Menu
Book Review

सिक्किमेली परिचयको निर्माण गर्दै: एलेक्स म्याकेको ‘द मण्डला किङ्डम’ मा उपनिवेशवाद, राजतन्त्र र इतिहास

Review by
डा. लावोमित लेप्चा
जुन 20, 2026

एलेक्स म्याके, द मण्डला किङ्डम: अ पोलिटिकल हिस्ट्री अफ सिक्किम /रचना बुक्स, (२०२१)। आईएसबिएन  ९७८-८१-८९६०२-१२-३।

'द मण्डला किङ्डम: ए पोलिटिकल हिस्ट्री अफ सिक्किम 'ले सिक्किमको ब्रिटिसकालीन इतिहासको समृद्ध र गहन विवरण प्रस्तुत गर्दछ।। अघि प्रकाशित नभएका राजपरिवारका अभिलेखहरूको प्रयोग गर्दै, म्याकेले नयाँ दृष्टिकोणहरू अघि सारेका छन् र शासक वर्गको हेराईबाट सिक्किमको इतिहासलाई व्यापक रूपमा व्याख्या गरेका छन्। यसले यस पुस्तकलाई सिक्किमको इतिहाससम्बन्धी अध्ययनमा एक महत्वपूर्ण योगदानका रूपमा स्थापित गर्दछ। सिक्किमको ऐतिहासिक आख्यान निर्माणमा बौद्ध धर्म, तिब्बती प्रभाव, र शासक अभिजात वर्गका हितहरूमाझको अन्तरक्रियालाई उनले उजागर गरेका छन्। पुस्तकले नामग्याल राजवंशअन्तर्गत सिक्किमको मिथकीय उद्गमदेखि लिएर ब्रिटिस उपनिवेशवादी हस्तक्षेपको लामो यात्रालाई समेटेका छन्। यसको अन्त्य १९७५ मा भारतसँगको विलयतर्फ डोर्‍याउने राजनीतिक सङ्कटमा हुन्छ। सिक्किमको इतिहासको धेरै प्राप्त व्याख्याहरूलाई चुनौती दिने गरेर म्याकेले एउटा सूक्ष्म, गहन अनुसन्धानमा आधारित र सन्तुलित विश्लेषण प्रस्तुत गरेका छन्।

प्रारम्भिक अध्यायले सिक्किमको इतिहाससम्बन्धी परम्परागत बौद्ध दृष्टिकोण प्रस्तुत गर्छ र नाम्ग्याल वंश कसरी ईश्वरीय रूपमा शासन गर्न चयन गरिएको राजवंशका रूपमा स्थापित भयो भन्ने कुरा व्याख्या गरिएको छ। यसले सिक्किमको विगतलाई आकार दिन बौद्ध धर्म, भविष्यवाणीहरू र पवित्र ग्रन्थहरूको महत्त्वलाई पुनःसन्दर्भित गर्छ। मल्लार्ड (२०११) को अध्ययनलाई आधार बनाउँदै म्याकेले अझ आलोचनात्मक तथा ऐतिहासिक दृष्टिकोण प्रस्तुत गर्छन्। उनका अनुसार नाम्ग्याल वंशसँग सम्बन्धित धेरै परम्परागत कथाहरू शुद्ध ऐतिहासिक तथ्यभन्दा पनि धार्मिक तथा राजनीतिक उद्देश्यहरूबाट निर्मित भएका थिए। यस दृष्टिकोणको मुख्य शक्ति आधुनिक अनुसन्धानका आधारमा परम्परागत कथाहरूको समीक्षा गर्नुमा निहित छ, तर त्यससँगै ती कथाहरूले स्थानीय पहिचान निर्माणमा बोकेको सांस्कृतिक महत्त्वलाई पनि स्वीकार गर्दछ। म्याकेले पाठकहरूलाई यी आख्यानहरूले बोकेको भारलाई अस्वीकार नगरी सिक्किमको इतिहासलाई आलोचनात्मक रूपमा जाँच्न प्रोत्साहित गर्छन्। अध्यायले अठारौँ शताब्दीका चुनौतीहरू, विशेष गरी गोर्खा आक्रमणहरू र क्षेत्रीय क्षतिहरूलाई प्रकाशमा ल्याएको छ। म्याकेले प्रारम्भिक सिक्किमेली समाजको निर्माणमा जातीय र धार्मिक कारकहरूसँगै वर्ग र शक्तिको महत्त्वलाई पनि अग्रभूमिमा राखेका छन्।

