Menu

सिक्किमका डेञ्जोङ खो

Bhutia dance performance at Sangkalang annual fair, Dzongu, North Sikkim.
Photo: Praveen Chettri

डेञ्जोङपाका भोटियाहरू

डेञ्जोङपाहरू तिब्बती अधिवासीहरू हुन् जो 13 औं शताब्दी उपरान्त कैयौं  खेपमा सिक्किम भित्रिएका थिए। तिब्बतीहरूले उनीहरूलाई ल्होपो (दक्षिणका बासिन्दाहरू); नेपालीहरूले भोटिया (तिब्बतलाई नेपालीले भोट भन्दछ, यस कारण भोटका मानिसहरू); भन्ने गरे तापनि उनीहरूलाई भोटिया वा डेञ्जोङपा (सिक्किमको पुराना नाम डेञ्जोङका बासिन्दाहरू) भन्ने चलन रहिआएको छ।

सिक्किमे डेञ्जोङपाका युवा पिँढीसित आफ्नो आवश्यकता अनि इच्छा पूर्तिका लागि नवीनतम प्रविधि, सूचना अनि अवसरहरू उपलब्ध छन्। उनीहरू माने घुमाउनको साटो सेलफोन अनि एप चलाउन रुचाउँछन् भने छाम्पा (नौनी घिउमा मुछिएको भुटेको जौको पीठोले बन्ने एक परिकार) भन्दा धेरै पिजा खान मन पराउँछन् र भेटघाट गरी भलोकुसारी गर्नुको साटो फेसबूक चलाउन बढी चासो दिन्छन्।

सन् 1975 मा सिक्किम भारतको एउटा राज्य बन्नका साथै राजनीति अनि शक्तिकेन्द्र राजतन्त्रदेखि लोकतान्त्रिक प्रणालीमा रूपान्तरणपछि, स्वेच्छा वा अन्यथा, सिक्किम आधुनिकता तर्फ अघि बढिरहेको छ। विश्वका अन्य ठाउँ जस्तै, सिक्किम परिवर्तनको निम्ति खुल्ला बनेको हुँदा अब “लुकेको भञ्ज्याङ” रहेन। छिमेकी इलाकाको बद्लिँदो भू-राजनीतिक परिदृश्यसँग हेमखेमका साथमा सूचना प्रविधि अनि वाणिज्यिक क्षेत्रको विकास पनि व्याप्त रहेको पाइन्छ। यस अपरिहार्य परिवर्तनले सिक्किमको भूगोलका साथमा यहाँका मानिसहरूमा रूपान्तरण ल्याउनका साथै सांस्कृतिक अनि पर्यावरणीय चिन्ता पनि बढाएको छ।

सिक्किमे डेञ्जोङपाका युवा पिँढीसित आफ्नो आवश्यकता अनि इच्छा पूर्तिका लागि नवीनतम प्रविधि, सूचना अनि अवसरहरू उपलब्ध छन्। उनीहरू माने घुमाउनको साटो सेलफोन अनि एप चलाउन रुचाउँछन् भने छाम्पा (नौनी घिउमा मुछिएको भुटेको जौको पीठोले बन्ने एक परिकार) भन्दा धेरै पिजा खान मन पराउँछन् र भेटघाट गरी भलोकुसारी गर्नुको साटो फेसबूक चलाउन बढी चासो दिन्छन्। सिक्किमको राजधानी जाने राजमार्गको दुवै किनारामा विभिन्न राष्ट्रिय अनि अन्तरराष्ट्रिय ब्राण्डका  कपडा-जुत्ता जस्तै “नाइक, युनाइटेड कलर अव् बेनिटन, रेमण्ड, एडिडास” आदि इत्यादि लगायत शहरका सिनेमाघरहरूमा चलिरहेका हिन्दी अनि अङ्ग्रेजी चलचित्रका पोस्टरहरू प्रदर्शित पाइन्छन्। गान्तोकका ट्याक्सीहरूमा सवारी गर्दा हिन्दी, नेपाली अनि अङ्ग्रेजी हिप-हप गीतहरू गुञ्जिरहेको पाइन्छ। एमजी मार्गस्थित मुख्य बजारमा इन्टरनेट क्याफेहरूमा किशोर अनि युवा लामाहरू सँगै बसेर इन्टरनेट चलाइरहेका हुन्छन्। विकास अनि आधुनिकताको अवधारणाले सिक्किमको उदीयमान सांस्कृतिक परिदृश्य परिभाषित गर्दछ, जसको वरिपरी यहाँको मुख्य उद्योग रहेको पर्यटनले फेरी लगाउँदछ।

