Menu

टिस्टा हाम्रा लागि महत्त्वपूर्ण छ: जल जोगाउन जनताको पदयात्रा

“आचुले!” (जीवन, यस संसारमा र यसभन्दा पर पुर्खाहरू रहेको लोकसम्मको यसको सम्पूर्ण चक्र) रोङ्कुप समुदायले प्रयोग गर्ने प्रशंसा, उद्गार, कहिलेकाहीँ पूजाको र प्रायः आनन्दको अभिव्यक्ति हो। २६ जुलाई २०२६ मा तारखोला नजिकै पदयात्री समूहलाई भेट्दा मलाई “आचुले!” को गम्भीर स्वरले स्वागत गरियो। यस पटक भने यस शब्दले प्रतिरोध र असहमतिलाई जनाउँथ्यो। जलविद्युत् आयोजनाहरूका प्रतिकूल प्रभावबाट सिक्किमकै सबैभन्दा ठूलो नदी टिस्टालाई जोगाउनुपर्ने अपरिहार्यतातर्फ ध्यान आकृष्ट गर्न, उत्तर सिक्किमदेखि पश्चिम बङ्गालसम्मको ४ दिने पदयात्रामा ‘अफेक्टेड सिटिजन्स अफ टिस्टा’ (एक्ट) का जम्मा १९ जना सहभागी थिए। क्षेत्रीय राजनीतिक दल सिब्ल्याक (सिक्किम भुटिया लेप्चा एपेक्स कम्युनिटिज) का केही सदस्य र मजस्तै व्यक्तिहरू पनि एक्टसँग एकताबद्ध भएर यात्रामा सहभागी भए। गुञ्जिने नाराका साथै समूहले यस्ता ब्यानरहरू बोकेको थियो: “डुबानयुक्त भविष्य”, “हाम्रा नदी, हाम्रो जिम्मेवारी”, “हरेक सुरुङले घाउ छोड्छ”, “जीवनका लागि नदी, स्वतन्त्र बग्ने नदी”, “तपाईँ को हुनुहुन्छ-नदीका संरक्षक?!”, “के यो सुरुङको अन्त्यमा उज्यालो छ?”, “हाम्रो टिस्टालाई स्वतन्त्र बग्न देऊ” आदि।

यात्राको तेस्रो दिन, आधा बाटो पार गरेपछि तारखोला नजिकै विश्राम गर्दै एक्टको पदयात्री समूह
तस्विर: आकृति ठटाल