म्याकेले सिक्किम र बेलायतीहरू माझको तनावपूर्ण सम्बन्धको विस्तृत विवेचना गरेका छन्। उनले सांस्कृतिक भुल बुझाबुझका कारण सिक्किमले दार्जिलिङ गुमायो भन्ने तर्क अघि सारेका छन्। विद्वान्‌हरूले १९ औँ शताब्दीको मध्यमा एङ्ग्लो-सिक्किम द्वन्द्वको बारेमा लेखे पनि, धेरै विवरणहरूद्वारा पक्षपातपूर्ण दृष्टिकोण देखाएका छन्। म्याकेले यस विषयलाई अत्यन्त संवेदनशीलता र सन्तुलनका साथ प्रस्तुत गरेका छन्। उनले डा क्याम्पबेलजस्ता ब्रिटिस अधिकारीहरूको अहङ्कार तथा कूटनीतिक दक्षताको अभावले सम्बन्ध झन् बिग्रिएको देखाएका छन्। ब्रिटिस अधिकारीहरूले सिक्किमको राजनीतिक संरचनालाई सही रूपमा बुझ्न सकेनन् र धेरै समस्याका लागि देवान नाम्ग्याललाई दोषी ठहर गरे। परम्परागत ब्रिटिस कथन, जसअनुसार “पगला” देवान नामग्याल खलनायक थिए, त्यसलाई चुनौती दिँदै म्याकेले सिक्किमका हीतहरूलाई उपनिवेशवादी अधिपतिहरूविरुद्ध रक्षा गर्ने दीवानको शक्ति र दृढतालाई उजागर गरेका छन्। व्यक्तिगत प्रतिद्वन्द्विता, सांस्कृतिक भुल बुझाइ, र ब्रिटिस साम्राज्यवादी महत्वाकांक्षाले सिक्किमको इतिहासलाई बदलिदियो र राज्यमाथि ब्रिटिस प्रभाव विस्तार गर्‍यो। देवान नामग्यालको म्याकेको सहानुभूतिपूर्ण तर आलोचनात्मक पुनर्परीक्षणले यस महत्त्वपूर्ण द्वन्द्वको हाम्रो बुझाइलाई समृद्ध तुल्याउँछ।

"सिक्किम १८६१-१८८८" अध्यायमा, म्याकेले सिक्किमको स्वायत्तता गुम्नु क्रमिक प्रक्रिया थियो भनेर देखाउँछन्। यस अवधिमा सिक्किमको इतिहास ब्रिटिस साम्राज्य विस्तार, तिब्बती प्रभाव र आन्तरिक राजनीतिक विभाजन माझको सङ्घर्षबाट उत्पन्न भएको सन् १८६१ को सन्धिपछि ब्रिटिसहरूले सिक्किमलाई स्वतन्त्र राज्यका रूपमा होइन, तिब्बत पुग्ने मार्गका रूपमा हेर्न थाले। यसरी सिक्किमको ‘बफर स्टेट’ (मध्यवर्ती राज्य) को भूमिका सुनिश्चित भयो। छोग्याल तथा सिक्किमेली अभिजात वर्गले आफ्नो राज्यको संरक्षणका लागि ब्रिटिस र तिब्बती शक्तिमाझ सन्तुलन कायम राख्ने प्रयास गरे। यही समयमा नेपालीहरूको आप्रवासनले सिक्किमको समाज, अर्थतन्त्र र राजनीतिमा व्यापक परिवर्तन ल्यायो र शासक वर्गभित्र विभाजन सिर्जना गर्‍यो। यस अध्यायले ब्रिटिसहरूले नेपाली आप्रवासनलाई प्रोत्साहन दिनुको एउटा उद्देश्य सिक्किममा तिब्बती प्रभाव कम गर्नु पनि थियो भन्ने देखाउँछ। सन् १८८८ सम्ममा, ब्रिटिस सैन्य अभियान र तिब्बती सेनाको पराजयपछि, छोग्यालले आफ्नो शासन कायम राखे तापनि वास्तविक सत्ता धेरै हदसम्म ब्रिटिसतर्फ सरेको थियो। यस अध्यायको एउटा सीमितता ब्रिटिस औपनिवेशिक अभिलेखहरूमा यसको अत्यधिक निर्भरताबाट उत्पन्न हुन्छ। फलस्वरूप, साधारण सिक्किमेली जनताको, विशेष गरी लेप्चा र नेपाली रैथानेहरूको, आवाज कमै सुनिने अवस्थामा रहन्छ।

