बुमटार नाम्चीमा अवस्थित जवाहरलाल नेहरू स्मृति दिव्याङ्ग संस्थान सिक्किममा दृष्टिहीनहरूका निम्ति एकमात्र पाठशाला हो। यसको शिलान्यास १४ नोभेम्बर १९८७ को दिन सिक्किमका तत्कालिन मुख्यमन्त्री श्री नर बहादुर भण्डारीले गरेका थिए। दृष्टिहीनहरूका निम्ति राष्ट्रिय संस्था( न्यासनलन एसोसिएस फर द ब्लाइन्ड) -को पहलमा यस पाठशालाको स्थापना भएपछि सरकारले यसलाई आफ्नो अधिनमा लियो। यस पाठशालासँग बगैँचा, खेलमैदान, छात्रवास, दृष्टिहीन विद्यार्थीहरूका निम्ति अनुकूल कक्षाकोठासहितको एउटा ठूलो क्षेत्र छ। १३ जुलाई २०१६ को दिन भारतीय स्टेट ब्याङ्क अनि दृष्टिहीनको निम्ति संस्थाको सहयोगमा इन्द्रियहरूको बगैँचा(गार्डन अफ सेन्सेस)को स्थापना भयो। सिक्किमभरिका अभिभावकहरू आफ्ना नानीहरू लिएर यहाँ आउँछन्। कति उत्तर बङ्गालको सिलिगुडीबाट पनि आउँछन्। सन् २०१७ मा यहाँ एकतीस विद्यार्थी, नौ शिक्षक थिए; अनि कक्षा पाँचसम्म पाठशाला चल्थ्यो। विद्यार्थी-शिक्षकको यो अनुकूल परिमाणले विद्यार्थीको नजिकबाट देखरेख सुनिश्चित गर्छ। ब्रेलमा लेख्ने अनि पढ्ने शिक्षासँगै विद्यार्थीहरू सङ्गीत, कम्प्यूटर शिक्षा अनि खेलकुदजस्ता अन्य क्रियाकलापमा पनि सहभागी बन्छन्। सन् २०१२ मा चेन्नाई खेलकूद प्रतियोगितामा सहभागी बन्न गएका यहाँका तीनैजना विद्यार्थीले पदक जितेर ल्याए। त्यसभन्दा अगाडि सन् २००८ मा दस विद्यार्थी हिमालयन पर्वतारोहण संस्थान, दार्जिलिङमा तालिम लिन गएका थिए। चेस अनि क्रिकेट पाठशालामा लोकप्रिय खेल हुन्।
जवाहरलाल नेहरू स्मृति दिव्याङ्ग संस्थानमा पहिलो प्राचार्यको रूपमा जीवन राईले सन् १९८८ मा नियुक्ति पाए। शुरूमा उनले कालेबुङको दृष्टिहीनहरूका निम्ति पाठशालामा अध्ययन गरे अनि स्कटिस युनिभर्सिटी मिसन इण्डिया(एसयूएमआई)बाट स्कूली शिक्षा समाप्त गरे। पाठशालामा प्राचार्यको रूपमा प्रवेस गर्न अगाडि उनले सन् १९८१ मा कलकत्तामा तालिम लिए।
देविमाया छेत्रीले यहाँ सन् १९८९ देखि अध्यापन गरिरहेकी छिन् अनि दृष्टिहीन विद्यार्थीहरूलाई पढाउनको निम्ति देहरादुन अनि दिल्लीमा विशेष तालिम पनि लिएकी छन्। यद्यपि देविमाया छेत्रीले विद्यार्थीहरूमा आएको मनोवृतिको परिवर्तनलाई अवलोकन गरेकी छिन्। ‘पहिले, विद्यार्थीहरू ज्यादा उत्साही देखिन्थे, उनीहरू धेरै प्रश्न सोध्ने गर्थे। अहिले उनीहरूमा कम रूची देखिन्छ। हामी यस परिवर्तनलाई बुझ्न सकिरहेका छैनौँ।’
पाँच कक्षा उत्तीर्ण गरिसकेपछि विद्यार्थीहरू आफ्नो अध्ययन पूरा गर्नाका निम्ति किशोर अनि किशोरीहरूको निम्ति क्रमानुसार नाम्चीको सरकारी उच्च माध्यमिक विद्यालय जान्छन्। सामान्य विद्यालय प्रणालीमा उनीहरूलाई सामेल गराउने प्रक्रियाले उनीहरूमा आत्मविश्वास भर्ने काम गर्छ। तर प्रारम्भिक चरणमा आश्रय पाठशालादेखि स्थायी पाठशालामा विद्यार्थीहरूको स्थानान्तरणसँग आफ्नै किसिमका समस्याहरू छन्। एउटा कक्षामा औसत पचास विद्यार्थीहरूको सामना गरेपछि यस स्थितिले शुरूमा उनीहरूलाई अत्याउँछ। त्यसपछि उनीहरू वृहत पाठशालाको ढाँचाबाट आफू बहिष्कृत भएको महसुस गर्छन्। पछिल्ला केही वर्षहरूमा अन्य विद्यार्थीहरूमा संवेदनशिलता भर्न शिक्षकहरूले सचेत प्रयत्न गरेका छन्। जस्तै, ती विद्यार्थीहरूलाई अन्य विद्यार्थीहरूसँग बसाउनको निम्ति श्रेणी-शिक्षकहरूलाई अह्राइन्छ। सम्बन्ध बनाउनमा यसले सकारात्मक असर गरेको छ; हेमन्त अनि सन्तोषसँग ठीक यही कुरा भएको छ। उनीहरू एक अर्काका प्रिय साथी हुन् अनि आपसमा सहयोगको भावना राख्छन्। एक शिक्षकले भने, पहिले दृष्टिहीन विद्यार्थीहरू केवल आफूहरूसँग मात्र मिलेर बस्ने गर्थे, तर अहिले उनीहरू सजिलैसँग अन्यसँग मिस्सिन्छन्।
पाठहरू टिप्न विद्यार्थीहरूले अहिले कक्षामा डिजिटल सुलभ सूचना प्रणाली(डेइसी) रेकर्डर लिएर जान्छन्। यद्यपि ब्रेलमा लेखिएका पुस्तकहरूमा बढोत्तरी भइरहेको छ, तर सबै पाठ्यपुस्तक ब्रेलमा उपलब्ध छैनन्। सन् २०१७ मा पाठशालाको निम्ति ब्रेल प्रिन्टर दिइयो जसले विद्यार्थीहरूको निम्ति पाठ तयार गर्न धेरै सहयोग गरेको छ। जवाहरलाल नेहरू स्मृति दिव्याङ संस्थानका पूर्व विद्यार्थी नर्बु शेर्पालाई नाम्चीमा अवस्थित सिनियर किशोरहरूका निम्ति पाठशालामा दृष्टिहीन विद्यार्थीहरूले झेल्ने विशेष समस्याहरूको समाधानको निम्ति एक विशेष व्यक्तिको रूपमा नियुक्त गरिएको छ। शिक्षकहरूका लागि परिक्षापत्र पढ्नु होस् अथवा अन्य कुनै काम, सहयोग चाहिएको अवस्थामा उनी मद्धत गर्छन्।
विद्यार्थीहरूबारे शिक्षकहरूले टिप्पणी गरे, दृष्य क्षमता गुमाएका नानीहरू सामान्य रूपमा ज्यादा ध्यान केन्द्रित हुन्छन् अनि अन्य विद्यार्थीहरूको तुलनामा सजिलै व्यग्र हुँदैनन्। उनीहरू कक्षामा राम्रो परीणाम ल्याउँछन्। पाठशालाबाट औपचारिक अध्ययन समाप्त गरेर उनीहरू अध्ययनको निम्ति महाविद्यालयतिर जान्छन् अनि शिक्षक अनि सरकारी विभागको विभिन्न अहोदा, अथवा स्थानीय अस्पतालतिर फिजियोथेरापिस्टको रूपमा काम गरिरहेका छन्। फलस्वरूप, दृष्य क्षमता गुमाएका व्यक्ति असक्षम हुन्छन् भन्ने आम धारणा समयसँगै परिवर्तन भइरहेको छ। किशोरी सिनियर पाठशालाका एक विद्यार्थीले त प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयमा प्रेवशसमेत गरेकी छिन्।
तर स्वीकृत हुन अनि पूर्वाग्रहमाथि जीत हासिल गर्नाका निम्ति सङ्घर्ष अझ समाप्त भएको छैन। एकचोटि, इतिहासको सिनियर नेत्रविहिन शिक्षिका उमा मुखियालाई कुनै कामको निम्ति प्राचार्यको दफ्तरमा बोलाइयो। कक्षाका केटाहरूले हल्ला गर्न शुरू गरेपछि अर्का शिक्षक बुझ्नको निम्ति आए अनि विद्यार्थीहरूलाई सोधे, “अहिले कसको क्लास चलिरहेको छ?” विद्यार्थीहरूबाट तत्काल उत्तर आयो, “अन्धो गुरूमाको”। त्यही कक्षामा बसिरहेका नर्बु शेर्पा उत्तर सुन्ने बित्तिकै रिसले आगो भए अनि सोधे, “के अन्धो मानिसको नाम हुँदैन?” उनलाई शान्त गर्न शिक्षकले ठूलै मेहनत गर्ने अवस्था आयो। शारिरिक असक्षमताको कारण हरेक दिन मानिसहरूमा हुने भेदभावको गहिरो सचेतनाको कारण नर्बुबाट त्यस दिन यस किसिमको प्रतिक्रिया आएको हुनपर्छ।
उमा भन्छिन्, कसरी कुनै पनि दिन नेत्रहीन भएकै कारण उनीहरूलाई गलत दृष्टिले हेरिन्छ। उनी सम्झन्छिन् एक दिन आफ्नो बाटो नहेरी हिँडिरहेका एक मानिस उनको हिँड्ने लट्ठीमा ठेस लाग्न पुगे। आक्रोशमा उनले उमाको हातबाट लट्ठी खोसे अनि त्यसलाई भाँच्ने कोसिसमा बङ्ग्याइदिए। सहानुभूति देखाउने मानिसहरूमा केवल ड्रग एडिक्ट, जँड्याहा अनि भिखारीहरू भएजस्ता लाग्छन् जसले उनीहरूलाई अफ्ठ्यारा बाटोमा डोऱ्याउने काम गर्छन्। अस्पतालमा फिजियोथेरापिस्टको काम गर्ने एक अन्धो मानिससँग पीडादायी घट्ना घटेको थियो। उनी लट्ठीको सहयोगमा कार्यस्थल जाने गर्थे। ट्राफिकमा फँसेका उनी अचानक चिप्लिएर नालीमा खसे। उनलाई सहयोग गर्नको साटो अन्धो डाक्टर नालीमा खसे भन्दै मानिसहरूले उनको मजाक उडाए। त्यसदिनदेखि यता उनले हिँड्न छोडे। अहिले काममा जानको निम्ति उनी गाडी प्रयोग गर्छन्।
आफू चार वर्षको हुँदा उमाले दादुराको कारण दृष्टि शक्ति गुमाइन्। आफु बाँच्ने उज्यालो संसार छोडेर उनी अत्यासलाग्दो अनि पीडादायी अँध्यारो संसारमा पस्न पुगिन्। त्यसपछि उनको पिताले उनलाई कालेबुङमा नेत्रविहिनहरूको निम्ति स्थापित म्यारी स्कट पाठशाला लिएर गए। पाठशालामा उनी सबभन्दा कम उमेरकी छात्रा थिइन्। उनी पूरा एक महिनासम्म रोएको कुरा पछि छात्रावास परिचालिकाले उमालाई बताइन्। दयालु परिचालिकाले उनलाई आफ्नो छेउमा सुताउँथिन् अनि उनी आफूलाई उमाको फूपु बताउँथिन्। त्यसपछि अर्को चार वर्षे बालिकाले पाठशालामा भर्ना लिइन्। आफ्नो उमेरको साथी पाएपछि उमाले आफूलाई त्यहाँ सहज महसूस गर्न थालिन्।
उमा तेजिलो केटी थिइन् अनि सधैँ कक्षाका अन्य विद्यार्थी अगाडि हुन्थिन्। म्यारी स्कट पाठशालाबाट आरम्भिक अनि प्रारम्भिक शिक्षा लिएपछि उनले किशोरी पाठशालामा भर्ना लिइन् जहाँबाट योग्यताको आधारमा उनले बाह्र कक्षा उतीर्ण गरिन्। अब उच्च शिक्षाको निम्ति महत्वपूर्ण निर्णय लिनु थियो। सन् १९८९ मा कला विषयमा स्नातक तहको अध्ययनको निम्ति उनले मुम्बईको विल्सन कलेजमा भर्ना लिइन्। उनको चासो विज्ञान विषयमा थियो तर दृष्टि क्षमता नभएको कारण अध्ययनको यो फाटक उनको लागि बन्द भइदियो। स्नातक तहको अध्ययन समाप्त गरेपछि इतिहास विषयमा स्नातकोत्तर तहको अध्ययनको निम्ति बम्बई विश्वविद्यालयमा प्रवेश लिइन्। उनी भन्छिन्, इतिहासमाथि उनको लगाव त्यतिबेलादेखि बसेको थियो, जतिबेला उनी पाठशालामा स्वतन्त्रता सङ्ग्रामबारे पढिरहेकी थिइन्।
आफ्नो पहिलो मुम्बई यात्रामा उमाको बहिनी शान्तिले उनको साथ दिइन् अनि भर्ना प्रक्रिया अनि बसोबासोको लागि चाहिने सहयोग गरिन्। त्यसपछि उमाले आफ्नो व्यवस्था आफै गरिन्। मुम्बईसम्मको रेल यात्राको आहोरदोहर जब आज सम्झिन्छिन्, उमा आफै छक्क पर्छिन्। कसरी उनले आफ्नो व्यवस्था आफै गरिन्, उनी सोचेर अचम्म मान्छिन्। न्यू जलपाइगुडी स्टेशनमा शान्तिले रेल चढ्न मद्धत गर्थिन् अनि मुम्बईमा उमाका साथीहरू उनलाई पर्खिरहेका हुन्थे। “त्यो समय मभित्र डर थिएन। म जे पनि गर्न सक्थेँ”, उमा भन्छिन्।
सन् १९९५ मा उनी जवाहरलाल नेहरू स्मृति संस्थान, नाम्चीमा प्रभारीको रूपमा नियुक्त भइन्। त्यही साल उनलाई पाठशालाको प्राचार्य बनाइयो। त्यही साल नाम्ची सरकारी महाविद्यालयमा एउटा प्राध्यापकको रिक्त पद खुल्यो अनि उनले आवेदन भरिन्। तर उनको फाइललाई खारेज गरियो। यसमाथि पछि पाइएको अफसरी कुराले उनको दृष्टि क्षमतामाथि पूर्वधारणा राखेको सङ्केत मिल्यो। ‘एक अन्धो शिक्षिकाले कसरी सामान्य विद्यार्थीहरूलाई पढाउन सक्छिन्?’ एउटा प्रतिक्रिया यस्तो पनि थियो।
फरक रूपमा सक्षम व्यक्तिहरूका निम्ति रिक्त सरकारी पदहरूमा नियुक्त गर्ने सम्भावनामाथि अन्वेषण गर्न सन् २००३ मा भारतीय पुनर्वास परिषदले न्याब सिक्किम ब्राञ्चको संयुक्त आयोजनामा एउटा कार्यशाला आयोजना गरेको थियो। श्रीमती जयश्री प्रधान त्यतिबेला मानव संसाधन विकास विभागकी सचिव थिइन् जसले उमाको फाइलमाथिको टिप्पणी देखिन्। त्यतिबेला एउटा रिक्त पद भर्नको निम्ति एक उपयुक्त प्रत्याशीको तत्काल खोजी चलिरहेको थियो। किशोर सिनियर माध्यमिक पाठशालामा सिनियर शिक्षिकाको रूपमा उमालाई चयन गरियो। उनले सितम्बर २००३ मा पाठशाला प्रवेश गरिन् त्यसपछि २००७ मा उनले फेरि किशोरी सिनियर माध्यमिक विद्यालयको वर्तमान स्थानमा प्रवेश लिइन्। किशोर अनि किशोरीहरूलाई अध्यापन गर्दाको भिन्नताबारे सोध्दा उनी भन्छिन्, केटाहरू ज्यादा बदमाश अनि केटीहरू शान्त हुन्छन्।
उमालाई लाग्छ, किशोरीहरूको गोप्य कुरा खोल्ने राजीपनाले उनलाई उनीहरूको भावनात्मक समस्याहरूको समाधान गर्न सहयोग गर्छ। किशोरकाल पीडादायी अनि अन्योलमय हुनसक्छ। वर्षौँपछि जब आफूले सल्लाह दिएकी केटीहरूसँग उनी भेट्छन्, उनीहरूले आफ्नो निर्माणाधीन समयमा उनीबाट पाएको उचित परामर्श अनि सहयोगको निम्ति खुल्ला दिलले धन्यवाद भन्छन्। आत्महत्या गर्नेबारे सोचिरहेका किशोरीहरूलाई समेत सल्लाह दिएको कुरा उमा खुलाउँछिन्।
दृष्टिहीन मानिसहरूका निम्ति महानगर वरिपरि इच्छुक वाचक अनि ब्रेल किताब खोज्न सहज रहेको उमा बताउँछिन्।
सन् २००० अनि २००१ सालमा उमाले दिल्लीको दृष्टिहीन कल्याण सङ्घबाट कम्प्यूटर अनि शिक्षणको तालिम लिइन्। दृष्टिहीन मानिसहरूले भोग्ने मूल समस्याहरूमा एक ब्रेल पुस्तकहरूको विविधता अनि मात्रामा कमी हो। उदाहरणको निम्ति, अङ्ग्रेजी भाषामा केही अनिवार्य पाठ्यपुस्तक उपलब्ध छन् तर पूराना विद्यार्थीहरूका निम्ति नेपाली भाषामा लेखिएका पुस्तक छैनन्। तुलनात्मक हिसाबमा बङ्गला भाषामा रामकृष्ण मिशनले प्रबर्धन गरिरहेको धेरै पाठ्यपुस्तक उपलब्ध छन्। केही अडियो-किताबहरू उपलब्ध छन् तर त्यसको एक परिबन्द विद्यार्थीहरूलाई हिज्जे सिकाउन नसक्नु हो।
आफ्नो स्कूली जीवन सम्झँदै उमा दोहोऱ्याउँछिन, पर्याप्त मात्रामा किताब उपलब्ध नहुनु, पहाडी क्षेत्रमा वाचक अनि लिपिकार नपाउनुले आफ्नो अध्ययनलाई गाह्रो काम बनाउँथ्यो। दृष्टिहीन मानिसहरूका निम्ति महानगर वरिपरि इच्छुक वाचक अनि ब्रेल किताब खोज्न सहज रहेको उमा बताउँछिन्।
आफ्नो जीवनकालभरि आफ्नो धैर्य अनि लगनशीलताको कारण उमाले सफलता हासिल गरेकी छिन्। उनले पाएको नवीनतम पुरस्कार सन् २०१८ को निम्ति रोटरी क्लब सिक्किमबाट दिइएको ‘राष्ट्र निर्माता’ हो।
उमा आज खुसीसाथ वैवाहिक जीवन बिताइरहेकी छिन्। उनको एउटा छोरा छन् जो उनको मार्गदर्शनमा हुर्किरहेका छन्। उनलाई उमा त्यही मूल्यहरू सिकाउँछिन् जो उनी आफ्नो विद्यार्थीहरूलाई दिन्छिन्।
अनुवाद: लेखनाथ छेत्री
Designed by NWD.