उनीहरूले एउटा झन्डा पनि बोकेका थिए (चित्र iii), जसमा एउटा चराको चित्र अङ्कित थियो। यस्तो झन्डा उठाइरहेकी एक युवतीलाई मैले यसको अर्थ सोधेँ। उनले छिटो-छिटो एउटा कथा सुनाइन्: एक पटक ठुलो जलप्रलयले मायेल ल्याङ (लेप्चाहरूको लुकेको पैतृक भूमि) को धेरै भाग बगाइदियो र केही मानिसहरू तेन्डोङ पर्वतको चुचुरामा चढ्न बाध्य भए। त्यहाँ उनीहरूले कोहोम-फो (डाँफे/पहाडी तित्रा; चराका रूप लिएका देवता) लाई भेटे, जसले भूमिमा जाँडको छर्कन गर्दा बाढी घट्यो। मैले सोधेकी लिनोरले टिस्टा (रोङ्न्यु) र रङ्गीत (टिस्टाको सबैभन्दा ठूलो सहायक नदी) बिचको दौडको कथातर्फ सङ्केत गरेकी थिइन्। कथा यस्तो छ: रोङ्न्यु र रङ्गीत दुई प्रेमी थिए, जो फरक-फरक पर्वतबाट आएका थिए र कन्चनजङ्घा पर्वतनजिक गोप्य रूपमा भेटे। उनीहरू एक हुन चाहन्थे र दार्जिलिङको वर्तमान पेसोक नजिक भेट्ने निर्णय गरे, जसलाई त्रिवेणी वा सङ्गम भनिन्छ। उनीहरू पर्वतको फेदबाट नदीको रूपमा सुरु भए, जहाँ रोङ्न्युले मैदानसम्म बाटो देखाउन परिलबु (एउटा सर्प) लाई छानिन्, भने रङ्गीतले तुत्फो (एउटा चरा) को मार्गदर्शन खोजे। परिलबुको निर्देशन र मार्गदर्शनमा रोङ्न्यु रङ्गीतभन्दा छिटो भेट हुने ठाउँमा पुगिन्, किनकि रङ्गीतले सधैँ अलमलिने तुत्फोलाई बारम्बार बाटोमै रहन सम्झाइरहनुपरेको थियो। रोङ्न्यु छिटो पुगेर रङ्गीतको प्रतीक्षा गरिरहिन्। अन्ततः रङ्गीत आइपुग्दा रोङ्न्युलाई पर्खिरहेको देखेर उनले “थी-सुथा!” भनी उद्गार गरे, जसको मोटामोटी अर्थ “तिमी कहिले आइपुग्यौ?” हुन्छ। व्यापक रूपमा यही घटनाबाट टिस्टाको नाम रहन गएको विश्वास गरिन्छ। घाइते पुरुष अहङ्कारका कारण रिसले चुर रङ्गीत आफ्नो बाटोबाट फर्किए, जसले ठुलो बाढी ल्यायो।

झन्डामा तिनवटा तेर्सा धर्का छन्; दुई गाढा रातो रङका छन्, जसले जीवन र बाँच्न चाहिने शक्तिलाई प्रतिनिधित्व गर्छन्; बिचको सेतोले शान्ति जनाउँछ; र बिचको चरा कोहोम-फो हो। पृष्ठभूमिमा कन्चनजङ्घा पर्वत छ, र यी तत्त्वहरू समेटिएको गोलाकारको दुवै छेउमा धानका दुई बोट छन्। माथिको पाठ ‘मुतुन्छी’ को मोटामोटी अर्थ “आमाका प्रिय सन्तान” हो, भने तलको पाठमा “आचुले!” लेखिएको छ। कुराकानीकै क्रममा लिनोरले आफू १७ वर्षकी भएको, समूहका सबैभन्दा कान्छा सदस्यहरूमध्ये एक भएको र यात्रामा सहभागी हुन स्कुल छोडेर आएको बताइन्। उनले भनिन्, “मेरा आमाबुवा एक्टसँग सम्बद्ध भएकाले म टिस्टा नदीका कथा सुन्दै र त्यसलाई जोगाउनुको महत्त्व बुझ्दै हुर्किएँ। म आफ्नै भविष्यका लागि यो गरिरहेकी छु; यहाँ हुनु मेरा लागि महत्त्वपूर्ण छ। मेरा केही साथीहरूलाई थाहा छ कि म पदयात्रामा छु, तर उनीहरूले किन भन्ने बुझ्दैनन्।”

लेप्चा समुदायको झन्डा
तस्विर: आकृति ठटाल
पेसोक रोडको ‘लभर्स मिट’ बाट देखिएको त्रिवेणी सङ्गम
तस्विर: आकृति ठटाल (२०२४)
पश्चिम बङ्गालको कालिम्पोङ जिल्लाको किर्नेबाट देखिएको टिस्टा नदी
तस्विर: आकृति ठटाल

यसले यस पदयात्राका कारणहरूतर्फ ध्यान तान्छ। यो उत्तर सिक्किमको घना वनले ढाकिएको पाहाडी क्षेत्र जोङ्गुबाट उठेको समुदाय-नेतृत्वको आन्दोलन हो। ‘अफेक्टेड सिटिजन्स अफ टिस्टा’ (एक्ट) को स्थापना सन् २००७ मा अथुप लेप्चाले गरेका थिए। एकातिर यो पदयात्रा संस्थापक (सन् २०२५ मा दिवंगत) प्रति श्रद्धाञ्जली र सिक्किमका जलविद्युत् आयोजनाहरूलाई खारेज गरी पुनर्मूल्याङ्कन गर्न गरिएको आह्वान थियो भने, अर्कातिर यो मुद्दा केवल लेप्चा वा जोङ्गु मात्र होइन भन्ने कुरामा जोड दिने प्रयास पनि थियो। टिस्टा एउटा सीमापार नदी हो, जो सिक्किम, पश्चिम बङ्गाल र बङ्गलादेश हुँदै बङ्गालको खाडीमा मिसिन्छ। यसको अर्थ, ब्रह्माण्डीय आस्था, लोककथा, भूगोल, पारिस्थितिकी वा अर्थतन्त्र, जुनसुकै माध्यमबाट भए पनि, नदीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित हरेक व्यक्ति नदीको कल्याणका लागि जिम्मेवार छ। यसै कुरा यस पदयात्राको नाम जुन मूल नाराबाट लिइएको हो, त्यही “टिस्टा मेरा लागि महत्त्वपूर्ण छ” मा सटीक रूपमा व्यक्त भएको छ। यसरी मुद्दालाई जोङ्गु र सिक्किमभन्दा बाहिर लैजाने प्रयासस्वरूप, एक्टको स्थापनाको १९ वर्षमा यो पदयात्रा यसका दुई सार्वजनिक कार्यक्रमहरूमध्ये एक हो, र सन् २००७–२००९ को ९१५ दिन लामो ऐतिहासिक भोकहड्तालपछिको पहिलो हो।

“टिस्टा मेरा लागि महत्त्वपूर्ण छ” पदयात्रा

पदयात्रा उत्तर सिक्किमको जोङ्गुबाट निस्कने पहिलो ढोका फिदाङमा सुरु भयो, जहाँ लेप्चा समुदायका जीववादी परम्परा अनुरूप एक बोङ्थिङ (लेप्चा धामी) र बौद्ध लामाहरूको उपस्थितिमा प्रकृतिको प्रार्थना गरियो। फिदाङबाट निस्केर उनीहरूले मङ्गन पार गरी पूर्वी सिक्किम प्रवेश गरे, जहाँ उनीहरूको पहिलो विश्राम-स्थल माखा पर्छ। माखा (टिस्टाको किनारमा रहेको एउटा सानो गाउँ) सम्मको बाटो सजिलो छैन; गान्तोक जिल्लाका डिक्चु र रालेजस्ता गाउँ, जहाँ एनएचपिसी (राष्ट्रिय जलविद्युत् निगम) को चरण-V बाँध रहेको छ, सन् २०२३ को हिमताल विस्फोटजन्य बाढीबाट गम्भीर रूपमा प्रभावित भएका थिए। एचएचपिसी चरण-V ५१० मेगावाटको जलविद्युत् आयोजना हो, जसको बाँध डिक्चुमा र पावरहाउस सिरवानीमा छ।

सन् २०२३ को ग्लोफको दुई महिनापछि माखामा टिस्टा नदी; सडकको ठिक तल किनारा बगेर गएको
तस्विर: आकृति ठटाल

