लेप्चा लोक कथा अनुसार, सिक्किमको दुईवटा प्रतिष्ठित नदी रङ्गीत र रोङन्यू, देवी माता इत्बु-मूका महान् सिर्जना हुन्। मायेल-ल्याङमा1 उनीहरूलाई रमणीय सुनदरता र एक-अर्काप्रतिको अगाध प्रेमका लागि जानिन्छ। लेप्चा भाषामा रङ्गीतको अर्थ हुन्छ “रोङहरूको2 उत्पति स्थल” तथा रोङन्यूको अर्थ “सम्मानित रोङ महिला” हुन्छ।
यी दुई नदीका आत्मा हिमालको माथि बादलले ढाकेका भञ्ज्याङमा सुटुक्कै भेट्ने गर्थे। उनीहरूको माया-पिरती सबैले थाहा पाएपछि, उनीहरूले कोङछेनकोङछ्लो (कञ्चनजङ्घा शिखर)-लाई प्रार्थनी गरी आफ्नो मूल थलोदेखि छोडी धेरै टाढा सँगै बस्ने तय गरे। तरै पनि आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्दै, यी दुई नदीका आत्माले अलग-अलग बाटो भएर जाने र पोजोकमा (दार्जीलिङ जिल्ला अन्तर्गत हालको पेसोक, जुन रङ्गीत र टिस्टाको सङ्गमदेखि माथि पर्दछ) भेट्ने वाचा गरे। कसले जित्ने भन्ने राम्रै भावनाका साथ उनीहरूले मैदानतर्फ दौड लगाउने बाजी लगाए।
यी दुई आत्माले आफ्नो परिचित इलाकादेखि टाढा पहिलोपटक यात्रा गर्न तय गरेको हुँदा मैदानतिर झर्ने बाटो उनीहरूलाई थाहा थिएन। प्रतिस्पर्धी प्रकृतिको भएकाले रङ्गीतले तेज गतिले उड्न सक्ने पाहाडी चरी टुटफोलाई बाटो देखाउनका लागि रोजे भने रोङन्यूले बाटो देखाउनका लागि पारिलबू, अर्थात् साँपलाई रोजिन्। दुवैले एक-अर्कालाई शुभकामना दिँदै दौड लगाउन शुरु गरे।
तर रङ्गीतलाई निराश बनाउने कुरा, टुटफो तेज गतिले उड्नका साथै लटरम्म फल फलेका रुखहरू, रङ-बिरङ्गी फूल तथा कीराहरू देख्दा बाटोमा विचलित भइहाल्थ्यो। तिनी बाटोमा मस्ती गर्न अथवा अरू चरा-चुरूङ्गीसँग खेल्न र फल खान लोभिने गर्थे। रङ्गीतले दौडको बाजीबारे स्मरण गराइरहे तापनि टुटफोले हेलचेक्राइँ गर्न छोडेन।
अर्कातिर टुटफोभन्दा सुस्त भए तापनि पारिलबू भने कुनै कुरामाथि आकर्षित अनि विचलित नबनी गन्तव्यतिर अघि बढिरहे। चाँडै रोङन्यू आफ्नो गन्तव्य नजिक पुगिन्। तर उनको खुशी पलभरको निम्ति मात्र रह्यो र आफ्ना प्यारा रङ्गीतको पर्खाई लम्बिँदै गयो।
अनन्त जस्तै लाग्ने धेरै समयपछि रङ्गीत दुई गहिरो घाटीबाट देखापरे र तल मैदानमा रोङन्यू अघिदेखि नै परिरहेको देखे। “दिस-सी-था” (कहिले आइपुग्यौ)?” बाजी हारेपछि उनले तीनछक्क पर्दै सोधे। उनको अभिमानलाई धेरै ठूलो चोट लागेको थियो।
हारको लाज पचाउन नसकी, कुनै सोच विचार नगरी रङ्गीत फेरि उकालै हिमालतर्फ दौडन थाले। गर्जिँदै अनि विलाप गर्दै रङ्गीतले फेरि फर्किंदै उकालो बग्ने क्रममा, भित्री आक्रोश व्यक्त गर्दै जताततै उग्र वेगमा विनाश लीला रच्दै गए। दुखी मन लिएर रोङन्यूले आफ्ना प्रेमीलाई पछ्याउँदै गइन्, तर ढाढस भने दिन सकिनन्। दुवै नदीको आत्मा तेज गतिले उकालो हिमालतिर अघि बढ्दा, मायेल ल्याङ गहिरो पानीमा डुब्न पुग्यो।
घाटीमा बसोहबासो गर्ने मानिसहरूले यस्तो भल बाढी, उनीहरूले पूजा-अर्चना गर्न छोडेका देवी माता इत्बु-मूको कारण आएको बुझे। यहाँ बसोबासो गर्ने मानवदेखि लिएर पशु-पक्षी अनि कीराहरूले गुहार लगाउँदै अग्ला पाहाडतिर सुरक्षित पुग्न होड लगाए। तर दक्षिण सिक्किमको दामथाङ स्थित तुनदोङह्लो वा तेन्दोङ पर्वतबाहेक अरू सबै डुबानमा परेका थिए। वास्तवमा, आफूमा शरण लिएका प्राणीहरूलाई बचाउनका लागि चमत्कारी रूपमा उक्त पर्वत अझ अग्लो-अग्लो हुँदै गयो। बाढको कारण जताततै त्राहीमाम मच्चिएको देख्दा, लेप्चाहरूले इत्बु-मूको प्रचण्ड क्रोधलाई शान्त गर्न पूजा अर्चना गर्न थाले। “ तपाईंलाई अप्रसन्न बनाएकोमा हामीलाई माफ दिनुहोस् र यस विनाशबाट हामीलाई बचाउनुहोस् हे इत्बु-मू”, भनी उनीहरूले बिन्ती बिसाए।
अन्त्यमा गएर, तुनदोङह्लोको चुचुरोबाट काहोम्फो (तित्रा चरी) झरी कोङछेन कोङछ्लोलाई मोङब्री (कोदो) चडाए। पृथ्वीका सबै प्राणीको पक्षमा काहोम्फोले आकाशतर्फ कोदोका दाना छरी दयाको भिख मागे। उक्त चरीको बिन्ती सुनेपछि, इत्बु-मूले शान्त बनिन् र रङ्गीत तथा रोङन्यूको कारण आएको भल-बाढीको पानी घट्दै गयो।
रङ्गीत र रोङन्यूको कथाबाट प्रभावित बनी, लेप्चाहरू यी दुई नदीका आत्मालाई पूजा-अर्चना गर्न सङ्गमतर्फ लागे। आज पनि लेप्चा बेहुला अनि बेहुलीलाई यी दुई नदीको आत्मा जस्तै खुशी र समृद्धिले भरिएको जीवनको आशीर्वाद लिन उक्त सङ्गम स्थलमा लैजाने गरिन्छ।
यसपछि तुनदोङह्लोबाट सबै प्राणी तल झरी आफ्नो जीवन बिताउन थाले। यसपछि परेको बेला धेरैको ज्यान बचाउने तुनदोङह्लोलाई सधैं पूजा अर्चना गर्ने उनीहरूले निधो गरे। यसै कारण आजको दिनमा पनि यस पर्वतलाई लेप्चाहरूले अति पावन-पवित्र मान्दछन् र वर्षमा एकपटक यहाँ पूजा-अर्चना गर्दै फूल-भेटी चढाउने गर्दछन्। यस चाडलाई तुनदोङह्लो रूम फात भनिन्छ।
यसैबीच, रोङन्यूले रङ्गीतलाई “किन यति धेरै रिसाएको प्रिय। तिमी ढिलो आइपुग्नुको कारण टुटफोले गर्दा हो। यो तिम्रो गल्ती होइन” भनी फकाउन थाले। आफ्नो प्रेमीको मधुर अनि शान्त स्वर सुनेपछि उनी शान्त बने। आफ्नो अल्हडपनको निम्ति क्षमा माग्दै अबदेखि कहिले पनि रोङन्यूको साथ नछोड्ने उनले वचन दिए। यसपछि दुई यी दुई नदी गहिरो प्रेम आलिङ्गनमा बाँधिए। यी दुईको एक-अर्काप्रतिको प्रेमबाट प्रभावित बनी इत्बु-मूले उनीहरूको सम्बन्ध स्वीकार गर्दै उनीहरूको प्रेम कथालाई युग-युगसम्म मानिसहरूले याद राख्ने आशीर्वाद दिइन्। यसपछि उनीहरू फेरि कहिले नछुट्टिने गरी बङ्गालको मैदानतिर बग्न थाले। पछि रोङन्यू थी-सी-था वा टिस्टाको नामले चिनिन थालिन्।
रङ्गीत र रोङन्यूको कथाबाट प्रभावित बनी, लेप्चाहरू यी दुई नदीका आत्मालाई पूजा-अर्चना गर्न सङ्गमतर्फ लागे। आज पनि लेप्चा बेहुला अनि बेहुलीलाई यी दुई नदीको आत्मा जस्तै खुशी र समृद्धिले भरिएको जीवनको आशीर्वाद लिन उक्त सङ्गम स्थलमा लैजाने गरिन्छ।
1 मायेल ल्याङलाई “गोप्य स्वर्ग”को रूपमा परिभाषित गरिएको छ र यो लेप्चाहरूको मूल थलो हो।
2 लेप्चाहरूले स्वयंलाई रोङकूप भन्दछन्, जसको अर्थ “रोङका (देवता) सन्तान” हुन्छ।
अनुवादक: खगेन्द्र मनी प्रधान
Designed by NWD.