पौराणिक कालदेखि फिरन्ते पशुपालक ड्रुक्पा अनि लाचेन्पाहरू ऋतु अनुसार उत्तर सिक्किमको अग्लो खर्कमा गाइबस्तु चराउँदै तिब्बत अनि सिक्किमको सिमाना पार गर्थे। जाडोको मौसममा उनीहरू आफ्नो वार्षिक स्थानान्तरणको प्रक्रियालाई व्यापारसँग जोडदै आफुसँग स्याऊ (त्यतिबेला लाचेन उपत्यकामा स्याऊको राम्रो उब्जनी हुन्थ्यो), मट्टितेल, ऐना, रिबिन अनि घर बनाउनको निम्ति प्रयोग गरिने काठपात बोकेर तिब्बत छिर्थे अनि फर्किँदा उनीहरूले जौँ, ऊन, तिब्तती नून, कम्बल अनि गलैँचा लिएर आउँथे।
सन् १९६२ मा भारत अनि चीनबीच युद्ध शुरू भएपछि यो प्रवासी मार्ग बन्द भयो। अचानक बङ्करहरूको निर्माण अनि आउटपोस्ट स्थापना गर्दै भारतीय सेना भित्र छिर्न शुरू गरे। अनेक तिब्बती ड्रुक्पाहरू सिक्किमपटी फसे।
सन् १९६२ मा भारत अनि चीनबीच युद्ध शुरू भएपछि यो प्रवासी मार्ग बन्द भयो। अचानक बङ्करहरूको निर्माण अनि आउटपोस्ट स्थापना गर्दै भारतीय सेना भित्र छिर्न शुरू गरे। अनेक तिब्बती ड्रुक्पाहरू सिक्किमपटी फसे। एउटा जीवन पद्धति सधैँको निम्ति विकृत बनेपछि ड्रुक्पाहरू आफ्नो पारम्परिक जीवन जीउने तरिकालाई एउटा साँधुरो भूमिमा अँटाएर राख्न वाध्य बने। आधा शताब्दीभन्दा धेर समयदेखि लाचेन्पाहरूले ड्रुक्पाहरूलाई अथितिको रूपमा व्यवहार गरिरहेका छन्। आफ्नो अतिथिहरूलाई उनीहरू दुध, पनिर अनि मासु उपलब्ध गराउँछन् अनि कहिलेकाहिँ उनीहरूको गाइबस्तुको हेरचाह गरिदिन्छन्।
अहिले ऋतु परिवर्तन अनुसार जति उच्चाईसम्म जान सकिन्छ अथवा जति भिरोलो ठाउँसम्म झर्न सकिन्छ, ड्रुक्पाहरू त्यही उत्तर सिक्किमभित्र घुम्ने गर्छन्। साँघुरिएको क्षेत्रसँगै उनीहरूको गाइबस्तु पनि कम हुँदै गइरहेको छ। यसो हुनको पछाडि धेरैवटा कारणहरू छन्। तीमध्ये मुख्य चाहिँ, नयाँ पुस्ताले आधुनिक शिक्षा ग्रहण गरेका छन् अनि वैकल्पिक जीवन प्रणालीसँग उनीहरू परिचित बनिरहेको कारण कठोर पहाडी भूमिमा बिताउनपर्ने फिरन्ते जीवनमाथि चाँडोगरि आफ्नो लगाव गुमाइरहेका छन्। फिरन्ते पशुपालकहरूको जीवनको सामना गर्नसक्ने बेहुली खोज्न पनि गाह्रो काम बनिसकेको छ। प्रतिबन्धित भूमिसँगै उनीहरूको सङ्ख्या पनि घटेर लगभग बाह्र परिवारसम्म आइपुगेको छ। उनीहरू स्थायी रूपमा थाङ्गुमा बसोबासो गर्छन् जो समुन्द्री तहदेखि लगभग ४००० मिटरको उच्चाईँमा अवस्थित छ। तर उनीहरू फालुङ, लाशार छाड्गु चु, निमातेन, फालुङ, तिप्ता, फ्यागो, यम त्सो, त्सो ल्हमु अनि गुरूदोङमारसम्म पुग्छन्। उहिले फिरन्ते जीवन बिताउँदा उनीहरू तम्बुमा बस्ने गर्थे। तर तम्बु बुन्ने कला गुमाइसकेपछि उनीहरू पत्थरको घरमा बस्ने गर्छन्। जब हिमपात शुरू हुन्छ, यसले मानिस अनि पशु दुवैलाई अफ्ठ्यारोमा पार्छ। पशु चराउनु, दुध दुहुनु, घ्यू अनि पनिर बनाउनको लागि मथनी गर्ने कामले विशेषगरि गरम महिनाका बिहान अनि बेलुकी व्यस्तापूर्ण बनाउँछ। अतितमा उनीहरू एक अर्काको घरमा जान्थे अनि मथनी पार्ने काममा हात बटाउँथे। हरेक धक्काको गन्ती राख्नको निम्ति उनीहरू मथनी गर्दा गीत गाउने गर्थे। सात सय धक्का पुगिसकेपछि घ्यू तयार हुन्थ्यो। जीविका चलाउन, खाद्य उत्पादन अनि इन्धनको निम्ति ड्रुक्पाहरू चौँरीगाईमाथि आश्रित छन्।
उनीहरूको सालको मुख्य आकर्षण ड्रुक्पा त्सेशी हो जो जुलाई महिनामा पर्वको रूपमा मनाउँछन्। आफ्ना शिष्यहरूलाई सारनाथमा पहिलो धर्मोउपदेश दिएर बुद्धले धर्मचक्रलाई पहिलो चोटि चलायमान गरेको प्रसङ्गलाई यतिबेला उत्सवको रूपमा मनाइन्छ। यस पर्वले लाचेन्पा अनि ड्रुक्पाहरूबीचको सम्बन्धलाई पुन:पुष्टि पनि गर्छ। लाचेन पिपोन(जुम्साको प्रमुख)ले अनुष्ठानको नेतृत्व गर्ने लामाहरूको साथ दिन्छन्। मठलाई सिँगार्ने अनि तोर्मा(पिठो अनि घ्युले बनाइएको धार्मिक आकृति) बनाउने कामबाट पर्वको तयारी धेरै अगाडिदेखि सुरू हुन्छ। सिक्किमका अन्य समुदायहरूले मनाउने पर्वहरूमा जस्तै उनीहरूले पनि हरेकको निम्ति शान्ति अनि समृद्धि, आरोग्यता अनि दीर्घ जीवनको निम्ति पीठासीन देवताहरूसँग आशिर्वाद माग्छन्।
अनुष्ठानको अन्त्यमा चौँरीगाई-दौडको आयोजना हुन्छ। दर्शकहरूले सहभागीहरूको हौसला बढाउँछन्। विजेताहरूलाई खदाको साथ सम्मान दिइन्छ। लठारो तान्ने, छेलो अनि भारोत्तोलनजस्ता अन्य खेलहरू पनि हुन्छन्। यी खेलहरूले ड्रुक्पा जीवन बाँच्नको निम्ति चाहिने शारिरिक बलतिर सङ्केत गर्छ। खेलकुदपछि भोज र नृत्यको क्रम चल्छ अनि खुसीयालीपूर्ण पर्वको अन्त्य हुन्छ। त्यसपछि उत्तर सिक्किमको पहाडी भूमिमा अर्को सालको निम्ति तयारी शुरू हुन्छ।
अनुवादक: लेखनाथ छेत्री
Photo Gallery
(Click to enlarge)
Designed by NWD.