एक्टकी सह-महासचिव मयालमित लेप्चाले डिक्चु बाँधलाई जोड्ने सुरुङहरू सडकहरूको जोखिमपूर्ण रूपमा ठिक मुनि रहेको तथ्यतर्फ मेरो ध्यान तानिन्, जसले धेरै स्थानमा क्षति पुर्‍याएको छ र यस खण्डमा पदयात्रा कठिन बनाएको थियो। उनले स्थानीय बासिन्दाबाट पाएको सहयोगबारे पनि बताइन्। “माखा कुनै पनि हिसाबले पर्यटकीय गन्तव्य होइन। हामी त्यहाँ पुग्दा बासिन्दाहरूले हामीलाई खाना, पानी र बस्ने ठाउँसमेत दिए। हामीले चिनेका एकजनाले आफ्नो आफन्तको निर्माणाधीन घरमा हाम्रो बसोबास मिलाइदिइन्; त्यस घरको एउटा तल्ला तयार थियो, तर बिजुली र फर्निचर थिएन। त्यो भाव हाम्रा लागि निकै अर्थपूर्ण थियो र यति न्यानो स्वागत पाउँदा हामी भावुक भयौँ।” उनले आफ्ना गाउँहरूमा बाँधहरू आएदेखि उनीहरूले निरन्तर भोगिरहेको आघातबारे पनि बताइन्। “हामी के गर्न खोजिरहेका छौँ भन्ने उनीहरूले जान्दछन् र बुझ्छन्, किनकि उनीहरूले पनि यो अनुभव गरेका र महसुस गरेका छन्… उनीहरू चरण-V बाट गम्भीर रूपमा प्रभावित छन्।”

पदयात्राको पहिलो दिन करिब २६ किलोमिटर हिँडियो। भोलिपल्ट बिहान उनीहरू माखाबाट रम्फुतर्फ लागे। पहिरो नभएको दिन सिङ्तामबाट रम्फुसम्मको बाटो १० किलोमिटर हुन्छ, तर सिङ्ताम नजिकैको २० माइलमा गएको पहिरो - जुन मुसलधारे वर्षा र निरन्तर निर्माण कार्यका कारण पहिले नै कमजोर भइसकेको जमिन थप कमजोर हुँदा गएको थियो -  का कारण उनीहरूले दुगा गाउँ हुँदै लामो चक्कर लगाउनुपर्‍यो। त्यो दिन उनीहरूले सिक्किम-पश्चिम बङ्गाल सीमा नजिकै रम्फुमा विश्राम गरे। भोलिपल्ट बिहानै समूह उत्तर बङ्गालतर्फ अघि बढ्यो, जसको लक्ष्य सिक्किम-उत्तर बङ्गाल सीमामा रहेको सानो सहर मल्ली पुग्नु थियो। यहाँ उल्लेखनीय छ कि फिदाङदेखि त्रिवेणीसम्मको मार्ग जानाजानी छानिएको थियो, ताकि समूहले टिस्टालाई आफ्नो छेउमै बगिरहेको देखेर, जलविद्युत् आयोजना र निर्मित सुरुङहरूले पुर्‍याएका सबै क्षति आफ्नै आँखाले हेर्न सकूस्। सीमा पारि, समूहले मल्ली, टिस्टा बजार र गेल खोला नजिकका परिवारहरूबाट धेरै सहयोग पाएको सम्झियो; यी सहर र गाउँहरू सन् २०२३ को ग्लोफले ल्याएको गेग्रानमुनि लगभग पूर्ण रूपमा डुबेका र पुरिएका छन्। मयालमितले भनिन्, “प्रतिरोधको रूपमा, यी ठाउँका बासिन्दाहरूले आफ्ना घरबाट गेग्रान सफा गरेर जीवन पुनः सुरु गर्ने प्रयास गरेका छन्।” पदयात्राको अन्तिम दिन, समूह मेल्लीबाट आफ्नो गन्तव्यतर्फ लाग्यो। मूल योजना त्रिवेणी सङ्गमसम्म पदयात्रा पूरा गर्ने थियो, जहाँ नदीहरू छिचोल्ने गरी उथला हुन्छन् र किनार बन्छ जसले मानिसहरूलाई सङ्गम पुग्न सम्भव तुल्याउँछ; तर सन् २०२३ को ग्लोफले त्यो बाटो मेटाइदियो। समूह त्योभन्दा तलै भेला भई त्यहाँ नदीहरूलाई प्रार्थना अर्पण गर्‍यो। कालिम्पोङ र दार्जिलिङबाट बोङ्थिङ र लामाहरू लगायत धेरै जना सहभागी भएका थिए। यी क्षेत्रका समुदायबाट पाएको समर्थनले मयालमित भावविह्वल भएको सम्झिन्छिन्। एक्टका महासचिव ग्यात्सो लेप्चाले उत्तर बङ्गालका मानिसहरू पनि सहभागी हुनु महत्त्वपूर्ण थियो, ताकि उनीहरूले नदीको हेरचाहको जिम्मेवारी साझा गर्न सकून् भनी चाखलाग्दो रूपमा उल्लेख गरे।

आदिवासीपन, समुदाय र प्रतिरोध

मयालमितले जोङ्गु र छिमेकी गाउँहरूको ठुलो समुदायभित्र “विकास” आयोजनाहरूका सम्बन्धमा विवाद रहेको पनि बताइन्। “यी बाँधहरूको विरोध गरेकै कारण केही मानिसहरूले मलाई मन पराउँदैनन्, विशेष गरी पनान (उत्तर सिक्किमको माथिल्लो जोङ्गुको एउटा गाउँ) मा, जहाँ २८० मेगावाटको जलविद्युत् आयोजना प्रस्तावित छ। जमिन बेचेर पाउने पैसा गाउँलेहरूका काम लाग्न सक्छ भन्ने म बुझ्छु, तर यसले अवश्यम्भावी रूपमा निम्त्याउने क्षतिका लागि त्यो पर्याप्त क्षतिपूर्ति होइन भन्नेमा मलाई दृढ विश्वास छ… यदि मुख्य चासो आम्दानी नै हो भने हामीले यस क्षेत्रमा होमस्टे सञ्चालन गर्ने प्रस्ताव पनि गरेका छौँ। त्यसले पारिस्थितिकीलाई निकै कम क्षति पुर्‍याउँछ र हामीले भूमिमा अतिक्रमण नगरी आफ्नो संस्कृति प्रवर्द्धन गर्न सक्छौँ।”

एक्टका व्यक्तिहरूले गरेका त्यागको शृङ्खलाबाट यो पदयात्रा टिकेको छ - मयालमितको हकमा अधुरो कलेज शिक्षादेखि (सन् २००७ को भोकहड्तालका क्रममा एक्टका सदस्यहरूको) कारावाससम्म, अनि आफ्नै समुदायभित्रको असहमतिसम्म। यो पदयात्रा सबैलाई नदीहरूको अवस्थाप्रति आफूलाई उत्तरदायी बनाउन सम्झाउने स्मरण हो। आदिवासी जनसङ्ख्याले आफू बसोबास गर्ने भूमिको हेरचाह कसरी गर्ने भन्ने कुरा लामो समयदेखि जानेका छन्; उनीहरूका लोककथा र गीतहरू ज्ञानका समृद्ध भण्डार हुन्। मायेल ल्याङबारेका लोकप्रिय कथाहरूको उल्लेख गर्दै मैले ग्यात्सो लेप्चासँग जोङ्गुको कथित पवित्रताबारे सोधेँ। चाखलाग्दो ढङ्गले उनले भने, “लेप्चाहरू सबै प्राकृतिक स्वरूप र हरेक भूदृश्यलाई पवित्र ठान्छन्, त्यसैले हाम्रा लागि मायेल ल्याङ जोङ्गुको कुनै ठाउँ मात्र होइन, सिक्किम नै हो, र त्यसैले हामी सिक्किम र उत्तर बङ्गालका धेरै क्षेत्र समेट्ने यही मार्गमा पदयात्रा गरिरहेका छौँ।” एक्टका हरेक सदस्यझैँ म पनि आशा गर्छु कि यो सामूहिक हेरचाहको भावना लेप्चा समुदायभन्दा बाहिर गएर यस क्षेत्रमा बसोबास गर्ने सबैसम्म फैलियोस्। मयालमितका अनुसार एक्टले यी समस्याहरू “अन्य क्षेत्रका आदिवासी जनसङ्ख्याबाट समर्थन र एकता खोज्दै” राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा लगेको छ।

मल्ली जाने बाटोमा सडकमा देखिएका चिरा
तस्विर: आकृति ठटाल

तेस्रो दिन आधा बाटोबाट मात्र मेरो सहभागिता भए पनि, हामीले आफ्ना शरीरलाई सडकमा उतार्‍यौँ-जुन शरीरबाट नै हामी वरपरको संसारलाई अनुभव गर्छौँ-ती सडकमा, जसले हामी उभिएको विभाजित भूदृश्यका दागहरू बोकेका छन् र जुन हाम्रो भूमिलाई चिरेको कङ्क्रिटको बाक्लो तहले खैरो बनेका छन्। सबैको साझा विनाशकारी भविष्यबारे एउटा पीडादायक सचेतना थियो। तथापि, मैले हामी सबैमा पुनः जाग्दै गरेको आशाको झिल्कोसमेत देखेँ। जोङ्गुमा होमस्टे चलाउने एक्ट सदस्य विनोना लेप्चाले भनिन्, “यस्तो पदयात्रामा सहभागी हुन पाएको मेरो पहिलो पटक हो। यति धेरै मानिस सहभागी भएको देख्दा साँच्चै प्रेरणा मिल्छ। मेरा हजुरबुवा (अथुप लेप्चा) को योगदानलाई मात्र होइन, हामीले वर्षौँदेखि गरिरहेको कामलाई पनि सम्मान गर्ने यस पदयात्रामा सहभागी भएकोमा म खुसी छु।” त्यसैगरी मयालमित भन्छिन्, “हालैका दिनमा ठुलो लापरवाही भएको भए पनि (निर्माणाधीन ५०० मेगावाटको एनएचपिसी टिस्टा चरण-VI जलविद्युत् आयोजनाको सुरुङ भत्किएको घटनातर्फ सङ्केत गर्दै), मानिसहरू जाग्दै छन् भन्ने आशा हामीमा छ। पदयात्रामा अझ धेरै मानिस सहभागी हुन सक्ने भए पनि, मानिसहरूले अन्य तरिकाले समर्थन जनाएको देख्दा मन छुन्थ्यो। हाम्रा केही ज्येष्ठ नागरिकले बाटोमा खाना र पानी किन्न पैसा दिए, केहीले १०० देखि २००० रुपियाँसम्म चन्दा दिए, केहीले हामीलाई आफ्ना पसलभित्र स्वागत गरे, शौचालय, औषधि, खाना र बस्ने ठाउँ उपलब्ध गराए। हामीलाई पानी दिने र हामीसँग कुरा गर्ने जस्ता साना देखिने कार्यले पनि उनीहरूले हामीलाई समर्थन गरेको देखाए, र म त्यसका लागि सदैव आभारी छु। मलाई यस पटक हाम्रा माग सुनिनेछन् भन्ने पनि लाग्छ।”

बाटोमा समर्थकहरूले ल्याएको खाना बाँडेर खाँदै
तस्विर: आकृति ठटाल

जब हामी हाम्रा भूमिमा हस्तक्षेप र अतिक्रमण गर्ने र हाम्रा नदी सुकाउने “विकास” आयोजनाहरूमा ठिक छ भन्छौँ, र जब हामी वरपरका कुराप्रति उदासीन हुन्छौँ, तब हामीले अन्ततः हामी प्रत्येकलाई आइलाग्ने खसिरहेका ढुङ्गाहरू र हामीलाई बगाउने उर्लिएका नदीहरूको भविष्य निर्माण गर्छौँ। यद्यपि, यति धेरै मानिसको नदीप्रतिको हेरचाह र श्रद्धा, र उनीहरू बिचको सौहार्द देख्न पाउनु साँच्चै प्रेरणादायी थियो। जहाँ त्यस बाटोमा हिँड्दा नदी सधैँ आँखा अगाडि थियो, ग्यात्सो लेप्चाले पदयात्री समूहलाई उत्तर सिक्किमदेखि संगमसम्म टिस्टालाई डोर्‍याउने परिलबु (सर्प) सँग तुलना गरे। यो साँच्चै उपयुक्त उपमा हो; आफू हुर्किँदै सुनेका कथाहरू र हामी सबै जसको अंश हौँ त्यस प्रकृतिबाट आफूलाई अलग नगर्ने उनीहरूको अठोटको सम्झना।

पादटिप्पणी;

  1. स्वर्गीय अतुप लेप्चा जोङ्गुका एक पर्यावरण अभियन्ता तथा राजनीतिज्ञ थिए। उनले क्षेत्रीय विधायक (MLA) का रूपमा सेवा गर्नुका साथै सन् १९७९ देखि १९८४ सम्म नरबहादुर भण्डारीको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले 'अफेक्टेड सिटिजन्स अफ टिस्टा' (ACT) नामक संस्थाको स्थापना गरी यसको अध्यक्षका रूपमा नेतृत्व पनि गरे। यस संस्था मार्फत उनले उत्तर सिक्किममा प्रस्तावित ठूला जलविद्युत परियोजनाहरूका विरुद्धमा वातावरणीय संरक्षण तथा प्रभावित समुदायहरूको अधिकारका लागि वकालत गरे।
  2. यो लेख मूल रूपमा 'इन्डिया डेभलपमेन्ट रिभ्यु' IDR मा प्रकाशित भएको थियो।
  3. शीर्ष भागमा रहेको तस्बिर 'इन्टरनेसनल रिभर्स' (People, Water, Life) ले ACT सँगको ऐक्यबद्धता वक्तव्यमा प्रयोग गरेको तस्बिरबाट लिइएको हो।
Translated by: लेखनाथ क्षेत्री
About the Author

आकृति  (उनी/उनीहरू) लेखन, फोटोग्राफी र फिल्ममा काम गर्ने बहुआयामिक कलाकार-अनुसन्धानकर्ता हुन्। मिडिया र सांस्कृतिक अध्ययन र मानवशास्त्रमा पृष्ठभूमि भएकी उनी पहिचान, संस्कृति र सम्बन्धका प्रश्नहरूमा आलोचनात्मक रूपमा संलग्न छिन्। उनको काम घरको विचार, शहरी स्थानहरूमा सार्वजनिक सहभागिताको अन्वेषण र यसको उपस्थिति वा अनुपस्थितिले शहरी जीवन, भौतिक परिदृश्य र शहरी आकांक्षाहरूलाई कसरी आकार दिन्छ भन्ने कुरामा संलग्न छ। उनको काम जाति र लिङ्गद्वारा उत्पादित तहगत समावेशीकरण र बहिष्करणहरूद्वारा सूचित गरिएको छ। आकृतिको हालको अनुसन्धान स्थिर र गतिशील छविहरू मार्फत स्मृति बनाउने र रेकर्ड गर्ने र गान्तोकमा द्रुत शहरीकरणसँग यसको संलग्नता, साथै कलाले आलोचनात्मक सोचको लागि उत्प्रेरकको रूपमा कसरी काम गर्न सक्छ भन्ने कुरामा केन्द्रित छ। उनले पहिले गैरसरकारी संस्थाहरू हमसफर ट्रस्ट र PRADAN सँग, Scroll.In मा उत्पादन सहायकको रूपमा, र बिशप कटन गर्ल्स स्कूलमा मिडिया अध्ययन शिक्षिकाको रूपमा काम गरेकी थिइन्। उनी हाल इन्डिया डेभलपमेन्ट रिभ्यूसँग फेलो छिन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram