Menu
Book Review

एउटा नाजुक सन्तुलन

Review by
फ्रान्सिस एक्का
मे 20, 2026

प्रेरणा देवान द्वारा लिखित 'व्हिस्पर्स इन द मिस्ट: टेल्स फ्रम अ हिमालयन ह्यामलेट' ।रेडोमानिया (२०२५)ISBN: ९७८-८१-९८१२०३-६-६।

प्रेरणा देवानको " व्हिस्पर्स इन द मिस्ट: टेल्स फ्रम अ हिमालयन ह्यामलेट" दसवटा परस्पर सम्बन्धित कथाहरूको सङ्ग्रह हो, जसलाई गायत्री नामकी एकजना महिलाको रहस्यमय उपस्थितिले एकै सूत्रमा गाँसेको छ।  यस पुस्तकमा लेखकले जीवित र मृतकहरूको माझमा रहेको संसार निर्माण गरेकी छन्। जसमा देवानले कुहिरोले ढाकिएका पाहाडी गाउँहरूको जीवन-लयलाई सजीव रूपमा प्रस्तुत गरेकी छन्, जहाँ प्रत्येक साउती भरिएको बँचाइ, सामुदायिक भावना र पारस्परिक आत्मीयतासम्बन्धी ठुलो कथाको एउटा अंश बनेर देखा पर्छ।

कथा गायत्रीको मृत्युबाट सुरु हुन्छ, जसको आत्मा भट्किन्छ अनि शान्ति प्राप्त गर्न असमर्थ छ। "गायत्रीको आत्मा खुल्ला भट्किरहेको थियो" (दीवान, १५८) यही प्रेतात्मासम्बन्धी दृष्टिकोणबाट देवानले अन्य सबै पात्रहरूको जीवनलाई आपसमा गाँस्छिन्, जहाँ उनीहरूको खुसी, नियति र पीडाहरू देखिने तथा नदेखिने अनेक तरिकाले एक-अर्कासँग मिसिएका छन्। प्रत्येक कथा आफ्नै रूपमा पृथक भए पनि, ती सबैमा अन्य कथाहरूका प्रतिध्वनिहरू सुनिन्छन्, जसले आपसमा गाँसिएका मानवीय अनुभवहरूको जटिल चित्र निर्माण गर्छ। गायत्रीको भूत केवल एउटा अलौकिक तत्त्व होइन; उनी पुस्तकको नैतिक र भावनात्मक अक्ष पनि हुन्। उनको माध्यमबाट, पाठक अदृश्य संसारमा तानिन्छ जसले जीवितहरूलाई मृतकहरूसँग बाँध्छ। भूत समाधान नपाएको पीडा र प्रत्येक मानव जीवनलाई सताउने स्मृतिको निरन्तरताको प्रतीक बन्छ। भूत बनेकी गायत्रीको चित्रलाई सामूहिक विवेकको रूपमा पनि पढ्न सकिन्छ, गाउँको नैतिक परिदृश्यलाई परिभाषित गर्ने पाप, अपराध र कोमलताको मौन साक्षी।

दार्जिलिङ पाहाडको हिमाली बस्तीमा आधारित यी कथाहरूले पाठकहरूलाई शहरी कल्पनाबाट धेरै टाढाको संसारमा पुर्‍याउँछन्। देवानको गाउँ पर्यटकीय पुस्तिकाहरूमा देखाइने रोमान्टिक पाहाडी स्थल होइन, बरु दैनिक सङ्घर्ष र घरेलु समस्याहरूले भरिएको वास्तविक जीवन रहने स्थान हो। यहाँको जीवन पानीको अभाव, कमजोर शैक्षिक व्यवस्था, सामाजिक कलङ्क र परम्पराको दमनकारी भारजस्ता आधारभूत चिन्ताले निर्धारित हुन्छ। अस्तित्वको लय प्रकृतिको चक्रसँगै अघि बढ्छ—बदलिँदो घाम, मनसुनको आगमन र जाडोको कठोर चिसोसँगै। तर यही ग्रामीण यथार्थबिचमा देवानले, निराशाको बिचमा पनि आशा गर्ने, सहने र प्रेम गर्न सक्ने क्षमता जस्तो एउटा गहिरो मानवीय पक्ष उजागर गर्छिन् ।