ब्रिटिस शासनकालमा, विशेष गरी जे सी ह्वाइटको समयमा, सिक्किममा उल्लेखनीय परिवर्तन भयो। ब्रिटिस प्रशासनले सडक, विद्यालय, अस्पताल, अदालत र हुलाक सेवाहरू सुरु गर्‍यो, एउटा व्यवस्थित सरकार सिर्जना गर्‍यो र सिक्किमलाई आधुनिकीकरण गर्‍यो। तर, यस अध्यायले ब्रिटिस शासनको नकारात्मक पक्ष पनि उजागर गर्छ। ब्रिटिसहरूले सिक्किमको स्वतन्त्र अवस्थानलाई कमजोर बनाए अनि छोग्यालको सहमति बिना नै धेरै महत्त्वपूर्ण निर्णयहरू गरे, जस्तै सिद्क्योङ टुल्कुलाई उत्तराधिकारी चयन गर्नु। नेपाली रैथानेहरूले असमान व्यवहार, उच्च कर तथा विभेदको सामना गर्नुपर्‍यो भने धेरै अभिजात वर्ग ऋणको बोझमा परे। यङहस्बेन्डको तिब्बत अभियानका क्रममा धेरै सिक्किमेलीहरूलाई कठिन परिस्थितिमा भरियाका रूपमा काम गर्न बाध्य पारियो। समग्रमा, पुस्तकले सिक्किम कसरी एक परम्परागत राज्यबाट ब्रिटिस प्रभावअन्तर्गत क्रमशः आधुनिक राज्यमा रूपान्तरित भयो भन्ने विषयको सन्तुलित र सूक्ष्म विश्लेषण प्रस्तुत गर्दछ। यसले आधुनिकीकरणले प्रगति त ल्यायो, तर त्यससँगै उपनिवेशवादी नियन्त्रण, सामाजिक तनाव र असमान लाभहरूको सिर्जना पनि गर्‍यो भन्ने तथ्यलाई स्पष्ट रूपमा देखाउँछ।

पुस्तकको सबैभन्दा आकर्षक अध्यायहरू मध्ये एउटा सिदक्योङ टुल्कुको बारेमा रहेको छ, जसलाई म्याकेले बौद्ध धर्मको संरक्षण गर्दै सिक्किमलाई आधुनिकीकरण गर्न खोज्ने दूरदर्शी नेताको रूपमा चित्रण गरिएको छ। अक्सफोर्डमा प्राप्त शिक्षा, धार्मिक सुधारका प्रयासहरू, शिक्षाको प्रवर्द्धन, वन संरक्षणप्रतिको चासो तथा सिक्किमलाई व्यापक बौद्ध विश्वसँग जोड्ने उनको दृष्टिकोण यस अध्यायमा स्पष्ट रूपमा देखिन्छ।  तथापि, यो अध्याय कहिलेकाहीँ उनीप्रति अत्यधिक सहानुभूतिशील देखिन्छ र उनलाई एक दुःखान्त नायकका रूपमा आदर्शीकृत गर्छ, जसको असमय मृत्युले सिक्किमको उज्ज्वल भविष्य रोकियो भन्ने सङ्केत दिन्छन्। उनका सुधारहरूलाई साधारण मानिसहरू, भिक्षुहरू र अभिजात वर्गबाट प्राप्त प्रतिरोधलाई भने बेवास्ता गरिएको छ। स्थानीय परम्पराहरूलाई “अन्धविश्वास” भनेर उनले गरेको आलोचना उल्लेख त गरिएको छ, तर त्यसको पर्याप्त रूपमा विश्लेषण गरिएको छैन। त्यतिबेला सिक्किमका अधिकांश मानिसहरूले हिन्दू धर्म अभ्यास गर्थे, तर सिदक्योङको दृष्टि मुख्यतः बौद्ध धर्म र बौद्ध परिचयमा केन्द्रित थियो। पुस्तकले यस अन्तर्विरोधलाई अझ गहिरो रूपमा अन्वेषण गर्न सक्थ्यो। म्याकेले सिदक्योङले ब्रिटिस शिक्षा र उपनिवेशकालीन आधुनिकीकरणका विचारहरूलाई कति गहिरोसँग आत्मसात् गरेका थिए भन्ने देखाउँछन्। उनी बौद्ध धर्म, परम्परा र आधुनिकतामाझ सन्तुलन खोज्ने जटिल व्यक्तित्वका रूपमा प्रस्तुत गरिएका छन्, तर लेखकको विश्लेषणले त्यो जटिलतालाई पूर्ण रूपमा समाधान गर्न सकेको देखिँदैन।

सन् १९०८ मा सी ए बेलले राजनीतिक अधिकृतको भूमिका सम्हालेपछि सिक्किमसम्बन्धी ब्रिटिस नीति परिवर्तन भयो। ह्वाइटको अधिनायकवादी दृष्टिकोणभन्दा फरक, बेलले बढी कूटनीतिक र सहकार्यात्मक शैली अपनाए र सिक्किमका शासक अभिजात वर्गसँग गठबन्धन गर्न खोजे। बेलका नीतिहरूले सिक्किमलाई स्थिर तुल्यायो, नामग्याल राजतन्त्रलाई सुदृढ बनायो, र आन्तरिक प्रशासनलाई क्रमशः स्थानीय नियन्त्रणमा फर्काउने प्रक्रियाका लागि राज्यलाई तयार पारे। बेलले शोषणकारी साहूकारी प्रथालाई नियन्त्रण गर्न सन् १९१० को सिक्किम ऋण ऐनजस्ता उपायहरू लागु गरे र भूमि तथा वन नीतिमार्फत थप नेपाली आप्रवासनलाई सीमित गरे। यी कार्यहरूले ब्रिटिस रणनीतिक हितहरू र सिक्किमका परम्परागत अभिजात वर्गका सरोकारमाझ सन्तुलन कायम गर्ने उनको प्रयासलाई प्रतिबिम्बित गर्छन्।

यस अवधिमा परिचय निर्माणसम्बन्धी बहसले पुस्तकका सबैभन्दा रोचक खण्डहरूमध्ये एउटा तयार गरेको छ। म्याकेले भोटिया–लेप्चा बौद्ध परिचयलाई कसरी प्रोत्साहित गरियो भन्ने देखाउँछन्, जबकि जनसङ्ख्या र आर्थिक दृष्टिले महत्त्व बढ्दै गए तापनि नेपाली समुदाय राजनीतिक रूपमा अपेक्षाकृत कम प्रतिनिधित्वमा रह्यो। यस अध्यायले “सिक्किमेली परिचय” कुनै स्थिर वा अपरिवर्तनीय अवधारणा नभई उपनिवेशकालीन नीतिहरू र स्थानीय प्रतिक्रियाहरूको अन्तर्क्रियाबाट निर्मित भएको तर्क प्रभावकारी रूपमा प्रस्तुत गर्दछ। यो तर्क सम्पूर्ण पुस्तकभरि प्रवाहित छ र यसको सबैभन्दा महत्त्वपूर्ण योगदानहरूमध्ये एउटा हो।

स्वायत्ततामा पुनः फर्किने अध्यायले सिद्क्योङ टुल्कुको मृत्यु पछिको टाशी नामग्यालको उदय र १९१८ मा सिक्किमको आन्तरिक स्वायत्तताको पुनर्स्थापनालाई उजागर गर्छ। आफ्ना पूर्ववर्तीभन्दा फरक, टाशी नामग्यालले साहसी सुधारहरूबाट जोगिए, तर आधुनिक विचारहरूलाई सिक्किमेली परम्परासँग संयोजन गर्नुपर्ने पक्षमा वकालत गरे। भुटिया-लेप्चा शासक समूहहरू र बढ्दो नेपाली जनसङ्ख्यामाझका तनावहरूबाट सिक्किमेली परिचय मुख्यतः नागरिक राष्ट्रवादभन्दा धर्म र जातीयताबाट निर्धारित थियो, जसले एकताबद्ध स्वतन्त्रता आन्दोलनको विकासलाई रोक्यो भन्ने देखाउँछन्।

अन्तिम अध्याय, "समाप्ति" ले १९१८  देखि १९४८ सम्मको अवधिलाई समेट्छ, जसलाई लेखकले "आँधी आउन अघिको मौनता" भनेर वर्णन गरेका छन् (पृष्ठ २६८)। यस अध्यायले नाम्ग्याल राजवंशको पतनका गहिरा कारणहरूको विश्लेषण गर्दछ। म्याकेका अनुसार सिक्किमले सबै जातीय समुदायहरू, विशेषतः नेपाली बहुसङ्ख्यक जनसमुदायलाई समेट्ने बलियो राष्ट्रिय पहिचान विकास गर्न सकेन। उनी राजनीतिक अस्थिरतालाई कुनै एक व्यक्तिको कमजोरीसँग मात्र नजोडी जनसाङ्ख्यिकीय तथा सामाजिक परिवर्तनसँग सम्बन्धित ठान्छन्। टाशी नामग्याललाई एकजना बुद्धिमान, आधुनिक र गहिरो धार्मिक शासकको रूपमा प्रस्तुत गरिएको छ जसले परम्परागत बौद्ध राजतन्त्रसँग पश्चिमी आधुनिकतालाई सफलतापूर्वक सन्तुलित गरे। शिक्षा, स्वास्थ्य सेवा र प्रशासनमा उनको प्रयास, भिक्षु संस्थाहरूप्रतिको उनको प्रतिबद्धता प्रदर्शन गरिएको छ। यस अध्यायले स्थानीय परम्पराहरूलाई पूर्ण रूपमा प्रतिस्थापन नगरी कसरी ब्रिटिस प्रभावले सिक्किमको अभिजात वर्गीय समाजलाई कस्तो आकार दियो र कसरी शिक्षित सिक्किमीहरू ब्रिटिस भारत र तिब्बतमाझ मध्यस्थकर्ता बने भनेर देखाउँछ। अध्यायमा केही कमजोरीहरू पनि छन्- कतिपय ठाउँमा म्याके राजतन्त्रप्रति अत्यधिक सहानुभूतिशील देखिन्छन्, र सिक्किमको पतनका लागि राजतन्त्रका आफ्नै असफलताहरूको जाँच गर्नुभन्दा ब्रिटिस नीतिहरू र भारतीय हस्तक्षेपमाथि अत्यधिक जिम्मेवारी थोपर्छन्। उदाहरणका लागि, एल डी काजीसम्बन्धी छलफलले कहिलेकाहीँ उनलाई अन्य राजनीतिक व्यक्तित्वहरूभन्दा बढी नकारात्मक रूपमा प्रस्तुत गर्छ, जसले लेखकले पूर्ण रूपमा स्वीकार नगरेको पूर्वाग्रहको सङ्केत गर्छ। जनसाङ्ख्यिकीय परिवर्तन व्यवस्थापन गर्न राजतन्त्रको संरचनागत असक्षमता तथा नेपाली बहुसङ्ख्यक समुदायलाई समेट्ने संस्थागत संरचना निर्माण गर्न नसक्नुजस्ता प्रश्नहरूले ब्रिटिसको फिर्ती र भारतीय हस्तक्षेपजस्ता आकस्मिक कारकहरूको तुलनामा कम ध्यान पाएका छन्।

पुस्तकको निष्कर्षले नाम्ग्याल राज्यको स्थापना देखि भारतसँगको विलयसम्म सिक्किमको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासको समग्र सार प्रस्तुत गर्दछ। यसको सबैभन्दा ठुलो शक्ति सिक्किमको परिचयको विश्लेषणमा निहित छ। सिक्किमेली परिचय बौद्ध धर्म, नामग्याल राजतन्त्र, र साझा भुटिया-लेप्चा संरचनाद्वारा आकार पाएको थियो भन्ने उनको तर्क छ। जातीय सम्बन्धसम्बन्धी चर्चा, विशेषतः यस विभाजनको औपनिवेशिक निर्माण, ले धेरै परम्परागत व्याख्याहरूलाई चुनौती दिन्छ र पाठकहरूलाई स्वीकृत ऐतिहासिक भाष्यहरूलाई पुनर्विचार गर्न प्रोत्साहित गर्छ। ब्रिटिसलाई पूर्णतः दमनकारी वा पूर्णतः लाभदायकका रूपमा चित्रण गर्नुको सट्टा, म्याकेले हस्तक्षेप र शोषणलाई स्वीकार गर्दै, शिक्षा, स्वास्थ्यसेवा, र प्रशासनिक आधुनिकीकरणमा भएका योगदानहरूलाई पनि मान्यता दिने एक सूक्ष्म दृष्टिकोण प्रस्तुत गरेका छन्। नेपाली आप्रवासन र यसको सिक्किमको राजनीतिक तथा जनसाङ्ख्यिक संरचनामा दीर्घकालीन प्रभावबारे गरिएको तर्क विश्वसनीय रूपमा प्रस्तुत गरिएको छ। नेपाली जनसङ्ख्याको वृद्धिले राज्यको सामाजिक सन्तुलनलाई रूपान्तरण गर्‍यो र अन्ततः राजनीतिक शक्तिको आधारलाई पुनर्संरचित गर्‍यो। साधारण नेपाली जनताको अनुभव र दृष्टिकोणलाई तुलनात्मक रूपमा कम ध्यान दिइएको छ, जुन कमजोरीलाई लेखकले स्वयं प्रारम्भमै स्वीकार गरेका छन्। निष्कर्षमा अभिजात वर्ग, शासकहरू, ब्रिटिस अधिकारीहरू र राजनीतिक संरचनाहरूमा अत्यधिक ध्यान केन्द्रित गरिएको छ, जबकि सर्वसाधारण जनताको आवाज प्रायः अनुपस्थित छ।

समग्रमा, द मण्डला किङ्डम  सिक्किमको इतिहास, परिचय, उपनिवेशकालीन अनुभव तथा राजनीतिक रूपान्तरणको पुनर्मूल्याङ्कन गर्ने एक सशक्त, गहन अनुसन्धानमा आधारित र प्रामाणिक कृति हो। यसको सबैभन्दा महत्त्वपूर्ण योगदान सिक्किमको इतिहासलाई केवल उपनिवेशवादी दमन वा राजतन्त्रको पतनजस्ता सरल कथाहरूमा सीमित गर्न नसकिने तथ्य देखाउनु हो। बरु, यसलाई बौद्ध धर्म, जातीयता तथा भू–राजनीतिक शक्तिहरू निरन्तर एक-अर्कासँग अन्तर्क्रिया गर्ने बहुआयामिक ऐतिहासिक प्रक्रियाका रूपमा बुझ्नुपर्ने आवश्यकता पुस्तकले स्पष्ट पार्छ। अभिजात वर्गको दृष्टिकोणलाई प्राथमिकता दिने र कहिलेकाहीँ राजतन्त्रप्रति सहानुभूति झल्किने प्रवृत्ति भए तापनि, पुस्तकले सिक्किमको आधुनिक इतिहासलाई स्पष्ट, सुलभ र प्रभावकारी भाषाशैलीमा प्रस्तुत गर्न सफल भएको छ। हिमाली सीमावर्ती क्षेत्रहरूको राजनीतिक इतिहासमा रुचि राख्ने जो–कोहीका लागि यो पुस्तक अपरिहार्य पाठ्य सामग्रीका रूपमा रहन्छ।

सन्दर्भ

Mullard, Saul. (2011). Opening the Hidden Land: State Formation and the Construction of Sikkimese History.  Rachna Books. 

समीक्षकको बारेमा

डा. लावोमित लेप्चा सिक्किमको गान्तोकस्थित SRM विश्वविद्यालयमा इतिहास पढाउनुहुन्छ। उहाँले इतिहासमा विद्यावारिधी प्राप्त गर्नुभएको छ, र उहाँको अनुसन्धान रुचि पूर्वी हिमालय क्षेत्रमा, विशेषगरी सिक्किम र भुटानमा, ब्रिटिस हस्तक्षेपमा केन्द्रित छ। उहाँको विद्यावारिधि शोधप्रबन्ध, ‘ब्रिटिस रेसिडेन्सी इन सिक्किम: अ स्टडी अफ द कोलोनियल कन्ट्रोल सिस्टम, 1889–1947’, ब्रिटिस कालमा सिक्किममा रहेको औपनिवेशिक प्रशासनको प्रकृति र कार्यप्रणालीको अध्ययन गरेको थियो। उहाँ इतिहास पढ्न, नयाँ मानिसहरू भेट्न, र उनीहरूको जीवन, अनुभव र कथाहरूका बारेमा जान्न मन पराउनुहुन्छ, किनकि उहाँ प्रत्येक व्यक्तिको बुझ्न लायक एउटा अद्वितीय इतिहास हुन्छ भन्ने विश्वास गर्नुहुन्छ।

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram