Menu

घर जस्तो अनुभूति 

तस्मानिया, अस्ट्रेलियामा भुटानी शरणार्थीहरूको पुनर्वास

सिक्किम-दार्जिलिङका पहाडमा बसोबास गर्ने हामीमध्ये धेरैका लागि 'शरणार्थी' शब्द एउटा अमूर्तताका रूपमा मात्र अस्तित्वमा छ- एउटा शब्द, कुनै किताबको एउटा अध्याय, एउटा वृत्तचित्र; अरू कोही, अरू कतै भएको कुरा। सिक्किममा हुर्किंदा यो कहिल्यै हाम्रो कुराकानीको विषय बनेन, जबकि मेरा धेरै तिब्बती साथीहरू शरणार्थी पृष्ठभूमिका थिए। सायद यो किशोरावस्था, युवावस्था, रुचि, वा जानकारीको (अथवा त्यसको अभावको) कारण थियो, जसले गर्दा 'शरणार्थी' शब्द हाम्रो शब्दभण्डारमा कहिल्यै पसेन। अथवा सायद यो सिक्किममा जन्मे-हुर्केको सुविधाका कारण पनि थियो, जहाँ हामी भुटानका जातीय नेपालीहरूमाथि परेको दुर्भाग्यबाट धेरै टाढा थियौँ। दशकौँपछि मात्र मैले उनीहरूको विस्थापनबारे, अनि सिक्किम र दार्जिलिङमा उनीहरूको उपस्थिति र निकटताबारे थाहा पाएँ, जहाँ धेरै भुटानी शरणार्थीले मौसमी पलायन मजदुरका रूपमा काम गरे वा यस क्षेत्रका परिवारहरूमा विवाह गरे।

'शरणार्थी' एउटा भारी शब्द हो- यसले इतिहास, आघात, स्मृति, रूढिवादी धारणा बोक्छ, र धारणा तथा व्यवहारलाई रङ्ग दिन्छ। जब मैले तस्मानियाको लन्सेस्टनमा रहेका ल्होत्साम्पाहरूबारे आफ्नो अनुसन्धान तयार गर्न थालेँ, मलाई लागेको थियो, व्यवहारमा त्यस शब्दको अर्थ के हो भन्ने मैले बुझिसकेको छु। मैले भुटानी शरणार्थी र सामान्यतया शरणार्थीहरूबारे किताब र लेखहरू पढेकी नै त थिएँ। तर पछिल्तिर सोचेर ल्याउँदा, म लन्सेस्टन आइपुग्दा तयार थिइनँ। सिद्धान्त र अवधारणाका हिसाबले तयार नभएको होइन, तर आफ्नै स्थानिक र सांस्कृतिक असामञ्जस्यका हिसाबले- दैनिक जीवनमा आघात, स्मृति, विगत र वर्तमान कसरी गाँसिएका थिए भन्ने कुराले मलाई चकित पारेको थियो, भुटानीहरूको घरजग्गा दखलका बारेमा, र नेपालका शिविर तथा भुटानप्रति सामूहिक नोस्टाल्जिया राखिराख्दै पनि उनीहरूले अस्ट्रेलियामा आफ्नो जीवन 'अगाडि बढाएको' कुराले।

सन् २०२१ मा एउटा अनुसन्धान परियोजनाका रूपमा सुरु भएको यो काम अहिले लन्सेस्टनका धेरै भुटानी परिवार र व्यक्तिहरूसँगको एउटा निकट सम्बन्धमा विकसित भएको छ। मैले सबैभन्दा पहिले सिकेको कुराहरूमध्ये एउटा यो थियो कि कसैले पनि आफूलाई ल्होत्साम्पा - अर्थात् दक्षिणका/दक्षिणीहरू - भनेर चिनाउँदैन थिए। सबैले आफूलाई र आफ्नो समुदायका अरूलाई भुटानी भनेर नै बोलचालमा प्रयोग गर्थे। यो सामान्य प्रचलनलाई पछ्याउँदै, मैले पनि उनीहरूबारे बोल्दा वा लेख्दा भुटानी शब्द नै प्रयोग गर्ने गरेकी छु।

तस्मानियाको आँगनमा सयपत्री र मकै: ठ्याक्कै घर जस्तै

पुनर्वास उनीहरू अस्ट्रेलिया आइपुगेपछि सकिएन, यो अझै पनि एउटा निरन्तर अनि दैनिक सम्झौता हो।

भुटानीहरूसँग जति समय बिताउँदै गएँ, 'शरणार्थी' शब्द उति नै भारी र गहन महसुस हुँदै गयो। स्मृति र आघातलाई ब्युँताउने डरले यो शब्द प्रयोग गर्दा म असहज महसुस गर्थेँ, तर भुटानीहरूले आफ्नो 'शरणार्थी-पन' आफैले अँगालेको देखिन्थे। उनीनीहरू यसैसँगै बाँचे र यसका बावजुद आफ्नो भविष्य निर्माण गरे। र यो शरणार्थी-पनलाई अँगाल्नुको अर्थ शरणार्थी, नागरिक, भुटानी अनि अस्ट्रेलियाली - यी पहिचानहरूको निरन्तर समायोजन र पुनर्मापाङ्कन पनि थियो। पुनर्वास उनीहरू अस्ट्रेलिया आइपुगेपछि सकिएन, यो अझै पनि एउटा निरन्तर अनि दैनिक सम्झौता हो।

घर बसाउने प्रक्रिया

लन्सेस्टनको भुटानी समुदाय मुख्यतया इन्भरमे, माउब्रे र न्युनहाम भन्ने तिनवटा छिमेकी उपनगरमा बसोबास गर्छ। धेर मानिसहरू भाडामा बस्छन् भने त्यसभन्दा धेरले आफ्नै घर किनेका छन्। पलायनका कारण चलेको घरजग्गा बजार र अनाकर्षक देखिने अस्ट्रेलियाली उपनगरहरूको सहज सङ्गमले भुटानीहरूको आफ्नै घर हुनुपर्छ भन्ने आकाङ्क्षालाई साकार पारेको छ। घरको स्वामित्वले धेरैलाई सुख र स्थिरताको भाव दिएको छ भने, धेरैले एकभन्दा बढी घर आफ्नो बनाएर आर्थिक उन्नतिसमेत प्राप्त गरेका छन्। यो कसैका लागि पनि उल्लेखनीय उपलब्धि हो, तर सन् २००० को दशकको उत्तरार्धमा मात्र अस्ट्रेलिया आइपुग्न थालेकाहरूका लागि यो झन् बढी प्रभावशाली छ।

कुर्सी(क्रोसे) निर्मित स्वागतम्: अपरिचित ठाउँमा चिरपरिचित

घरको स्वामित्व सबैका लागि सर्वव्यापी आकाङ्क्षा भए तापनि, भुटानीहरूका लागि यो विशेष महत्त्वको थियो। मेरी एउटी साथीले बताए झैँ, धेरै भुटानी परिवारहरू कहिल्यै भाडाको घरमा बसेका थिएनन्। भुटानमा भएका बेला ती जति सानै भए पनि आफ्नै घरमा बस्थे, र त्यसपछि अर्को दुई दशकसम्म, बाँस र इकराका झुपडीहरूको पङ्क्तिमा शिविरमा बसे। त्यसैले भाडामा बस्नुले एक थप 'उकुसमुकुस’ भाव थपिदियो, जुन अगाडिबाटै अपरिचित भइसकेको भूमिमा हुने असहजताको भाव थियो।

आराम र स्थिरतापछाडि, घरजग्गा र व्यवसायमा भुटानीहरूद्वारा गरिएको लगानी यस हृदयविदारक स्वीकारोक्तिबाट पनि आकार प्राप्त छ कि ती पाहुनाकै रूपमा पनि फेरि कहिल्यै भुटान फर्किन पाउने छैनन्। त्यो ढोका पूर्णतया बन्द भइसकेको छ। अस्ट्रेलिया अब कम्तीमा कानुनी, प्राविधिक र प्रशासनिक अर्थमा उनीहरूको घर हो। तर के यो घरको भावनासम्म पनि विस्तार हुन्छ त? यो कुरा सजिलै व्याख्या गर्न सकिने कुरा होइन। पुरानो पुस्तालाई यो झन् बढी पीडादायी प्रश्न हो, जो आफ्नो भुटानी जीवन स्मृतिसँगै बाँचिरहेका छन्- आफ्ना धान खेत र आँपका रुखहरू, अझै मायाले सम्झने ती जिद्दी खच्चडहरू र घरमा पालेका ढुकुरहरू, अनि धेरैका लागि, फेरि कहिल्यै नदेख्ने परिवार र साथीहरू।

जब तपाईँको पहिचान र सम्पूर्ण अस्तित्व नै पाहाडी उपत्यकाको स्मृतिमा, कलकल बगिरहेका खोलाहरूमा, आफ्नै बगैँचाबाट भर्खर टिपिएको सुन्तलाको मिठासमा, गाउँको जीवनका आवाज र लयमा गाँसिएको हुन्छ, जहाँ तपाईं आफै एक फरक मान्छे हुनुहुन्थ्यो, यसबाट अन्त्यै गएर कसरी आफ्नो घर बसाउने? शरणार्थीका लागि यो केवल घर बनाउने कुरा मात्र होइन; यो आफूलाई नयाँ सिरादेखि बनाउने कुरा पनि हो।

धेरै भुटानीहरूका लागि, सबै उमेर समूहमा, नेपाली-भाषी संसारभन्दा बाहिरका सामाजिक अन्तरक्रिया अङ्ग्रेजी भाषामाथिको सीमित पकडले बाधित छ। अस्ट्रेलिया र अस्ट्रेलियालीहरूसँगको उनीहरूको सम्पर्क र बुझाइ अङ्ग्रेजी भाषामा दक्ष हुनेहरूको माध्यमबाट बन्दछ। घर बसाउनु, र सायद आफै पनि त्यस ठाउँमा उभिने काम स्थानको पुनर्सृजनमार्फत हुन्छ - विशेषगरी धेरै वृद्ध भुटानीहरूका लागि ती गतिविधि र लयहरूमार्फत जुन उनीहरूको दैनिक जीवनको हिस्सा थिए।

संसारहरूको मिश्रण: फ्रुट लुप्स र भित्ते पात्रो (नेपाली भित्ते पात्रो)

जब बाहिरी संसारसँगको अन्तरक्रिया अनुवादको एउटा शृङ्खला बन्छ, घर र भान्साको बगैँचा एक शरणस्थल बन्छ। धेरै भुटानीहरूले आफ्नो भान्साको बगैँचामा उल्लेखनीय समय र ऊर्जा खर्च गर्छन् -एउटा यस्तो ठाउँ र क्रियाकलाप जुन चिरपरिचित र सायद सहज पनि लाग्छ। रायाको साग, इस्कुस, डल्ले खोर्सानी र विभिन्न प्रकारका खोर्सानी, मकै, फर्सी, रुख टमाटर आदिले फस्टाइरहेको यो सामान्य भान्साको बगैँचा कुनै साधारण बगैँचा मात्र होइन। यो एउटा त्यस्तो ठाउँ हो जसलाई अभिप्रायपूर्वक खेती गरिएको, सुधारिएको र स्याहारिएको हुन्छ। यस बगैँचाले घर र खाद्य संस्कृतिको स्मृति जीवित राख्नुका साथै, गोड्ने, झारपात उखेल्ने, रोप्ने, पानी दिने, फसल उठाउने, अमिल्याउने जस्ता चिरपरिचित क्रियाकलापले पनि एक प्रकारको आत्मविश्वास र उद्देश्य दिन्छ। जसको ज्ञान र अनुभवले नयाँ बसोबासमा अर्थ भेट्न सक्तैन, उनीहरूका लागि भान्साको बगैँचा एउटा त्यस्तो ठाउँ बन्छ जहाँ उनीहरू अझै उद्देश्यपूर्ण, उत्पादनशील र मूल्यवान महसुस गर्छन्।

जब बाहिरी संसारसँगको अन्तरक्रिया अनुवादको एउटा शृङ्खला बन्छ, घर र भान्साको बगैँचा एक शरणस्थल बन्छ।

खाना, सम्झना, आम्दानी:
निलो आकाशतिर बढ्दै मकै
प्रशस्त सागसब्जी
जहाँ ठाउँ छ, त्यहाँ बारी (बगैंचा) छ।
मकै, खोरसानी र साग (हरियो पातदार तरकारी)
लचिलोपनको रंग

घर बसाल्नु त्यतिबेला पनि कठिन हुन्छ जब घरका बहुविध संस्करण हुन्छन्। लन्सेस्टनमा रहेका अधिकांश भुटानीहरूका लागि 'अघि' र 'पछि' गरी कम्तीमा दुई संस्करण छन् - भुटानमा हुनुभन्दा भन्दा अघि र पछि अनि शिविरमा हुनुभन्दा भन्दा अघि र पछि। भुटान घर भए तापनि, सन् २००८ मा तेस्रो देशमा पुनर्वास सुरु हुनुभन्दा दुई दशकभन्दा बढी समयसम्म शिविरहरू पनि घरनै थिए।

घर बसाल्नु त्यतिबेला पनि कठिन हुन्छ जब घरका बहुविध संस्करण हुन्छन्।

शिविरको जीवन कठिन थियो। परिवारहरू विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको न्यून रासन र आधारभूत आवश्यकता सकिँदा छिमेकीहरूको सद्भावको भरमा बाँचे। शिविर वरपर बस्ने नेपालीहरूबाट भोगेको दुर्व्यवहार र विभेदको सम्झना अझै दुखिरहन्छ; उनीहरू आफ्नो जीवन धान्न मुस्किलले पुग्ने रकम कमाउनुको सङ्घर्ष सम्झन्छन्। तैपनि, दैनिक सङ्घर्षका बावजुद, शिविरले समुदाय, मित्रता र एकजुटता पनि दियो। धेरैजसो भुटानी, जवान र वृद्ध दुवैले, शिविरमा विस्तार गरेको समुदाय र निकटताको त्यो भावना अझै सम्झन्छन्; घर र मानिसहरूको भौतिक निकटताले सायद यी सम्बन्धहरूलाई अझ प्रगाढ बनायो। अस्ट्रेलियामा पुनर्वास भएपछि, जीवन झन् व्यस्त भएको छ, घरहरू टाढा-टाढा भएका छन्, र चिनी वा तेल मागेर ल्याउनुपर्ने आवश्यकता अब पर्दैन।

काँडादार सम्झनाहरू
सिस्नु-पानी (सजाय) र पोषणको सामूहिक सम्झनाहरू

तैपनि, अझै पनि एक प्रकारको आत्मीयता र निकटता छ; समुदायका सदस्यहरू सँगै चाडपर्व र विभिन्न सांस्कृतिक कार्यक्रम मनाउँछन्, र कठिन समयमा एकअर्कालाई साथ दिन्छन्। उनीहरू संसारभरका अन्य भुटानीहरूसँग सामाजिक सञ्जालमार्फत जोडिइरहन्छन्, जसले उनीहरूको जीवन आजको दिनसम्म कसरी परिवर्तन भएको छ भन्ने तुलना र चिन्तनका क्षण दिन्छ। टिकटकले विशेषगरी मध्यवयस्क महिलाहरूमा एउटा कायापलट ल्याएको छ, जसले एकसाथ भिडियो हेर्न र बनाउन रुचाउँछन्, उनीहरूका छोराछोरीलाई भने यो नयाँ रूपका गाउने-नाच्ने आफ्ना आमाहरू देखेर अचम्म लाग्छ।

किराती यज्ञ (धार्मिक अग्निकुण्ड): नयाँ घर, नयाँ धार्मिक सम्मिश्रण

पुनर्वासले अरू धेरै तहमा पनि रूपान्तरण ल्याएको छ। यसले भुटानी पुरुष र महिलालाई आफ्नो सहजताको सीमाभन्दा पर गएर नयाँ ठाउँ र परिस्थितिसँग फेरि अनुकूलन गर्न प्रोत्साहित गरेको, बाध्य पारेको वा जबर्जस्ती गरेको छ- जसमध्ये कुनै पनि उनीहरूले सुरुमा माग गरेका थिएनन्। दुई दशकभन्दा बढी समय शिविरको सीमाभित्र बाँचेको समुदायका लागि, बस्ने, काम गर्ने, यात्रा गर्ने ठाउँ रोज्ने स्वतन्त्रताको सम्भावना सायद एउटा भयावह प्रस्ताव थियो। धेरै डर र चुनौतीहरू भए तापनि, आवश्यकताले प्रायः परिवर्तन ल्यायो; तिनलाई पार गर्नुको अर्थ गतिशीलता र आर्थिक स्वतन्त्रता पनि थियो, जुन साँच्चै रूपान्तरणकारी थियो, विशेषगरी महिलाहरूका लागि। तैपनि, अधिकांशले अध्ययन, काम र कमाइका नयाँ अवसरहरू अँगाले पनि, कोही भनै यी चुनौतीको सामना गर्न असमर्थ भए।

महिलाहरूको रात्रि भ्रमण: लन्सेस्टनको साँझमा स्वतन्त्र र रमाइलो

भुटान, विस्थापन र शिविरमा बसोबासको स्मृति पुरानो पुस्ताको मस्तिष्कमा दह्रोसँग कुँदिएको भए तापनि, नेपालका शिविरमा जन्मेर सानै उमेरमा अस्ट्रेलिया आएका युवा भुटानीहरूको जीवनमा यसले फरक स्थान ओगट्छ। भुटान कहिल्यै नगए तापनि यो पुस्ताले भुटानीका रूपमा साझा विशिष्टताको भाव राख्छ। सायद अन्य हिमाली राष्ट्रियताहरूबाट यो भिन्नता उनीहरूको सामाजिक-आर्थिक कठिनाइहरूको साझा अनुभव, शरणार्थीको रूपमा उनीहरूको राजनीतिक सीमितता र शिविर सीमाभन्दा बाहिर सीमित गतिशीलताबाट आएको हो। यस विशिष्टताले अस्ट्रेलियामा युवा शरणार्थीका रूपमा प्रायः बाहिरी उपनगरहरूमा बस्ने र कम स्रोत भएका सरकारी विद्यालयमा पढेर उनीहरूको अनुभवबाट पनि आकार लिएको छ। पुनर्वासको सुरुका वर्षमा, धेरै युवा भुटानीहरूले आफ्ना समकक्षीहरूबाट जातिवाद र बहिष्करण भोगे, जसले उनीहरूलाई एकअर्कातिर र ग्लोबल साउथका अन्य युवाहरूतिर धकेल्यो। भुटानी युवाहरू विभिन्न क्षेत्रमा काम गर्छन् तापनि, उनीहरू प्रायः आफ्नै समुदायभित्र बढी घुलमिल हुन्छन् - सायद भाषा, खाना, सङ्गीत, सामाजिक मान्यता र साझा शरणार्थी पृष्ठभूमिको सहजता र परिचितताका कारण, जसले भुटानीका रूपमा उनीहरूको सम्बन्ध र पहिचानलाई बलियो बनाउँछ।

अन्तर-राज्य फुटबल प्रतियोगिता
भुटानी-भावलाई जीवित राख्दै

यद्यपि, यो पुस्ता धाराप्रवाह नेपाली बोल्ने र अष्ट्रेलियाली मान्यता र अभ्यासहरूलाई अँगाल्ने भुटानी-भावको भावना साझा गर्ने भुटानी युवाहरूको अन्तिम पुस्ता हुन सक्छ। अष्ट्रेलियामा जन्मेको पुस्ताको लागि, भुटानी हुनु उनीहरूको इतिहास र सम्पदाको एक हिस्सा हो, तर सायद उनीहरूको पहिचानको केन्द्रबिन्दु होइन।

भाइको जन्मदिन पार्टी: पिज्जा, चटपटे र नेपाली गीतहरू

निष्कर्ष

भुटानी परिवारहरूले नेपालका आफ्ना शिविर छोड्दा, उनीहरूलाई अस्ट्रेलिया वा तस्मानिया कहाँ हो, त्यहाँका मानिसहरू कस्ता छन्, वा आइपुगेपछि के गर्ने भन्ने कुरा पूर्ण रूपमा थाहा थिएन। शिविर छोड्दा, प्रत्येक व्यक्तिलाई २० किलोग्राम तौल भएको एउटा झोला अनुमति दिइन्थ्यो; धेरै परिवारहरूसँग सामूहिक रूपमा आफ्नो परिवारलाई छुट्याइएको कुल तौल बराबरको सामान पनि थिएन। पहिले आइपुगेकाहरूले पछि आउनेहरूलाई आश्वस्त पार्दै मार्गदर्शन गर्थे।।

धेरै हदसम्म, पुनर्वासको प्रस्ताव स्वीकार्नु, प्रणाली र आफैमाथिको एउटा विश्वासको छलाङ थियो। पुनर्वासले स्थिरता, एउटा देशसँग सम्बन्धित हुने अवसर, र समान अधिकारसहित संसारमा सहभागी हुने अवसर दिए तापनि, यो एउटा सीमान्त अनुभव पनि हो, जसमा भुटानीहरू विभिन्न सामाजिक संसारहरूबिच निरन्तर वार्तालाप गरिरहेका हुन्छन्।

अनि उनीहरूको कठिनाइ, लचकता, असफलता र सफलताको कथा अन्य शरणार्थी अनुभवभन्दा अनौठो नभए तापनि, यो निश्चय नै सुन्न र बुझ्न लायक कथा हो - कि पुनर्वास भइसकेपछि पनि शरणार्थीको जीवन सधैँ समाधान भइसकेको हुँदैन।

Translated by: लेखनाथ क्षेत्री
About the Author

डा. मोना एक सामाजिक विज्ञान अनुसन्धानकर्ता र पूर्वी हिमालयमा समर्पित अनुसन्धान र नीति परामर्श संस्था रिडिङ हिमालयकी सह-संस्थापक हुन्। उनीसँग दक्षिण एसियाभरि सामाजिक विकास, सामुदायिक संलग्नता र वातावरणीय मुद्दाहरूमा केन्द्रित गुणात्मक अनुसन्धानमा व्यापक अनुभव छ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram