ल्यान्ड वेयर आई फ्ली, प्रज्वल पराजुली; क्वेरकस बुक्स, युके (हाचेट इन्डिया), २०१५, ISBN: ९७८-१६२३६५४५७३
प्रकृतिले हामीलाई अविछिन्न भूमि दियो, तर मानिसले त्यसलाई राजनीतिक सीमाले टुक्र्यायो, र ती सीमाले आज पनि हाम्रो जीवनलाई आकार दिइरहेका र साँघुरो पारिरहेका छन्। प्रज्वल पराजुलीको ल्यान्ड वेयर आई फ्ली यही आधारभूत मान्यतामा उभिएको उपन्यास हो। पारिवारिक पुनर्मिलनको घुटनपूर्ण परिवेशमार्फत यसले पूर्वी हिमालयमा पहिचानको जटिल भू-राजनीतिको चिरफार गर्छ। चर्चित कथासङ्ग्रह द गोर्खाज डटरपछिको यो पहिलो उपन्यासले नेपाली डायस्पोरा र सिक्किमे जीवनका सूक्ष्मताबारे अन्तर्दृष्टिपूर्ण स्वरका रूपमा पराजुलीको स्थान अझ सुदृढ बनाएको छ। लोकप्रिय बहसले प्रायः सीमालाई राष्ट्र-राज्यको द्वैध दृष्टिबाट हेर्छ (भारत बनाम 'अरू' विदेशी)। पराजुली भने आफ्नो दृष्टि भित्रतिर मोडिन्छन्। भारतको सीमाभित्र र छिमेकी हिमाली राज्यहरूका बिचमा पनि सांस्कृतिक र सामाजिक श्रेष्ठताका आन्तरिक दावी उत्तिकै उग्र छन् भनी उनी देखाउँछन्। उपन्यासको शीर्षक एउटा बारम्बार आउने विषयवस्तुको रूपक हो: मानिस आफ्नो सम्पदा, परिवार र जन्मभूमिबाट आफूलाई अलग गर्छन्, तर जुन संरचनाबाट उम्कन खोजेका हुन्, त्यसैसँग बाँधिइरहन्छन्।
सिक्किमको पृष्ठभूमिमा बुनिएको यस कथाले त्यस राज्यलाई नेपाल, भुटान र पश्चिम बङ्गालसँग जोड्ने सांस्कृतिक धागाहरू एकसाथ गाँसेको छ। कथाको थालनी 'चौरासी'को तयारीबाट हुन्छ। नेपाली हिन्दू संस्कृतिमा व्यक्तिको ८४ औँ जन्मदिनमा मनाइने यो परम्परागत उत्सव हो। रजत वा स्वर्ण जयन्तीलाई महत्त्व दिने पश्चिमी परम्पराभन्दा फरक, मूलधारको हिन्दू चिन्तनमा चौरासी सङ्ख्याको गहिरो आध्यात्मिक वजन छ। यसले पुनर्जन्मको चक्रमा पाइने चौरासी लाख जुनीलाई सङ्केत गर्छ। पराजुलीको हातमा यो शुभ अवसर एउटा विस्फोटक पारिवारिक पुनर्मिलनको थलो बन्न पुग्छ।
यस तुफानको केन्द्रमा छिन्, चित्रलेखा न्यौपाने: कडा स्वभावकी, बिँडी तान्ने हजुरआमा, जसले नातिनातिनालाई फलामे हातले हुर्काएकी छिन्। अठार वर्षको दुरीपछि उनका चार टाढिएका, विस्थापित नातिनातिना गान्तोक फर्कन्छन्। अगस्त्य न्यु योर्कमा बस्ने सफल चिकित्सक हुन्, जो भित्री द्वन्द्वहरूसँग जुधिरहेका छन्। अक्सफोर्डमा शिक्षित मानसा घरायसी जिम्मेवारी र दैनिक त्यागको जञ्जालमा फसेकी छिन्। भगवती जात र राष्ट्रियताको सीमा नाघेर भुटानी-नेपाली पुरुषसँग भागेकाले बहिष्कृत भएकी छिन्। उनका पति उनको उच्चवर्गीय बाहुन पृष्ठभूमिको तुलनामा 'दमाई' (तल्लो जात) मानिन्छन्। रुथ्वा परिवारको कालो भेडा हुन्, एक विवादास्पद उपन्यासकार, जसको उपस्थितिले तनाव जन्माउँछ। यस पारिवारिक समीकरणमा थप जटिलता थप्ने पात्र प्रशान्ति हुन्। उनी तेस्रो लिङ्गी सेविका हुन्, जसको हैसियत सीमान्तकृत घरेलु कामदार र परिवारको अपरिहार्य सदस्य (विशेषगरी हजुरआमाका लागि) का बिच डोलिरहन्छ।
पराजुलीले यी पात्रमार्फत सिक्किमको दैनिक जीवन उधिन्छन्। आर्थिक स्वतन्त्रताको चाहना कठोर जातीय पदानुक्रम र परम्परागत लैङ्गिक भूमिकासँगै सहअस्तित्वमा छ। यो चित्रलेखाबाट बुझ्न सकिन्छ, जो व्यवसाय चलाउँछिन् र परिवारकी स्थितप्रज्ञ, अडिग मुखिया बन्ने प्रयास गर्छिन्। घरकी तेस्रो लिङ्गी सेविका प्रशान्तिमार्फत उठ्ने लैङ्गिक दृष्टिकोणले पनि आर्थिक स्थिरता र स्वतन्त्रताको आवश्यकतालाई देखाउँछ। आर्थिक स्थिरता र सुरक्षाले हरेक दाजुभाइ-दिदीबहिनीलाई चिन्तित राख्छ, र को कति खर्च धान्न सक्छ वा सक्दैन भन्ने विषयमा उनीहरू र उनीहरूका परिवार एकअर्कालाई होच्याउन खोज्छन्। जात र सामाजिक हैसियतमार्फत पारिवारिक सम्बन्धहरूमा पूर्वी हिमालयको सामाजिक बनोटका अन्तर्धाराहरू देखिन्छन्। मुखियाको हैसियतमा चित्रलेखाले दमाईसँग भागेकोमा भगवतीलाई होच्याउँछिन्। यो भावनालाई प्रशान्तिले पनि बल दिन्छिन्, जो आफू सामाजिक रूपमा उच्च भएझैँ व्यवहार गर्न खोज्छिन् र आफू त केवल सेविका हुँ भनेर आफूमाथि पर्ने व्यङ्ग्यलाई सन्तुलनमा राख्छिन्। हामी सबैले रोमान्टिक बनाएर हेर्ने हिमाली जीवनको आदर्श चित्र प्रस्तुत गर्नुको सट्टा यस पुस्तकले आपसमा जेलिएका जनजातीय पहिचान, सीमापार बसाइँसराइ र राजनीतिक इतिहासले जन्माएको सामाजिक घर्षणलाई उजागर गर्छ।
ल्यान्ड वेयर आई फ्लीको मूल शक्ति यसको तिखो संवाद र पात्रहरूलाई रोमान्टिक नबनाउने साहसमा छ। चित्रलेखा न्यौपाने एक आकर्षक पात्र हुन्, एक प्रभावशाली मुखिया, जसको कठोर निष्ठुरता र निरन्तरको होच्याइले गहिरो, अस्वीकृत एक्लोपनलाई छोपेको छ। चार दाजुभाइ-दिदीबहिनीबीचका अन्तरक्रिया तिखा प्रहार र निष्क्रिय-आक्रामक भिडन्तले भरिएका छन्। पूर्वोत्तरमा बसोबास गर्ने नेपाली परिवारमा सामाजिक संरचना कसरी खडा गरिएको हुन्छ भन्ने उत्कृष्ट उदाहरणका रूपमा भगवती उभिन्छिन्। आफ्नै जात र आफ्नै देशको मानिसलाई सधैँ परिवारका रूपमा हेरिन्छ, जबकि अर्को देशको व्यक्तिसँग घुलमिल हुनु स्वीकार्य हुँदैन।
चित्रलेखाले भगवतीका पतिलाई "दमाई" (तल्लो जात) भनेर सम्बोधन गरेर यो भेद कायम राख्छिन्। त्यसमाथि, निर्वासित व्यक्ति चित्रलेखाको शिष्टतापूर्वक बोल्न योग्य ठहरिनेहरूको सूचीमा अझ तल पर्छ। प्रशान्तिले भगवतीका पतिलाई दोस्रो दर्जाको नागरिक भन्छिन्। भगवती र उनका पतिको राजनीतिक निर्वासन र शरणार्थी हैसियतबारे दुवै सचेत छन्। यस्तो भौतिक निर्वासनले पारिवारिक अन्तरक्रियालाई चिराचिरा पार्छ। अठार वर्षपछि पनि भगवतीलाई भुटानी-नेपाली मूलका निर्वासित तल्लो जातका पुरुषसँग विवाह गर्ने, भागेर गएकी स्त्रीका रूपमै हेरिन्छ। मानसाले आफ्ना ससुराली पक्षबारे र आफ्नै मातृभूमिमा उनीहरूको सामाजिक हैसियत कति खस्किएको छ भन्ने कुराको चर्चा टार्छिन्। भावनात्मक विस्थापनले भौतिक निर्वासन र दाजुभाइदिदीबहिनीका खण्डित वयस्क जीवनलाई कसरी प्रतिबिम्बित गर्छ भन्ने कुरा पराजुलीले देखाएका छन्। एकअर्कासँगको अन्तरक्रियामा उनीहरू कठोरता र पन्छाइमार्फत आफ्ना असुरक्षा प्रक्षेपण गर्छन्।
तर उपन्यास कहिलेकाहीँ आफ्नो कथात्मक दायराको भारले थिचिन्छ, विशेषगरी सामाजिक संरचना र जातप्रथाको प्रसङ्गमा। बाह्य पर्यवेक्षक निकोलस (अगस्त्यको प्रेमी), पश्चिमा विदेशीको प्रवेशले यसमा रोचक कोण थप्छ। हामीलाई पहिल्यै थाहा भएका केही चलनहरू निकोलसलाई बुझाइन्छ। जुत्ता खोल्ने, हातले खाने र हाम्रोमा सामान्य तर उनीहरूका लागि असामान्य लाग्ने केही खानपानका बानीहरू यसमा पर्छन्। यो स्थानीय चलनहरू अन्तर्राष्ट्रिय पाठकलाई बुझाउन घुसाइएको कथात्मक युक्ति हो। यसले अन्तर्राष्ट्रिय पाठकलाई क्षणिक राहत दिन्छ, तर भारतीय पाठकका लागि अलि लम्बिएको लाग्छ। भारत आतिथ्यको भूमिका रूपमा चिनिन्छ, तैपनि विदेशीहरूलाई यी चलन अप्ठ्यारा लाग्न सक्छन्, र घरमा को प्रवेश गर्छ भन्ने कुनै ख्यालबिना ती चलन कायम रहन्छन्। निकोलसलाई बुझाइएका चलन र परम्पराले प्रशान्ति र चित्रलेखालाई आतिथेयका रूपमा प्रतिबिम्बित गर्दैनन्। जात र विदेशीको विषयमा उनीहरू आफ्ना व्यवहारमा निकै दृढ छन्। यस सन्दर्भमा आतिथेयका रूपमा उनीहरूको चरित्र-विकासले खासै महत्त्वपूर्ण भूमिका खेल्दैन। यी साना घुसपैठका बावजुद पराजुलीले पारिवारिक मेलोड्रामा र व्यापक भू-राजनीतिक विश्लेषणबीच सूक्ष्म सन्तुलन कायम राख्छन्।
ल्यान्ड वेयर आई फ्लीले दक्षिण एसियाली अङ्ग्रेजी साहित्यमा विशिष्ट स्थान ओगट्छ। दिल्ली र मुम्बई जस्ता महानगर वा दक्षिणी डायस्पोरामा केन्द्रित हुने अधिकांश भारतीय अङ्ग्रेजी लेखनभन्दा फरक, पराजुलीले हिमाली सीमावर्ती क्षेत्रका नेपाली-भाषी डायस्पोरालाई उजागर गरेका छन्। यसो गर्दै उनले सिक्किम, नेपाल र भुटानबिचको जटिल अन्तर्क्रियालाई उज्यालो पार्छन्, र भुटानी-नेपाली शरणार्थीको विस्थापन लगायतका निर्णायक ऐतिहासिक यथार्थतर्फ आवश्यक ध्यानाकर्षण गराउँछन्।
पारिवारिक तनाव र पुस्तागत खाडलको चित्रणमा यो पुस्तकले झुम्पा लाहिरीको द लोल्यान्ड वा किरण देसाईको द इनहेरिटेन्स अफ लस सँग विषयगत साझापन राख्छ। तर पराजुलीको स्वर स्पष्ट रूपमा बढी तिखो र बेपर्वाह छ। उनले सिक्किमे भूदृश्यलाई विदेशी रङ दिँदैनन्। गान्तोकलाई शान्त पर्यटकीय गन्तव्यका रूपमा होइन, राजनीतिक इतिहास, वर्गीय विभाजन र दैनिक सङ्घर्षले चिह्नित जीवन्त सहरी स्थानका रूपमा प्रस्तुत गरिएको छ।
ल्यान्ड वेयर आई फ्ली पढ्दा क्षेत्रीय वा सीमावर्ती समुदाय सांस्कृतिक रूपमा एकरूप हुन्छन् भन्ने मान्यतालाई चुनौती मिल्छ। अति-विश्वव्यापीकृत परिवेशमा बस्दा पनि व्यक्तिहरूले जातवाद, वर्गवाद र समलैङ्गिकताविरोधी (होमोफोबिया) जस्ता सामाजिक पूर्वाग्रह कति सजिलै आत्मसात् गर्छन् भन्ने कुराको सामना गर्न यसले पाठकलाई बाध्य पार्छ। तिहार (दिवाली) सँगै चौरासी उत्सव सकिँदासम्म उपन्यासले सिक्किमे-नेपाली परिवारको खानपान, भाषा, राजनीति र सामाजिक संरचनाको विस्तृत दृश्य प्रदान गर्छ। यस क्षेत्रको मौलिक सेल रोटीको विशिष्ट उल्लेख, गोर्खाल्यान्ड निर्माणका लागि भएको सङ्घर्षको स्थानीय राजनीति, र जातप्रथाको शीर्षमा रहेका बाहुन जातिका सदस्यका रूपमा न्यौपाने परिवारको अहङ्कार कथाभरि छरिएका छन्।
पराजुलीको उपन्यास सफल हुनुको कारण यसले घरलाई प्राथमिक सीमाक्षेत्रका रूपमा प्रस्तुत गर्नु हो। आफ्नो उद्गमबाट भौतिक रूपमा टाढा जानु पारिवारिक अपेक्षाबाट भावनात्मक मुक्ति पाउनुभन्दा प्रायः धेरै सजिलो हुन्छ भन्ने कुरा यसले देखाउँछ। जात उल्लङ्घन गरेका र विदेशी सम्बन्ध अँगालेका नातिनातिनाप्रति चित्रलेखाको अहङ्कारी व्यवहार, पारिवारिक समीकरणमा प्रशान्तिको अस्पष्ट पहिचान, र आफ्नो मूलसँग मेल खान र नयाँ पहिचानसहित उदाउन हरेक नातिनातिनाले गरेका कमजोर प्रयास, यी सबैले घरभित्रै सीमाहरू खडा गर्छन्। ल्यान्ड वेयर आई फ्ली परिवारभित्रका मानवीय यथार्थ, साथै पूर्वोत्तर भारत र त्यसका छिमेकी राष्ट्रहरूका सीमा पछाडिका यथार्थ बुझ्न चाहने जोकोहीका लागि मूल्यवान पठन हो।
कविता साहित्यिक समुदाय "क्याफिनेटेड कन्भर्सेसन्स" की संस्थापक र तिन पुस्तककी लेखक हुन्। उनी उत्साही पाठक, लेखक र सांस्कृतिक समीक्षक पनि हुन्, जसको दक्षिण एसियाली साहित्य, क्षेत्रीय आख्यान र डायस्पोरा अध्ययनमा गहिरो रुचि छ।


Designed by NWD.