सन् १९५९ मा जब चीनले तिब्बतलाई आफ्नो अधिनमा लियो, दलाई लामाको निर्वासनपछि सिक्किममा तिब्बती शरणार्थीहरूको बाढ लाग्न शुरू भयो । उनीहरूलाई जमिन दिनु अनि वैकल्पिक रोजगारको बाटो खोजिदिनु आवश्यक थियो। हजारौँ मानिसहरूलाई भारतको हिमाली राज्यहरू अनि सिक्किमबीचको सडक निर्माण कार्यमा रोजगार पनि दिइयो। सन् १९६२ मा शरणार्थी पुनर्स्थापना बोर्डलाई लाग्यो, चिया बगानको स्थापना यसको निम्ति सही पहल हुनेछ। त्यतिबेलाका डिभिजनल फरेस्ट अफिसर श्रीमान के.सी प्रधान, जसलाई राबोङ अनि सोसिङ(अहिले केउजिङ)बीचको पौराणिक जङ्गल फाँड्न निम्ति प्रभारी पनि नियुक्त गरिएको थियो, उनी भन्छन्, रूखहरू यति पूराना थिए कि तिनीहरूलाई जमिनबाट उखेल्नको निम्ति डाइनामाइटसम्म प्रयोग गर्नु परेको थियो।
तिब्बतको विभिन्न प्रान्त अनुसार तिब्बती शरणार्थीहरू पाँचवटा समूहमा बाँडिएका थिए। तिनीहरूले जङ्गल फाँड्न अनि चियाका गाछ लगाउन असलसँग काम गरे तर उनीहरूलाई चियापत्ती टिप्न अनि श्रमिकको रूपमा काम गर्न आदत थिएन। त्यसबाहेक राबोङको उच्चाई समुद्री तहदेखि २१३३ मिटर थियो जो चिया खेतीको निम्ति अनुकुल थिएन। त्यसकारण हरेक परिवारलाई दुई ऐकर जमिन दिइयो अनि चिया खेतीको विकल्पलाई सन् १९६६ मा वर्जित गरियो। तिब्बतीहरूको मिजास व्यावसाय गर्नको निम्ति उपयुक्त थियो। उनीहरूले सफलतापूर्वक अलैँची खेतीमाथि कब्जा जमाए। त्यतिबेला राबोङमा प्रशस्त मात्रामा अलैँचीको उब्जनी हुन्थ्यो।
तर त्यतिन्जेल चिया बगानको स्थापनाको विचारले गहिरो जरा गाडिसकेको थियो। सन् १९६९ मा तिमीको बन क्षेत्रलाई चिया खेतीको निम्ति नयाँ स्थानको रूपमा चिन्हित गरियो। बन क्षेत्रसँग टाँसिएको २०० शेर्पा परिवार बसोबास गर्ने पाबुङ नामको एउटा गाउँ थियो, जहाँ मिसनरी भवन वरिपरि वन विभाग अन्तर्गत दस ऐकर नर्सरी थियो। यो भवन पछि गएर डीएफओ(दक्षिण अनि उत्तर प्रान्त)-को दफ्तर अनि आवास बन्यो। ब्रिटिस शासनकालमा ती स्कटिश मिसनरी भवनहरू थिए जसलाई सन् १९५४ सिक्किम सरकारले आफ्नो अधिकारमा लियो।
चिया खेती यस स्थितिमा चलिरहेको बेला बगान चलाउन अनि उत्पादनको काम दार्जिलिङका व्यवसायिक ब्रिटिस चिया खेतीका मालिकहरूको हातमा दिइयो- ट्रिप, डिक्सन अनि टेडी योङ जो ती पहाडहरूका अन्तिम बगान मालिकहरू थिए।
लगभग ५०० ऐकर वन क्षेत्रलाई चिया खेती अन्तर्गत ल्याउने, क्षेत्रका मानिसहरूलाई सहकारीको रूपमा सङ्गठित गर्ने अनि टेन्डोङ पहाडदेखि टिस्टाको किनारसम्मको क्षेत्रभित्र पर्ने आफ्नो जमिनमा चियाको गाछ रोप्न उनीहरूलाई प्रोत्साहित गर्ने शुरूवाती योजना थियो। तर त्यस योजनालाई खारेज गरियो। वन क्षेत्र सँगसँगै पाबुङबाट पनि भूमि अधिग्रहण गर्ने सरकारले निर्णय लियो। ती परिवारहरूलाई अलैँची खेतिको निम्ति उपयुक्त ठानिएको पाबुङको अर्कोपट्टि दुई ऐकर जमिन दिइयो। छोग्याल पाल्देन थोण्डुप नाम्यग्यालले बीज मार्फत चिया खेती गर्नको साटो कलम खेती गर्न रूचाउँथे। तर त्यतिबेला चियाको कलमको आधिकारिक आपूर्तिको व्यवस्था थिएन। त्यसलाई प्राप्त गर्ने उपाय खोज्ने काम के.सी प्रधानलाई सुम्पियो। व्यक्तिगत रूपमा धेरैजना चिया खेती गर्ने कृषकहरूसँग उनको परिचय थियो, त्यसकारण धेरैजनासँग सम्पर्क गरेर उनले यस कामको थालनी गरे – बार्नसबेग चिया बगानका सोनाम अतुक, गिङ चिया बगानका जीवन प्रधान, तकभर चिया बगानका हरिश मोक्तान अनि अन्यसँग उनको सम्पर्क बन्यो। माझिटार अनि जोरथाङको रेञ्ज अधिकारीहरूको सहयोगमा उनले दार्जिलिङका चिया बगानहरूबाट चियाको कलम ल्याउन शुरू गरे।
चिया खेती यस स्थितिमा चलिरहेको बेला बगान चलाउन अनि उत्पादनको काम दार्जिलिङका व्यवसायिक ब्रिटिस चिया खेतीका मालिकहरूको हातमा दिइयो- ट्रिप, डिक्सन अनि टेडी योङ जो ती पहाडहरूका अन्तिम बगान मालिकहरू थिए। सन् १९८० मा टेडी योङले तिमी छोडे। त्यसपछि साधारण प्रबन्धकहरूको शृंखला शुरू भयो जसको रेखदेखमा तिमी चिया बगानले प्रगति शुरू गऱ्यो। मोहन चामलिङ लामो समयसम्म तिमीमा थिए जसले उत्पादनको विकासको निम्ति धेरै काम गरे। उनको कार्यकालको समय अघिबाट अनुकुल नमानिएको क्षेत्रहरूलाई समेत चिया बगानभित्र ल्याएर यसको बिस्तार गर्ने काम भयो।
आजको दिन, चिया बगानसँग ५०० ऐकरको क्षेत्र छ अनि यसमा ४०० श्रमिकहरू काम गर्छन्। सिक्किम सरकारले स्थापना गरेको चिया बोर्ड अन्तर्गत चिया बगानले कार्य गर्छ। यस किसिमको वृहत भुभाग भएको सिक्किममा यो एकमात्र चिया बगान हो जहाँबाट उत्पादन भएको चियापत्ति भारत अनि विश्वभरि उत्तम दर्जाको रूपमा स्वीकार गरिन्छ। स्वीट्जरल्याण्डको मार्केटोलजी संस्थान(आइएमओ)ले जैविक चिया उत्पादनको दिशानिर्देश दिएपछि अप्रेल सन् २००५देखि तिमी चिया बगानले यसको पालना गरिरहेको छ, जसको कारण सन् २००८ मा चिया बगानलाई जैविक चिया बगानको रूपमा प्रमाणित समेत गरिएको छ। जैविक उत्पादन विधि अप्नाउन थालेपछि उत्पादन लागत घटेको पनि छ। उनीहरू गाईको मल, नीम केक अनि कृमि खाद(भर्मी कम्पोस्ट) जस्ता जैविक उर्वरक तत्व(बायो-फर्टिलाइजर) प्रयोग गर्छन्। आइएमओको बेङलोर एकाईले हरेक साल उत्पादनको जाँच गरेर आइएमओ प्रमाणपत्र जारी गर्छ। युरोपका धेरै देश अनि जापानले जैविक प्रणालीमा उत्पादन हुने चियामा चासो देखाइरहेका छन् जसका कारण तिमी चियाले ती देशहरूमा सहज तरिकाले बजार पाउँछ। पहिले तिमी चियाको सबभन्दा ठूलो उपभोक्ता रसिया थियो अनि चिया उद्योग रसियालाई आफ्नो स्वाद चखाउन उत्साहित थियो। शुद्ध ‘गोल्डन फ्लावरी ओरेञ्ज पिको #1 (टीजीओएफपी1) सहित ब्रान्ड नाम ‘तिमी चिया’लाई उत्कृष्ट गुणस्तरको चिया मानिन्छ। गुणस्तरमा द्वितीय लोकप्रिय ब्रान्ड ‘सिक्किम सोल्जा’ पर्छ जसको पछि ‘मिस्टिक’ अनि ‘कञ्चनजङ्घा चिया’ आउँछन्। ‘अर्थोडक्स डस्ट टी’को रूपमा पनि यसलाई बेचिन्छ। चिया बगान कर्मचारी उपभोक्ता सहकारी समाज लिमिटेडले यी सामाग्रीहरूलाई तिमी चिया कारखाना नजिक एउटा पसलमा बेच्छन्।
चिया बगानबाट उत्पादन भएको लगभग सत्तर प्रतिसत चियाको कलकत्तामा लिलामी गरिन्छ अनि रहल पच्चिस प्रतिसत चियालाई प्याकेज गरिएको चियाको रूपमा घरेलु बजारमा बिक्री गरिन्छ। यसको निर्यातको सम्भावनामा बिस्तारै बढोत्तरी भइरहेको छ अनि चिया बोर्डले अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा यसलाई जोड्नको निम्ति कार्य गरिरहेको छ। सिक्किममा चिया उद्योग बढाउनको निम्ति सिक्किम सरकारको उद्योग विभागले सिक्किममा नयाँ चिया बगानको स्थापना गर्न उद्यमीहरूलाई आमन्त्रण गरिरहेको छ। भारत चिया बोर्डले सन् १९९४ अनि १९९५- लगातार दुई साल तिमी चिया बगानलाई ‘सर्व भारतीय गुणस्तर पुरस्कार’ले पुरस्कृत गरिसकेको छ। तिमी चियालाई धेरै सम्मान गरिन्छ अनि आफ्नो गुणस्तरको निम्ति राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका अनेक पुरस्कार यसले हात पारेको छ। व्यवसाय सञ्चानल गर्न एकीकृत एप्लीकेशन चलाउन स्वीकृति दिने व्यवसाय व्यवस्थापन सफ्टवेयर उद्यम संसाधन योजना(इआरपी)लाई चिया उत्पादनको शुरूवातदेखि बजारिकरणसम्म चिया बगानको कार्यपद्धतिलाई सरल गर्न खटाइएको छ। उत्पाद योजना, विकास, निर्माणको प्रक्रियाजस्ता सञ्चानलका हरेक पक्षलाई यस सफ्टवेयरले एकीकृत गर्छ। चिया उत्पादनमा विभिन्न स्वादको विकासमाथि निगरानी राख्न चिया बगानले चिया विशेषज्ञको सेवाहरूलाई भाडामा लिएको छ। आजको स्वादलाई ध्यानमा राखेर उत्पादन एकाईले वाइट टी, ग्रीन टी अनि ओलोङ टी जस्ता विभिन्न स्वादको चियाको उत्पादन गरिरहेको छ।
तिमी चिया बगान अद्वितीय छ, यसको कारण केवल राज्यले चलाउने उद्योग भएर मात्र होइन, तर आफ्नो गुणस्तरीय उत्पादनले राज्य अर्थविभागको निम्ति यसले ल्याउने ठूलो रासी पनि अर्को कारण हो।
समुद्री तहदेखि १४००देखि २००० मिटरसम्मको क्षेत्रमा रोपिएका चिया गाछले हरेक टिपाईको याममा अप्रतिम स्वादहरूको चरित्र झलकी पेस गर्छन्। सालमा टिपाईका चार याम हुन्छन्- मार्च अनि अप्रेल(वसन्त)बीचको पहिलो फ्लसमा टिपिएको चियाको सुगन्ध मधुर अनि फुलजस्तो हुन्छ; मई अनि जून महिना(गृष्म)बीचको दोस्रो टिपाईमा एक विशेष स्वाद हुन्छ जसलाई मस्काटेल भनिन्छ, यसको जापानी बजारमा ठूलो माग छ; जुलाई अनि अगस्त महिना(वर्षा)बीचको तेस्रो टेपाईले सुखदायक अनि मृदु पेय पदार्थ दिन्छ; सितम्बर अनि अक्टोबर महिना(शरद)बीचको चौंथो टिपाईले दिएको पेय पदार्थ सर्वगुण सम्पन्न हुन्छ अनि मसलाहरूको न्यानो स्वाद झल्कन्छ। टिपाई नहुने महिनाहरूमा श्रमिकहरू झारपात गोड्न अनि मलजन गर्नजस्ता पोषणका कार्य गर्छन्।
तिमी चिया बगान अद्वितीय छ, यसको कारण केवल राज्यले चलाउने उद्योग भएर मात्र होइन, तर आफ्नो गुणस्तरीय उत्पादनले राज्य अर्थविभागको निम्ति यसले ल्याउने ठूलो रासी पनि अर्को कारण हो। अनुक्रमिक प्रवन्धक अनि श्रमिकहरूको कठोर परिश्रम अनि समर्पण नभएको भए यसो हुन सम्भव थिएन। उद्योगको हरेक स्तरमा हुने सहकार्यको निम्ति यो एक दुर्लभ उदाहरण हो।
चिया बगानको शुरूवात गर्दा स्वर्गीय छोग्याल पाल्देन थेण्डोप नामग्याल अनि यस परियोजनासँग सम्बन्धित मानिसहरूसँग प्रबन्धक अनि श्रमिक- दुवै श्रेणीबीच रहेको तकनिकी ज्ञानलाई सही तरिकाले प्रयोग गर्ने दुरदृष्टि थियो। चुनिएका परिवारहरूलाई मात्र लिएर चिया बगानको सुरूवात भएको थियो। मनमाया भन्छिन्, पछिल्लो चालिस सालदेखि उनी तिमी चिया बगानमा काम गरिरहेकी छन्। जब आमा-बाबा अनि अन्य परिवारको साथ लागेर मङ्पू सिनकोना बगानबाट उनी यहाँ आइन्, त्यतिबेला उनी सानी थिइन्। त्यतिबेला नौ अथवा दस वर्ष पुगेका केटाकेटी समेतलाई काम गर्नको निम्ति बगानमा खटाइन्थ्यो। दैनिक ज्याला कम थियो- केटाकेटीको निम्ति एक रूपियाँ पाँच आना, महिलाहरूको निम्ति दुई रूपिँया अनि मरदहरूलाई दुई रूपिँया बाह्र आना दिइन्थ्यो। तर पछिल्लो केही वर्षमा वयस्कहरूको निम्ति ज्यालामा बढोत्तरि गरियो अनि बाल श्रम पूर्ण रूपले हटाइयो। आज पुरूष अनि महिला दुवैको निम्ति दैनिक ज्याला ३०० रूपिँया राखिएको छ। दार्जिलिङ अनि डुवर्सका श्रमिकहरूले पाउने दैनिक ज्याला १५० रूपियाँको तुलनामा यो ज्याला हितकारी छ।
श्रमिकहरू बगानभित्रको बस्तीमा बस्छन्। दुई सय परिवार १७ वटा खण्डमा बाँडिएर बसेका छन्। हरेक परिवारसँग एउटा घर अनि सागसब्जी रोप्नको निम्ति जमिनको सानो टुक्रा छ। उनीहरूमध्ये धेरैले गाई, बाख्रा अनि कुखुरा पनि पाल्छन्। यस किसिमको बसाईको हकदार बन्न परिवारको कमसेकम एकजना बगानमा काम गर्नुपर्ने हुन्छ। बगानमा शिशुगृह, पाठशाला अनि सामान्य बिमारको उपचार गर्ने चिकित्सालय पनि छ। गम्भीर रोगको उपचारको निम्ति सरकारी अस्पताल अनि प्राथमिक स्वास्थ केन्द्र उपलब्ध छन्। रोगीहरूलाई अस्पताल लिएर जानको निम्ति एम्बुलेन्स उपलब्ध छ। रासनको निम्ति श्रमिकहरूलाई सरकारी अनुदान प्राप्त छ। उनीहरू चुनावमा सहभागी बन्छन् अनि लोकतान्त्रिक शासनपद्धतिको हरेक अधिकार उनीहरूको निम्ति सुरक्षित छ।
बगानका धेरै कुरा कार्यरत प्रबन्धकमाथि निर्भर रहन्छ। हामी तिमी चिया बगान पुगेको बेला भारतीय पुलिस सेवाबाट उप महानिरीक्षक(डीआइजी)को अहोदा प्राप्त श्रीमति मृणालिनी श्रिवास्तव प्रबन्ध निर्षेदशको नियुक्तिमा काम गरिरहेकी थिइन्। श्रमिकहरूको निम्ति अलग भोजन क्षेत्रको निर्माण, सौंचालय अनि पेयजलको आपूर्तीजस्ता श्रमिक-हितको वृद्धिमा उनले अनेक काम गरिरहेकी छन्। उनले एक्सिस ब्याङ्कको सहायतामा श्रमिकहरूको निम्ति ब्याङ्क अनि विमा सेवा समेत आरम्भ गरिन्।
बगानमा जन्मिएका केही नानीहरू पछि गएर श्रमिकको रूपमा बगानमा सामेल बनेका छन् भने केही कार्यलयमा सहायक कर्मचारी अनि उत्पादन श्रेणीमा काम गरिरहेका छन्। तर धेरैजना नयाँ अवसरहरूलाई पछ्याएर अन्य ठाउँमा काम गरिरहेका छन्। उत्पादन अनि प्याकेज गर्ने कामको निम्ति चिया बगानले स्थानीय मानिसहरूलाई पनि रोजगार दिने गरेको छ।
भर्खरै तिमी चिया बगानमा काम गर्ने १९२ श्रमिक परिवारलाई दिइएको वासभूमि-धारणको अधिकार उनीहरूलाई अधिकार दिलाउने एउटा नयाँ कदम साबित भएको छ(सिक्किम क्रोनिकल, २०१९) त्यसकारण, तिमी चिया बगानका श्रमिकहरूलाई स्वामित्व दिने सिक्किम सरकारको प्रस्ताव राज्यद्वारा सञ्चालित यस उद्योगको निम्ति अनि श्रमिकहरूको स्वामित्व र जमिनको अधिकारलाई प्रवर्धन गर्न पूर्ण रूपले नयाँ दिशा दिएको छ।
अनुवादक: लेखनाथ छेत्री
Photo Gallery
(Click to enlarge)
Designed by NWD.