माइक लिच्टी लिखित ‘फार आउट: काउन्टरकल्चरल सिकर एन्ड द टुरिस्ट इन्काउन्टर इन नेपाल’, सिकागो विश्वविद्यालय प्रेस (२०१७)। आइएसबिएन :९७८०२२६४२८९४९
नेपाल कहिल्यै उपनिवेशमा थिएन, तैपनि दशकौँसम्म यसले पश्चिमाहरूलाई ब्रिटिस साम्राज्यले उनीहरूको कल्पनामा रोपेको दिवास्वप्नलाई बेच्यो। मार्क लिच्टीको फार आउट: काउन्टरकल्चरल सिकर्स एन्ड द टुरिस्ट एन्काउन्टर इन नेपाल यो विडम्बनालाई व्याख्या गर्दछ। यसले कसरी स्रोत–साधनमा गरिब हिमाली राज्यले आफूले सिर्जना नगरेका चाहनाहरूलाई पूरा गर्न बारम्बार आफूलाई पुनः आविष्कार गरिरह्यो भन्ने कुरा प्रस्तुत गर्दछ। महत्त्वपूर्ण रूपमा, लिच्टीले ले पर्यटनलाई नेपालमाथि “घटेको” कुनै बाह्य घटना जस्तो रूपमा प्रस्तुत गर्न अस्वीकार गर्छन्। बरु, उनी “ठुलो विश्वमञ्च साझा गर्ने मानिसहरूबिचको सांस्कृतिक र आर्थिक जम्काभेट (इन्काउन्टर)” (पृ. xii) लाई विश्लेषण गर्न खोज्छन्। यस प्रकारको दृष्टिकोणले, पश्चिमी आकांक्षाले कथालाई अघि बढाए पनि, पर्यटनको कथामा नेपाली सक्रियतालाई (एजेन्सीलाई) केन्द्रमा राखेर बुझ्न मद्दत गर्छ। फार आउटमा , लेखकले नेपालको परिवर्तनशील पश्चिमी कल्पनाहरू पत्ता लगाउँछन् र कसरी यी परिवर्तनशील धारणाहरूले पश्चिमी इच्छाहरू, चाहनाहरू र आकांक्षाहरूलाई पुरा गर्न र प्रतिक्रिया दिन नेपालीहरूले आफैले विकास गरेका प्रतिसांस्कृतिक रणनीतिहरूलाई आकार दिएका छन् भनेर देखाउँछन्।
नेपालको पर्यटन वृद्धिको उत्पत्ति विशेष गरी पश्चिमी अर्थको सङ्कटसँग जोडिएको छ। दुईवटा विश्वयुद्धले ध्वस्त भएपछि, पश्चिमी यात्रुहरू पूर्वतिर फर्किए र हिमालयमा त्यस्तो प्राचीन ज्ञानको चाहना प्रक्षेपित गरे, जुन उनीहरूको आफ्नै सभ्यताले दिन नसकेको जस्तो देखिन्थ्यो। कुनै पनि पश्चिमी व्यक्ति त्यहाँ पुग्नु अघि नै पुस्तकहरू र लेखहरूले काठमाडौँलाई रोमान्टिक आकर्षण दिलाइसकेका थिए। १९५९ मा तिब्बतमा चीनको आक्रमणले त्यो सीमा बन्द गरिदियो। फलस्वरूप, नेपालले त्यो प्रक्षेपणको पूर्ण वजन विरासतमा पायो।
पुस्तक तीनवटा व्यवस्थित खण्डमा विभाजित छ, जसले नेपालमा पर्यटनको विकासलाई विभिन्न चरणहरूमा देखाउँछ। पहिलो खण्ड, "स्वर्ण युग" ले पश्चिमी आकर्षण र नेपालको पर्यटन क्षेत्रको प्रारम्भिक वर्षहरूको नक्साङ्कन गर्दछ। लामो समयदेखि बाहिरी संसारबाट अलग्गिएका नेपालीहरूले विदेशीहरू किन आफ्ना ग्रामीण गाउँहरू भ्रमण गर्न चाहन्छन् भनेर बुझ्न सङ्घर्ष गरे। लिच्टीले कसरी अमेरिकी सरकारी एजेन्सीहरूले देशको नवजात पर्यटन पूर्वाधार निर्माण गर्न नेपाली सरकारसँग साझेदारी गरे, जसले राष्ट्रलाई रूपान्तरण गर्ने उद्योगको जग बसाल्यो भनेर देखाउँछ।
सरकारले पूर्वाधार निर्माण गर्दा, मिडियाले पश्चिमी दर्शकहरूलाई लोभ्यायो। सन् १९५६ मा राजा महेन्द्र वीर विक्रम शाहको भव्य शाही राज्याभिषेक, हात्ती जुलुस, परम्परागत नृत्य र विदेशी प्रतिष्ठित व्यक्तिहरूको बहु-दिवसीय दृश्य कभर गर्न पत्रकारहरू काठमाडौँमा ओर्लिए। उक्त राज्याभिषेकले नेपाललाई संसारका लागि खुला गर्ने घोषणा गर्यो। “घिनलाग्दा हिममानव" (यती) प्रति पश्चिमी मोहले एकैचोटि नेपाललाई विदेशी र रहस्यमय गन्तव्यका रूपमा चित्रित गर्यो, ठीक त्यही समयमा जब राणा शासनको पतनपछि देशले बाह्य संसारका मानिसहरूलाई स्वागत गर्न थालेको थियो। सन् १९५३ मा पहिलो सफल सगरमाथा अभियानले नेपालको विश्वव्यापी पहिचानलाई अझ उचाइमा पुर्यायो। पर्वतारोही एरिक सिप्टनको यति ट्र्याकहरूको तस्बिरहरूले विश्वव्यापी रूपमा प्रेसको ध्यान खिचे। जेम्स हिल्टनको उपन्यास " लस्ट होराइजन", जसमा हिमालयमा अपहरण गरिएको विमान दुर्घटनाग्रस्त भएको थियो र बाँचेकाहरूले "साङ्ग्रि-ला" भनिने लुकेको काल्पनिक उपत्यका पत्ता लगाएका थिए। पहिल्यैदेखि नै हिमालयलाई दीर्घायु र रहस्यको स्थानका रूपमा पश्चिमी कल्पनामा गहिरो रूपमा स्थापित गरिसकेको थियो।
विडम्बना के थियो भने नेपाल, जुन कहिल्यै उपनिवेश थिएन, त्यसले आफूलाई ब्रिटिस राजको जीवनशैलीलाई रोमान्टिक बनाउने अभिजात वर्गको सेवा गर्ने भूमिका निभाइरहेको थियो। लिच्टीले नेपालको पहिलो अन्तर्राष्ट्रिय होटल, रोयल होटलको उदय र पतनको चित्रण गर्छन्, जुन बोरिस लिसानेभिचले स्थापना गरेका थिए, जसलाई उनी "नेपाल पर्यटनका पिता" भनेर सम्बोधन गर्छन्। अर्का विदेशी, जोन कोपम्यानले टाइगर टप्स सुरु गरे, जुन साहसिक रिसोर्ट हो जसले जङ्गल सफारीको सुरुवात गर्यो। लिच्टीले उनलाई " सिकार–आधारित साहसिक पर्यटनका अग्रदूत" (पृष्ठ ९४) को रूपमा श्रेय दिन्छन्। स्वर्ण युगले ले हिमाली मिथकलाई साधनको रूपमा प्रयोग गर्यो, पश्चिमी चाहनाहरूलाई मार्गदर्शन गर्यो, र नेपाललाई विश्व पर्यटन सञ्जालमा बलियो रूपमा जोडिदियो।
पुस्तकको मध्य भाग, “हिप्पी नेपाल”-मा लिच्टीको नृवंशशास्त्रीय दृष्टि अझ सशक्त रूपमा प्रकट हुन्छ। अन्तर्वार्ता, डायरी र त्यस समयका चित्र–रेखाचित्रहरूको आधारमा उनले फ्रिक स्ट्रिटको तीव्र र ऊर्जावान वातावरण पुनर्निर्माण गर्छन्—जहाँ सस्तो बसोबास, पाई पसलहरू, बेकरी, रेस्टुरेन्टहरू र ह्यासिस बेच्ने स्थानहरू उद्यमी नेपालीहरूले झण्डै एकैचोटि निर्माण गरेका थिए। यो युरोपबाट भूमिगत रूपमा आइपुगेका युवा पश्चिमीहरूको भोक मेटाउनका लागि थियो। १९६० को दशकमा, इङ्ल्यान्डबाट इरान हुँदै काठमाडौँसम्म सिधा बसहरू चल्थे, जसले हजारौँको सङ्ख्यामा खर्चप्रति सचेत यात्रीहरूलाई ल्याउँथे। युद्धपछिको आर्थिक उछाल, बढ्दो व्यक्तिगत आम्दानी, र सस्तो हवाई यात्राले “काठमाडौँ जाने बाटो” लाई अत्यन्त आकर्षक बनायो। यात्रुहरू भारत हुँदै नेपालमा प्रवेश गरे, र नेपालीहरूले आफ्ना घरहरूलाई अतिथिगृहमा रूपान्तरण गर्दै यो लहरलाई सम्हाले। लिच्टीले टिबेटन ब्ल्यू, पाई/पिग एली, क्याम्प होटल जस्ता प्रतिष्ठित स्थानहरूको उदयलाई विशेष कौशलका साथ वर्णन गर्छन्। उदीयमान पर्यटकीय क्षेत्रको उनको विवरण सहरी इतिहासको रूपमा पनि महत्त्वपूर्ण छ, जसले यो प्रवाहले “काठमाडौँको घरेलु र व्यावसायिक स्थान” (पृ.१६२) लाई कसरी भौतिक रूपमा पुनर्संरचना गर्यो भन्ने देखाउँछ।
लिच्टीले हिप्पी पलायनलाई केवल घुमन्ते चाहनामा मात्र नभई राजनीतिक विच्छेदनसँग जोडेर हेर्छन्। अमेरिकी नागरिक अधिकार आन्दोलन, भियतनाम युद्ध र युवा प्रतिसंस्कृतिको विस्फोटले गहिरो निराशा उत्पन्न गर्यो जसले युवा पश्चिमीहरूलाई आफ्ना देशहरू मात्र नभई आफ्ना संस्कृतिहरू पनि त्याग्न प्रेरित गर्यो। लिच्टीले १९६० को दशकका युवाहरूको राजनीतिक क्रोधको विश्लेषण गर्छन् जसले युद्धपछिको उपभोक्ता वृद्धिको अशिष्ट भौतिकवाद र आफ्ना अभिभावकका पुस्ताको नैतिक पतन दुवैलाई अस्वीकार गरेका थिए (पृष्ठ १६६)। सुदूर पूर्व र विशेष गरी काठमाडौँ त्यो सञ्चित निराशाका लागि प्रेसर भल्भ बनियो। तैपनि लिच्टीले एकतर्फी विवरणको प्रतिरोध गर्छन्। आधुनिकीकरणको अवरोधबाट अस्थिर नेपाली युवाहरूले यी पश्चिमी आगमनहरूलाई जिज्ञासा र असहजताको जटिल मिश्रणको साथ सामना गरे। सम्मानजनक वयस्कताको परम्परालाई अस्वीकार गर्दै दुवै समूहहरू - शिक्षा, रोजगारी, धितो, परिवार, संक्षिप्त रूपमा फ्रिक स्ट्रिटमा एकजुट भए र एक असम्भव लाग्ने प्रतिसांस्कृतिक साझा बनायो। यो व्यवस्था अस्थायी र कमजोर थियो। सन् १९७० को दशकको सुरुवातमा "रूढिवादी प्रतिक्रिया", निक्सन युगको राजनीतिले तीव्र बनाएको र पश्चिमी सरकारहरूमा दमनको प्रतिध्वनिले हिप्पी अर्थतन्त्रलाई ध्वस्त पारेको थियो। नेपाली राज्य, आफ्नो सडकमा विदेशी घुमन्तेहरूको तमाशाबाट बढ्दो रूपमा लज्जित हुँदै, तिनीहरूलाई हटाउन अघि बढ्यो। एउटा युग अन्त्य भयो।
पुस्तकको तेस्रो भाग “एडभेन्चर टुरिज्म” ले त्यसपछि के आयो भन्ने देखाउँछ। नयाँ पर्यटकहरू पलायनका लागि होइन, सीमाहरूलाई चुनौती दिन आएका थिए। नेपालको सरकारले यो परिवर्तनलाई बुझ्दै देशलाई स्वास्थ्य, शारीरिक चुनौती र वातावरणीय अनुभवतर्फ उन्मुख विश्व बजारका लागि ‘रिब्रान्ड’ गर्यो। नेपाललाई ट्रेकिङ गन्तव्यका रूपमा प्रस्तुत गरियो। ठमेलले फ्रिक स्ट्रिटलाई देशको प्रमुख पर्यटकीय जिल्लाको रूपमा प्रतिस्थापन गर्यो, जुन कठिन भौतिक चुनौतीहरू खोज्ने ग्राहकहरूका लागि बनाइएको थियो। नेपालले धर्म पर्यटनलाई पनि प्रवर्द्धन गर्यो, जहाँ कोपन गुम्बाले तिब्बती बौद्ध धर्मतर्फ आध्यात्मिक खोजी गर्नेहरूलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।लिच्टीको केन्द्रीय तर्कले यसको पूर्ण अभिव्यक्ति यहाँ पाउँछ: प्रत्येक दशकमा, पश्चिमी इच्छाले नेपालमा एक कल्पना प्रक्षेपण गर्यो - विदेशी राज्य, प्रतिसंस्कृति अभयारण्य, हिमाली जङ्गल, आध्यात्मिक शरणस्थान, पदयात्रा यूटोपिया, र नेपालले अद्भुत लचकतासहित त्यही कल्पनाले माग गरेको “उत्पादन” निर्माण गर्यो। लिच्टीले यसलाई “सह–उत्पादन” भन्छन्, तर यो शब्दले यो जम्काभेट (इन्काउन्टर) वास्तवमा त्यो हुनुभन्दा धेरै समान भनेर बुझिने जोखिम हुन्छ। किनभने पश्चिमी मानिसहरूसँग पैसा थियो, जहाँ चाह्यो त्यहाँ जान सक्ने स्वतन्त्रता (गतिशीलता) थियो, र चाहेमा सजिलै सबै कुरा छोडेर फर्किन सक्ने शक्ति पनि उनीहरूसँगै थियो।
फार आउटको को सबैभन्दा ठूलो कमजोरी त्यही हो जसलाई लिच्टी आफैले सङ्केत त गर्छन् तर पूर्ण रूपमा सम्बोधन गर्दैनन्—नेपाली आवाजलाई आफ्नै स्वतन्त्र स्वरका रूपमा प्रस्तुत गर्ने कुरा। जब परम्परावादी नेपालीहरूले पर्यटकहरूको लागुऔषध प्रयोग, यौन व्यवहार, र स्थानीय पहिरनका नियमहरूको बेवास्ताप्रति असन्तुष्टि व्यक्त गरे, उनीहरूले वास्तवमा एउटा “इन्काउन्टरको राजनीति” अभिव्यक्त गरिरहेका थिए, जसले यहाँ पाएको सामान्य उल्लेखभन्दा धेरै गहिरो विश्लेषण माग्थ्यो। फ्रिक स्ट्रिट मार्गहरूमा सङ्केत गरिएको भौतिक रूपान्तरण, घरेलु ठाउँलाई व्यावसायिक ठाउँमा रूपान्तरण, उपभोग ढाँचाको पुन: आकार, सहरी ठाउँहरूको रूपान्तरणलाई संक्षिप्त रूपमा उल्लेख गरिएको छ तर कहिल्यै उपयुक्त विश्लेषण प्राप्त हुँदैन। निष्कर्ष पनि अचानक आइपुग्छ, जसले पाठकलाई आजको नेपालमा यो सम्पर्क (encounter) -ले के अर्थ राख्छ भन्ने स्पष्ट धारणा नदिई छोड्छ।
समग्रमा, पुस्तकले आधा शताब्दीमा नेपालमा पर्यटनले जीवन, जीविकोपार्जन र भूदृश्यलाई कसरी पुनर्संरचना गर्यो भन्ने कुराको सशक्त विश्लेषण प्रदान गर्दछ। अझ महत्त्वपूर्ण कुरा, यसले दार्जिलिङ, लद्दाख र सिक्किम जस्ता छिमेकी हिमाली क्षेत्रका विद्वानहरूले अपनाउन सक्ने ढाँचा स्थापित गर्दछ। यी प्रश्नहरू: पर्यटनले कसरी भूमि, श्रम, सहरीकरणलाई पुन: आकार दिन्छ, भूमि प्रयोगलाई रूपान्तरण गर्छ, र पाहाडी समाजमा सामुदायिक स्थानलाई पुन: आकार दिन्छ, धेरै हदसम्म सम्बोधन गरिएको छैन। फार आउटले यी विषयहरूलाई दृढता र ऐतिहासिक गहिराइका साथ प्रस्तुत गर्दै भविष्यमा हुने अनुसन्धानका लागि आवश्यक आधार तयार पार्छ।
पोखरामा भएको मेरो हालको अनुभवले एउटा सानो तर अर्थपूर्ण निष्कर्ष प्रस्तुत गर्छ। बेलुकाको खानाका बेला मैले स्थानीय कलाकारहरूलाई परम्परागत पोशाकमा नेपाली लोकगीतमा नाचिरहेको देखेँ जुन विश्वव्यापी पर्यटनले माग गर्ने प्रामाणिक सांस्कृतिक सम्पदाको छवि हो। अन्त्यतिर, अर्को टेबलमा रहेका जर्मनहरूले गीतका लागि अनुरोध गरे। कलाकारहरूले सहमति जनाए। केही मिनेटमै, पैदल यात्रा गर्ने बुट लगाएका पर्यटकहरूले नेपाली नृत्यका सौम्य चालहरूलाई प्रतिस्थापन गरे, हातहरू फराकिला फैलाइए, खुट्टाहरू उचालिए, र कोठाभरि जर्मन लोकगीतको माहोल फैलियो। त्यो क्षण न्यानो, सहज र आनन्ददायी थियो, जो धेरै टिपको साथ समाप्त भयो। यो पनि लिच्टीले चित्रण गरेको त्यही “सह–उत्पादन” नै थियो। पश्चिमी चाहनाले आफूले चाहेको कुरा स्पष्ट रूपमा व्यक्त गर्ने, नेपालीहरूले त्यसलाई पुरा गर्ने, र ती दुईबिचको अन्तरालमा केही नयाँ जन्मिने। विदेशी राज्य, हिप्पी आश्रय, ट्रेकरहरूको जङ्गली क्षेत्र जस्ता अघिल्ला सबै रूपहरू अहिले अझै परिष्कृत र प्याकेज गरिएको कल्पनामा रूपान्तरित भइसकेका छन्, तर संरचना भने उस्तै छ। फार आउटमा लिच्टीको ठुलो उपलब्धि भनेको यो प्रक्रिया नेपालको पर्यटन कथामा संयोग मात्र होइन—यही नै त्यो कथा हो भनेर देखाउनु हो। पोशाक परिवर्तन हुन्छ। जम्काभेट जारी रहन्छ। तर यो कसको सर्तमा टिक्छ?
डा. निर्वाण प्रधान कलकत्ता विश्वविद्यालयको नरसिंह दत्त कलेजमा राजनीतिशास्त्र पढाउँछन्। कक्षाकोठा बाहिर, उनी चर्चको इतिहास र पुरानो नियम पढ्छन्, सक्दो दौडन्छन् र सिक्किममा मानसिक स्वास्थ्य सहयोगमा काम गर्ने लुमोस पहलमा योगदान गर्छन्।


Designed by NWD.