Denjongpa male in his kho during the mid-1800s in Sikkim.
Illustration: Ranveer Singh Sahmbi, 2014

पुरुषका लागि पो-खो

डेञ्जोङपाहरू पहिलो आफ्नो पोशाक-पहिरनको सन्दर्भमा धेरै नै अपरिवर्तनवादी थिए। कोही-कसैले पश्चिमी शैलीका पोशाक लगाउन थाले पनि महिलाहरूमा भने प्रायः पारम्परिक शैली अझै पनि व्याप्त रहेको पाइन्छ। यस पारम्परिक पोशाकलाई डेञ्जोङ खेमा (भोटिया भाषा) “खो” वा नेपालीमा “बक्खु” भनिन्छ।

डेञ्जोङपा पुरुषहरूले “फो-खूर” अर्थात् पूरा बाहुला भएको पोषाक लगाउँछन् जसलाई रेशमको “ख्ये रा” (पटुकी वा पेटी)-ले कम्मरमा बाँध्ने गर्दछन्। यसको अर्को प्रकारलाई “पुरूखो” वा ऊनी पोशाक भनिन्छ, जुन उत्तर सिक्किमको लाचेन वा लाचुङ जस्ता अग्ला लेकाली इलाकातिर पुरुषहरूले लगाउने गर्दछन्। यसमा प्रायः खो हुन्छ, जुन झण्डै भूइँसम्म लत्रिने लामो अनि चौडा बाहुला भएको पोशाक हो। यस पोशाक छेउबाट पछाडिपट्टी पट्याएर कम्मरमा ख्ये-राले घुँडासम्म मात्र पुग्ने गरी बाँध्ने गरिन्छ र यसको माथिल्लो भागमा छात्तीको घेरोमा पर्ने गोलाकारको ठूलो गोजी जस्तो आकार बन्दछ। यसभित्र खाने बटुकी, एक थैली छाम्पाका साथमा अरू धेरै मसिना चाहिने वस्तुहरू राख्न सकिन्छ।

Denjongpa during Pang Labsol, Gangtok, East Sikkim.
Photo: Praveen Chettri

शहरी इलाकातिर बसोबासो गर्ने कुलीन घरानाका पुरुषहरूले यस पोशाकका साथमा सुती वा ऊनीको भित्री कपडा अथवा पूरा बाहुला भएको भित्री कमेज लगाउने गर्दछन्। यस पारम्परिक कमेजलाई “वोनथाट्सी” भनिन्छ, जुन सेतो रङको लामो बहुला भएको कमेज हो र यसले कुलीन घराना बोध गराउँदछ, जसले मेहनत पर्ने काम गर्दैनन्। खोको भित्रपट्टी वोनथाट्सी लगाइन्छ।

खोसँग “जाजा” अथवा चिनिया रेशम कपडामा ड्रेगनको नक्सा, टङ्का (चिनियाँ सिक्काको नक्सा), खोर्लो (धर्मचक्र) वा अन्य प्रकारका बौद्ध मान्यताका आकृतिहरू कुँदिएको बेल-बुट्टादार इस्टकोट लगाइन्छ। पहिले कुलीन घरानाका सदस्य वा गाउँका मुखियाले मात्र कुनै अवसर-पर्वमा इस्टकोट लगाउने गर्थे भने हिजोआज प्रायः सबैले नै हरेक अवसरमा लगाउने गर्दछन्। विवाह जस्तो विशेष अवसरमा पुरुषहरूले “थुरिलशम्भू वा चिङसा” लगाउने गर्दछन्, जुन चौंरीको ऊनद्वारा बुनिएको विशेष प्रकारको टोपी हो।

पारम्परिक पोशाकलाई “फो सोम (यसलाई छोम्पा पनि भनिन्छ)” अर्थात् हातले सिलाइएको र ऊनी कपडामा सुन्दर बुट्टा कुँदिएको तथा काँचो छालाको तलुवा भएको जुत्ताले पूर्ण बनाउँदछ। यस्ता जुत्ता खकुलो हुन्छ भने माथिल्लो भागमा उज्यालो रक्षको ऊनी वा कपडाको ग्याटिस लगाइएको हुन्छ, जुन घुँडाको मुन्तिर भागमा कसेर बाँधिन्छ। जुत्ताको रक्ष कालो, रातो वा हरियो हुन्छ। पहिले केवल कुलीन घरानाका व्यक्तिहरूले जुत्ता लगाउने चलन थियो। यस्ता अग्ला जुत्तासँग मोजा लगाइँदैन थियो। “इहोल हाम” अर्को प्रकारको जुत्ता हो जुन लाचेन-लाचुङको घाटीमा विशेष गरी लगाइने गरिन्छ। यस प्रकारको जुत्ता भेंडाको ऊनले बुनिएको हुन्छ भने तलुवा चौंरीको काँचो छालाबाट बनिएको हुन्छ।

Denjongpa female in her kho during mid-1800s in Sikkim.
Illustration: Ranveer Singh Sahmbi,2014.

महिलाहरूको मो खो

कम्मरमा ख्ये राले बाँधिने बहुलाबिनाको पोशाक “मोखो” कुनै पनि कपडाद्वारा बनाइने गरिए तापनि, सम्भ्रान्त महिलाहरूले भने चिनिया बेल-बुट्टादार कपडाबाट बनाउने गर्दछन्। मोखो खुल्ला प्रकारको लामो पोशाक हो जसलाई छेउबाट पट्याएर कमरबन्दले बाँधिन्छ। पुरुषको खो जस्तै, यसमा पनि अगाडिपट्टी गोजी आकार बनिन्छ, जसमा विभिन्न सामग्री राख्न सकिन्छ। पूरा बहुला भएको टाँकबिनाको चोली वा ब्लाउजलाई “तेगो” भनिन्छ, जुन खोको भित्रपट्टी लगाइन्छ। यो पातलो कपडाले बनिएको हुन्छ, जुन प्रायः रेशमको हुने गरे तापनि हिजोआज भने पोलिस्टर वा सुतीको पनि बनाउन थालिएको छ। खोको बाहिरबाट लगाइने “कुशेनर” पनि बेल बुट्टादार, काँचो रेशम वा कृत्रिम सूतको कपडाबाट पनि बनाइन्छ।

Lachenpa women wearing gyapa. Lachen, North Sikkim.
Photo: Praveen Chettri

विशेष अवसरमा, पूर्व, दक्षिण अनि पश्चिम सिक्किमका महिलाहरूले रेशमको कपडाबाट बनाइएको लामो कान भएको र छेउबुट्टा भुत्लादार हन्छ, जसलाई छिरिङकिनखाप अनि सिलिङ शम्भु पनि भनिन्छ। यो रेशमको कपडामा बेलबुट्टा अनि छेउका घेरो भुत्लादार रूपमा बनाइएको हुन्छ र पाहाडतिर हुरी चल्दा तल झारेर पनि लगाउन सकिन्छ। लाचुङ अनि लाचेन घाटीका महिलाहरूले केही छोटो कान भएका यस्ता टोपी लगाउने गर्दछन्, जसलाई मोग्रीनामछोछेनर वा छिरिङकिनखाप पनि भनिन्छ। यस भेकतिर महिलाहरूले सूत वा ऊनी कपडाले घेरिएको र छालाको तलुवा भएको लामो जुत्ता “मोत्सोम्पा” लगाउने गर्दछन्। पुरुषले लगाउने सादा जुत्ताका विपरीत, महिलाहरूको जुत्तामा फूलका आकृतिहरू बनाइएका हुन्छन्।

ग्याबा वा ग्याब झोला भेंडा वा चौंरीको ऊनबाट हातले बुनिएको वर्षाती हो, जुन “छाहुक” (फूलबुट्टा कुँदिएको चाँदीको हुप) नामक हुपले छात्तीमा अल्झाइने गरिन्छ। लाचेन अनि लाचुङका मानिसहरू अर्थात् लाचेनपा अनि लाचुङपाहरूले आफूलाई पानी-झरी, हिउँ अनि चिसोबाट जोगाउन लगाउने गर्दछन्। विवाहित महिलाले “ पाङदेन” लगाउँदछन्, जुन खोको बाहिरबाट लगाइने रङ-बिरङ्गी धर्का भएको पेशबन्दी वा एप्रन हो। यो पारम्परिक रूपमा हाते तानमा बुन्ने गरिन्छ। हिजोआज रङ-बिरङ्गी रेशमको धागोबाट पनि पाङदेन बुन्ने गरिन्छ, जसलाई पाङथा वा इँजारले कस्ने गरिन्छ।

विवाह समारोहमा, बेहुलीले प्रायः आफ्नो अनुहार रातो गलबन्दी “खाती”ले ढाक्ने गर्दछन्, जुन काँचो रेशम वा सूतको कपडा बुनेर बनाइन्छ र जसको दुवै किनारामा रङ-बिरङ्गी सुन्दर आकृति कुँदिएको हुन्छ। यस्तै बेलबुट्टादार साटन हो किनखाप, जुन कुलीन घरानाका महिलाहरूले गलाहार लगाउनअघि घाँटी छोप्न लगाउने गर्दछन्।

सिक्किमे लामाहरूका धार्मिक पोशाक

लामाहरूको आफ्नै पोशाक हुन्छ. उनीहरूले कम्मरमुनि लामो पोशाक लगाउँदछन्, जसलाई “शेन्थाप” भनिन्छ, जुन खैरो-रातो रङको सूत वा रेशमको कपडाले बनिएको हुन्छ। यसको माथिबाट बहुलाबिनाको कमेज लगाइन्छ, जसलाई “खेञ्जा” भनिन्छ र यो सुन्तले वा पहेंलो रङको सूत वा रेशमको कपडाबाट बनाइएको हुन्छ। धार्मिक अनुष्ठानको समय वा गुम्पा अथवा पवित्र पूजा स्थलमा प्रवेश गर्दा, लामाहरूले “जेन” लगाउने गर्दछन्, जुन अनुष्ठानहरूमा लगाइने काँचो रेशम वा ऊनी वा सूतको कपडाबाट बनाइएको लामो दोसल्ला हो।

Young monks from Pemayangtse Monastery, Pelling, West Sikkim.
Photo: Praveen Chettri

विभिन्न दर्जाका साथै मौसमको स्थिति अनुसार लामाहरूले विभिन्न प्रकारका कोट लगाउने गर्दछन्। सर्वोच्च पदका लामाले “टोएङ्गा” लगाउँदछन्, जुन बहुलाबिनाको ऊनी कोट हो, जुन प्राय बेलबुट्टादार (प्रायः रातो रङको) हुन्छ। “डागाम” अर्को धार्मिक चुङ्गा हो जुन ऊनी कपडाद्वारा बनाइएको हुन्छ र ठूलो ओहदाका लामाले काँधबाट झुलाएर लगाउने गर्दछन्। यस्ता चोङ्गाको भित्री परत भुत्लादार र बाहिरी परत ऊनी कपडाको हुन्छ। यो प्रायः हिउँदको समय लगाउने गरिन्छ। अग्ला लेकाली भेकतिर बसोबासो गर्ने एकान्तवासी वा “छान्पा”ले “टोम्बो” लगाउने गर्दछन्, जुन टाँकबिनाको भुत्लादार कपडाले बनाइएको बहुला भएको लामो कोट हो।

“पे शा (पद स्वहा)” एक प्रकारको शिरपेच आकारको टोपी तिब्बती बौद्ध धर्मका संस्थापक गुरु पद्मसम्भवद्वारा लगाइने गरिएको हुँदा त्यसैको अनुसरण गरी लगाउने गरिन्छ। गुरु पद्मसम्भव 749 सीई तिर यस भेकमा आएर करिब 54 वर्ष बिताएका थिए। पे शा प्रायः अवतारी लामा वा बौद्ध धर्मको निङमापा वा कार्ग्युपा पन्थको गुम्पाका प्रमुख लामाले लगाउने गर्दछन्। अरू लामाले त्रिकोणीय शिरपेच आकारको टोपी लगाउँदछन्, जसलाई “पान शा छे सिङ” भनिन्छ।

Head monk during Lachen Annual cham, Lachen, North Sikkim.
Photo : Praveen Chettri

पान शा टोपीको उत्पत्तिबारे रोचक कथा छ। चिट्टागोङको (हालको बङलादेश) पद्म बिहारमा (गुम्पा) केही एकान्तवासी शिक्षकहरूले बौद्ध पण्डितलाई (पुजारी) धार्मिक तर्क-वितर्कका लागि चुनौती दिए। पण्डितले एक बूढी महिलाको सल्लाह अनुसार धार्मिक नैतिकताबारे तर्क गर्दा काँडा जस्तो तिखो टुप्पो भएको असामान्य टोपी लगाएर अन्त्यमा विरोधीहरूलाई परास्त गरेका थिए। उनको जीतको परिणामस्वरूप उक्त टोपी लोकप्रिय बन्दै पछि गएर तिब्बती अनि सिक्किमे लामाहरूले त्यस प्रकारको टोपी लगाउन शुरु गरे। एउटा विशेष प्रकारको जुत्ता पनि हुन्छ, जुन लामाहरूले दिनहुँ लगाउने पोशाकभित्र पर्दैन जसलाई “रेसोम” भनिन्छ, जुन विशेष अवसरमा सिक्किमका गुम्पाहरूमा मखुण्डो नाँच गर्ने नर्तकहरूले लगाउँदछन्। यो जुत्ता सूती कपडाले बनाइन्छ र तिब्बत अनि भोटाङबाट आयात गरिन्छ।

हातले उत्पादनदेखि कारखानामा निर्मितसम्म : खोको रूपान्तरण

सन् 1642 मा सिक्किम साम्राज्यको स्थापनादेखि बितेको करिब 370 वर्षको अवधिमा डेञ्जोङ खो विकसित हुँदै आएको छ। पारम्परिक हातेतानमा बुनिएको कपडा अनि सुकाइएको चौंरीको छालाको साटो आज कारखानामा निर्मित वस्तुले ठाउँ लिँदै गएको छ। सन् 1700 देखि 1800 सम्म, डेञ्जोङपा पुरुष अनि महिलाहरूले भेंडा वा चौंरीको छाला अनि ऊनबाट बनिएका खो लगाए। भारत अनि तिब्बतबीच व्यापार खोलिएपछि, कारखानामा तयार अन्य सामग्रीहरू उपलब्ध हुन थाले।

One of the few remaining ulahs in Sikkim 2013
Photo: Kunga Tashi Lepcha

सन् 1642 मा सिक्किम साम्राज्यको स्थापनादेखि बितेको करिब 370 वर्षको अवधिमा डेञ्जोङ खो विकसित हुँदै आएको छ। पारम्परिक हातेतानमा बुनिएको कपडा अनि सुकाइएको चौंरीको छालाको साटो आज कारखानामा निर्मित वस्तुले ठाउँ लिँदै गएको छ। सन् 1700 देखि 1800 सम्म, डेञ्जोङपा पुरुष अनि महिलाहरूले भेंडा वा चौंरीको छाला अनि ऊनबाट बनिएका खो लगाए। भारत अनि तिब्बतबीच व्यापार खोलिएपछि, कारखानामा तयार अन्य सामग्रीहरू उपलब्ध हुन थाले।

तिब्बती व्यापारीहरूले दुवै सामानका साथमा तयार पोशाकहरू पनि तिब्बतको ऐतिहासिक कारोबारी शहर याटुङबाट ल्याउन थाले। यसको विपरीत अति प्रतिकूल जलवायु परिस्थितिमा बसोबासो गर्ने लाचेनपा अनि लाचुङपाहरूले घिउ दलेर सुकाइएका भेंडाको छालाबाट हातले नै सिलाइएका पोशाक लगाउने गर्थे। अधिकांश रूपमा, सिलाउनुको साटो खोलाई सरेस लगाएर टाँस्ने गरिन्थ्यो।

सन् 1900 को शुरुवाततिर, सिक्किम अनि भारतबीच कारोबार बढ्नल थालेपछि सस्तो अनि राम्रो ऊनी अनि सूतीका कपडाहरू उपलब्ध हुन थाल्यो। कपडाहरू प्रायः अगरवाल ट्रेडिङ कम्पनीद्वारा (मारवाडी कारोबारी) कालेबुङ ल्याउने गरिन्थ्यो, जुन भारत, सिक्किम, नेपाल, भोटाङ, तिब्बत र चीनबीचको प्रमुख कारोबारी केन्द्र थियो। सन् 1959 मा चीनद्वारा तिब्बतमा आक्रमणपछि धेरै सङ्ख्यामा तिब्बती शरणार्थीले सिक्किममा बसाइँ सरे। तीमध्ये तिब्बतका विभिन्न इलाकाबाट आएका धेरै महिला अनि पुरुष अति कुशल दर्जी पनि थिए, जसलाई “उलाह” भनिन्छ।

खो बिस्तारै परिवर्तित हुँदै गयो र वैकल्पिक कपडाका साथमा सिलाउने काम अरू सामान्य बन्दै गयो। यस परिवर्तनले कुलीन घराना र आम जनमानसबीचको पहिरनबीच फरक पनि घट्दै गयो भने सामाजिक पृष्ठभूमि जे-जस्तो भए तापनि डेञ्जोङपाहरूमा एक समान शैली कायम हुन थाल्यो।

सन् 1940 को मध्यतिर, महिलाको खोमा पूर्ण परिवर्तन आयो। वर्ष 2008 मा करिब 84 वर्षको उमेरमा स्वर्गीय भएकी राजकुमारी कुकुलाले (राजकुमारी पेमा छेडुन यापसी फिउनखाङ लाछुम कुसो) डेञ्जोङ खोलाई पुनः अभिकल्पित गर्दै आधुनिक आवश्यकता अनुरूप ढाल्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। उनी 11 औं छोग्याल सर टाशी नामग्यालकी सुपुत्री थिइन्, जसको विवाह तिब्बतको ग्यान्सेका गभर्नरसँग भएको थियो।

महिलाले लगाउने खो खुल्ला प्रकारको चुङ्गा जस्तो हुन्थ्यो, जसलाई अलग पेटीले बाँध्ने गरिन्थ्यो। यसको नयाँ स्वरूपमा, माथिल्लो भागलाई जिउमा ठीक मिल्ने गरी सिलाइन्छ। पारम्परिक रूपमा खोभित्र बोकिने सामानहरूको निम्ति अलग झोला चलाउन थालिएको छ। कम्मरमुनि यो फराकिलो गरी दुवै छेउमा फ्याक परी खुल्दछ र दुई कुनामा तुना सिलाइएको हुन्छ। यी फ्याकलाई पट्याएर पछाडिपट्टी उक्त तुनाले कम्मरमा “बोवोर” अथवा गाँठो पारी कसिन्छ। रुचि अनुसार यी तुनालाई पछाडिपट्टी वा छेउमा कसिन्छ। यस प्रकारले खो खकुलो साथै तल्लो भागमा पट्याएर नै लगाइन्छ भने माथिल्लो भाग भने जिउमा सुहाउने हिसाबले सिलाइएको हुन्छ। यस पहिरनलाई अझ अनुकूलित बनाउँदै बाहुला बिनाको बनाइएको भए तापनि अझै लामो बाहुलाको पनि लगाउने चलन यथावत छ। बाहिरी पोशाक प्रायः दीर्घायुका तिब्बती अनुकल्पका साथ रेशमको कपडामा सुनौलो बेलबुट्टा लगाएर तयार गरिन्छ। अवसरको हिसाबले पनि सामग्री प्रयोग गरिन्छ। “तेयगो” अर्थात् चोलीमाथि खो लगाउने चलन छ।

पुनः अभिकल्पित खो लगाउन सजिलो, हल्का र सुरम्य हुन्छ। तरुणी डेञ्जोङपा महिलाहरूले यसलाई अप्नाइसकेका छन् भने खोको स्वरूप धेरै लोकप्रिय बन्दै छिमेकी इलाकासम्म यसलाई लगाउने चलन शुरु भएको छ। भारतमा तिब्बती शरणार्थीहरू बाहेक यसलाई तिब्बतमा पनि अप्नाइएको छ र हालमा आएर यसले तिब्बती महिलाहरूको “पारम्परिक पोशाक”को मान्यता पाएको छ।

आधुनिकता, फेसन र खोको स्थिति

सिक्किममा बितेको शताब्दीभित्र आएको परिवर्तनले सामाजिक रूपान्तरणको शुरुवात गर्नका साथै आफ्नो संस्कृति अनि स्थानबारे अवधारणा पनि परिवर्तित गरेको छ। शिक्षाको पश्चिमी प्रणाली अप्नाइयो, जसमा स्कूलहरूमा युनिफर्म लगाउने चलन पनि सामेल छ। यसका साथै आधुनिक सिक्किमे समाज विकास गर्न विद्यार्थीहरूलाई बाहिरी संसारसँग जोडिन प्रोत्साहित गरियो। राज्यले धेरै विद्यार्थीलाई अङ्ग्रेजी माध्यममा पढ्न बाहिर पठाउन थाल्यो। यस प्रक्रियाले पोशाकका साथमा समाजमा आचार-व्यवहार पनि प्रभावित गर्न थाल्यो। डेञ्जोङपाहरूले तथापि, छोग्यालको मार्गदर्शनमा अनुशासित भेश-भूषा कायम गर्दै राष्ट्रिय पोशाकको अवधारणा कायम राखे।

Traditional family dance during the wedding, Kewzing, West Sikkim.
Photo: Praveen Chettri

आज विशेष चाड-पर्व जस्तै लोसुङको (सिक्किमे नयाँ वर्ष) अवसरमा खो लगाउने गरिन्छ। दुवै महिला अनि पुरुषले विवाह, मलामी अनि विशेष धार्मिक अनुष्ठानको अवसरमा पारम्परिक पोशाक लगाउने गर्दछन्। पुरुषहरूका लागि, पारम्परिक अवसरमा मात्र खो निकाल्ने वा लगाउने चलन बनेको छ। तर विवाहित डेञ्जोङपा माहिलाहरूले पनि दैनन्दिन रूपमा खो लगाउने चलन जारी छ कारण यस पोशाकले मर्यादित देखाउने उनीहरू ठान्दछन् भने तरुणी महिलाहरूले भने यसको रैथाने डिजाइन र कपडा अरू बढी फेसनपरस्त देखिने हुँदा लगाउन रुचाउने गर्दछन्।  विविध रङ अनि प्रकारमा यसको सामग्री पाइने हुँदा यो अझ आकर्षक बन्नपुगेको छ। यसका अतिरिक्त, डेञ्जोङपाका दुवै पुराना अनि नयाँ पिँढी, पश्चिमी शैलीका पोशाक सिक्किमको परिप्रेक्ष्यमा दैननन्दिन रूपमा लगाउन उपयुक्त रहेको र यसमा पनि विशेष गरी सरकारी काम-कुराका लागि सरकारी कार्यालयहरू जानुपर्दा लगाउन सजिलो भए तापनि खो लगाउन नै बढी रुचाउने गर्दछन्।

तथापि, आवश्यकता पूरा गर्न धेरैभन्दा धेरै ब्राण्डेड पोशाकका पसलहरू सिक्किममा खोलिन थालेसँगै पश्चिमी शैलीका पोशाकहरू बढा लगाउन थालिएको छ। पोशाक लगाउने तरिका र शैलीले परम्परा अनि आधुनिकताप्रतिको प्रवृत्ति दर्शाउँदछ। यस परिप्रेक्ष्यमा, “आधुनिकता”ले पोशाक-परिधान मात्र बोध नगराएर, डेञ्जोङपाहरू आजको दिनमा कसरी जिउँछन् भन्ने पनि दर्शाउँदछ। पारम्परिक रूपमा डेञ्जोङुपाहरू गहिरो घाटीतिर बसोबासो गर्थे भने आफ्नो घरहरू पनि आफै बनाउने गर्थे। उनीहरूका घर ढुङ्गा, माटो अनि काठ-पातले बनिएको हुन्थ्यो। पारम्परिक वास्तुकलाको वरिपरी एक प्रकारको परिवेशले घेरेको हुन्थ्यो जहाँ समुदायले आफ्नो संस्कृति जगेडा गरेर राख्थे।

कालान्तरमा, समुदाय आफ्नो पारम्परिक स्थापत्यदेखि शहरी इलाकाहरूमा बिहार अनि बङ्गालका प्रवासी श्रमिकको बलमा निर्मित अग्ला भवनहरूमा बसाइँ सरे। यस्ता भवनहरूमा लुगा सुकाउने पर्याप्त ठाउँ नुहनुका साथमा लुगा धुने प्रशस्त पानीको पनि कमी रहने गर्दछ। यसै कारण सायद नयाँ शैलीका पोशाक लगाउन सुविधाजनक भएको हुनसक्छ। तथापि, ड्राइ क्लिनिङको सुविधाका साथमा वाशिङ मशिनको उपलब्धताले महिलाहरूलाई फेरि दैनिक रूपमा खो लगाउन प्रोत्साहित गरिरहेको पाइन्छ।

राजधानी गान्तोकमा तेज केन्द्रिकृत विकास पनि सिक्किमको अरू भागमा परिवर्तनको निम्ति दायी रहेको मान्नसकिन्छ। वर्ष 1970 देखि, विशेष गरी शिक्षित अनि कारोबारी वर्गका जमात सिक्किमको अन्य भागबाट, अन्य जिल्लाको तुलनामा, बढ्दो रोजगार अवसर अनि पूर्वाधार सुविधाले परिभाषित “आधुनिक जीवन”को खोजमा गान्तोक बसाइँ सर्न थाले। श्रव्य-दृश्य सञ्चार माध्यम, रेडियो, सिनेमा अनि टेलिभिजनको बढ्दो प्रभावले डेञ्जोङपाहरूमा सङ्गीत, पोशाक, केशविन्यास तथा व्यवहारमा नयाँ प्रवृत्ति विकसित हुन थालेको हो। हालैका दिनमा मोबाइल फोनले झनै सञ्चारको क्रान्तिकारी औजार सुलभ गराएको छ। प्रायः सबै आमदानी वर्गका मानिसहरूमा यसको उपलब्धता प्रतिष्ठाको प्रतीक बन्नपुगेको छ।

डेञ्जोङपाहरूको जीवनलाई निकालेर हेर्दा उनीहरूमा परम्परा र आधुनिकताको द्वन्द्व चलिरहेको पाइन्छ। मानिसहरूले खाना, कपडा अनि घरको भौतिक आवश्यकताको पूर्ति अनि सन्तुष्टिलाई बेग्लै तरिकाले परिभाषित गर्न थालेका छन्। कैयौं शताब्दीसम्म डेञ्जोङपाहरू आजीविकाको निम्ति खेती-कृषि अनि पशुपालनमाथि निर्भर थिए, जुन आज आएर परिवर्तन भएको छ। सिक्किममा बढ्दो पर्यटन गतिविधिका साथमा राज्य बाहिर रोजगारका अवसरहरूका कारण, सिक्किमका अन्य समुदायले जस्तै उनीहरूले अन्य रैथाने समुदाय अनि संस्कृति अथवा आधुनिक शिक्षाद्वारा धेरै नयाँ विचार अनि कौशल हासिल गरेका छन्। यसका साथै उनीहरूको जीवन पहिलेको तुलनामा अरू धेरै अरू मानिसहरूका साथै बजारमाथि निर्भर हुनथालेको कुरा पनि डेञ्जोङपाहरूले बुझ्न थालेका छन्।

आधुनिक दिनका डेञ्जोङपाहरूले सर्वोत्तमलाई ग्रहण गर्ने विषयमा सचेत रहँदै विकास परिवर्तन, अध्ययन ग्रहण गर्नसक्ने संस्कृतिको प्राकृतिक रूपान्तरणको रूपमा स्वीकार गर्न थालेका छन्। आज, डेञ्जोङ खो, पारम्परिक अवधारणाको पोशाकभन्दा पनि धेरै रैथाने अस्मिताको प्रतीक र भेषाचार अभिव्यक्ति बन्नपुगेको छ।

PHOTO GALLERY

(CLICK TO ENLARGE)

  • Reprinted with permission from MARG, Mumbai (Sikkim: The Reinvention of Identities and Cultures edited by Prava Rai) MARG Vol.65 No:4 2014
Translated by: खगेन्द्रमणि प्रधान
About the Author

सोनाम टाशी ग्याल्छेनले “राष्ट्रिय डिजाइन संस्थान”, अहमदाबादबाट इण्डस्ट्रियल डिजाइनमा स्नातक उत्तीर्ण गरेका छन्। उनी “ईकोस्ट्रीम” नामक बहुविषयक डिजाइन स्टुडियो तथा “ला” नामक सतत् सामाजिक उद्यमका सह-संस्थापक हुन्। उनको स्टुडियो समुदाय आधारित डिजाइन समाधानमाथि केन्द्रित छ। उनले वर्ष 2021 मा “नेचरनोमिक्स अवार्ड” प्राप्त गरेका छन्। ईकोस्ट्रीमले हालसम्म सिक्किमको 20 वटा क्षेत्रमा काम गरिसकेको छ। विद्यार्थी, उद्यमी, डिजाइनर, बजार, समुदाय, सरकारी संस्थान अनि पर्यावरणका हितधारकहरूसँग सहकार्य गरिसकेका छन्। ईकोस्ट्रीमले स्थानीय विषयमाथि काम गर्दछ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram