Menu

रहस्यमय मार्गको खोजी: उच्च हिमालयको संरक्षण

पश्चिम सिक्किम, देन्ताम स्थित, बेगा बस्तीमा बसोबास गरेका खर्क बहादुर गुरुङ आज आफ्नो गोठाले दिनहरूबारे कुरा गर्न धेरै इच्छुक देखिन्छ। उसले लहरै ती ठाउँहरूको नाम लिनसक्थे, जुन ठाउँहरू उसले आफ्नो भेडी बथानसँग बार्षिक स्थानान्तरणको बेला धेरै माथिसम्म नयाँ चरनको खोजी गर्दै गर्दा पत्तो लगाएका थिए।  जुनै समयमा पनि, उसको बथानमा न्यूनतम ३०० वटा भेडा त हुन्थ्यो नै। आफ्नो यी बथानलाई आफूले चिनेका ती ठाउँहरूमा बर्षैपछि चराउन लानुपर्ने सम्झनाले, ७५ बर्ष पुगेका गुरुङ बुढाको आँखामा छुट्टै चमक देखिन्थ्यो।"मैले पहिलो चोटी भेडाहरू म दश बर्ष हुँदा चराउन लान परेको थियो किनभने मेरो बाबा बिरामी हुनुभएकाले गर्दा जान सक्नु भइरहेको थिएन।" सुरुमा गाह्रो परे तापनि, बिस्तारै उसले आफ्नो बथानसँग त्यही परिचित बाटोहरू सदैव पैलाउँदै ३० बर्ष बिताए।

Kharka Bahadur Gurung, and his wife, Bega

भेडाको बथान खर्क बहादुरकहाँ मात्र थियो भन्ने होइन तर - उत्तरेको खर्का छेत्री, सोपाखाको लामा गुरुङ, कुम खोलाको जरबोथे, बुढी खोपको रुखो बाउ, माने अन्तरे र पाते कान्छा पनि आ-आफ्ना बथानका मालिक थिए।

बेँसीतिर बसन्त सुरु भैसक्दा नै, तिनीहरू आ-आफ्ना बथानहरू भिरतिर चर्न लान्थे। बसन्तले धरतीमा आफ्नो जादुई कलाकारिताको प्रदर्शनी गरेको हुनाले उनिहरू पनि भेडी चरन पच्छ्याउँदै अघि बढ्दै जान्थे। सुरु हुन्थ्यो दरीली, बाजाथाम, घैरी, द्रो, निनगलिथाम, फेदोङ्गथाम, बुढी पानी, सिक्किमाको, घरा खेतदेखि प्रसिद्ध तालहरू - लाम पोखरी, ढुङ्गे पोखरी र लक्ष्मी पोखरीसम्म। तिनीहरू काग भिर र डाँफे भिर जस्ता ढलुवा भिरहरू पार गर्थे। नेपाल-सिक्किम सिमानाका जाँच चौकीमा घ्यु र छुर्पी कोशेली टक्र्याएपछि, सिमाना पार गर्ने अनुमति पनि पाइ हाल्थ्यो। तिनीहरू पारीका गोठालेहरूसँग अलिक दिन भएपनि खानपिन, नाचगान र भोज गर्दै रमाइलो गर्ने गर्थे र बथान आफै घाँस खाँदै चहारी रहन्थ्यो। केही समयपछि गोठालेहरू आफ्नो बाटो स्मरण गर्दै फेरि सिक्किम तिर फर्केर आउँथे।

लेकका केही अद्भुत अनुभवहरूको स्मरण गर्दै खर्क बहादुर भन्छ- "लेकमा भयंकर आँधी हुरी चल्दै गरेको हुन्थ्यो र बाक्लो-बाक्लो बादलहरू त हामी भन्दा पनि तलतिर पो देखा पर्ने। बिजुली चम्केको, चट्याङ हानेको देख्थ्यौँ र बादलको गर्जन सबै सुन्थ्यौँ। पानी पऱ्यो भने हामी लुथ्रुक्क भिज्थ्यौँ तर आकाशको पानीले होइन, छड्के मुसलधारे पानीले। क्षणका क्षणमै मौसम बदलिने गर्थ्यो। असिना परेको परेकै हुने र सबै गोठाले चेपाचेप गरेर आफ्नो बच्चाहरू जोगाउँदै बस्थे। भेडा पहाडी पशु नै भएको हुनाले आफ्नो स्याहार गरी हाल्थ्यो।"

के खाने कुराहरू पाउँथ्यो त्यहाँ?- "पाउँथ्यो नी, कस्तो सफा हुन्छ त्यहाँ। सिमरायो त पानीको धारा तिर नै जत्ति पाउँथ्यो, त्यसलाई टिपेर घ्युमा मज्जाले भुटेर खान्थ्यौँ र स्वादको त कुरा नै नगरे हुन्छ, क्या मिठो हुने। कुरिलो पनि त पाउँथ्यो तर एकदमै उचाइमा मात्र। अलिक टाढाबाट हेर्दा पर्वतमा एउटा योगी ध्यानमा बसेको जस्तै‌ देखिने। कोई बेला चरा पनि पासोमा पारिन्थ्यो।"

खड्काले भारल देखेको कथाहरू भन्न थाल्यो, "हामी उभिएको ठिक विपरित पहाडमा १२-१३ को समूह बनाएर भारलहरू हिँडी रहेका हुने। अलिक नजिकबाट हेर्ने इच्छा राख्दै हामी तिनीहरू भएतिर छिटोछिटो कुद्दै जान्थ्यौँ तर हामी त्यहाँ पुगिन्जेल, भारलहरू अर्को पहाडबाट  शान्त भई हामीलाई हेरीरहेको हुने। यो प्रक्रिया कैयौँ घन्टासम्म यसरी नै चली रहन्थ्यो।"

Blue sheep (Photo: Karma Tempo)

त्यस उचाईँका कथाहरू प्रशस्त छन्। तर बारम्बार भनिँदै आएको एउटा दन्ते कथा चाहिँ नजिकै कतै रहेको रहस्यमय स्वर्ग हो जहाँ गुप्त द्वारबाट मात्र पस्न सकिन्छ। खड्काले भनेको यो कथा, दुईवटा संस्करण मध्ये एक हो। उसले कसम खाएर यो कथा सत्य भएको प्रमाण दिन खोज्छ र भन्छ कि उसको पुर्खाले भन्दै आएको कथा हो।

उहिले नै एउटा अनाथ केटो थियो रे जसलाई भेडाहरूको देखरेख गर्न राखिएको थियो। एक दिन, उ अचानक हराएछ र सबै ठाउँ जतिनै खोज्दा पनि उसलाई कतै भेटाउन सकिएन रहेछ। त्यहाँ कुनै मांसाहारी जनावरहरू नभएको हुनाले सबैले उ चिप्लो भिरबाट झरेर मरेको अनुमान गरे। सबै गोठाले दुःख मान्दै भएपनि आफ्नो फिरन्ते जीवन फेरि सुरु गर्न थाले। एकदिन अचानक, तीन बर्ष बिती सके पछि त्यो केटो फेरि देखा पऱ्यो जस्ताको तस्तै, एकदमै  स्वस्थ। आश्चर्यचकित भएका गोठालेहरू त्यो केटोको वरिपरि घेरिए। "कहाँ थियौ तिमी? भन हामीलाई।"  उत्तर दिने मान्छे मौन थियो। "तिमी त तीन बर्षदेखि पो लापत्ता भएको हौ त। कहाँ गएका थियौ?"

केटो फेरि पनि चुपचाप तबसम्म उभिरह्यो जबसम्म उसलाई भन्नै पर्ने बाध्यता आइलाग्यो।

"एकदिन म मेरो बथानका साथ नयाँ भेडी चरनको खोजीमा थिएँ। खोज्दा खोज्दै म पहाडको गहिरो भागमा पुगेँ। त्यहाँ ढुङ्गा मुढा बाहेक अरु केही पनि थिएन, घाँसहरू पनि केही थिएन।

अघि बढ्दै जाँदा एउटा भीरालो सतहको क्षेत्रमा भएको अनौठो  द्वारमा पुगेछु। म बिस्तारै सतर्कताका साथ भित्र प्रवेश गर्दै जाँदा आफैलाई एउटा अति नै सुन्दर अनि विचित्र बगैँचामा पाएँ। म हिँडेको ढुङ्गे जमिनको केही अघि मात्र नै यो बगैँचा छ भन्ने कुरा अविश्वसनीय थियो। मैले आफ्नै आँखाले देखी रहेको दृश्य पत्याउन सकिरहेको थिइन - वृक्ष भरि लटरम्मै फलहरूको थुङ्गा अतिनै सुन्दर देखिरहेको थियो। त्यहाँ बढो भलाद्मी मानिसहरू थिए जसले मेरो देखभाल राम्ररी गरे। तपाईँहरू म हराएको तीन बर्ष भयो भन्नुहुन्छ, तर मेरोलागि यो तीन बर्ष मात्र तीन महिना हो जस्तो लाग्छ।"

यो कथा भनी सकेपछि, उसले बगैँचा फर्केर जाने बाटो खोज्न थाल्यो तर त्यो गुप्त द्वार फेरि भेटाउन सकिएन।

Cleaning wool

 शीतकाल नजिक आउँन थाले पछि, सबै गोठाले बथानका साथ आ-आफ्नो घर ओर्लिन थाल्थे, बाली काटी सकेका खाली खेतहरूमा भेडाहरूलाई चराउँदै चराउँदै। यो समय भेडाको ऊन काट्ने समय भएको हुनाले आइमाई र कतिपय केटा मान्छेहरू बुनाई गर्न काँचो धागोहरू बटुल्ने व्यवस्था हुन्थे। ८० बर्ष पुगिसकेकी धनमाया गुरुङ आफू २० बर्ष हुँदा देखि नै बुन्न थालेको कुरा गर्दै, उनको समयमा ती काँचो घागोहरूलाई सिउन योग्य बनाउँने प्रक्रिया कति परिश्रमी थियो भन्ने कुराको वर्णन गर्छिन्। ती ऊनहरू तयार भएपछि  घरमै प्रयोग गरिने र व्यवसायका लागि भिन्न चीजबीचहरू बनाइने गरिन्थ्यो। मनतातो पानीमा ती ऊनहरूलाई धेरै चोटि धोएपछि, पूनः घोटेर सफा गरिन्छ, चर्खामा चढाएर

कटुवालको सहायताले धागो निकाल्न अघि ती ऊनहरूलाई घाममा राम्ररी सुकाइन्छ। धागोहरू बल्ल एउटा काठको फर्मामा चडाइन्छ र बुन्ने प्रक्रिया सुरु हुन्छ। उनिहरू विभिन्न पदार्थ र चिजबिजहरू बुन्ने गर्छन् जस्तै- कम्बल, राडी, लुकुनी, गदालो, बक्कु, गोठालेहरूले प्रयोग गर्ने पारम्परिक घुम इत्यादि र अहिले अझ नयाँ पहिरनहरू बनाउने गरिएको छ जस्तै- भोटो र सिरपोश। धनमायाको भनाई अनुसार यो व्यवसाय धेरै लाभकारी भएतापनि आजका युवा पिँढीहरू यो कला सिक्ने रुचि नै राख्दैनन्, छोरीहरू पनि अनिच्छुक देखिन्छे। आज यो बुन्ने प्रक्रिया एकदमै लुप्त भएर जाँदै छ। कुनै-कुनै परिवारहरूले मात्र थोरै भए पनि भेडाहरू पालेर, आफ्नै जमिनमा नै भेडाहरूलाई चराउँदै, त्यसका ऊनहरू प्रयोगमा ल्याउँदै परम्परालाई जीवित राखेका छन्।

जब उत्तर र पश्चिम सिक्किमका केहि भागहरू नेपाल र तिब्बतका  जैविक आकर्षणका सिमानामा परे तब यूनेस्को (UNESCO)- को वैश्विक धरोहरहरूको सूची मध्ये यी ठाउँहरू पनि एउटा वैश्विक धरोहर स्थल हो भनेर यूनेस्को - ले १७ जुलाई, २०१६ को दिन घोषणा गरे। त्यसदिन उपरान्त गाईवस्तु चराउन प्रतिबन्ध लगाइयो।

 गुरुङहरूले अब बाँच्नको निम्ति बसाई नै सर्नुपर्ने परिस्थिति देखा परेको थियो। भेडाहरूको परिपालन माथि सम्पूर्ण रुपले निर्भर रहेका गुरुङहरूले अब जीवन निर्वाह गर्ने अर्को विकल्प अपनाउने बाध्यता आई लागेको थियो। यद्यपि उनीहरूले आफ्नो परम्परालाई पूर्णरूपमा त्याग्न नसके तापनि उनीहरू आफू अघि आएका नयाँ अवसरहरू छिटै अपनाइरहेका थिए। प्रतिबन्ध घोषणा पश्चात मानिसहरू माझ सुरुसुरुमा धेरै त्रास उत्पन्न भएको थियो। हतासा पूर्ण सबैलाई आफ्नो बस्तुहरू सिमानामा कम भन्दा कम दाम लगाएर बेच्न बाध्य भए। तर मानिसहरूको सहनशीलताका कारण, बिशेषगरी पर्यावरणीय पर्यटन र प्रकृतिको प्रचारका आधारमा नयाँ अवसरहरू उब्जन थालेको थियो।

Dhanmaya Gurung at her house in Sardung

आज पर्यावरणीय मुद्धामा धेरै जागरूकता बढिसकेको छ र विश्व संरक्षणको महत्व र आवश्यकता प्रति पनि धेरै जागरूकता फैलिँदै जाँदै छ। २०११ मा प्रकाशित गरिएको Biodiversity of Sikkim: Exploring and Conserving a Global Hotspot मा वन पर्यावरण र वन्य जीवन प्रबन्ध विभागका कञ्चनजङ्गा राष्ट्रीय निकुञ्जका‌ केही खोजीहरू समावेश गरिएको छ। अरु निष्कर्षहरू मध्ये, त्यहाँ वन जङ्गलमा निर्भर रहेका दुई समुदायहरूबीच, त्यस उच्च हिमालयको प्राकृतिक विविधताको संरक्षणको मुद्दा बारे दुईमत द्वन्द्व चलेको कुरा लेखकले सङ्केत गरेका छन्।

यूनेस्को  ले प्रतिबन्ध लगाए पश्च्यात सरकार पनि संरक्षण लिएर कडा नियमहरू पालन गर्न बाध्य बनेका छन्। । यूनेस्को विरासत स्थल परिक्षेत्र भित्र परेदेखि उक्त उपवन प्रतिष्ठित बनेको छ र विश्व धरोहर पुँजीबाट आर्थिक ब्यवस्थापनको हकदार बनेको छ।

चौरी गाई र जोहरूका (चौरी अनि घरका अन्य पशुहरूको मिश्रण भएका प्रजाति) ठूला बथानहरू पाल्नको निम्ति, गोठालेहरू प्राय कटुसका वनजङ्गलहरू सफा गरी भविष्यमा त्यहाँ आफ्नो बथान चराउन घाँसपातहरू रोप्ने गर्थे। चौरी गाई पाल्ने पेशा लाभदायक थियो भने, भेडापालनमा बथान सानो भए तापनि यो पेशा जीवन निर्वाह गर्न सकिने स्तरमा नै थियो।

हुन त धेरै मात्रामा पशु चराएको हुनाले यस क्षेत्रमा न्यूनतम रुपमा भए पनि नोक्सान पुऱ्याएको छ। यूनेस्को  ले प्रतिबन्ध लगाए पश्च्यात सरकार पनि संरक्षण लिएर कडा नियमहरू पालन गर्न बाध्य बनेका छन्। । यूनेस्को विरासत स्थल परिक्षेत्र भित्र परेदेखि उक्त उपवन प्रतिष्ठित बनेको छ र विश्व धरोहर पुँजीबाट आर्थिक ब्यवस्थापनको हकदार बनेको छ।

 २०१६ मा सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन कुमार चामलिले भने, "युनेस्को  मान्यताले हाम्रो राज्य मा पर्यावरण पर्यटनका लागि एक थप धक्का दिनेछ र न्यूनतम पर्यावरणीय नकारात्मकताका साथ पर्यटक आगमनमा मद्दत गर्ने छ। यो महत्वपूर्ण छ किनकि हाम्रो राज्य मा पर्यटक आगमन दोब्बर भन्दा बढी २०१५ मा ३८,४७९ पुगेको छ। र हाम्रो लक्ष्य २०२५ सम्ममा १२ लाख पर्यटकहरूको आगमन रहोस् भन्ने छ। संरक्षित पार्कसँग सम्बन्धित पर्यटन पर्याप्तसँग स्थानीय समुदायहरू लाई धेरे लाभ प्रदान गर्दछ। विशेष गरी पेलिङ्, योकसम, गान्तोक र राबोङमा। पर्यटन सम्बन्धी गतिविधिहरू जस्तै - चल प्याक जानवरहरू, बन्दरगाहहरू को रूप मा काम, पर्यटक मार्गदर्शक र लज व्यवस्थापन आर्थिक गतिविधिहरूको प्रमुख श्रोत बनेको छ।

Horses carrying goods in Gochela trek

परम्परागत रूपमा उच्च हिमालयमा चरनमा निर्भर समुदायहरूले पनि नयाँ प्राथमिकताहरूलाई स्वीकार गर्न र प्राकृतिक संरक्षण को सन्तुलन को तरीका खोज्न र दिगो बाँच्न बाध्य बनेको छ। पर्यटन प्रवर्द्धन र सम्बन्धित सेवा प्रचलित गर्न नै उचित विकल्प देखिन्छ। तर अहिले पारिस्थितिकी पर्यटन बाट समृद्धि को लागी अल्पकालीन रोक लागेको छ। पर्यटकहरूको खानपानको लागि वरिपरि बनाईएको पूर्वाधार र पर्यटनमा संलग्न सबै मानिसहरूको श्रृंखला विश्वव्यापी महामारीको चपेटामा परेका छन्। गोपाल थापा जसले पदयात्रा र शिविर बासको आयोजना आरम्भ गरेका थिए, उनको भनाइ अनुसार पारिस्थितिकी पर्यटन अधिक मात्रामा आर्थिक उत्पादन गर्न सक्षम बने वापत विरासत स्थलको वरपर बस्ने मानिसहरू जङ्गली जानवर जनसंख्या सुरक्षाको कारण एउटा छुटै युद्ध लडिरहेका छन्।

जनताको निर्वाह कृषिमा फर्कने प्रयास पनि यही जानवरहरूले अन्न बालीमा पुऱ्याउने विनाशको सामना गर्नुपर्ने हुन्छ।

वर्तमानमा, पर्यटनको लागी उक्त क्षेत्र खोल्न भनेको आफ्नै ज्यान जोखिममा लाउनु हो। हालैमा एक होमस्टे सञ्चालककहाँ कोलकत्ता बाट एक हुल पर्यटकहरू आएका थिए। पछि त्यही होमस्टेको सञ्चालक नै संक्रमित हुन पुगे र उसले आफ्नो ज्यान गुमाउन पऱ्यो।

सन्दर्भ:

 1. अररावतिया, एमएल  र तम्बडे, सन्दीप एड।  सिक्किम को जैव विविधता: अन्वेषण र एक ग्लोबल हटस्पट संरक्षण, सूचना र जनसम्पर्क विभाग, सिक्किम सरकार, गान्तोक, जून २०११।

 २. "कञ्चनजोंगा राष्ट्रिय निकुञ्ज: भारतको नयाँ युनेस्को विश्व विरासत स्थल!"।  इंडिया टुडे, २०१६ https://www.indiatoday.in/travel/wildlife/story/khangchendzonga-national-parkkanchenjunga-unesco-world-heritage-site-travel-lifetr-332557-2016-08-01

 3. साक्षात्कार र क्षेत्र भ्रमण।

अनुवादक: निलम गुरुङ

Photo Gallery
(Click to enlarge)

Translated by: टीका ‘भाइ’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram