Menu
Book Review

मौनताहरूका बिच र त्यस उताका लेखनहरू 

Review by
जेनी बेन्टले

बिनिथ म्याग्नोलिया स्काइज: राइटिङ्स फ्रम सिक्किम एन्ड दार्जिलिङ हिल्स 

सम्पादन: मोना छेत्री र प्रभा राई। जुबान (२०२५)। ISBN: 9788198792785 (हार्डब्याक)

जब मलाई मोना छेत्री र प्रभा राईद्वारा सम्पादित पुस्तक बिनिथ म्याग्नोलिया स्काइज: राइटिङ्स फ्रम सिक्किम एन्ड दार्जिलिङ हिल्स को समीक्षा गर्न निमन्त्रणा गरियो, मेरो पहिलो सहज वृत्ति यसलाई एउटा परम्परागत प्राज्ञिक आलोचनाको रूपमा हेर्ने थियो। तर जब म यसका पन्नाहरू पल्टाउँदै गएँ, त्यो ढाँचा अपर्याप्त महसुस हुन थाल्यो। यो सङ्ग्रहले मसँग मेरा प्राज्ञिक वा पेसागत भूमिकाभन्दा धेरै पर गएर संवाद गर्‍यो। यसले मलाई एकजना साहित्यिक आख्यानको पाठक, एउटी नारी, एउटी बुहारी, एउटी श्रीमती र आमा, एकजना आप्रवासी, र दार्जिलिङलाई घर मान्ने व्यक्तिको रूपमा गहिरो प्रभाव पार्‍यो। बिनिथ म्याग्नोलिया स्काइज  धेरै अर्थमा एउटा दुर्लभ रत्न हो: यो निस्संकोच, मर्मस्पर्शी, पीडादायक र अत्यधिक स्मरणीय छ। सिक्किम र दार्जिलिङ पाहाड अनि त्यसभन्दा बाहिर एकजना महिला हुनुको अर्थ बुझ्न चाहने जो कोहीका लागि यसले अनगिन्ती सम्भावनाहरू प्रदान गर्दछ।

यस पुस्तकले हिमाली भेगको जीवनमाथि महिलाहरूको दृष्टिकोणलाई सीमित नबनाई प्राथमिकताका साथ अघि सार्ने एउटा शक्तिशाली सङ्ग्रह प्रस्तुत गर्दछ। आफ्नो भूमिकामा, सम्पादकहरूले एउटा सरल लाग्ने तर गहिरो प्रश्न खडा गरेका छन्: संसार परिवर्तन हुँदै जाँदा, के हिमालयका महिलाहरूका लागि पनि यो परिवर्तन भइरहेको छ—र यस्तो परिवर्तनले परम्परा, पितृसत्तात्मक संरचना, असमानता र हिंसाका साथै महिलाको एजेन्सी (कार्य गर्ने क्षमता) र आत्म-परिभाषाका लागि के अर्थ राख्न सक्छ? मलाई सुरुमा मलाई सबैभन्दा पहिले प्रभाव पार्ने कुरा अध्यायहरूको सङ्ख्या र योगदानकर्ताहरूको सहभागिता थियो, जसले ४२ जना महिला लेखकहरूलाई एकै ठाउँमा ल्याएको छ। यसले यस कृतिको समय सान्दर्भिकतालाई सङ्केत गर्‍यो र मलाई गर्वले भरिदियो—यी पाहाडका महिलाहरू बोल्न चाहन्छन्, उनीहरू सिर्जना गर्न, व्यक्त गर्न र साझा गर्न चाहन्छन्। अनि उनीहरूले आफ्नो कार्य यति गुणस्तरका साथ गरेका छन् जसले मलाई ३०३ पृष्ठहरूसम्म बाँधिरह्यो। सरसर्ती हेर्दा, यसमा प्राज्ञिक निबन्धहरू—जुन प्राय जीवनी र आख्यानात्मक अन्तर्वार्तामा आधारित छन्—सँगसँगै गद्य आख्यान, आत्मपरक निबन्धहरू र कविताहरू समावेश छन्। केही रचनाहरूमा तस्बिर वा कलाकृतिहरू पनि छन्। एउटै पुस्तकभित्र विभिन्न लेखन शैलीहरू र ज्ञान उत्पादनका वैकल्पिक तरिकाहरूप्रतिको यस्तो खुलापन दुर्लभ र समृद्ध छ। साथै, सम्पादकहरूले स्थानीय भाषाहरूको सट्टा अङ्ग्रेजीलाई मात्र प्राथमिकता दिएर अभिव्यक्तिलाई दबाएका छैनन्। यद्यपि पुस्तक अङ्ग्रेजीमा प्रकाशित छ, धेरै रचनाहरू नेपालीमा पेस गरिएका थिए र पछि अन्य योगदानकर्ता र सम्पादकहरूद्वारा अनुवाद गरिएका थिए, जसले ज्ञान-निर्माणमा अनुवादको भूमिकालाई महत्त्व दिनुका साथै यस सङ्ग्रहलाई महिलाहरू बिचको सहकार्य र ऐक्यबद्धताको थलोको रूपमा स्थापित गरेको छ।

यी सम्पादकीय निर्णयहरू केवल प्राविधिक मात्र होइनन्; यी आफैमा एउटा वक्तव्य हुन्। तिनले अस्तित्वको विविधता, आत्म-अभिव्यक्ति र ज्ञान सिर्जनालाई सम्मान गर्दछ। सिक्किम र दार्जिलिङ पाहाडको सन्दर्भमा यो सशक्तिकरण गर्ने र अति आवश्यक कदम हो। यो क्षेत्र जटिल र विविध छ, जुन बदलिँदो सिमाना, निष्ठा र मानिसहरूको इतिहासले आकार लिएको छ। यी राजनीतिक र जातीय-सांस्कृतिक जटिलताहरू सांस्कृतिक, ऐतिहासिक र पुर्ख्यौली आख्यानहरूलाई सपाट बनाउने वा एकरूपता थोपर्ने दबाउहरूसँगै अस्तित्वमा छन्। यस पृष्ठभूमिको विरुद्धमा, यो सङ्ग्रहको सम्पादकीय आचार महिलाहरूलाई निडर भई र  सेन्सरसिप बेगर आफ्ना कुरा आफै भन्न दिनु, यसको मूल मन्त्र जस्तो महसुस हुन्छ।

मलाई सबैभन्दा बढी प्रभाव पार्ने कुरा हरफहरूका बिचमा वा भित्र लेखिएका मौनताहरू थिए। यी मौनताहरूले मलाई आक्रोशित, दुखी र अप्रत्याशित रूपमा कमजोर बनाए, किनकि तिनीहरू मेरो आफ्नै दैनिक जीवनका केही अनुभवहरूसँग मेल खाए। मैले यिनै मौनताहरू मार्फत नै महिलाका कथाहरू अक्सर भनिन्छन्, र यो सङ्ग्रहले त्यो काम असाधारण इमानदारीका साथ गरेको छ भन्ने महसुस गरेँ। मैले यी रचनाहरूलाई, कसरी महिलाहरूलाई चुप लगाइन्छ, उनीहरू कसरी आफै चुप लाग्छन्, र उनीहरूले अरूलाई कसरी चुप लगाउन सक्छन्- यही दृष्टिकोणबाट पढेँ। त्यसैले, म पूर्ण रूपमा सचेत छु, मैले यी लेखहरूबाट झिकेका हरफ र प्रसङ्गहरू—र जसरी म तिनलाई पुनः बुन्दैछु— त्यसले मेरो आफ्नै व्याख्यात्मक दृष्टिकोणलाई प्रतिविम्बित गर्छ। जसले लेखकहरूले चाहेका सम्भावनाहरूको पूर्ण फाँटलाई समेट्न सक्दैन, न त यी लेखाइहरूले आमन्त्रित गर्ने सबै व्याख्याहरूलाई नै समेट्छन्।

मौनताले धेरै रूप लिन्छ। यो सामाजिक स्वीकृति र मान्यताबाट उब्जिन्छ, यो प्रतिबन्धहरू, आन्तरिक संयम वा व्यवहारद्वारा थोपिन्छ। महिलालाई पुरुषद्वारा स्वामित्वमा राख्ने, प्रयोग गर्ने, फ्याँक्ने र पुनः प्रयोग गर्ने सम्पत्तिको रूपमा व्यवहार गर्ने परम्पराहरूको मौन स्वीकृति यी आख्यानहरूमा उनिएका छन्। त्यसैगरी, जातीय हिंसाको मौन अस्तित्व पनि देखिन्छ, जुन हितैषी गौतमको "कान्छी" (पृष्ठ ९०) मा बालबालिकाको निर्दोष प्रश्नमा झल्किन्छ: " टीका लगाएर, हजुरआमाले किन हाम्रो मात्रै खुट्टा नढोग्नु भएको?"। यी रचनाहरूले यस्ता गहिरो जरा गाडेका अन्यायहरूलाई मेरो आफ्नै घरको संरचनामा छिर्नबाट रोक्न मैले गरेका आफ्नै थकित प्रयासहरूको याद दिलाउँछन्।

आश्चर्यको कुरो (वा सायद होइन?) धेरै रचनाहरूले पुरुष यौन हिंसाको वरिपरि रहेको सार्वजनिक मौनतालाई समेटेका छन्—एउटा यस्तो मौनता जसले हिंसालाई सामान्य बनाउँछ, जुन अक्सर रक्सीले उत्प्रेरित हुन्छ, र जसले महिलालाई कमजोर र आश्रित बनाउँछ, जहाँबाट मौनता वा मृत्यु बाहेक अरू उम्कने कुनै बाटो हुँदैन । पुरुष हिंसाको सामान्यीकरण महिलाको पवित्रता र अपवित्रताको धारणासँग गहिरो रूपमा जेलिएको छ, जुन आन्तरिक लज्जा र पीडितलाई नै दोष दिने रूपमा विष्फोटित हुन्छन्। यहाँ, मलाई आवरणमा रहेको म्याग्नोलिया (चाँप) को याद आउँछ। हिमालयमा यो बिरुवा मर्यादा र पवित्रतासँग जोडिएको हुनाले, यो महिलाको शरीरमाथि थोपिएका विरोधाभासपूर्ण दबाउहरूको उपयुक्त प्रतीक बन्छ: पवित्र स्थलको रूपमा पुजिने, तर निरन्तर निगरानी र पुरुषहरूको हिंस्रक नजरको भार खप्नुपर्ने। यस सङ्ग्रहमा आमा र छोरीहरूको बारेमा पढ्दै गर्दा, एकटी आमाको रूपमा, म पनि सधैँ मेरी छोरीको रक्षा गर्न सक्षम नहुन सक्छु भन्ने कुराले भित्रभित्रै एउटा चिसो भय बोकेर हिँड्छु। 

आकांक्षाहरू र सपनाहरूको खोज धेरै रचनाहरूमा बुनिएको छ, जुन वसन्त र नयाँ सुरुवातको घोषणा गर्ने म्याग्नोलियाको फुलजस्तै आशामा आधारित छ। यद्यपि, बारम्बार, यी लेखहरूले कसरी महिला शरीरमाथिको नियन्त्रणले—र यसको मौन तथा सामान्यीकृत कार्यान्वयनले—महिलाका विकल्पहरूलाई नियमन गर्छ, उनीहरूको सपनालाई आकार दिन्छ र उनीहरूको काल्पनिक क्षितिजलाई साँघुरो बनाउँछ भन्ने कुरातिर देखाउँछ। अविनम मगरले एक आप्रवासी महिला श्रमिक, 'बडी' -लाई सोधेका प्रश्नहरूले यसलाई मार्मिक रूपमा समेटेको छ: "[...] के तपाईँसँग पर्याप्त विकल्पहरू छन्? के तपाईँले तिनको सही प्रयोग गर्ने पर्याप्त अवसर पाउनु भएको छ? (७१) [...] बडी, के तपाईँको जीवन अब तपाईँको सपनाहरूमा पनि फैलिएको छ? के यी अँध्यारा रातजस्ता दृष्टिहरूले तपाईँका आकांक्षाहरूलाई मारिसके?" (७३)। महिला शरीरमाथिको नियन्त्रणले महिलाको चाल, गति र आत्म-धारणालाई नियमन गर्छ, जसले संसारलाई, वा कम्तीमा सहरहरूलाई, "ती सपनाहरूको चिहान" बनाउँछ। महिला शरीरलाई नियन्त्रण गर्ने आवश्यकता पुरुषवादी दृष्टिकोणमा गहिरो जरा गाडेर बसेको छ जसले महिलालाई केवल कामवासनाको वस्तुमा सीमित गर्छ। राधा पाण्डेले यो दृष्टिकोणलाई चुनौती दिँदै पाठकहरूलाई पुरुष कामवासना भन्दा पर हेर्न र महिलामा प्रेम, प्रकृति र सृष्टिको सम्भावना पहिचान गर्न आग्रह गर्छिन्। उनको आह्वानले नारी शक्ति र सौम्यतालाई जगाउँछ, जुन गुणहरू बिनीथ म्याग्नोलिया स्काइज -का धेरै आख्यानहरूमा गुन्जिन्छन्।

सहनशीलता शक्तिमा आधारित हुन सक्छ, जसरी मुङ्गा राईको ‘वुमन अफ कलि युग’- मा उल्लेख छ: "म आत्मशक्तिको प्रतीक हुँ, मेरो आत्माको सहनशीलता नै मेरो शक्ति र विश्वास हो, [...] मेरो सहनशीलता मेरो रक्षक हो, म एक हुँ, किनकि म एक्काइसौँ शताब्दीकी नारी हुँ।" (२३३)। यसले सहनशीलता र अनुकूलनलाई जोड दिन सक्छ, जसले सबैभन्दा चुनौतीपूर्ण अनुभवहरूसित बाँचेर पनि जीवनलाई बाँच्न लायक वा फल्न-फुल्न योग्य बनाउँछ। तर फेरि पनि, मौनताले सहनशीलताको भ्रामक अँध्यारो पक्षलाई पनि उजागर गर्छ। महिलाहरूले चाहे कहिलेकाहीँ आफ्नै सपनाहरूमा अल्झिएर ठेस लाग्दै भए त़ापनि, 'दुःख', पीडा र वेदनालाई सौम्यता र मर्यादाका साथ बोक्ने अपेक्षा गरिन्छ, स्थानीय सन्दर्भमा विशेष गरी असल 'बुहारी' वा आज्ञाकारी छोरीको भूमिकामा। यी स्थानीय विविधताहरूले महिला सहनशीलताको विश्वव्यापी गुणगानमा—महिलाहरूलाई पीडाका मौन वाहकका रूपमा हेर्ने दृष्टिकोणमा—अर्को आयाम थप्छन्।

मौनता आत्म-नियन्त्रण वा आफ्नो वास्तविक स्वरूप वा अरूको अपेक्षा पुरा गर्ने इच्छाका कारण लुकाइएको भावनाबाट पनि उत्पन्न हुन्छ। यो सबैभन्दा बढी ती महिलाहरूले महसुस गर्छन् जो विषमलैङ्गिकता आधारित (heteronormative) लैङ्गिक भूमिकाहरूमा अटाउँदैनन् वा जो "नेपाली" को बहुसङ्ख्यक समुदायमा पर्दैनन्। यस सन्दर्भमा, म मेरो फरकपन—सायद मेरो विशेषाधिकार—प्रति सचेत हुन्छु। यद्यपि मेरो पालनपोषण लैङ्गिक पूर्वाग्रहबाट मुक्त थिएन, मलाई यी पाहाडका धेरै महिलाहरूबाट अपेक्षा गरिए जस्तो मेरो शरीर, इच्छाहरू वा आकांक्षाहरूलाई नियमन गर्न सिकाइएको थिएन। यस कारणले गर्दा, म यी सामाजिक अपेक्षाहरूका बिचबाट फरक ढङ्गले अघि बढ्छु—सायद किनकि तिनले ममाथि कम भार पार्छन्—मेरो 'पराईपन' र स्वतन्त्रताले एक प्रकारको सुरक्षा प्रदान गर्दछ। यो चेतनाले ती महिलाहरूप्रति मेरो सम्मानलाई अझ गहिरो बनाउँछ जो निर्धारित भूमिकाहरू भन्दा फरक जीवन रोज्छन्। उदाहरणका लागि, एलियन फोनिङले ठुलो संवेदनशीलताका साथ एक महिलाले आफ्नै बाटो तय गर्नुको अर्थ के हो, र त्यस्ता छनौटहरूले निम्त्याउने सबै जोखिम र परिणामहरू के हुन् भन्ने कुरा चित्रण गरेकी छिन्।

मौनताले महिलाहरूको ज्ञानलाई पनि मेटाउँछ, मानौँ उनीहरूको महत्त्व बिर्सिइएको छ र सृष्टि तथा प्रजनन् सम्बन्धी उनीहरूको गहिरो ज्ञान अर्थहीन छ। महिलाहरूले आफ्ना पुर्खाहरूको ज्ञान बोक्छन् र त्यसलाई मूर्त रूप दिन्छन्, तर यसलाई प्रायजसो बेवास्ता गरिन्छ, व्यक्त गर्न लायक नभएको, धेरै सानो वा धेरै साधारण मानिन्छ, जसलाई नाङसेल शेर्पा र सुभाङ्गी खड्काको रचनामा नेपालका आप्रवासी महिलाहरूले सङ्केत गरेका छन्। मृदु थुलुङ राईले तस्बिरहरूसँगको कुराकानी मार्फत आफ्नी हजुरआमाको वरिपरि रहेको मौनतालाई तोड्ने पुलको काम गर्छिन्, जबकि अमला सुब्बा छेत्रीले पुर्ख्यौली रूपमा हस्तान्तरित ज्ञानको क्षतिलाई प्रतिवाद गर्दै पहिलो लिम्बू महिला, मुजिङ्ना खियाङ्माको कथाको पुनर्लेखन गर्छिन्। त्यसैगरी, एलियन फोनिङले पुर्ख्यौली ज्ञान हस्तान्तरण गर्न जिम्मेवारी, सम्मान र श्रद्धाको आवश्यकता पर्छ भन्ने कुरोलाई स्मरण गराउँछिन। एक सामाजिक-सांस्कृतिक मानवशास्त्रीको रूपमा, यी रचनाहरूले मलाई छुन्छन्, किनकि यिनले महिलाको ज्ञानलाई केन्द्रमा राख्छन्, महिला वंशजका रेखाहरू पहिल्याउँछन्, र देखाउँछन् कि कसरी आजका महिलाहरूले आत्म-प्रतिबिम्बन र दायित्वशीलताका साथ वैकल्पिक तरिकामा ज्ञानको सिर्जना र प्रसार गरिरहेका छन्।

यी मौनताहरूको बिचमा र मार्फत, यो सङ्ग्रहले महिलाहरू बिचको सम्बन्धलाई तिनका सबै जटिलताहरू सहित उजागर गर्छ, जसलाई अप्सरा दाहालको कविता "मीराबाई सेज 'लिसन राधा” -मा काव्यात्मक रूपमा कैद गरिएको छ। यद्यपि यी सम्बन्धहरूले पितृसत्तात्मक मान्यताहरूलाई पुनरुत्पादन गर्न र संरचनात्मक हिंसा तथा पीडालाई हस्तान्तरण गर्न सक्छन् (जुन सासूको भूमिकामा शैलीगत रूपमा देखिन्छ), तिनले समर्थन र दायित्वपूर्ण देखभाललाई पनि प्रकट गर्छन्—चाहे त्यो अर्को पुस्तालाई उनीहरूको बन्धनबाट मुक्त गर्ने इच्छाका साथ होस्, परम्परागत 'सङ्गिनी' गीतहरूको ऐक्यबद्धताका साथ होस्, वा थोत्रा हरियो पर्दा पछाडिको साझा हाँसोमा होस्। केही रचनाहरूले पितृसत्ताको तत्काल घेराबाट मुक्त महिला सम्बन्धहरूलाई केन्द्रमा राख्छन्—पोषण, सुरक्षा र अन्तर-पुस्ताको हेरचाहका सम्बन्धहरू, चाहे ती जेलिएका र जटिल नै किन नहोउन्, जुन प्याकिङ गरिएका खाद्य, सिसाका बट्टामा राखिएका अचारहरू र सम्झनाहरूमा हुन्छन्, वा पुर्ख्यौली आत्माद्वारा संरक्षित हुन्छन्।

पीडा र हिंसाभन्दा पर, यी लेखहरूमा बुनिएका मौनताहरूभन्दा पर, म बिनिथ म्याग्नोलिया स्काइज -लाई सिक्किम र दार्जिलिङ पाहाड भित्र र बाहिर महिलाहरूको ऐक्यबद्धता र निदान हुने ठाउँहरूको कल्पना गर्न र आकार दिन सुरु गर्न पाठकहरूलाई दिइएको निमन्त्रणाको रूपमा पढ्छु। यो स्वीकार गर्न लायक निमन्त्रणा हो।

About the author

जेनी बेन्टले भारतीय हिमाली क्षेत्रमा आधारित एक स्वतन्त्र अनुसन्धानकर्ता हुनुहुन्छ, जसले जुरिच विश्वविद्यालयबाट सामाजिक-सांस्कृतिक मानवशास्त्रमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ। मुतुन्ची युवाहरू बिचको कथा वाचन र सशक्तिकरण सम्बन्धी एक चलिरहेको परियोजनामा, उहाँ धेरै आदिवासी विद्वानहरू, ज्ञान रक्षकहरू र कलाकारहरूसँग सहकार्य गर्नुहुन्छ। उहाँ गान्तोक, सिक्किम (भारत) मा आधारित बहु-अनुशासनात्मक डिजाइन एजेन्सी 'इकोस्ट्रिम' र विज्ञान तथा प्रविधि विभाग, सिक्किम सरकारका लागि सल्लाहकारको रूपमा संलग्न हुनुहुन्छ। यसका साथै, उहाँ 'स्विस जर्नल फर सोसियो-कल्चरल एन्थ्रोपोलोजी' को प्रबन्धक र 'स्विस एन्थ्रोपोलोजिकल सोसाइटिज इन्टरफेस कमिसन फर इन्गेज्ड एन्थ्रोपोलोजी' को सदस्य हुनुहुन्छ।

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram