परिचय
“हाम्रा पुर्खाहरू यहाँ बसोबासो गर्थे अनि हामीले पिँढी दर पिँढी आलुको खेती गर्दै आएका हौं”, पश्चिम सिक्किमको तल्लो ओखरेका 72 वर्षीय किसान सदामान लिम्बूले मार्च महिनाको चिसो बिहानीमा बारीको मटर टिप्दै भने। केही बेर मौन रहेपछि उनले आलुको खेती र बेपारको तरिकाबारे बताए। “पहिले हामीले आलु खनेपछि बोकेर सोमबारे बजार अनि रिम्बिक बजारसम्म पुऱ्याउनु पर्थ्यो, तर अहिले घर-आँगनसम्मै सडक आइपुगेको हुँदा त्यस्तो झञ्झट पर्दैन र बेपारीहरूले पनि सीधै बारीबाट लिएर जाने गर्छन्। लिम्बू पश्चिम सिक्किमको तल्लो ओखरेमा स्वास्नी, छोरा र बुहारीसँग बस्छन्। परिवारका सबै सदस्यले खेती गर्न सहयोग गर्दछन् र उनीहरूले बारीमा आलु, मटर, मूला र इस्कुस फलाउँछन्। तर बारीमा सबैभन्दा धेरै उब्जिने भनेकै आलु हो र उनीहरूको आजीविका पनि यसै आलुको उब्जनीमाथि निर्भर गर्दछ। पश्चिम सिक्किमको तल्लो ओखरेमा प्रायः सबै किसान आजीविकाका लागि आलुको उब्जनीमाथि निर्भर छ र उनीहरूको जीवन पनि वर्षैभरी यसको खेती वरिपरी घुम्ने गर्दछ।
सिक्किमको अनेकौं जैविक उत्पादमध्ये ठूलो ठाउँ ओगट्ने सोमबारेको आलु पनि एक हो। सोमबारेदेखि करिब दुई घण्टाको दूरीमा पर्ने जोरथाङमा हुर्किएकी हुँदा सोमबारेको आलु सबैभन्दा मनपर्ने परिकार थियो र यसबाट बनाइएका विभिन्न पकवान सबै नै मीठो लाग्थ्यो। उसिन्दा केही कडा हुनका साथै कुनै पनि तरकारीमा मिसाउँदा रसिलो स्वाद आउने हुँदा यो सिक्किमको खानपानको संस्कृतिको अभिन्न अङ्ग बन्नपुगेको छ। बजारमा पाइने अरू आलुभन्दा यो केही महँगो हुन्छ। तर रोचक कुरा के छ भने सोमबारेको आलु भनी नाम कमाए तापनि यो सोमबारेमा मात्र नभएर यस भेकका वरिपरी पर्ने गाउँहरू जस्तै तल्लो ओखरे, माथिल्लो ओखरे, रिब्दी, भरेङ, तारेभीर, पिउरेटार र साप्रे नागीतिर पनि यसको खेती मनग्गै गरिन्छ। यी गाउँहरूमा प्रायः लेप्चा, लिम्बू, भोटिया, गुरुङ, शेर्पा अनि दलित समुदायका जनमानस बसोबासो गर्दछन्।
पश्चिम सिक्किम अन्तर्गत समुद्र तहदेखि करिब ३,७०० फीटको उँचाइमा सोमबारे बजार अऴस्थित छ। यहाँ प्रत्येक सोमबारको दिन हाट बजार लाग्ने हुँदा यसको नाम सोमबारे बसेको मानिन्छ। हाट बजार नै सोमबारे हो, तल्लो ओखरेका 52 वर्षीय किसान लोबजाङ भोटियाले बताए। नेपालीमा सोमबार हप्ताको पहिलो दिनलाई भनिन्छ र सोमबारे हाट भनिएको हो, जुन उहिलेदेखि आजसम्म चल्दै आएको छ।
वर्ष २०१६ मा, प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा सम्पन्न “दीर्घकालीन कृषि तथा किसान कल्याण सम्मेलन”को अवसरमा सिक्किमलाई विश्वकै प्रथम “पूर्ण जैविक” राज्यको रूपमा घोषित गरिएको थियो। यसपछि, २०१८ मा संयुक्त राष्ट्रको खाद्य एवं कृषि सङ्गठनद्वारा (एफएओ) “फ्युचर पोलिसी गोल्ड एवार्ड” प्रदान गरिएको थियो। यो सबै परिघटना वर्ष २००३ मा रासायनिक मलको प्रयोग लगायत छिमेकी राज्यहरूबाट यसको आयातमाथि बन्देज लगाउने सरकारको कार्यक्रमको परिणाम हो। यसका अतिरिक्त, १५ अगस्त, २०१० को दिन राज्यलाई “पूर्ण जैविक” बनाउने उद्देश्यका साथ सरकारद्वारा औपचारिक रूपमा जैविक अभियानको शुभारम्भ गरिएको थियो।
यस लेखमा लोकप्रिय सोमबारेको आलुको खेतीदेखि लिएर उत्पादन अनि खपतबीचको अन्तर पाट्ने प्रक्रिया प्रस्तुत गरिएको छ (Barndt 19-50)। सोमबारेको आलुको सम्बन्धमा “जैविक” शब्दावली, सरकारले सबै सरकारी भवनहरूमा हरियो रङ पोत्ने कोशिशको रूपमा नभएर यसको इतिहास, खेती गर्ने बद्लिँदो परिस्थिति र सबैभन्दा महत्त्वपूर्ण यसको खेतीदेखि बाली उठाउने समयसम्म संलग्न मानिसहरूको सप्तरङ्गी स्वरूप प्रतिनिधित्त्व गर्दछ। यसै परिप्रेक्ष्यमा कारोबारी नगर सोमबारेको इतिहास, यसको लोकप्रिय उब्जनी आलु र पश्चिम सिक्किमको पाहाडी इलाकामा “जैविक”साई यथार्थमा परिणत गर्ने सामाजिक ताना-बानाको खोजी गर्ने यहाँ कोशिश गरिएको छ।
आलुको उत्पति दक्षिण अमेरिकाको पेरू देशमा भएको मानिन्छ, जसलाई स्पेनी यात्रीहरूले सन् १५७० तिर युरोप ल्याएका थिए (Mcneill 67-83)। भारतमा आलु शुरुमा पोर्तुगलीहरूले ल्याएको भए तापनि भारतीय उपमहाद्वीपमा मुख्यतः दुई कारणले यसको व्यापक खेती बृटिशहरूले प्रोत्साहित गरेका थिए।
सोमबारेमा आलु कसरी पुग्यो?
आलुको उत्पति दक्षिण अमेरिकाको पेरू देशमा भएको मानिन्छ, जसलाई स्पेनी यात्रीहरूले सन् १५७० तिर युरोप ल्याएका थिए (Mcneill 67-83)। भारतमा आलु शुरुमा पोर्तुगलीहरूले ल्याएको भए तापनि भारतीय उपमहाद्वीपमा मुख्यतः दुई कारणले यसको व्यापक खेती बृटिशहरूले प्रोत्साहित गरेका थिए। सर्वप्रथम, सन् १७७० को बङ्गालको अकाल जस्तो गम्भीर सङ्कटका कारण खाद्य पदार्थको कमीबाट जोगिन र दोस्रो, प्रोटिनले भरपुर भएका कारण आलुले बृटिश कोलोनीमा बसोबासो गर्ने बेलयती नागरिकहरूलाई स्वस्थ राख्न (Earle 170-193)। कुनै लिखित दस्तावेजको अभावमा तर सोमबारेसम्म आलु कसरी पुग्यो भन्ने निर्क्योल गर्न कठिन भए तापनि यस क्षेत्रको भूगोलबाट केही सङ्केत प्राप्त गर्नसकिन्छ।
सिक्किम, दार्जीलिङ (पश्चिम बङ्गाल) र नेपालको सीमानामा अवस्थित छ सोमबारे। यसको विपरीत अर्थात् पल्लो दिशामा दार्जीलिङ अवस्थित छ भने पुच्छारमा रामबाङ नदीले यस दुई पाहाडलाई छुट्याएको छ। मैले स्थलगत भ्रमण गर्दा मेरो अतिथि सत्कार गर्ने भद्रगण धुँधियाली मौसमको कारण नियास्रो बनेका थिए। “घमाइलो दिनमा त पारी सबै छर्लङ्ग देखिन्छ, अति नै सुन्दर दृश्य”, उनले भने। यहाँको परिदृश्य साँच्चै नै स्वप्निल छ, दुवैको भूगोल एकै देखिए तापनि फरक सामाजिक-राजनीतिक इतिहासका साथ अलग-अलग राज्य सरकारको शासन चल्दछ (Shneiderman 289-312; Karlsson 321-331)। यी पाहाडहरू अलग राजनीतिक अस्तित्त्व अन्तर्गत पर्ने भए तापनि जनमानसको आउजाउ भने निरन्तर चल्दै आएको छ। पहिले-पहिले धेरै किसानले आलुको भारी बोकेर बेच्नका लागि दार्जीलिङ अनि बिजनबारी (पश्चिम बङ्गाल) सम्म जाने गर्थे। र आलु रोप्ने बेलामा आज पनि धेरै खेताला/ श्रमिक बारीमा काम गर्न नेपालबाट आउने गर्दछन्।
सोमबारेमा आलु आइपुग्नुमा वर्तमानको राजनीतिक साँध-सीमानालाई एक छेउ राख्दै युगौंदेखि दुई भेकका मानिहरूको आउजाउका साथमा कारोबारलाई आधार मान्नसकिन्छ (Sharma 74-96)। इतिहासकार जुलिया फाइन अनुसार, प्रशासनिक रूपमा आलुको खेतीलाई भारतमा प्रोत्साहित गर्ने काम सन् 1793 तिर बङ्गाल प्रेसिडेन्सीको समय भएको थियो (Fine 6)। सोमबारेको भौगोलिक अवस्थान दार्जीलिङ (उपनिवेशी पार्वत्य केन्द्र) र सिक्किम (तिब्बतसँग कारोबार गर्न बृटिशका लागि मध्यवर्ती सीमा क्षेत्र) सँग सीमानाका साथमा किसानहरूको आलुको बालीमाथि निर्भरताले उपनिवेशी वनस्पतिविज्ञान, भोजन शैली र दक्षिण एशियाली विचारधाराको “असमन्वित” प्रयास भनी फाइनले चर्चा गरेकी छन्।
सिक्किमका मानिसहरूका लागि सोमबारे बजारले पाहाडी परिक्षेत्रका साथमा धेरै पुराना कारोबारी इतिहासको स्मृति बयान गर्दछ भने सोमबारेको आलुको स्वादले जात, धर्म अनि अन्य मानवजनित अन्तरदेखि इतर सबैलाई एकसूत्रमा बाँध्ने काम गर्दछ।
सोमबारे बजार
आज पनि सोमबारे बजार व्यापार-धन्धाको केन्द्रको रूपमा कायम छ जहाँ प्रत्येक सोमबार हाट लाग्दछ। कारोबारी केन्द्रको रूपमा स्थापित हुनुको पछि सोमबारेको भौगोलिक अवस्थानले पनि महत् भूमिका खेल्दछ। यो बङ्गाल र नेपालको सीमानामा पर्नका साथै यसको नजिकमा जोरथाङ, नाम्ची र गेजिङ जस्ता नगर अवस्थित छ। कालान्तरमा यो नगर पूर्वाधारको परिप्रेक्ष्यमा धेरै परिवर्तनको साक्षी रहेको छ। तल्लो ओखरेका 68 वर्षीय किसान सुकबहादुर लिम्बू भन्छन्, “पहिले सोमबारेमा च्यादर छाएका घरहरू धेरै कम सङ्ख्यामा थिए। तर आज यहाँ ठूलो हलचलका साथ आफ्नै स्कूलदेखि लिएर तरकारी-सब्जीका साथमा खानपान अनि कपडाहरू आदि बेच्ने पसलहरू पनि प्रशस्तै छन्।” तथापि, अग्ला-अग्ला भवनहरूबीच अति नै जर्जर अवस्थामा पुगिसकेका पुराना घरहरूले इतिहास बयान गर्दछन्। सिक्किमका मानिसहरूका लागि सोमबारे बजारले पाहाडी परिक्षेत्रका साथमा धेरै पुराना कारोबारी इतिहासको स्मृति बयान गर्दछ भने सोमबारेको आलुको स्वादले जात, धर्म अनि अन्य मानवजनित अन्तरदेखि इतर सबैलाई एकसूत्रमा बाँध्ने काम गर्दछ।
सोमबारेका किसानहरू अरू तरकारी अनि फसलको खेती गर्नुको तुलनामा आलुको खेती गर्न सजिलो हुन्छ भन्ने कुरामा असहमति जनाउँछन् (Mcneill 67-83)। आलु रोप्नका लागि बारी खन्न-बिराउन, बारीको आकार अनुसार महिना दिनभन्दा धेरै समय लाग्ने गर्दछ।
आलुको खेती
सोमबारेको आलु र अन्य भेकका आलुबीच के अन्तर छ भनी सोध्दा लोबजाङ भोटियाले एक निमेषमै “स्वाद” भनी उत्तर दिए। भोटियाले पनि सिक्किमका अन्य उपभोक्ताको सोमबारेको आलुबारे धारणा दोहोऱ्याए। “हाम्रो आलु अरूभन्दा धेरै स्वादिलो हुन्छ।” भोटिया अनुसार, किसानहरूले अप्नाएका जैविक विधिले नै यहाँको आलुको स्वाद फरक बनाएको छ। यहाँ कसैले पनि रासायनिक मल प्रयोग गर्दैनन्। यसको साटो उनीहरूले सुक्खा पात-पतिङ्गर अनि अण्डाका खोस्टा, खरानी र गाई-वस्तुको मल प्रयोग गर्दछन्। यसका साथै जैविक अभियान अन्तर्गत सरकारले किसानहरूलाई आफ्नो उब्जनी बढाउन भर्मी कम्पोस्ट अथवा गनेउलाको मल बनाउन सिकाएको छ।
सोमबारेका किसानहरू अरू तरकारी अनि फसलको खेती गर्नुको तुलनामा आलुको खेती गर्न सजिलो हुन्छ भन्ने कुरामा असहमति जनाउँछन् (Mcneill 67-83)। आलु रोप्नका लागि बारी खन्न-बिराउन, बारीको आकार अनुसार महिना दिनभन्दा धेरै समय लाग्ने गर्दछ। आलुको खएती सालमा दुईपटक गरिन्छ – पहिले दिसम्बरमा रोपिन्छ, जुन मार्च-अप्रेलमा खनिन्छ र अर्को मार्च-अप्रेलमा जसको बाली अक्टोबर महिनामा उठाइन्छ। बिउ रोपेदेखि बाली उठाउने बेलासम्म कम्तिको पनि 6 महिनाको समय लाग्ने गर्दछ भने बिरुवाले प्रशस्तै पानी पाउने कुरा सुनिश्चित गर्नुपर्दछ। यदि माटोमा पानी राम्ररी नमिसिए, आलुको बिउमा कमिला लाग्ने सम्भावना बढ्दछ। यसका साथै अप्रत्याशित मौसमको पनि आलुको फसलमाथि नकारात्मक प्रभाव पर्ने गर्दछ। भारी वर्षा भए आलु कुहिने डर हुन्छ। बर्खाको समयमा पनि राम्ररी पानी लगाउने सुनिश्चित गर्नुपर्दछ भने हिउँदमा शीत अनि तुषारोले पनि उब्जनीमाथि प्रतिकूल प्रभाव पार्ने गर्दछ।
आलुको बिउ केही वर्षपछि प्राकृतिक रूपमा मासिन्छ र नयाँ प्रजातिको बिउ किन्नुपर्ने हुन्छ। बितेका समयको स्मरण गर्दै सुमदोर्जे, ठाडे आलु, कुख्रेज्योति अनि फुलाङ्गे आलु प्रजातिका आलु पूरै मासिएको बताउँछन्। किसानहरूको जीवन बाह्रैमास यसको खेती वरिपरी घुम्ने गर्दछ र राम्रो उब्जनी पाउनका लागि दिन रात मेहनत गर्नुपर्दछ। तथापि, कैयौं पिँढीदेखि आलुको खेती उनीहरूको जीवनको महत्त्वपूर्ण अङ्ग रहिआएको छ। तर जलवायु परिवर्तन अनि पर्यावरणीय स्थितिका कारण सोमबारेका आलु खेती गर्ने किसानहरूले अनापेक्षित चुनौतीको सामना गर्नुपरिरहेको छ (Alkon and Vang 389-411)।
कारोबार अनि आजीविका
तल्लो ओखरेमा आलुको खेतीबारे धेरै राम्रो जानकारी भएका व्यक्ति सुकबहादुर सुब्बासँग मलाई परिचय गराइयो, जसले परिवार धान्न मात्र नभएर समाजमा निरन्तर सहभागी बन्न आलुको खेतीले नै सघाएको बताए, जहाँ विवाह अनि मरौदेखि लिएर अन्य सामाजिक कार्यक्रममा पनि उनले आलु नै कोशेली अनि सरौको रूपमा पुऱ्याउने गरेको बताए। सोमबारेको आलु सिक्किमको खानपानको एक अभिन्न अङ्ग रहिआएको भए तापनि यसको खेती भावनात्मक वा पारिवारिक कारण नभएर यसबाट कमाइने मोटो नाफाको कारण गरिन्छ। बिउ छान्नुपर्दा, सबैभन्दा धेरै उब्जनी दिने बिउ नै रोज्ने गरिन्छ। आफूले मटर, पालुङ्गो आदि बेच्ने गरेको भए तापनि आलु जस्तो नाफा यिनीहरूमा नहुने तल्लो ओखरेकी ४८ वर्षीय नरमाया विश्वकर्मले बताइन्। यहाँका किसानहरूको जीवन दुवै बजार-भाउ अनि मौसमको स्थितिमाथि निर्भर गर्दछ।
कालान्तरमा सडक सञ्जालको विस्तार अनि सुधारका साथै आलुको कारोबार गर्न पनि धेरै सजिलो भएको छ। पहिले सडक नहुँदा किसानहरूले आलुको भारी बोकेर नै बिजनबारी, दार्जीलिङ अनि रिम्बिक बजारसम्म बेच्न पुऱ्याउनु पर्थ्यो। तर अहिले आएर बारीको नजिकै सडक आइपुगेपछि उनीहरूले ढाड भाँच्चिने गरी मेहनत गर्नुपर्दैन। स्थानीय व्यापारीहरूले बारीबाटै आलुको भारी उठाएर सोरेङ, गेजिङ, गान्तोक अनि नाम्ची लगायत सिक्किमको अरू बजारसम्म पुऱ्याउँछन्। कोही-कोहीले भने किसानहरूबाट सीधै खरिद गर्दछन्। कारोबार सजिलो बन्दै गएको भए तापनि उब्जनी भने घट्दै गएको छ।
आलुको खेतीमा तीनवटा ठूलो चुनौती रहेको कुरामा सबै किसानले सहमति जनाए। ती हुन् जङ्गली जनावर, खेती गर्ने लागत र पानीको उपलब्धता। बिउ-बिजनको बढ्दो दाम, धेरै महँगो ज्याला तिर्न नसक्नुका साथमा अपर्याप्त पानीभन्दा पनि ठूलो जङ्गली जनावरले खेती नष्ट गर्ने।
चुनौती
आलुको खेतीमा तीनवटा ठूलो चुनौती रहेको कुरामा सबै किसानले सहमति जनाए। ती हुन् जङ्गली जनावर, खेती गर्ने लागत र पानीको उपलब्धता। बिउ-बिजनको बढ्दो दाम, धेरै महँगो ज्याला तिर्न नसक्नुका साथमा अपर्याप्त पानीभन्दा पनि ठूलो जङ्गली जनावरले खेती नष्ट गर्ने।
आज आलुको उब्जनी धेरै नै घट्नुको मुख्य कारणमा जङ्गली जनावर जस्तै बँदेल, बाँदर, मृग, दुम्सी अनि भालूले बाली नष्ट गर्नुरहेको छ। सबैभन्दा धेरै बँदेलले बाली नाश गर्ने गर्दछ। पहिले उब्जनी “चोखो” हुन्थ्यो, तर अहिले बँदेलले एकै रातमा सबै बारी अनि बाली स्वाहा पार्दछ जसले गर्दा किसानहरूले धेरै नै घाटा बेहोर्नु पर्दछ। यसैले गर्दा धेरै किसानले खेती गर्न पनि छोडी सकेका छन्। वन विभागले बारबेर गर्न काँडे तार दिने गरेको भए तापनि यसले बँदेललाई छेक्दैन कारण दुलो खनेर तिनीहरू बारीभित्र पस्ने गर्दछ। यसका साथै खतरा बाली नष्ट हुने मात्र नभएर कहिले-काहिँ तिनीहरूसँग किसानहरूको आमना-सामना पनि हुने गर्दछ।
यो जङ्गली जनावर बारीतिर पस्न थालेको घटना हालैदेखि मात्र शुरु भएको हो। यसबारे प्रश्न गर्दा भोटिया भन्छन्, जङ्गलमा तिनीहरूका लागि केही बाँचेको छैन र जङ्गलमा फल-फूल पाउन छोडेपछि नै यी जङ्गली जनावरहरू आहारको खोजीमा खेत-बारी पस्न थालेका हुन्। अन्तरवार्ता लिइएका किसानहरूले आफ्नो बारीमा कहिले-काहिँ त दिउँसै भालु अनि बँदेल देखेको कहालीलाग्दो कुरा सुनाए।
वहनीयतामाथि पुनर्विचार
पश्चिमी मुलुकहरूमा, शहरीकरण र औद्योगिकीकरणको कारण खेती-कृषिमा व्यापक परिवर्तनको प्रतिक्रियास्वरूप जैविक खेतीको अभियान शुरु भएको हो र जैविक खेती अप्नाउनुको अर्थ स्वस्थ मानव-पर्यावरणबीचको सम्बन्ध स्थापित गर्न औद्योगिक युग शुरु हुनुभन्दा अघिको समयमा जानु हो (Vogt 9-29; Lockeretz 1-8)। सिक्किममा जैविक खेती र जैविक खानपान अप्नाउनुको अर्थ पारम्परिक विधितर्फ फर्कनु होइन कारण त्यही पारम्परिक विधि नै अहिलेसम्म चलिआएको छ। वर्ष 2003 मा, राज्य सरकारले रासायनिक मलमाथि बन्देज लगाउने निर्णय लगाउँदा, 90 केजी प्रति हेक्टरको औसत विपरीत राज्यमा केवल 10 केजी रासायनिक प्रति हेक्टर प्रयोग गरिँदै थियो (Meek and Anderson 653)। सिक्किममा शुरुदेखि नै कम मात्रामा रासायनिक मलको प्रयोगकै कारण कैयौंले यसलाई “चूकको कारण जैविक” पनि भन्ने गरेका छन् (Meek and Anderson 660)।
सिक्किमे समाज खाद्य प्रणालीबाट अलग छैन। हाम्रो भोजन कहाँबाट आउँदछ भन्ने हामीलाई थाहा छ। शहरी इलाकाहरूतिर पनि घरमा सानो कोठेबारी अनि काउसी खेतीका साथमा हाट भर्ने चलन यथावत अझै पनि कायम छ। मेरी आमाले एउटा पसलबाट वर्षौंदेखि तरकारी-सब्जी किन्दै आएकी छन् र कुन मौसममा कुन वस्तु ताजा हुन्छ र त्यो कहाँ फल्छ-उब्जिन्छ भन्ने राम्ररी जान्दछन् साथै पसलेसँग मित्रताको साइनो कायम गरेकी छन्। यसै मित्रताका कारण लामो लकडाउनको समय पनि हाम्रो भान्साघरमा ताजा सब्जी-तरकारीको कुनै कमी भएन।
सिक्किममा जैविक खेती विधिको यो सफलता हुँदाहुँदै पनि बद्लिँदो पर्यावरणको स्थितिले खेतीलाई प्रभावित गर्न थालेको छ, जसको निम्ति हामीले सिक्किमको परिप्रेक्ष्यमा “वहनीय अर्थात् दीर्घकालीन खेती”को अर्थ खुलाउन पुनर्विचार गर्नुपर्नेछ। जैविक सिक्किमाथि सिक्किम सरकारको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको पाइन्छ :
“सिक्किमको संवेदनशील परितन्त्रले प्राकृतिक संसाधन समाप्त नगरी वहनीय रूपमा खेती गर्नुपर्ने माग गर्दछ। यस कारण माटोको क्षय, पर्यावरण अनि परितन्त्रको संरक्षणका साथै पिँढी दर पिँढी मानिसहरूको स्वस्थ जीवनका लागि जैविक खेती प्रणाली सिक्किमको निम्ति फाइदाजनक छ (जैविक खेतीमाथि राज्यको नीति-1)।”
जैविक खेती अभियानको चार मुख्य कार्यसूत्रमा पोषण प्रबन्धन, कीराहरूको प्रबन्धन, रोगको प्रबन्धन र आर्द्रता अर्थात् चिसोपनको प्रबन्धन (जैविक खेतीमाथि राज्यको नीति-9)। सिक्किमलाई जैविक राज्य बनाउने नीति मुख्य रूपमा रसायन प्रयोग नगरी माटोको मलिलोपन बढाउनु रहेको छ, जसले राज्यको समृद्ध जैवविविधताको पनि संरक्षण गर्नेछ। यसका साथै जैविक खाद्य पदार्थको खपतले जनमानसमा स्वस्थ भोजन प्रोत्साहित गर्दै पर्यावरणको पनि संरक्षण गर्नेछ।
रसायनको प्रयोगमाथि बन्देजका साथै अन्य जैविक विधिको उपयोगका साथै “जैविक राज्य”को दर्जा हासिल गर्न सफलता पाइए तापनि, मानव अनि वन्य-जन्तुबीच द्वन्द्वको कारण के हो? सोमबारे इलाकामा मानव अनि वन्य-जन्तुबीच सङ्घर्ष विषयमा थप अनुसन्धान आवश्यक छ जुन यस लेखमा समेट्न सकिँदैन। तथापि, पूर्वोत्तर भारतमा यस्तै मानव अनि वन्य जन्तुबीच सङ्घर्ष विषयमा गरिएको सोही प्रकारको अनुसन्धानमा तेज गतिले बद्लिँदो भूपरिदृश्यका साथमा वन-जङ्गलको क्षेत्र घट्दै जानु सङ्घर्ष वा द्वन्द्वको प्रमुख कारण रहेको पाइएको छ (Barua1462-1478)। यस कारण, केवल माटोको मलिलोपन र जैविक खाद्य पदार्थको खपत मात्र सिक्किमको प्राकृतिक संसाधन र परितन्त्रको संरक्षण गर्न पर्याप्त छैन (Zeng et al. 159-174)।
निष्कर्ष
आज सोमबारे इलाकाकका कृषकहरू भावी पिँढी अनि सन्ततिले खेती जारी राख्ने हो कि भन्ने कुरामा आशावादी छैनन्। “आलुको खेती गर्न दुःख छ” उनीहरू भन्छन्। यसै “दुःख”लाई सिक्किममा भइरहेको अरू व्यापक पर्यावरण अनि परितन्त्र सम्बन्धी परिवर्तनको परिप्रेक्ष्यमा बुझ्न आवश्यक छ, जसले आज तेज गतिले क्षेत्रको भूपरिदृश्यलाई नै परिवर्तन गरिरहेको छ र उदीयमान पर्यावरणीय विषयतर्फ अघि बढिरहेको छ (Robbins 13-24; Walker 363-369)।
सोमबारेको आलुको कथाले सिक्किमको “जैविक” इतिहास हालमा राज्यले प्राप्त गरेको राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरको सम्मानभन्दा धेरै पुरानो छ।
सोमबारेको आलुको उपनिवेश कालदेखि नै धेरै लामो इतिहास छ, सोमबारेको कारोबारी नगरसँग जोडिएको; जसको सिक्किममा करिब बीस वर्षअघि शुरु गरिएको जैविक अभियानभन्दा पुरानो इतिहास छ। कैयौं पिँढीदेखि किसानहरूले आलुको खेती गर्दै आएका छन्, नवप्रवर्तन, नीति अनि चुनौतीहरू आत्मसात गर्दै खेती विधि अनि कारोबारमा परिवर्तन अनुभव गरेका छन्। धेरै नाफा हुने कारण नै अझ पनि किसानहरूले सोमबारे वरिपरी आलुको खेती गर्दै आएका छन्। यहाँको चिसो मौसम र आलुको खेतीमा प्रयोग गरिने जैविक विधिकै कारण यहाँको आलुको बिछुट्टै प्रकारको स्वाद छ। अनि यसका साथै सोमबारेको आलुको स्वादसँग सोमबारे नगर अनि यहाँको हाट बजारको पनि स्मृति ताजा बसेको छ।
सोमबारेको आलुको कथाले सिक्किमको “जैविक” इतिहास हालमा राज्यले प्राप्त गरेको राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरको सम्मानभन्दा धेरै पुरानो छ। नयाँ के छ भने उदीयमान पर्यावरणीय सङ्कट जस्तै मानव अनि वन्य जन्तुबीचको सङ्घर्ष, जलवायु परिवर्तन, पानीको कमी; अनि यस पछिल्लो विषयमाथि तत्काल ध्यान दिँदै नीतिगत हस्तक्षेप आवश्यक देखिएको छ ताकि भावी पिँढीका लागि हामीले पर्यावरणको संरक्षण गर्नसकौं।
Works Cited
Alkon, H. Alison, and Dena Vang. “The Stockton Farmer’ Market: Racialization and Sustainable Food Systems.” Food, Culture & Society, vol. 23, no.3, pp. 155-172.
Bardnt, Deborah. Tangled Routes: Women, Work, and Globalizaton on the Tomato Trail. Rowman & Littlefield Publishers, 2007.
Barua, Maan. “Volatile ecologies: towards a material politics of human-animal relations.” Environment and Planning, vol. 46, 2014, pp. 1462-1478.
Earle,Rebecca. “Food, Colonialism and the Quantum of Happiness.”History Workshop Journal,no. 84, 3 September 2017, pp. 170-193.
Fine, Julia. “Civilized Man Cannot Live Without Cooks”: Food and Empire in Colonial India. Unpublished undergraduate thesis. Harvard College, Cambridge, Massachusetts, 2019.
Galvin, S. Shaila. Becoming Organic: Nature and Agriculture in the Indian Himalaya. Yale University Press, 2021.
Karlsson, K. Bengt. “Evading the state: Ethnicity in Northeast India through the Lens of James Scott”. Asian Ethnology, vol. 72, no. 2, 2013, pp. 321-331.
Kikon, Dolly. “Bamboo Shoot in Our Blood: Fermenting Flavors and Identities in Northeast India.” Current Anthropology, vol. 62, 2021, pp. 376-387.
Lockeretz, William. “What Explains the Rise of Organic Farming?.”Organic Farming: An International History, edited by William Lockeretz, CABI publishing, 2011, pp. 1-8.
Maaker, D. Eric. “Who Owns the Hills? Ownership, Inequality, and Communal Sharing in the Borderlands of India. Asian Ethnology, vol. 79, No. 2, 2020, pp. 357-375.
Mcneill, H. William. “How the Potato Changed the World’s History.”Social Research, vol. 66, no. 1, Spring 1999, pp. 67-83.
Meek, David, and Colin R. Anderson. “Scale and the politics of the organic transition in Sikkim, India.” Agroecology and Sustainable Food Systems, vol. 44, no. 5, pp. 653-672.
Pachuau, Joy. Being Mizo: Identity and Belonging in Northeast India. Oxford University Press, 2014.
Robbins, Paul. Political Ecology: A Critical Introduction. Second edition, John Wiley &Sons, 2012.
Sharma, Jayeeta. “Himalayan Darjeeling and Mountain Histories of Labour and Mobility.” Darjeeling Reconsidered: Histories, Politics, Environments, edited by Townsend Middleton and Sara Shneiderman, Oxford University Press, 2018, pp. 74-96.
Shneiderman, Sara.“Are the Central Himalayas in Zomia? Some scholarly and political considerations across time and space.” Journal of Global History, vol. 5, 2010, pp. 289-312.
Sutton, E. David. “Food and the Senses.” Annual Review of Anthropology, vol. 39, 2010, pp. 209-223.
State Policy on Organic Farming, Government of Sikkim. Sikkim Organic Mission, FS&AD and H&CCD Departments Government of Sikkim, Krishi Bhawan, Tadong, East Sikkim, http://scstsenvis.nic.in/WriteReadData/links/Sikkim%20Organic%20Policy%202015-401740061.pdf
Vogt, G. “The Origins of Organic Farming.” Organic Farming: An International History, edited by William Lockeretz, CABI publishing,2011, pp. 9-29.
Walker, Peter. “Political Ecology: Where is the politics?”Progress in Human Geography, vol. 3, no. 3, 2007, pp. 363-369
Zeng, Lily., Deepti Chatti, Chris Hebdon, and Michael R. Dove. “The Political Ecology of Knowledge and Ignorance.”Brown Journal of World Affairs, vol. XXII, no. II, Spring/Summer, 2017.
आभार
यो लेख प्रवीण छेत्रीको सहयोग अनि मार्गदर्शनबिना पूरा हुने थिएन, जो स्थलगत कार्यको समय चौकस अनि धैर्यवान रहँदै तृणमूल स्तरको समाजमा वर्षौंसम्म काम गरेको अनुभूतिका साथ सही प्रश्न गर्न चुकेनन्। तल्लो ओखरेमा हाम्रो अतिथि सत्कार गर्ने नरमाया विश्वकर्म, धनबहादुर विश्वकर्म, मनिता विश्वकर्म अनि सन्दिका विश्वकर्मले आफ्नो घरमा न्यानो स्वागत जनाउँदै छोटो समयमै स्थलगत कार्य पूरा गर्न सहयोग गरे। मेरो लेख अनि तर्कमा स्पष्टता हासिल गर्न डा. मोना छेत्रीको पहिलो मस्यौदामा बहुमूल्य टिप्पणीले धेरै सहयोग पुऱ्यायो। यसका साथै प्रभा राईको दृढ निश्चय अनि सिक्किमको वर्तमान पर्यावरणीय विषयमाथि लामो चर्चाले स्थलगत कार्य अनि लेखन प्रक्रियामा धेरै नै सघाउ पुऱ्याएको छ। अन्त्यमा, रोडरिक विजुनामई, जुलाई फाइन अनि आयुषी निरौलाको पाक-परिकारको इतिहास र मानव विज्ञानबारे उदार अनि कृपालु सुझाउले यस परियोजनलाई नयाँ दिशा प्रदान गरेको छ, जुन शुरुमा सोमबारेमा आलुको खेतीबारे सरल विमर्श मात्र प्रस्तुत गर्ने तय गरिएको थियो।
PHOTO GALLERY
(CLICK TO ENLARGE)
Designed by NWD.