको ताकत साँच्चै अद्भुत हुन्छ। पीडित समाजहरू पीडा भुलाउने, तङ्ग्रिने र जीवन फेरि बनाउने गाह्रो यात्रामा अघि बढ्दै गर्दा प्रकृतिको रिसको अगाडि हाम्रो जीवन कति कमजोर छ भन्ने हामी बुझ्छौँ। तैपनि, यस्तो बिनाशले दिएको नोक्सानी र पीडालाई स्विकार्दै मान्छेको नहार्ने धैर्य, हिम्मत र एकताको भावना झन् चम्किएर बाहिर आउँछ।

Translated by: विशाल मङ्गर
About the Author

योङ्देन दक्षिण सिक्किमको नाम्चीमा बस्ने एक चलचित्र निर्माता, तस्बिरकार र दृश्य कथाकार हुन्। अगस्ट २०२६ मा, विश्व तस्बिर दिवस मनाउन सिक्किम सरकारसँग मिलेर निकोन इन्डियाले आयोजना गरेको "सिक्किम थ्रु द लेन्स" तस्बिर तथा भिडियो प्रतियोगिता दुवै विधामा सर्वोत्कृष्ट विजेता घोषित भए। स्केटबोर्डर अनुराग राईलाई समेटेर स्केटबोर्डिङमा बनाइएको उनको छोटो चलचित्र 'नो पार्क? नो प्रोब्लम' धेरैले मन पराएका छन् र निकै राम्रो प्रतिक्रिया पाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram