Menu

मलाई किन पढ्न मन पर्छ

हजारौँ चाउरी

मलाई लाग्दैन कि तपाईँले निमालाई भेट्नुभएको छ। तर, कुनै पागलपनपूर्ण दुर्घटनाले, सायद तपाईँले भेट्नुभएको छ। यस संसारमा अनौठा संयोगहरू हुन्छन्। सायद तपाईँ बिदा मनाउन लद्दाखमा  पुग्नुभयो र संयोगवश उनीअघि पुग्नुभयो। त्यस्तो अवस्थामा, तपाईँले उनका बुबा उर्गेनलाई पनि भेट्नु भयो। तपाईँले उनी मुस्कुराउँदा उनको अनुहारमा हजारौँ चाउरी परेको देख्नुभएको हुनपर्छ। अनि तपाईँले उनको फुर्तिलो कुकुरलाई भेट्नुभएको हुनपर्छ र उर्गेनले कसरी आफ्नो अगाडिको हत्केला उसको कलरमा राखेर उसलाई अचल बनाउँछ भनेर देख्नु भयो होला ताकि उसले मानिसहरूलाई केही नगरोस्।

तपाईँले निमाले बाख्राहरूलाई दुहुँदै र तिनीहरूको बड्कौँला टिप्दै गरेको पनि देख्नुभयो होला, जुन उनको परिवारले जाडोमा बाँच्नका लागि इन्धनको रूपमा प्रयोग गर्छ। अनि सायद निमाले तपाईँलाई हानले मठमा लगेको हुनपर्छ जहाँ उनी आफ्नो जनजाति, चाङपाका बाख्रा र याकहरूका लागि प्रार्थना गर्छिन्। निमाले तपाईँलाई आफ्नो बुबाको रेबो (परम्परागत चाङपा पाल) देखाएको हुनुपर्छ। सायद उर्गेनले तपाईँलाई अभिवादन गरे होलान्: जुले! नमस्ते! अनि सायद, तपाईँले उनीहरूले बिताएको कठिन जीवनको बारेमा टिप्पणी गर्नुभयो र उर्गेनले तपाईँलाई पनि भन्यो, “घाँस आफै उम्रन्छ, बाख्रा र याकले तिनीहरूलाई खान्छन्, बच्चा ब्याउँछन्  र आफै स्वस्थ रहन्छन्। हामी उनीहरूबाट जे चाहन्छौँ त्यही पाउँछौँ - दुध, मासु, लुगा । हामी केही गर्दैनौँ, अनि  तपाईँ यसलाई कठिन जीवन भन्नुहुन्छ?”

के निमाका काका लोबसाङले तपाईँलाई आफ्नो घोडामा चढाउनुभएको थियो? अनि के उनले तपाईँलाई ती सुकेका र नुनिलो मासुका परिकारहरू खुवाउनुभएको थियो? जब तपाईँ चाङ्ताङमा हुनुहुन्थ्यो (मलाई निश्चित छु, निमाले तपाईँलाई यसको अर्थ उनको भाषामा 'विशाल शून्यता' हो भनी बताइन्), के तपाईँ आकाशतिर फर्किएर हेर्नुभयो अनि फुलगोभी जस्ता बादलहरू देख्नुभयो?

तपाईँ कति भाग्यमानी हुनुहुन्छ। म लद्दाख गएर निमा र उनको परिवारलाई, विशेष गरी उनको कुकुरलाई भेट्न पाए हुन्थ्यो भन्ने कामना गर्छु। मैले चाङपाहरूसँग समय बिताउने शङ्कर श्रीधरको यात्रा वर्णनमा उनीहरूको बारेमा पढेको थिएँ। उनी त्यहाँ हुँदा उनीहरूले उनलाई चाङपा नाम पनि दिए। उनीहरूले उनलाई थामो (पातलो) भनेर भन्थे।

त्यसैले म पढ्छु, निमा र उर्गेन जस्ता मानिसहरूलाई भेट्न, विभिन्न संस्कृति र ठाउँहरूमा जान र रहनसहनका विभिन्न तरिकाहरू बुझ्न। त्यसैले जब म बाल्यकालमा मेरो काकाको घरमा जान्थेँ, अरू सबै पार्कमा खेलिरहेका हुन्थे, म ओछ्यानमुनि लुकेको हुन्थेँ (जहाँ कसैले मलाई भेट्टाउन सक्दैनथे), उनको कमिक्स र विश्वकोशको सङ्ग्रह लिएर, टाढाका ठाउँहरू र मानिसहरूको बारेमा पढ्थेँ।

अब, मैले हजारौँ चाउरी परेको अनुहार कस्तो देखिन्छ भनेर कल्पना गर्दै गर्दा मलाई क्षमा गर्नुहोस्।

अन्त्यको टिप्पणी

"ह्वाई आइ लभ टु रिड" (स्कोलास्टिक, २००८) मा प्रकाशित ।

तस्बिर सौजन्य: शंकर श्रीधर_Inspiration Feeder

Translated by: टिका राई
About the Author

सलिल चतुर्वेदी एक लेखक, कवि, अपाङ्गता कार्यकर्ता र सीमान्तकृत समुदायका प्रेमी हुन्। ह्वीलचेयरमा बसेर जीवन बिताएको अनुभवको अलावा, उनले २००९ मा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको बारेमा जागरूकता जगाउन मुम्बईबाट गोवासम्मको टोलीसँग डुङ्गा यात्रा गरे। उनले लोकप्रिय बाल टेलिभिजन धारावाहिक गल्ली गल्ली सिम सिममा अभिनय र लेखन गरेका छन् र दृष्टिविहीन व्यक्तिहरूको लागि DAISY ढाँचामा पहिलो कोंकणी पुस्तक शब्दुली निर्माण गरेका छन्। उनका प्रकाशित कृतिहरूमा तीन कविता संग्रह र छोटो कथाहरूको संग्रह समावेश छ। उनी गोवामा बस्छन् र हाल सेरेन्डिपिटी आर्ट्स फेस्टिभलमा पहुँच क्युरेटरको रूपमा संलग्न छन्। खाना उब्जाउनु एक जोश हो, र उनी हाल प्रयोग नगरिएको धान खेतलाई खाद्य वनमा रूपान्तरण गर्ने काममा पनि व्यस्त छन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram