यो लेख २५ वर्ष पहिले उत्तर सिक्किममा १९९३ र १९९६ को बीचमा गरिएको अवलोकन र क्षेत्र अनुसन्धानमा आधारित छ, जब म पीएच.डी. सामाजिक मानवशास्त्रको विद्यार्थी थिएँ। यसरी यसलाई पहिले नै 'ऐतिहासिक' मान्नुपर्छ अनि लामा र धामी-झाँक्रीहरू बीचको वर्तमान सम्बन्ध र मठहरूसँगको जनताको सम्बन्धलाई वर्णन गर्ने उद्देश्य होइन, ती सबै साढे दुई दशकमा धेरै विकसित अनि परिवर्तित भएका छन्। यो लेख मेरो शोध प्रबन्धमा धेरै निर्भर छ, जुन "लामा, सामन र पूर्वजहरू: सिक्किममा ग्रामिण धर्म "(ब्रिल 2008) -को रूपमा प्रकाशित भएको थियो।
परिचय:
सिक्किम यसको धेरै गुम्बाहरूका लागि परिचित छ तथापि बौद्ध ज्ञान र अभ्यासका यी भण्डारहरू पहाडमा घुम्न जान लाग्दा प्रायः बन्द पाइन्छ जसले आगन्तुकहरूलाई दिक्क तुल्याउँदछ। वास्तवमा, सिक्किममा असामान्य बाटोहरूमा अवस्थित धेरैजसो गुम्बाहरू बन्द रहन्छन् र गाउँका लामाहरू बौद्ध क्यालेन्डरका विशेष दिनहरूमा अनुष्ठान गर्न भेला हुँदा मात्र खुला हुन्छन्। सिक्किमका भुटिया र लेप्चा लामाहरूलाई मठमा ब्रह्मचारी जीवन बिताउन आवश्यक पर्दैन, तर बरु, तिनीहरू प्रायः आफ्नो गाउँको घरमा भेटिन्छन्, आफ्नो खेत खेती गर्न र आफ्नो परिवारको हेरचाहमा व्यस्त हुन्छन्। लामाहरू राम्ररी एकीकृत र समुदायका उच्च सम्मानित सदस्य हुन् जसले गाउँका सबै गतिविधिहरूमा भाग लिन्छन्। यो साझा साम्प्रदायिकता आगन्तुकहरूका लागि अचम्मको कुरा हुन सक्छ जसले बौद्ध लामाहरूले तिब्बतमा आफ्ना ऐतिहासिक समकक्षहरू जस्तै एकान्त ब्रह्मचारी जीवन बिताउने आशा गर्छन्, जो ग्रामीण जीवनको सांसारिक अस्तित्वबाट टाढा रहेको हुन्छ।
लगभग तीन दशक अघि, मैले तिङ्चिम (उत्तर सिक्किम) को सिक्किमी भुटिया गाउँमा एथनोग्राफिक फिल्डवर्कमा अन्य चीजहरूसहित बौद्ध लामा र झाँक्रीबीचको कार्य सम्बन्धको अनुसन्धान गर्दै दुई वर्ष बिताएँ त्यसताक सिक्किमी लामाहरूको सामाजिक एकीकरणको बारेमा मलाई उत्तिकै आश्चर्य लाग्यो।
बौद्ध लामा र झाँक्रीहरू ग्रामीण सिक्किममा मिलनसार रूपमा सह-अस्तित्वमा रहेको देखिन्थ्यो, प्रत्येकले गाउँलेहरूको साझा हितको लागि आ-आफ्नो देवताको आह्वान गर्दै थिए।
मलाई अझ अचम्मको कुरा ताल्चा लगाइएका गुम्बाहरू होइन तर एउटा सम्पन्न घरेलु संस्कार संस्कृतिको साक्षी बन्नु थियो जहाँ लामाहरू र कहिले काँही धामी-झाँक्रीहरूले निजी मठहरूमा अनुष्ठानहरू गरे जहाँ उनीहरूले बौद्ध देवताहरूलाई सम्मान गरे, द्वेषपूर्ण शक्तिहरूबाट जोगिए, संरक्षकहरू र पुर्खा देवताहरूको सेवकहरूलाई आह्वान गरे, विवाह र अन्त्येष्टिहरूको अध्यक्षता गरे अनि सिक्किमको सर्वोच्च पर्वतीय देवता खाङ्चेन्जोङ्गाको नेतृत्वमा रहेको साझा पवित्र भूमिलाई पर्वका रूपमा सम्मान जनाइयो।
बौद्ध लामा र झाँक्रीहरू ग्रामीण सिक्किममा मिलनसार रूपमा सह-अस्तित्वमा रहेको देखिन्थ्यो, प्रत्येकले गाउँलेहरूको साझा हितको लागि आ-आफ्नो देवताको आह्वान गर्दै थिए। सन् १९३० को दशकको उत्तरार्धमा छिमेकी लेप्चा गाउँमा अनुसन्धान गर्ने जेफ्री गोरेरलाई जस्तै हुनपर्छ, दुई विरोधाभासी देखिने धार्मिक अभ्यासहरूको शान्तिपूर्ण सह-अस्तित्व सुरुमा मलाई असाध्यै अनौठो लाग्यो। गोरेरले यो देखेर चकित बने कि लिङ्थेमका लेप्चाहरू "एकैसाथ अभ्यास गर्छन्, र सैद्धान्तिक असुविधाको भावना बिना, दुई .... परस्पर विरोधाभासी धर्महरू।"
यो बहुआयामिक घरेलु संस्कार संस्कृतिले सिक्किमभरि भुटिया र लेप्चा समुदायहरूको साझा विशेषतालाई प्रकट गर्यो र मैले चाँडै महसुस गरेँ कि १९७५ मा सिक्किमको बौद्ध राज्यको उन्मूलन पछि, गुम्बाको सट्टा घरपरिवार नै सामाजिक अन्तरक्रिया र बौद्ध समुदायको सम्बन्ध र यसको पहिचानको संरक्षणका लागि मुख्य मार्गका रूपमा देखा पर्यो।