"व्हिस्पर्स इन द मिस्ट" को सबैभन्दा आकर्षक पक्षहरू मध्ये एउटा हिमाली गाउँको सांस्कृतिक मानसिकता प्रकट गर्न लोककथाको प्रयोग हो। देवानले लोक विश्वास, पुर्खाहरूको श्राप, भट्किएका आत्माहरू, अशुभ सङ्केतहरू तथा मानव कर्मका नैतिक परिणामहरूलाई दैनिक जीवनको बनोटभित्र अत्यन्त सुन्दर ढङ्गले समेटेकी छन्।  यी काल्पनिक घटनाहरूको रूपमा प्रस्तुत गरिएका छैनन् तर कथा र विश्वास मार्फत अज्ञातसँग वार्ता गर्ने समुदायको जीवित व्याकरणको रूपमा प्रस्तुत गरिएका छन्। देवानद्वारा सिर्जना गरिएको यस संसारमा, मृतकहरू केवल बिदा हुँदैनन्; तिनीहरू कुहिरोमा साउतीका रूपमा बाँकी रहन्छन्, निर्णयहरूलाई आकार दिन्छन् र सपनाहरूलाई मार्गदर्शन गर्छन्। आध्यात्मिक र भौतिक संसारबिचको यो पारदर्शी सीमारेखाले यस्तो विश्वदृष्टिकोण झल्काउँछ जहाँ विश्वास एकातिर सान्त्वना हो भने अर्कोतिर बोझ पनि हो।

यी कथाहरूले दैनिक वास्तविकता, सामाजिक बहिष्कार, यौन हिंसा, पुस्तागत आघात र राजनीतिक अशान्तिलाई प्रस्तुत गर्छन्, तैपनि ती सबैलाई मिथक र रहस्यवादी दृष्टिकोणबाट प्रस्तुत गरिएको छ, जसले तिनको गम्भीरतालाई मेटाउँदैन तर केही हदसम्म कोमल बनाउँछ। उदाहरणका लागि, गोर्खाल्यान्ड आन्दोलनको क्रममा एकजना युवतीको बलात्कार र त्यसपछि गाउँको मौनता केवल सामाजिक टिप्पणी मात्र होइन; तिनीहरू गाउँमा लाज र सामाजिक जीवन कसरी एकअर्कासँग जोडिएका छन् भन्ने कुराको अन्वेषण पनि हुन्। “‘तिम्रो बुबा अपराधी थिए, जसले जवान केटीहरूलाई बलात्कार गर्थे। उनले मलाई पनि बलात्कार गरेका थिए। त्यसपछि उनले तिम्रा हजुरबा-हजुरआमाको सबै पैसा र हाम्रो पुर्ख्यौली चिन्ह रहेको चाँदीको कप पनि लगे’… सन् १९८६ देखि सविताले एक रात पनि राम्रोसँग सुत्न सकेकी थिइनन्। त्यही वर्ष पाहाडले पश्चिम बङ्गालमा गोर्खाल्यान्ड नामक छुट्टै राज्यको ऐतिहासिक माग देखेका थिए” (170)।

गाउँलेहरूको आत्मा, अशुभ सङ्केत र अदृश्य शक्तिप्रतिको विश्वास भूगोल र इतिहासले निर्माण गरेको विश्वबोधबाट उत्पन्न भएको हो। गाउँ वरिपरिको कुहिरो वायुमण्डलीय भन्दा बढी छ, यो अनिश्चितताको रूपक बन्छ, जीवन र मृत्युबीचको, सत्य र भ्रमबिचको धमिलो सीमारेखा। यसले देवानलाई अवर्णनीय कुराको अन्वेषण गर्न अनुमति दिन्छ- त्यस्तो शोक जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन, त्यस्तो अपराधबोध जसलाई स्वीकार गर्न सकिँदैन, र त्यस्तो आशा जसले मर्न अस्वीकार गर्छ।

ग्रामीण हिमाली परिवेशको देवानको चित्रणले यो संसार र मुख्यधाराको सहरी संसार बिचको स्पष्ट भिन्नतालाई प्रकाश पार्छ। जहाँ सहरी जीवन गति, अपरिचितता र कोलाहलले परिभाषित हुन्छ, त्यहीँ गाउँको अस्तित्व सुस्तता, आत्मीयता र मौनताभित्र बाँचिरहेको हुन्छ। देवानका पात्रहरूले सामना गर्ने समस्याहरू, स्रोतसाधनको अभाव, शिक्षाको अभाव, कठोर सामाजिक पदानुक्रमहरू विदेशी विशिष्टताहरूको रूपमा होइन तर विशिष्ट भूगोल मार्फत प्रतिबिम्बित विश्वव्यापी सङ्घर्षहरूको रूपमा चित्रित छन्। हिमाली बस्तीलाई छुट्याउने कुरा यसको गरिबी होइन तर यसको नैतिक बनावट हो, सामुदायिक उत्तरदायित्व, लोककथा र स्मृतिबिचको गहिरो गाँठो। यस भित्री संसारमा, हरेक त्रासदी साझा गरिएको छ, हरेक रहस्य आधा-ज्ञात छ, र हरेक कार्य, चाहे दयालु होस् वा क्रूर, पुस्ताहरू मार्फत प्रतिध्वनित हुन्छ।

देवानको गद्य प्रायः काव्यात्मकता तर्फ झुक्छ, मौखिक कथा कथनको लयलाई प्रतिबिम्बित गर्दछ। भाषा थोरै शब्दबद्ध तर गीतात्मक छ, पाहाडहरूको संवेदी समृद्धि र यसका बासिन्दाहरूको भावनात्मक जटिलता दुवैलाई उजागर गर्न सक्षम छ। कुहिरो, वर्षाको आवाज, गायत्रीको भूतिया उपस्थिति, बिरालोको दृष्टि जस्ता पुनरावृत्त बिम्बहरूको माध्यमबाट देवानले यस्तो संवेदनात्मक संसार निर्माण गरेकी छन्, जो एकैसाथ आत्मीय र अलौकिक अनुभूति दिने खालको छ। बारम्बार देखा पर्ने प्रतीकका रूपमा रहेको बिरालो “बैनी”, जो पछि उपसंहारमा एउटा साङ्केतिक सूत्रका रूपमा विकसित हुन्छ, मानौँ संसारहरूबिचको मध्यस्थकर्ताजस्तै कार्य गर्छ। ऊ मौन र निर्लिप्त भएर सबै कुरा नियाल्छ, तर साथसाथै जीवनको निरन्तरताको प्रतीक पनि बन्छ। बस्तीभित्र घुमिरहेको बिरालोको अन्तिम दृश्यले कथाहरू पनि आत्माजस्तै कहिल्यै पूर्ण रूपमा समाप्त हुँदैनन्, तिनीहरू केवल रूप परिवर्तन गर्छन् र फेरि सुनाइने प्रतीक्षामा रहन्छन् भन्ने कुराको सङ्केत गर्छ।

"व्हिस्पर्स इन द मिस्ट" ले पाठकको समापन र समाधानको बारेमा पूर्वधारणाहरूलाई चुनौती दिन्छ। धेरै कथाहरू स्पष्ट निष्कर्षमा नभई लामो मौनता, अतृप्त भावनाहरू र प्रेतात्माको उपस्थितिमा समाप्त हुन्छन्। यो कथात्मक खुलापनले ग्रामीण जीवनको चक्रीय लौकिकतालाई प्रतिबिम्बित गर्दछ, जहाँ विगत कहिल्यै पूर्ण रूपमा हराउँदैन र भविष्य अनिश्चित रहन्छ। तैपनि यो अस्पष्टता एक शक्ति र सीमा दुवै हुन सक्छ। यसले पाठलाई गहिराइ र रहस्यले भरिपूर्ण बनाउँछ, तर कतिपय कथात्मक सूत्रहरू अधुरा रहेझैँ अनुभूति गराउने जोखिम पनि उत्पन्न गर्छ। रैखिक कथा कथन गर्न अभ्यस्त पाठकहरूले खण्डित संरचनालाई दिशाहीन पाउन सक्छन्, तर अरूले यसैमा जीवनको वास्तविकता देख्न सक्छन्, जहाँ पूर्ण निष्कर्ष पाउनु धेरैका लागि दुर्लभ विलासिता मात्र हो।

पुस्तकलाई गहिरो प्रकारले प्रभावपूर्ण बनाउने कुरा यसको नैतिक र भावनात्मक इमानदारी हो। देवानले आफ्नो परिवेशलाई न त रोमान्टिक बनाएकी छन्, न त टाढाबाट त्यसको आलोचना गरेकी छन्। उनी यस्तो व्यक्तिका रूपमा लेख्छिन् जसले त्यस ठाउँको स्पन्दन, त्यसका विरोधाभासहरू र त्यसको मौन गरिमालाई नजिकबाट बुझेकी छन्। उनको गाउँलाई ढाक्ने कुहिरो केवल भौतिक मात्र होइन, यो अस्तित्ववादी छ, यो सम्पूर्ण मानव जीवनलाई परिभाषित गर्ने अस्पष्टताको प्रतीक हो। आत्माहरू, मिथकहरू, गफगाफहरू, अनुष्ठानहरू सबै एक नाजुक सन्तुलनको अंश हुन् जसले समुदायलाई बन्धक बनाए पनि जीवित राख्छ।

"व्हिस्पर्स इन द मिस्ट" हिमाली कथाको एउटा उल्लेखनीय कृतिको रूपमा खडा छ, आत्मविश्लेषणात्मक, विषादपूर्ण र मौखिक परम्पराको लयले भरिएको। लोकगीत र सामाजिक यथार्थवादको यसको मिश्रणले पाठकहरूलाई विश्वास र शङ्का, जीवन र मृत्युपछिको जीवन, प्रगति र परम्पराको असहज सहअस्तित्वको सामना गर्न आमन्त्रित गर्दछ। प्रेरणा देवानको गद्यले घोषणा गर्नुको सट्टा साउतीको भाषामा बोल्छ, तर यसको प्रतिध्वनि अन्तिम पृष्ठ पछि पनि लामो समयसम्म रहन्छ, धेरै जसो उनको गाउँबाट कहिल्यै पूर्ण रूपमा नहट्ने कुहिरो जस्तै। परिणामस्वरूप एउटा पुस्तक बनेको छ जसले पाहाडहरूको बाह्य सौन्दर्य मात्र होइन तर त्यहाँ बस्ने मानिसहरूको भित्री परिदृश्य, तिनीहरूको डर, तिनीहरूको विश्वास, तिनीहरूका स्मृतिहरू र सबैभन्दा माथि, उनीहरूको मौन तर अटल सहनशील शक्तिलाई पनि समेट्छ। हिमाली क्षेत्रका कथाहरूलाई विस्तारपूर्ण तर स्वाभाविक पुनरावृत्तिसहित प्रस्तुत गर्ने भएकाले यो पुस्तक अवश्य पढ्न योग्य कृति हो।

समीक्षकको बारेमा

फ्रान्सिस एक्का हाल सिक्किम विश्वविद्यालयको अंग्रेजी विभागमा अनुसन्धानकर्ता हुन्। उनले वेब अफ साइन्स र UGC CARE द्वारा अनुक्रमित जर्नलहरूमा अनुसन्धान पत्रहरू प्रकाशित गरेका छन्। आफ्नो शैक्षिक कार्यको साथसाथै, उनी कविता र रचनात्मक लेखनमा पनि गहिरो लगाव राख्छन्। उनका कविताहरू 'रिदम अफ द रिभर: एन एन्थोलोजी अफ ट्राइबल पोएट्री' मा चित्रित भएका छन्।

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram