किरात खम्बु राई अथवा केवल राई, सिक्किमको एक प्रमुख एथनिक समुदाय हो। अन्य पाहाडी समुदाय जस्तै उनिहरू पनि धेरै ठुलो क्षेत्रमा फैलिएका छन्, राष्ट्रीय, अन्तर्राष्ट्रिय सिमानामा, नेपालभित्र, भूटानमा, भारतका विभिन्न राज्यहरूमा, बर्मा अनि अरू देशहरूतिर पनि। राईहरू जम्मा ४५ उप-समूह अथवा थरहरूमा विभाजित छन्। यसले राइहरूभित्रको जातगत पदानुक्रमलाई होइन तर यसले केवल निषेधित मानिएका वैवाहिक सम्बन्धलाई सिमाबद्ध गर्नलाई मात्र थियो ताकि अनुवांशिक रोगहरूदेखि आफ्ना सन्तानलाई रक्षा गर्न सकियोस। समुदाय दस राईद्वारा निर्देशित हुन्थे, जो दस थरीका राईको प्रतिनिधि रहेको सभा हुन्थ्यो। सबै राईका थरहरूको यो संस्थानसित सम्बद्धता हुन्थ्यो, कि कहाँबाट ति राईहरूको हाँगा सुरु भयो। मुख्य निर्णयका निम्ति सभासित परामर्श लिइन्थ्यो अनि विशेष गरेर समुदायभित्रको झगडा मिलाउनलाई सभाको निर्णय जरूरी हुन्थ्यो।
राईहरूको इतिहास धेरै पुरानो छ। पारम्परिक रूपमा उनिहरू कृषक एवं शिकारी थिए- उनिहरूको जीवन उनिहरू बसेको जमीन अनि बदलिँ मौसमसित जटिल रूपले गाँसीएका हुन्थे। यो अन्तरङ्ग सम्बन्ध उनिहरूसित नै विकसित भएको उपासना अथवा पूजा विधिहरूमा प्रतिबिम्बित हुन्छन्। किराती मुन्धुम अनुसार, एउटा वर्ष दुइ चरणमा विभाजित छन् - उँभौली अनि उँधौली, जो संयोगले पक्षीहरूको स्थानांतरणसित मेल खान्थ्यो। ठन्डा मौसमको सुरु मंगसिर महीनामा हुन्थ्यो जतिबेला चराहरू दक्षिणतिर स्थानांतरण हुन्थ्यो त्यसलाई उँधौली भनिन्थ्यो। गरम मौसमको सुरुमा जतिबेला पक्षीहरू चिसो पाहाडी क्षेत्रतिर आउँथे त्यसलाई उँभौली भनिन्थ्यो। सिक्किममा उनिहरूले दुइ पर्वका अनुसार छुट्टाउने गरिन्छ, पहिलो हो साकेवा अनि दोस्रो साकेला। अन्य क्षेत्रका राईहरूले दुवैका निम्ति एकै शब्द साकेला प्रयोग गर्दछन्।
साकेला पर्व धेरै मिथकसित जोडिएको छ- त्यसमध्ये एक राईहरूको मूल देवता सुम्निमा-पारूहाङको मिथकीय कथासित सम्बद्ध छ। कथा अनुसार, पारूहाङ् स्वर्गमा निवास गरिरहेका थिए। एकदिन उनले धरतीमा सुन्दर सुम्निमालाई देखिन् अनि मोहित भएर उनिसित प्रेममा परे। उनले एक सुन्दर काङ्गियो बनायो अनि सुम्निमालाई पठाए। उनि पनि पारूहांङसित प्रेम गर्न थालिन् अनि उनिहरूले विवाह गरे।
उनिहरूको चार नानीहरू भए। केही वर्ष पछि दूधकोशी नदीको छेऊ एउटा झोपडीमा पारूहाङले सुम्निमालाई छाडेर गए, धेरै वर्षसम्म उनको पत्तो भएन। एकदिन सुम्निमाले नानीहरूको निम्ति खाना खोजिरहेको बेला एउटा पत्थरमा एउटा लहरा उम्रिरहेको पाइन्। उनले उक्त लहरा चाखिन्, त्यो खाँदा त्यसमा धेरै शक्ति अनि खुसी पाइन्। उनले त्यो लहरा टिपेर एउटा बुटी बनाइन्। त्यो बुटीलाई जसले हेऱ्यो, उसले सत्य बोल्न थालिहाल्थ्यो। एकदिन अचानक पारूहाङ् फर्केर आए। उनले रिसाइरहेकी सुमनिमालाई शान्त गर्न खोजे। त्यसपछि सुम्निमाले उनलाई बुटी दिइन्। यसले अचानक उनलाई खुसी तुल्यायो अनि उनले सुमनिमालाई उनको जोखिमपूर्ण यात्राबारे बताए। उनले आफ्नो समय चोमोलोङमा (सगरमाथा) बसेर स्वर्ग अनि धरतीलाई हेरेर बिताए। उनले धेरै वर्ष योग गरे अनि सम्पूर्ण ब्रह्माण्ड पनि भ्रमण गरे। पारूहाङले सुमनिमालाई फेरि छाडेर नजाने वचन दिए, जसले खुसी भएर सुम्निमा नाच्न थालिन्। भनिन्छ कि उनको खुसी भरिएको नाच नै साकेला नाच थियो। युवा पुरुष अनि महिला साकेलामा आफ्नो प्रेम खोज्नका निम्ति नै सहभागी बन्दछन्।
पूर्वजहरूलाई चूल्हाको तिनवटा ढुङ्गाले प्रतिनिधित्व गर्दछ - पुरुष पुर्खाहरू पारूलिङ्, देवालिङ् अनि साकेलिङलाई एउटा ढुङ्गाले प्रतिनिधित्व गर्दछ अनि महिला पूर्वजहरू, सुन्नीलिङ्, छातीलिङ्, मेछालिङलाई अर्को ढुङ्गाले प्रतिनिधित्व गर्छ। तेस्रो ढुङ्गाले समाजको कल्याणलाई प्रतिनिधित्व गर्दछ।
राईको घरको केन्द्र भनेको पितृ चूल्हा हो, जो पूजा-पाठ गरिने ठाउँ पनि हो, जसलाई सामखालुङ् पनि भनिन्छ, जसमा उनिहरूको विश्वास अनुसार तिनका पुर्खा अनि देवताहरू निवास गर्दछन्। यो उनिहरूको परम पवित्र स्थल हो जहाँ केवल आफ्नो थरी अनि पाछाका सदस्यहरूलाई मात्र प्रवेशको अनुमति हुन्छ। पूर्वजहरूलाई चूल्हाको तिनवटा ढुङ्गाले प्रतिनिधित्व गर्दछ - पुरुष पुर्खाहरू पारूलिङ्, देवालिङ् अनि साकेलिङलाई एउटा ढुङ्गाले प्रतिनिधित्व गर्दछ अनि महिला पूर्वजहरू, सुन्नीलिङ्, छातीलिङ्, मेछालिङलाई अर्को ढुङ्गाले प्रतिनिधित्व गर्छ। तेस्रो ढुङ्गाले समाजको कल्याणलाई प्रतिनिधित्व गर्दछ। राई पुरोहितहरू माङ्पा अनि माङमाले सामखालिङमा पारम्परिक पुजा अर्चना गर्दछन् जसलाई पितृ पूजा (चिन्ता) भनिन्छ जसमा परिवारको रक्षा गर्न घरको कूल देवतालाई प्रार्थना गरिन्छ।
जब उनले साकेलाको विधि गर्न थाल्छन् उनले बिताउँछन् कसरी तिनका पुर्खा खुवालुङबाट आए अनि हाँसलाई भेट्यो भन्नु सँगसँगै पंक्षीको नकल पनि गर्दछ।
राईहरूको दुइ महत्वपूर्ण पर्व साकेवा अथवा उँभौली अनि साकेला अथवा उँधौली हुन्। साकेवा हिन्दु महीना बैशाखको पूर्णिमादेखि सुरु भएर नौ दिनसम्म चल्दछ, यो अङ्ग्रेजी महीना अप्रेल अनि मइमाझ पर्दछ। धरती मातालाई श्रद्धा व्यक्त गर्न मनाईने साकेवामा, भूमि पूजा गरिन्छ, जसको पछि खाद्य अनि धनको हिन्दु देउता कुबेरलाई चढावा चडाउने गरिन्छ। समारोहले नयाँ कृषि वर्षको सुरुआत भन्ने जनाउँदछ अनि ठुलो मैदान अथवा पाहाडको टुप्पोमा माङ्पा अथवा माङमालाई अघि राखेर परम्परा पालन गरिन्छ। यो समारोहपछि, मानिसहरू घर फर्किएर पितृ चूल्हामा आफ्ना पुर्खाहरूलाई अन्नका दाना, कोदो, अदुवा आदि चढाएर पुर्खाहरूलाई प्रार्थना गर्दछन्।
पर्व पारम्परिक सिली नाच बिना अपूर्ण नै रहन्छ, यसको माध्यमले समुदायले धरती मातालाई प्रसन्न गराउने अनि उनिहरूको खेतीबालीका निम्ति वर्षा र राम्रो मौसमको निम्ति प्रार्थना गर्दछन्। साकेवा सिली केवल महिलाहरूले प्रस्तुत गर्दछन् तथा पुरुषहरूले भने सङ्गीत दिने गर्दछन्। चासुम सिली नाचहरूमा सबैभन्दा प्रमुख भाग हो, जसमा धान रोपिने, पाक्ने, पकाईने अनि खाने सम्पूर्ण कुरालाई चित्रित गरिएको हुन्छ।
मुन्धुम अनुसार राई (किरात) खुवालुङ् (नदी अथवा ठुलो खोला) अर्थात गङ्गाबाट आएका हुन्। उनिहरूले सानो नदी अथवा सप्तकोशी भएर अघि बढे। उनिहरूको यात्रामा सबैभन्दा पहिले हाँस भेटे, त्यसपछि धोबी चरा, कल्चुँडा, मिर्ग, कस्तूरी, अनि अरू धेरै प्राणीहरू। उनिहरू धेरै घाटीहरू तरे- अरुण घाटी, दूध कोशी, सुन कोशी, तामा कोशी - अनि अन्तमा भोटे कोशी घाटीमा घर-जम गरेर बसे। नाक्छुङ्ग, अथवा साकेलाका नेताले यो मुन्धुम बयान गर्दछ। जब उनले साकेलाको विधि गर्न थाल्छन् उनले बिताउँछन् कसरी तिनका पुर्खा खुवालुङबाट आए अनि हाँसलाई भेट्यो भन्नु सँगसँगै पंक्षीको नकल पनि गर्दछ। त्यसरी नै उनले धोबी चराको पनि नकल गर्दछ।
भुरूवा सिली एक लोकप्रिय नाच हो, जसमा सृष्टिका सबै कुरा किरा-फटेङ्ग्र, पंक्षी अनि जानवरहरूलाई चित्रित गरिन्छ। नाचसित साथमा गाइने कुनै गीत छैन। केवल एउटा शब्द 'सोई, सोई सोई!' सित पारम्परिक वाद्यवादन- ढोल, टूङ्गना, झ्याम्टा, अनि मुर्चुङ्गा बजाइन्छ। यो नाच बसन्त लाग्ने समयतिर प्रस्तुत गरिन्छ जतिबेला विश्व सितकालको कठोरता भोगिसकेर नयाँ जीवन लिइ बिउँझिएको हुन्छ।
धेरै प्रकारका पारम्परिक खाद्य जस्तै वाचिपा (कुखुराको जलाइएको प्वाँखका धूलो, मासु ,अदुवा अनि भात मिलाएर पकाइएको खाद्य), बुङ्चिपा (तितो स्वाद भएको चुवा नामको पौधासित भात मिलाएर पकाईएको खाद्य), आरखा/ हेङमावा (कोदो अथवा मकैको जाँड अनि रक्सी) , बाक्सा (सुँगुरको सेकाएको मासु), ओकरूक्मा (चामलको पिठोले बनाएको रोटी) आदि अतिथिहरूलाई दिने गरिन्छ।
साकेवा कुनै समय पारिवारिक पर्व थियो, सबै घरहरूलाई आफ्नो पिता-पुर्खाहरूको स्मरण गराउने अनि प्रकृति आमाको उत्सव मनाउने क्षण। राईहरूले पालन गर्ने उनिहरूको पुर्खाप्रतिको पवित्र, पालन गरिने अनि सम्मान व्यक्त गर्नेकुराहरूको निरन्तरताको निश्चिती सबै यसमा समाहित छ। यो एक कृषिप्रधान समाजको उत्सव हो जसलाई माङपा, माङमा अनि परिवारको मुल्कीको निर्देशन अथवा अभिभावकत्वमा पालन गरिन्छ।
नाम्चीले धेरै चोटी साकेवा उत्सव पालन गर्दै आएको भएता पनि यो उत्सव सिक्किमको अन्य ठाउँहरू गान्तोक, रांका, याङयाङ आदि ठाउँहरूमा पनि पालन गरिए।
हिजोआज, पारम्परिक पर्वहरूलाई नयाँ रूपमा अघि ल्याउने काम धेरै भइरहेका छन् ताकि त्यसलाई परिवर्तित अवस्था अनुसार ढाल्न सकियोस्। साकेवा सन्दर्भमा पनि त्यस्तै हुँदै आएकोछ। सिक्किममा हिजो आज सामुदायिक पर्वहरू राज्यको आर्थिक सहयोगमा सम्पन्न हुने गरिरहेकोछ, जसको कारण उत्सवमा सम्पूर्ण समुदायका मानिसहरूको व्यापक उपस्थिति पाइन्छ। साकेवा उत्सवमा राज्यका विभिन्न समुदायको सक्रिय सहभागिताका कारण यो उत्सव आपसी भाइचारा अनि एकताको प्रतीकका रूपमा विकसित बनेर गइरहेको छ। राज्य सरकारद्वारा राई भाषालाई मान्यता अनि साकेवालाई राज्यको विदाको दिन घोषित गरिएको कारण , यो उत्सव अहिले भव्यतासाथ सम्पन्न गरिन थालेको छ।
नाम्चीले धेरै चोटी साकेवा उत्सव पालन गर्दै आएको भएता पनि यो उत्सव सिक्किमको अन्य ठाउँहरू गान्तोक, रांका, याङयाङ आदि ठाउँहरूमा पनि पालन गरिए। नाम्चीमा साकेवा एक पर्यटकीय पर्वका रूपमा पालन गरिन्छ, माङ्खिम (राईहरूको पूजा हुने देउताको घर) मा शक्ति पूजाबाट उत्सवको सुरुआती गरिन्छ, त्यसपछि शहरभरी शोभा यात्रा निकालिन्छ अनि सांस्कृतिक प्रस्तुतिहरूसित कार्यक्रमको अन्त गरिन्छ।
धेरै वर्षहरूमा आएको सिक्किमका राईहरूमा देखिएको नाटकीय सामाजिक परिवर्तनले पारिवारिक अनि गोष्ठीय उत्सवहरूका धेरै नै रूपमा परिवर्तन आएको छ, तर ढिलो नै भए पनि ति परम्पराहरूलाई पुनर्जीवित गरेर प्रकृतिसित गाँसिने अनि उनीहरूको अलग पहिचानलाई बलियो तुल्याउने काम भएको छ। प्रायजसो तत्कालीन सिक्किमका पूर्वान्यमुख्यमन्त्री पवन कुमार चामलिङले राई समुदायको नेताका रूपमा आफुलाई रेखांकित गर्दै उत्सवलाई नेतृत्व दिएका थिए। साकेवाले अहिले आफ्नो दायराभित्र अन्य समुदायका सदस्यहरू साथै पर्यवेक्षक अनि प्रतिभागीहरूलाई पनि ठाउँ दिएको छ। साकेवाको रङ्गिन पर्वमा सम्पूर्ण राज्य ढोल अनि झ्याम्टाका प्रतिध्वनित भइरहेको आवाजमा जागो बन्छ, अनि मानिसहरूले आनन्दमय उत्सवको तालमा आफुलाई भिजाउँदछ।
अनुवादक: टिका 'भाइ '
Photo Gallery
(Click to enlarge)
Designed by NWD.