अनुष्ठान विशेषज्ञहरू:
तिङचिम गाउँलेहरूका पुर्खाहरू १६०० को प्रारम्भमा उत्तर-पूर्वी सिक्किममा बसोबास गरे। धेरैजसो १७ औँ शताब्दीमा सिक्किम राज्यको स्थापना र भुटानको एकीकरण हुनु अघि वा त्यसकै अघिपछि, हा र चुम्बीको छिमेकी उपत्यकाबाट आएका थिए। यी तीन छिमेकी उपत्यकाका बासिन्दाहरू, अहिले तीन भिन्न देशहरू - चुम्बीबाट चिन, हाबाट भुटान र सिक्किमबाट भारतका - सबै समान दक्षिणी तिब्बती बोली बोल्ने, व्यापारिक मार्गहरूद्वारा जोडिएका र हालैका राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय सीमा र राष्ट्रको निर्माणद्वारा विभाजित नभएसम्म, हामीले वर्तमानमा चिनेका राष्ट्रिय देशहरूको निर्माण नभएसम्म पहाडी देवता मासाङक्युङडु (भूटानमा एप चुन्डु भनेर चिनिन्छ)-को पुजा र अन्य वंश रक्षकहरू सम्बन्धमा एकवद्ध रहिआएको संकेतहरू छन्।
तीन शताब्दीअघि यहाँ बसोबास गर्दा तिङ्छिम गाउँलेहरूका पुर्खाहरूले लेप्चाहरूका बीचमा उनीहरूले पहिलो आर्थिक र अन्ततः रीतिरिवाज र नाता सम्बन्ध पनि स्थापना गरे। धेरै पछि २० औं शताब्दीमा, माङ्गशिलाका छिमेकी लिम्बुहरू पनि यस क्षेत्रमा बसोबास गरे र तिङ्छिम गाउँलेहरूले चाँडै उनीहरूसँग समान सम्बन्ध विकास गरे। तीन अलग-अलग जातीय समुदायहरूको शान्तिपूर्ण छिमेकी सह-अस्तित्वले अन्ततः उनीहरूको सम्बन्धित अनुष्ठान विशेषज्ञहरू बीच धेरै अनुष्ठान प्रभाव र आदानप्रदानलाई बाटो दियो।
१९९० को मध्यमा मेरो प्रारम्भिक क्षेत्र अनुसन्धानको समयमा, तिङ्चिममा तीन प्रकारका अनुष्ठान विशेषज्ञहरूद्वारा अनुष्ठानहरू गरिएको थियो: (१) गैर-ब्रह्मचारी गाँउका लामाहरू, काग्युड र न्इङ्मा; (२) पावो र नेजुम, भुटियाका पुरुष र महिला झाँक्री; र (3) बोङ्थिङ, एक विशेषज्ञ जसले इलाकाका अलौकिक शक्तिहरूका निम्ति अर्पण अनुष्ठान गर्दछ। पावोह र नेजुम (पिता देवता, माता देवता) फो ल्हामोल्हा, भुटियाका पुर्खाहरू र वंश रक्षकहरूसँग अधिकार र अनुष्ठान मार्फत सुमधुर सम्बन्ध कायम राख्न माहिर हुन्छन् जबकि बोङथिङ, जो कहिल्यै अधिकारमा हुँदैन, अस्पष्ट अलौकिक शक्तिहरूसँग राम्रो सम्बन्ध राख्छ जो स्थानीय क्षेत्रमा बसोबास गर्छन्।
तीन शताब्दीअघि यहाँ बसोबास गर्दा तिङ्छिम गाउँलेहरूका पुर्खाहरूले लेप्चाहरूका बीचमा उनीहरूले पहिलो आर्थिक र अन्ततः रीतिरिवाज र नाता सम्बन्ध पनि स्थापना गरे। धेरै पछि २० औं शताब्दीमा, माङ्गशिलाका छिमेकी लिम्बुहरू पनि यस क्षेत्रमा बसोबास गरे र तिङ्छिम गाउँलेहरूले चाँडै उनीहरूसँग समान सम्बन्ध विकास गरे।
पहिले भुटियाहरूको बोङथिङ्लाई तिङ्चिममा बोन बान वा 'बोनको मौखिक ग्रन्थहरू (थुतुरी ग्रन्थ) पढ्न सक्ने व्यक्ति' भनेर उल्लेख गरिन्थ्यो - यहाँ बोन शब्दले तिब्बतको बौद्ध धर्मभन्दा पूर्वको केही पक्षलाई जनाउँछ। कालान्तरमा, बोङथिङले उनको अनुष्ठानमा लेप्चा नाम र परम्पराका अलौकिक शक्तिहरूलाई समावेश गर्न थाले र उनको अनुष्ठानमा लेप्चा शैलीमा बढ्दै गएकोले, बोन बानलाई 'बोङथिङ्' वा 'बोन ब्यान बोङ्थिङ' भनेर सम्बोधन गर्न थालियो। ' भुटियाहरूद्वारा, बोङ्थिङ शब्दले लेप्चाका पुरुष अनुष्ठान विशेषज्ञलाई जनाउँछ। यद्यपि, भुटिया बोङ्थिङको अनुष्ठान अभ्यासलाई लेप्चा बोङ्थिङसँग भ्रमित वा बराबरीमा राख्नु हुँदैन किनभने तिनमा महत्त्वपूर्ण भिन्नताहरू रहेका छन्।
अनुष्ठान विशेषज्ञहरू बीच अनुष्ठान सहयोग र कर्तव्यहरू नाघ्ने काम असामान्य छैन र एक हदसम्म अनुष्ठानको निम्ति तरलता सिक्किममा जताततै सामान्य छ। उदाहरणका लागि, तिङ्चिममा भुटियाले लिम्बु येबाको भूमिका निर्वाह गर्थे, अन्य क्षेत्रमा मैले लिम्बुले लेप्चा बोङ्थिङ, लेप्चाले भुटिया नेजुम, भुटियाले नेपाली झाँक्रीको भूमिका निर्वाह गरेको देखेको छु। लेप्चा लामाले पनि बोङ्थिङको लागि आफ्नो लुगा त्यागे। यो सबै उनीहरूका साथीहरू, छिमेकीहरू र शिक्षकहरूको पहिचानमा निर्भर गर्दछ र सिक्किमका आदिवासी समुदायहरूमा पाइने धार्मिक तरलताको स्पष्ट प्रतिबिम्ब हो।
लामा अनि सामान (धामी-झाँक्री)-हरूमाझको सम्बन्ध:
सिक्किममा, पवन र नेजुम्पले गाँउका लामाहरूसँग छेउछाउमा आफ्ना अनुष्ठानहरू गर्छन्, सामान्यतया स्वतन्त्र रूपमा तर केही धेरै दुर्लभ अवसरहरूमा संयुक्त रूपमा।
यद्यपि लामा र झाँक्रीहरू, पच्चीस वर्ष पहिले पनि, विरलै सँगै पुजा-पाठ गरे, तर मैले उनीहरूमाझ एकअर्काको अनुष्ठान अभ्यासहरूका लागि असामान्य सहिष्णुता देखेँ। अन्य हिमाली बौद्ध समुदायहरू जस्तै शेर्पाहरू र लद्दाखहरू बीचमा आयोजित झाँक्री (सामानिक) अनुष्ठानहरू, सामान्यतया, या त बौद्ध धर्मका रूपहरूको प्रभावमा हराए जसले त्यस्ता सांसारिक अभ्यासहरूलाई समर्थन गर्दैनन् वा बौद्ध मठहरूको पदानुक्रममा समाहित भएका थिए। यसको विपरित, सिक्किमी भूटियाका पुरुष र महिला शमनहरू, पावो र नेजुमहरू बौद्ध प्रतिष्ठानबाट स्वतन्त्र रहे र धेरै हदसम्म लामाहरूबाट न दबिएका वा धेरै प्रभावित भए। सिक्किममा, पवन र नेजुम्पले गाँउका लामाहरूसँग छेउछाउमा आफ्ना अनुष्ठानहरू गर्छन्, सामान्यतया स्वतन्त्र रूपमा तर केही धेरै दुर्लभ अवसरहरूमा संयुक्त रूपमा। अन्य हिमालयी वा तिब्बती बौद्ध समुदायहरूमा आत्मा-माध्यम वा दैवज्ञहरू पनि भनिने सामन (झाँक्री)-हरूलाई लामाहरूको प्रतिद्वन्द्वीको रूपमा चित्रण गरिएको छ, जसलाई पाल्तु बनिएको वा घरपालुवा हुनु आवश्यक छ, ब्रह्मचारी लामाहरूद्वारा उनीहरूका विरुद्ध अभियान चलाइएको छ वा कम्तिमा परीक्षा लिइएको र अथवा आशिर्वाद दिइएको छ। सिक्किमी पावो र नेजुमको स्वतन्त्रता र गाउँका लामाहरूले देखाएको सहिष्णुता असामान्य लाग्न सक्छ।
१७ औं शताब्दीमा सिक्किममा दृढतापूर्वक स्थापित भएको बौद्ध धर्मले सुरुमा पुर्खाका देवताहरू र स्थानीय देवताहरूको पंथलाई अवशोषित गर्यो जुन अन्ततः गाँउ स्तरमा लामा र झाँक्री (सामन) दुवैद्वारा आयोजित अनुष्ठानहरूको प्रदर्शनको लागि केन्द्रीय कुरा बन्यो। मेरो तर्क यो छ कि वास्तविकताको यो साझा वैचारिक दृष्टिकोण, भूमिको पवित्र स्थलाकृति र इतिहासमा राम्रोसँग जरा गाडिएको छ, तिनीहरूको मिलनसार सहअस्तित्वको आधारमा छ।
धेरै ऐतिहासिक, राजनीतिक र आर्थिक घटनाक्रमहरूले शमानिक विश्व दृष्टिकोणको सहनशीलतामा योगदान पुर्याएको छ, जुन कुराले अब केन्द्रिय महत्त्वले राखेको देखिन्छ र जो बौद्ध मठमा आयोजित हुने घरेलु अनुष्ठानहरूभन्दा विपरित छन्।
ऐतिहासिक पृष्ठभूमि:
सिक्किम सन् १६४० तिर तिब्बती लामाहरूले स्थापित गरेको एक स्वतन्त्र पाहाडी बौद्ध देश थियो, जहाँ तिब्बती हाँगाका राजसंस्था नामग्याल वंशले सन् १९७५ मा भारतीय सङ्घमा विलय भएको समयसम्म राज गर्दै आए। तिब्बती निवासीहरू चुम्बी र हाका छिमेकी उपत्यकाहरू र यी दक्षिणी उपत्यकाहरूभन्दा बाहिरका क्षेत्रहरू जस्तै पूर्वी तिब्बतको खाम्स मिन्याकबाट १३ औं शताब्दीदेखि सिक्किममा आए र १७ औं शताब्दीमा तिब्बती लामाहरूसँग मिलेर राज्य स्थापना गरे। तिनीहरूका सन्तानहरूले आफूलाई ल्होपो - 'दक्षिणका मानिसहरू' भनेर भन्दछन् तर सामान्यतया भुटिया, सिक्कीमी वा डेन्जोङ्पासहरू, डेन्जोङ वा डेमोजोङ- 'फलदायी उपत्यका'-का मानिसहरू - भनेर चिनिन्छन्, डेन्जोङ यो शब्दलाई प्रायजसो ‘चामल हुने उपत्यका’ भनेर गलत रुपमा अनुवाद गरिएको पनि पाउँछौँ।
सिक्किमको स्थापना तीन दूरदर्शी निङ्मा लामाहरूद्वारा गरिएको थियो जसलाई तीन संरक्षक सन्तहरू भनेर चिनिन्छ, जसले नयाँ राजनीतिक संरचना र नयाँ धार्मिक व्यवस्था दुवै स्थापना गरेका थिए। जब पहिलो लामा, ल्हात्सुन चेन्पो नाम्खा जिग्मे (१५९७-१६५०) उत्तरबाट यक्सोममा आइपुगे, तब उनले काथोग रिग्जिन चेन्पो र न्गाडाग सेम्पा चेन्पो फुन्सोग रिग्जिन (१५९१[२]–१६५६) दुई ठूला तिब्बती लामाहरूसँग भेट गरे, जसले सिक्किममा प्रवेश क्रमशः पश्चिमी र दक्षिणी ढोकाबाट गरेका थिए। तीनै लामाहरूले मिलेर पश्चिम सिक्किमको यक्सोमममा राज्य स्थापना गरे र खाम्स मिन्याकबाट आएका १३औँ शताब्दीका तिब्बती आप्रवासीहरूका वंशज फुन्सोग नामग्याललाई छोग्याल वा धर्मअनुसार शासन गर्ने राजाको रूपमा सिंहासनमा बसाले, यसरी उहाँलाई लौकिक र आध्यात्मिक दुवै शक्तिहरू सुम्पनुभयो। । सिक्किमले चाँडै ल्हासामा पाँचौं दलाई लामाको सरकारसँग घनिष्ठ सम्बन्ध विकास गऱ्यो।
ल्हात्सुन चेन्पोले आदिवासी लेप्चाहरूलाई बौद्ध धर्ममा रूपान्तरण गर्न अघि बढे र त्यसको निम्ति तिनीहरूको पवित्र परिदृश्यलाई रूपान्तरण गर्दै र सिक्किमको पवित्र भूगोलको बौद्ध प्रस्तुतिका निम्ति यसमा पहिलेदेखि नै रहेका पवित्र विशेषताहरूलाई पनि समावेश गरे। उनले नेसोलको रचना गरे - 'शक्तिशाली पवित्र स्थानहरूमा अर्पण' - अनुष्ठान पाठ, जुन सिक्किममा बेउलको रूपमा मनाइन्छ - 'पवित्र लुकेको भूमि' - यो सिक्किमका पहाडी देवता कन्चनजङ्गा र यस भूमिका सबै देवताहरूलाई अर्पण गर्ने अनुष्ठान हो । नेसोल अझै पनि सिक्किममा सबैभन्दा महत्त्वपूर्ण र प्रायः गरिने अनुष्ठानहरू मध्ये एक हो जो जति मठहरूमा गरिन्छ उति नै गाउँलेहरूको निजी घरहरूमा पनि सम्पन्न गरिन्छ। आफ्नो स्थापनाकालदेखि नै सिक्किम एक बौद्ध राज्य बनेको थियो जहाँ मानिसहरूको सामानिक (झाँकी-बिजुवा) विश्वदृष्टिलाई मिसनरी लामाहरूले चुनौती दिएनन्, जहाँ भूमि पवित्र थियो, जहाँ पुर्खा देवताहरू र देशका रक्षकहरू यसको भूखण्ड र पाहाडका चुचुराहरूमा बसोबास गर्थे र जहाँ कुनै प्रकारको सम्बन्धको असन्तुलनहरूपछी रोग अनि दुर्भाग्यका कारणहरू पाइन्थे। सिक्किमी भुटियाहरूका तिब्बती पुर्खाहरूले आफ्नै सामानिक प्रथाहरू मात्र ल्याएनन् तर साथसाथै बसेका पनि थिए र लेप्चाहरूसँग अन्तरविवाह पनि गरे जसले उनीहरूको क्रमशः बुद्ध धर्ममा परिवर्तन भए तापनि आफ्नो सामानिक विश्वासलाई कहिल्यै त्यागेनन्।
छोग्यालको अस्थायी र आध्यात्मिक अख्तियारलाई नियन्त्रणमा राख्न सक्ने खतराको कारण सिक्किम कहिल्यै बलियो केन्द्रीकृत राज्य बन्न सकेन।
तथापि, सिक्किममा सामानिक विश्व दृष्टिकोणको निरन्तरता निङ्मा बौद्ध धर्मको सहिष्णुता र उनीहरूमा अन्तर्निहित सामानिक प्रकृति वा लेप्चाहरूसँग तिब्बती पुर्खाहरूको घनिष्ठ सम्बन्धको कारणले मात्र होइन। छोग्यालको अस्थायी र आध्यात्मिक अख्तियारलाई नियन्त्रणमा राख्न सक्ने खतराको कारण सिक्किम कहिल्यै बलियो केन्द्रीकृत राज्य बन्न सकेन। यसको धेरैजसो इतिहासमा (यसका बाह्र राजाहरूमध्ये तीन जना बाहेक) राजतन्त्र कमजोर थियो, प्रायः सिक्किमको सिमानाको रक्षा गर्न वा आफ्नो भूमिका कुलीनहरूलाई नियन्त्रणमा राख्न असमर्थ थियो।सिक्किमी लामाहरू विवाहित किसानहरू थिए र सबैभन्दा सम्मानित र अझै पनि सम्झिने धार्मिक विशेषज्ञहरू शक्तिशाली ब्रह्मचारी मठहरूका प्रमुख मानिने अवतारी लामाहरू थिएनन् तर गोम्चेनहरू, पहाडका गुफाहरूमा बस्ने तान्त्रिक अभ्यासकर्ताहरू थिए र जो आफ्नो जादुई शक्तिहरू, गैर-अनुरूपता र सांसारिक अधिकारको कुनै पनि रूपका लागी अनादर गर्नेहरूका रुपमा परिचित थिए। र 1975 मा बौद्ध राजतन्त्रको अन्त्य सम्म, सबैभन्दा महत्त्वपूर्ण राज्य अनुष्ठान पाङ ल्हाबसोल - 'उच्च उचाइका देवताहरूलाई अर्पण' - कन्चनजङ्गाको राष्ट्रिय उत्सव थियो, जुन लामाहरूले मात्र नभई, लेप्चा सामानहरूले पनि सावधानीपूर्वक मनाएको थियो। पाङ ल्हाबसोल, केहि हदसम्म, एक राष्ट्रिय सामानिकअनुष्ठानको रुपमा हेर्न सकिन्छ यस अर्थमा कि यो पवित्र भूमि, यसको इतिहास र देवताहरूसँग जनताको सम्बन्धलाई नविकरण अनि पालन गर्दछ।
माथि उल्लेख गरिएझैं, १६४० मा बौद्ध राजतन्त्रको स्थापना पछि बुद्ध धर्म सिक्किममा दृढतापूर्वक जरा गाड्यो र सिक्किमका संरक्षक सन्तहरू र त्यसपछिका लामाहरू र छोग्यालहरू - विशेष गरी तेस्रो राजा छाक्दोर नामग्यालको प्रयासमा - आदिवासी लेप्चाहरूलाई धार्मिक रूपान्तरण गर्न र पहिलो मठहरू निर्माण गर्ने कोसिस अघि बढ्यो। केन्द्रीय तिब्बतका ठूला ब्रह्मचारी मठहरू जस्ता शक्तिशाली बौद्ध संस्थाहरू, जसले बौद्ध धर्मको द्रुत प्रसार र सामनवादको दमनमा योगदान पुर्याउने थियो, सिक्किममा धेरै जनसांख्यिकीय, राजनीतिक र आर्थिक कारणहरूले गर्दा कहिल्यै विकसित भएन।
तिङ्छिम गाउँले स्तरमा बौद्ध धर्मको विकास:
उत्तरी जिल्लामा बनाइएको पहिलो फोदोङ मठ, सिक्किम बौद्ध राज्यको रूपमा स्थापना भएको लगभग एक शताब्दीपछि १७४०- को अन्त्यमा स्थापित भएको थियो। १९३० सम्म, तिङचिमको कुनै पनि पुरुष फोदोङमा लामा थिएन, र गाउँ देखि लगभग पन्ध्र किलोमिटर दक्षिणमा स्थित गुम्बा, तिङचिम गाउँलेहरूद्वारा वर्षको एक पटक मात्र सिक्किमे कृषकहरूको नयाँ वर्षमा आयोजित हुने वार्षिक अनुष्ठान मुखौटा नृत्य लोसुङको अवसर मा भ्रमण गर्थे। ती दिनहरूमा, बुद्ध धर्म मुख्य रूपमा मठहरू, तिनीहरूको वरपरका गाउँहरू, राजधानी र दरबारहरूमा सीमित थियो। गाउँलेहरूले आफूलाई बौद्ध मान्थे, तर १९ औं शताब्दीको अन्त्यमा पनि तिङ्चिममा लामाहरू थिएनन्। व्यक्ति, घरपरिवार, वंश र गाउँको हितका लागि गरिने सबै अनुष्ठानहरूका लागि मानिसहरू विभिन्न प्रकारका 'सामन'-(धामी-झाँक्री)हरूमा निर्भर थिए जो असंख्य र शक्तिशाली थिए। सिक्किमको तिङचिमजस्ता दुर्गम क्षेत्रहरूमा संस्थागत बौद्ध धर्मको ढिलो फैलावट, सामनवादको संरक्षणको परिणामका साथसाथै अन्य ऐतिहासिक कारणहरू थिए।
माथि उल्लेख गरिएझैं, १६४० मा बौद्ध राजतन्त्रको स्थापना पछि बुद्ध धर्म सिक्किममा दृढतापूर्वक जरा गाड्यो र सिक्किमका संरक्षक सन्तहरू र त्यसपछिका लामाहरू र छोग्यालहरू - विशेष गरी तेस्रो राजा छाक्दोर नामग्यालको प्रयासमा - आदिवासी लेप्चाहरूलाई धार्मिक रूपान्तरण गर्न र पहिलो मठहरू निर्माण गर्ने कोसिस अघि बढ्यो। केन्द्रीय तिब्बतका ठूला ब्रह्मचारी मठहरू जस्ता शक्तिशाली बौद्ध संस्थाहरू, जसले बौद्ध धर्मको द्रुत प्रसार र सामनवादको दमनमा योगदान पुर्याउने थियो, सिक्किममा धेरै जनसांख्यिकीय, राजनीतिक र आर्थिक कारणहरूले गर्दा कहिल्यै विकसित भएन। 1891 को जनगणना अनुसार, सिक्किमको भुटिया र लेप्चा जनसंख्या १०,००० भन्दा बढी थियो र लामाहरूको संख्या एक हजार भन्दा कम थियो। फोदोङ गुम्बाले १८९१ मा वरपरका गाउँहरूबाट एक सय लामाहरू दर्ता गरे जो विशेष अवसरहरूमा मात्र भेला हुन्छन्। त्यहाँ कुनै सहरहरू थिएनन् र यो सानो सिक्किमी जनसंख्या जङ्गल र वन्य क्षेत्रहरूमा फैलिएको थियो। सिक्किम भित्र उच्च बौद्ध अध्ययनको लागि कुनै केन्द्रहरू थिएनन् र तिब्बती व्याकरण र बौद्ध दर्शनको अध्ययनका लागि मध्य तिब्बतको , दोर्जे ड्राक र त्सुरफुको तिब्बती निङ्मा र काग्युड मुख्य मठहरूमा यात्रा गर्न थोरैले मात्र खर्च गर्न सक्थे। धेरैजसो सिक्किमेहरूले ठाउँ सर्दै गर्ने खेतीको अभ्यास गर्थे र विरलै ती व्यक्तिहरू थिए जससँग अतिरिक्त खाना वा खाली समय थियो जसले उनीहरूलाई अध्ययन वा तीर्थयात्राको उद्देश्यले यात्रा गर्न अनुमति दियो। नेपाली कृषकहरू बसोबास गर्नुअघि भुटियाहरूमा कृषि श्रमको अघिदेखि चलिआएको अभाव अनि एउटा भाइको श्रम जोगाउन र मठमा पूर्णकालिक ब्रह्मचारी लामाको रूपमा उसलाई सघाउ पुऱ्याउनुले उनीहरूको जीवन अझ गाह्रो बनाएको हुनुपर्छ।
सिक्किमी लामाहरूले आफ्नो खेत र परिवारको हेरचाह गर्नुपर्यो भन्ने तथ्यले पनि सिक्किमको राजनीतिमा मध्य तिब्बतको गुम्बाहरूको तुलनामा बलियो स्थिति कायम राख्न असफल भएकोमा योगदान पुर्यायो। र सायद यही कारणले गर्दा, टुल्कु प्रणाली, वा आध्यात्मिक पुनर्जन्म, हालसम्म पनि सिक्किममा जरा गाड्न सकेको नै थिएन।
धेरै जानकार लामाहरू, मठका मठाधीशहरू र गोमचेनसादका सन्तानहरूले यो अनुभूत गरे कि ज्ञान, आध्यात्मिक शक्ति र सम्पत्तिलाई गुम्बाले रोजेको टुल्कु (अवतारी लामा)-का सट्टा उनीहरूलाई हस्तान्तरण गरिएको छ। यसको सट्टा, सिक्किमका आदिवासी मालिकहरू मठाधीश वा दोर्जे लोपेनहरू थिए जो अध्ययन र वरिष्ठताको माध्यमबाट आफ्नो स्थानीय मठको पदानुक्रममा चढेका थिए साथै चमत्कारिक शक्ति भएका गोमचेनहरू थिए जसले आफ्नो जीवन जंगलहरूमा बिताएका थिए जहाँबाट उनीहरूले चमत्कारहरू प्रदर्शन गर्छन् र उच्च स्तरको आत्म-ज्ञान प्राप्त गर्न पुग्छन्। सिक्किम तिब्बती बौद्ध संसारमा गुरु रिन्पोछे द्वारा आशीर्वादित पवित्र लुकेको भूमिको रूपमा प्रख्यात थियो जहाँ ध्यानद्वारा परिणामहरू सजिलै प्राप्त गर्न सकिन्छ।
एक महत्त्वपूर्ण विकास, जसले सम्पूर्ण सिक्किममा बौद्ध धर्मको विकासको लागि महत्त्वपूर्ण परिणामहरू दियो त्यो, तिब्बतबाट तिब्बती अवतारीहरू र उच्च ज्ञानी लामाहरूको आगमन थियो जो १९५०-को दशकको अन्त्यदेखि सिक्किममा शरणार्थीको रूपमा बसोबास गर्न थाले। सिक्किमको बौद्ध विकासमा योगदान पुर्याउने सबैभन्दा प्रमुख रिनपोचेहरू (अवतारी लामा) दुड्जोम रिन्पोछे, दोद्रुपचेन रिन्पोछे र १६ औं कर्मापा हुन् जसले रुम्तेकको धर्म चक्र केन्द्रमा कर्मा काग्युड स्कूलको अन्तर्राष्ट्रिय मुख्यालय स्थापना गरेका थिए। १६ औं कर्मापाले सिक्किमका अल्पसंख्यक काग्युड गाउँहरू जस्तै तिङ्चिममा गहिरो प्रभाव पारेको थियो जसरी दुड्जोम रिन्पोछेले सिक्किमी निङ्मा गाउँहरूमा उही अवधिमा गहिरो प्रभाव पारेका थिए।
गाउँलेहरूको दृष्टिकोणबाट, १९६० सम्म, उच्च बौद्ध धर्म र यसका रिम्पोचेहरू गाउँदेखि बाहिर र पहुँचभन्दा टाडा थिए। बौद्ध धर्म एकसाथ अविश्वसनीय रूपमा बहुमूल्य र केही हदसम्म अमूर्त थियो - यसको गाउँको दैनिक जीवनसँग कमै सम्बन्ध थियो। सन्ति १९६० पछि ठुला-ठुला तिब्बती लामाहरूको आगमन पछि यो परिवर्तन भयो र जब उही समयमा, टिंगचिम गाउँलेहरूले आफ्नो नगद बाली अलैँचीका बारीहरू विस्तार गरे र लिम्बु कामदारहरू काममा लिए। अतिरिक्सत समय र पैसालाई सिर्जना गरियो, जुन बौद्ध धर्मको अभ्यास, अध्ययन र बालबालिकाको धर्मनिरपेक्ष शिक्षामा लगानी गर्न सकिन्थ्यो । बौद्धहरूको घरेलु तथा गुम्बाका अनुष्ठानहरू बिस्तारै धेरै अनि भव्यताका साथ मनाइँन थालियो ।
१९७५ मा बौद्ध राजतन्त्रको अन्त्य र सिक्किमको भारत संघमा एकीकरण पछि थप परिवर्तनहरू र उथलपुथलहरू भए। राज्य-प्रायोजित सामुदायिक बौद्ध अनुष्ठानको अन्त्यसँगै, बौद्ध धर्म र गुम्बाहरू अब फोदोङ मठ र दरबारको प्रशासन मार्फत बाहिरी संसारसित गाउँको सम्बन्धको आधार रहेनन्। यी परिवर्तनहरूले १९७५ पछिका समय सिक्किममा वार्षिक बौद्ध सामुदायिक रीतिरिवाजहरूमा उपस्थिति र योगदानमा उल्लेखनीय कमी ल्याउने र सामुदायिक जीवनको बिन्दुपथको रूपमा घरेलु अनुष्ठानलाई सुदृढ तुल्यायो।
सिक्किमको बौद्ध घरेलु संस्कार संस्कृतिको महत्व र विस्तार:
आज, घरेलु रीतिथितिहरूले विभिन्न 'अनुष्ठानहरू' मा आफ्नो उत्कृष्ट अभिव्यक्ति पाउँदछन्। तिङचिममा, अनुष्ठान वा सामाजिक जमघटहरू जसले एक व्यक्तिको एक सामाजिक अवस्थाबाट अर्को सामाजिक अवस्थामा संक्रमणलाई चिन्हित गर्दछ, जन्म पछि, विवाहको विभिन्न चरणहरूमा, जब परिवार नयाँ घरमा सर्छ र एक स्वतन्त्र कर्पोरेट परिवार स्थापना गर्दछ, जब एक केटा गुम्बामा प्रवेश हुन्छ, जब कोही गम्भीर वा पुरानो रोगको अवस्थामा प्रवेश गर्दछ, र जब कसैको मृत्यु हुन्छ। रकम र दाताको नाम दर्ता खातामा लेखिएको हुन्छ। जब पनि घरधनीले यो सघाउनी पैसाको साटो पछी आफैले अन्यत्र केही दिनु पर्ने हुन्छ भने, उसले पहिले आफ्नो दर्ता खाता हेर्दछ अनि त्यस्तै अवसरहरूमा पहिले त्यो घरपरिवारबाट प्राप्त गरेको राशी भन्दा थोरै धेर सघाउनी पैसा दिन्छ।
गाउँको प्रार्थना हलमा हुने सामुदायिक बौद्ध अनुष्ठानमा उपस्थित हुँदा, नजिकैको फोदोङ गुम्बा वा गान्तोकको सुग्लाखाङ दरबारको धार्मिक भवन समेत बौद्ध राजतन्त्रको अन्त्य भएदेखि बिस्तारै घट्दै गएको वा पूरै लोप हुँदै गएको छ, विशेषगरी विवाह संस्कार र मृत्यु संस्कारका लागि हुने व्यवस्थित घरायसी अनुष्ठानमा नै उपस्थित बढेर जाँदैछ । त्यहाँ दायित्व र एकताको एक बलियो भावना छ जुन यी जमघटहरूमा देखिने भेला र सहयोगका निम्ति दिइने आर्थिक योगदानहरूले देखाउँदछ। दर्ता खाताको प्रयोग मार्फत, यी अनुष्ठानहरूले गाउँका सबै कर्पोरेट परिवारहरूलाई आपसी सहयोगको बलियो सञ्जालमा बाँध्ने काम गर्दछ। यो प्रणालीमा सहभागिता अनिवार्य छ र यसले ग्सरामिण मुदायमा कर्पोरेट परिवारको सदस्यतालाई परिभाषित गर्दछ।
यद्यपि यी बारम्बार आइपर्ने दायित्वहरू प्रायः परिवारको आर्थिक स्रोतहरूमा बोझको रूपमा हेरिन्छ, तर त्लेयसले उत्पन्न गर्ने घरपरिवारहरू बीचको ऐक्यबद्धता र समानता उच्च मूल्यको छ र सबैलाई थाहा हुन्छ कि एक न एक दिन, उनीहरूको परिवारले पनि त्यसको लाभार्थी बन्ने पालो आउनेछ । सामाजिक दायित्वको यो भावना यति बलियो छ कि यो परम्परा राज्यको राजधानी गान्तोकमा राम्रोसँग पालन हुन्छ, जहाँ शहरी जीवनको ठूला सामाजिक सञ्जालहरूमा यसको अनुकूल ढालिएपछि यसले नयाँ आयाम प्राप्त गरेको छ।
बिमारी निको गर्ने अनुष्ठान, पवित्र भूखण्ड र राष्ट्रिय एकता।:
यी अनुष्ठानहरूले पितृदेवता र स्थानीय देवताहरूले मानिसहरूको कर्मलाई भूमि, शरीर, घरपरिवार, वंश, गाउँ र राज्यसँग कत्तिको जोड्छन् भन्ने कुरालाई राम्रोसँग चित्रण गर्दछ।
सिक्किमी गाउँलेहरूको जीवनदृष्टिले आफैलाई बिमारी निको पार्ने अनुष्ठानको (चिन्ता, झारफुक अन्य थरिको पुजा-पाठ) प्रदर्शनमा उत्कृष्ट रूपमा प्रकट गर्यो जहाँ गाँउका लामा र सामनहरूको कार्य सम्बन्धलाई देख्न सकिन्छ। संकटका यी क्षणहरूले गाउँलेहरूको अनुष्ठान प्राथमिकताहरू मात्र प्रकट गर्दैन, मानिसहरूको जीवन बचाउनको लागि आवश्यकताले अनुष्ठान विशेषज्ञहरूलाई हात मिलाउन र अनुष्ठानहरू गर्ने अनुमति प्रदान गर्दछ जुन सामान्य परिस्थितिमा, कट्टर बौद्ध लामाहरूद्वारा अस्वीकार्य मानिन्छ। यी अनुष्ठानहरूले पितृदेवता र स्थानीय देवताहरूले मानिसहरूको कर्मलाई भूमि, शरीर, घरपरिवार, वंश, गाउँ र राज्यसँग कत्तिको जोड्छन् भन्ने कुरालाई राम्रोसँग चित्रण गर्दछ।
गाउँका लामाहरू, पावो/नेजुम र बोङ्थिङ प्रत्येकको आ-आफ्नो छुट्टै विधि-विधान र वार्षिक क्यालेन्ड्रिकल अनुष्ठानहरू भए तापनि सबैको भेटघाट हुने स्थान भनेको बिमारीलाई निको गर्ने अनुष्ठानहरू नै रह्यो, जुन उक्त भूखण्ड बस्ने अलौकिक शक्तिहरूलाई नियन्त्रणमा लिएर गरिन्छ र जसलाई प्रायः कसैको पीडाको कारण के हो भनेर भनी जोखाना हेरेर मार्फत निदान गरिन्छ। बौद्ध देवताहरू र फो ल्हामोल्हाको विपरीत, यी स्थानीय अलौकिक शक्तिहरूलाई जंगली वा आंशिक रूपमा सधाइएको मानिन्छ र यसै कारणले अस्पष्ट र अमुर्त मानिन्छ। एकातिर, तिनीहरूमा लाभदायक अलौकिक शक्तिहरू हुन सक्छन् जसको लागि तिनीहरू प्रसन्न हुन्छन्, तर अर्कोतर्फ, तिनीहरू सजिलै उत्तेजित हुन सक्छन् र गाउँलेहरूलाई रोग र दुर्भाग्य ल्याउन सक्छन्।
गाउँमा, तिनीहरूलाई सामान्य शब्द नोपा भनेर उल्लेख गरिन्छ, जो अवरोध, क्षति वा समस्या निम्त्याउने झुकाव हुन्छन्। यी शक्तिहरूलाई नियन्त्रण गर्नु सबैको अनुष्ठान अभ्यासको मुख्य उद्देश्य हो र गाउँलेहरूको नजरमा, तिनीहरूको अनुष्ठान शक्तिहरूको नाप्ने छडी हो। यो पूरा गर्न, पावो, नेजुम र बोङ्थिंगले आफ्नो धार्मिक शक्ति र सुरक्षा फो ल्हामोल्हाबाट प्राप्त गर्दछन्, जबकि गाउँका लामाहरूले तिब्बती बौद्ध धर्मका अधिभौतिक देवताहरूबाट आफ्नो अनुष्ठान लिन्छन्। लामा, पावो/नेजुम र बोन्थिङले आ-आफ्ना आस्था र विधिहरूद्वारा आह्वान गर्छन् र उपचार विधिको क्रममा ति शक्तिहरूको क्रोध शान्त गर्ने अपेक्षा राख्छन्।
तिङचिम गाउँलेहरूको लागि, सम्बन्धवादको विचार सबै व्यापक छ। रोग उत्तेजक नोपालाई स्थानीय भूभागका विशेषताहरूमा बसोबास गर्ने मात्रै होइन, त्यसरी नै मानिसहरूको शरीर र पितृवंशहरूमा पनि तिनीहरूको फो ल्हामोल्हाद्वारा भूखण्डसँग सम्बन्धित छन्, पुर्खाका देवताहरूले उच्च पहाडहरूमा र केही अवस्थामा, एकै साथ तिनीहरूको आफ्नै शरीरको विशिष्ट स्थानहरूमा बस्ने गरिएको मानिन्छन्। रोग र अन्य विपत्तिहरू प्रायः यी सम्बन्धहरू, कार्यहरू वा भूलहरूलाई उल्लङ्घन वा बेवास्ता गरेको कारणले गर्दा भएको मानिन्छ जसको निम्ति माफी मागेर र माफमाग्ने अनुष्ठान हरूमा भाकलहरू राखेर सुधार गर्न आवश्यक मानिन्छ।
प्रख्यात स्थानीय देवताको टाउकोमा पहाडी देवता कन्चनजङ्गा सिंहासनमा बस्छन्। पुरानो दिनहरूमा गान्तोकको सुग्लाखाङ दरबारमा मनाइने पाङ ल्हाबसोलको भूमिको राष्ट्रिय अनुष्ठानमा पहाडका देवतालाई राज्यको रक्षक र 'धनको देवता' भनेर सबैजनाले कुनै जातीय अथवा गोष्ठीय भेदभावबिना र जसले आफुलाई पहिलो अनि प्रमुख रुपले सिक्किमे मान्थे सबै मिलेर आह्वान र पूजा गर्ने गरेको बताइन्छ। यसरी सिक्किमे निवासीहरू, तिनीहरूका वंशहरू, गाउँहरू, पवित्र भूखण्ड र बौद्ध धर्म र राजाको संरक्षणमा रहेको राज्य कुशलतापूर्वक एकताबद्ध थिए।
अन्ना बालिक्सी-डेन्जोङ्पा, पीएच.डी. सामाजिक मानवशास्त्र (एस.ओ.ए.एस, लन्डन), अनुसन्धान संयोजक (सिकिम अध्ययन), नामग्याल तिब्बत विज्ञान संस्थान (एनआईटी), गंगटोक, र तिब्बत विज्ञानको बुलेटिनका सम्पादक हुन्। उनको अनुसन्धान सिक्किमको आदिवासी संस्कृति र इतिहासमा केन्द्रित छ, जसमा एथनोग्राफिक फिल्म र ऐतिहासिक तस्बिरहरू समावेश छन्। उनले 'लामास, सामन्स एन्ड एन्सेस्टर्स: भिलेज रिलिजियन इन सिक्किम' (ब्रिल, २००८), द सिक्किम पेपर्स (NIT, 2010) र द रॉयल हिस्ट्री अफ सिक्किम: अ क्रनिकल अफ द हाउस अफ नामग्याल (सेरिन्डिया, २०२१) को सह-सम्पादन गरिन्। एनआइटीमा उनको टोलीले सिक्किमको भुटिया-लेप्चा संस्कार संस्कृतिमाथि १० एथ्नोग्राफिक फिल्महरू निर्माण गरेकोछ।
Designed by NWD.