प्राचीन जनजाति लिम्बूहरूका पुर्खाहरू तिब्बतको खाम प्रदेशबाट आएका थिए जुन प्रदेश तिनीहरूका लागि मुनाखामना भनी परिचित थियो। बौद्ध धर्मलाई दमन गर्ने तिब्बतका राजा लाङ्दर्माको सन् ८३९ मा एकजना संन्यासीद्वारा हत्या भएपछि ती लिम्बूपुर्खाहरू लिम्बूवानतिर बसाइँ सर्न बाध्य भए (वाङ्चुक एन्ड जुल्का, २००७)। तिनीहरूका वाचन परम्परा मुन्धुमले तिनीहरूकासृष्टिसम्बन्धी मिथकहरूबारे अनि आजसम्म तिनीहरूका मार्गदर्शन गर्ने तिनका देवी-देवतासम्बन्धी विद्या र जानकारी तथा विचारहरूबारे बताउँदछ। ‘मुन्धुम’ शब्दलाई ‘महान् सामर्थ्यको शक्ति’ भनी उल्था गरिन्छ अनि यो लिम्बूहरूको निम्ति सबैभन्दा महत्त्वपूर्ण धरोहर हो किनभने यसले तिनीहरूका सबै कथा र विश्वासहरूलाई स्थायी रूपमा जोगाएर राख्दछ। यसलाई लिम्बू लोककवि साम्बाहरू अनि लिम्बूहरूको मुख्य देवता युमासामका धार्मिक पुरोहित फेदाङमाहरूद्वारा वाचन गरिन्थ्यो अनि त्यसलाई एउटा पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमा सारियो (वाङ्चुक एन्ड जुल्का, २००७) ।
मारिएका राजाका छोराहरूमध्ये एकजना उत्तराधिकारी छोरा उबा हाङले अभिभावक देवता युमासामको मार्गदर्शनमा दक्षिणतिर एउटा अभियानको अगुवाइ गरे अनि लिम्बूवानको एउटा नयाँ राज्य स्थापना गरे। यसैकारण ती लिम्बूहरूले ल्हासा गोत्र अथवा लिम्बू वंशको नाम पाएका हुन् जो ल्हासाबाट आए। त्यो अभियान सन् ८४६-मा शुरु भएर तीन वर्षसम्म चलेको अनि सन् ८४९ मा समाप्त भएको विश्वास गरिन्छ। शुरुमा उबा हाङद्वारा दिइएको विजय भोज , जसलाई ‘तोङ-सुम-तोङ-नाम’ भनिन्छ, अहिले पनि प्रत्येक तीन वर्षमा एकपल्ट अप्रेल महिनामा आयोजन गरिन्छ (वाङचुक एन्ड जुल्का, २००७) ।
नवौँ शताब्दी समाप्त हुन लागेपछि लिम्बूहरूमाझ झगड़ा भएर तिनीहरूमा फाटो आएको थियो। युद्ध गर्ने जनजातिहरूलाई तिनीहरूका मुखियाहरूमध्ये एकजना सिरिजङ्गा हाङले आफ्नो वशमा पारेका थिए। आफ्नो शासनकालमा तिनले तिनीहरूको युमा धर्मलाई सम्बर्द्धन गरे अनि आफ्ना मानिसहरूलाई एकताबद्ध तुल्याए। यस्तै ६०० वर्षसम्म लिम्बूहरू लिम्बूवानमा बसोबास गरे। सत्रौँ शताब्दीमा तिब्बती वंशका प्रथम छोग्यालले योक्सममा सिंहासन सम्हालेपछि नयाँ शासकहरूले ‘लो-मोन-चोङ-सुम’-को सन्धिमा हस्ताक्षर गरेर लिम्बू र लेप्चाहरूबाट अनुमति मागे।
थिचोमिचोको एक शताब्दी बितेर गएपछि सन् १९१४ मा मात्र लिम्बू भाषामाथिको प्रतिबन्ध उठाइयो।
अठारौँ शताब्दीमा नेपालमा गोर्खा शक्तिको उदय अनि सिक्किममा भोटे शासकहरूबाट आइरहेको दबाउको कारणले लिम्बूहरूले आफूहरू दबाउमा परेको र निराश भएको अनुभव गरे। यसै सन्दर्भमा भन्नुपर्दा, नेपालमा जन्मेका सिरिजङ्गा त्येअङ्सी सिक्किममा आए अनि युमा धर्मको प्रचार गर्नथाले र आफ्नो भाषालाई पुनर्जीवित तुल्याउने प्रयासहरू गरे। तर सिक्किममा उनको जीवन छोटो थियो किनभने पेमायाङ्से लामाहरूले लिम्बूहरूबाट नयाँ प्रकारले फेरि विरोध हुने खतराको अनुमान गरेर तिनलाई मारेका थिए। फेरि एकपल्ट लिम्बूहरूको भाषा र प्रान्त ओझेलमा पर्न गयो। तिनीहरूको अस्तित्व कानेखुसीमै सीमित रह्यो। थिचोमिचोको एक शताब्दी बितेर गएपछि सन् १९१४ मा मात्र लिम्बू भाषामाथिको प्रतिबन्ध उठाइयो। तर त्येअङ्सी सिरिजङ्गा र तिनका प्रयासहरूको किंवदन्ती बाँचिरह्यो। कथाको एउटा संस्करणमा, एउटा विशेष पुस्तकले सिरिजङ्गा त्येअङ्सीको रक्षा गर्दथ्यो जुन पुस्तकलाई तिनी एउटा बाँसभित्र सुरक्षित रूपमा लुकाएर राख्थे। युमा धर्मको प्रचार गर्न अनि लिम्बू भाषालाई नयाँ जीवन दिन र त्यसको प्रचार गर्नदेखि उनलाई रोक्ने सबै प्रयास र योजनाहरू विफल भए, त्यस पुस्तकको शक्तिलाई धन्यवाद छ। अन्त्यमा, तिनले जुन भोटे स्त्रीलाई बिहे गरेका थिए उनले नै त्यो पुस्तक फेला पारिन् र त्यसलाई नष्ट गरिदिइन्। त्यसपछि सिरिजङ्गा त्येअङ्सीको शक्ति हरायो अनि चाँड़ै तिनलाई बन्दी बनाएर तिनको हत्या गरियो।* पश्चिम सिक्किमको जुन हि-मार्ताममा सिरिजङ्गालाई मारिएको थियो त्यो ठाउँ कालेज नदीका किनारहरूमा भएको उपत्यकाको फेदीमा अवस्थित छ। हामीले त्यो क्षेत्रको भ्रमण गर्दा त्यहाँ ठूलो सङ्ख्यामा बाहुन सम्प्रदायका मानिसहरूले धानको खेती गरिरहेका
पायौँ। तिनीहरूले भनेअनुसार औँसी र पूर्णेमा त्यो उपत्यकाबाट ढोलहरू बजेका आवाज आइरहेको उनीहरूले सुन्न सक्थे। भर्खरै सन् १९५० तिरदेखि सड़कहरू बनाउनका लागि पाहाड़हरू फोर्न थालेपछि त्यो आवाज आउन बन्द भयो।
तर राजनैतिक अधिकार अनि लिम्बू भाषाको मान्यता र विकासको निम्ति सङ्घर्ष चलिरह्यो। १९६० को दशकदेखि त्यो भाषालाई पुनर्जीवित तुल्याउने प्रयास तत्कालीन ग्याल्मो (रानी)-द्वारा शुरु गरियो।
सन् १९७५ मा सिक्किम भारतमा विलय हुनअघि छ्योगाल पाल्देन थुडोब नामग्याल र तिनका सहयोगी ग्याल्मो होप कूकले मन्त्री परिषद्को मदत लिएर शासन गरे। ती रानीले सिक्किममा शिक्षा प्रणालीको विकासमा गहिरो रुचि लिइन् अनि लिम्बू र लेप्चा भाषाहरूलाई पुनर्जीवित तुल्याउनका साथसाथै सिक्किमको सन्दर्भमा पाठ्यपुस्तकहरू पनि सिर्जना गर्ने दिशामा काम गरिन्। यी प्रयासहरूमा सन् १९७५ मा सिक्किम भारतमा विलय भएपछि विशेषगरी शिक्षा विभागका निर्देशक एम. के. जहिंगिराबाट सहयोग पाइयो जसलाई राष्ट्रिय शिक्षा शोध एवम् प्रशिक्षण (एनसीईआरटी)-बाट सिक्किमका लागि नियुक्त गरिएको थियो। यस्तो प्रत्येक अभियानको निम्ति मानिसहरूले आफ्नो समय र प्रयासप्रति समर्पित हुनु आवश्यक छ। सिक्किममा समकालीन लिम्बू भाषाले बी. बी. मुरिङ्लामा यस्तै एक समर्पित व्यक्ति पायो जसले सिक्किममा लिम्बू भाषाको विकासको दिशामा आफ्नो समर्पण र प्रयासको निम्ति भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्री प्राप्त गरे। सन् १९९० को मध्यदेखि लिम्बूहरूको मात्र नभएर अन्य ती सबै समुदायहरूको भाषा र क्षेत्र दुवैलाई प्रोत्साहन दिइयो जसले सिक्किमेली समाजलाई सिँगार्ने काम गर्दैआएका छन्।
बी. बी. मुरिङ्लाः लिम्बू भाषाका अथक र निष्ठावान् समर्थक
एउटा अन्तर्वार्ता र त्यसपछिका कुराकानीहरूमा बी. बी. मुरिङ्लाले सिक्किममा लिम्बू भाषाको विकासप्रति आफ्नो र अरूको योगदानबारे बताए। थिचोमिचोमा परेका सबै भाषाहरूका संरक्षणको निम्ति उनको कार्य एउटा आदर्श वाहक भइदिएको छ। यी प्रयासहरूका लागि उनलाई धन्यवाद छ। उनकै प्रयासहरूको फलस्वरूप नेपाल, भोटाङ, कालेबुङ र दार्जीलिङमा, जहाँ लिम्बूहरू बसोबासो गर्दछन्, त्यहाँ लिम्बू भाषा र संस्कृतिमा एउटा नयाँ चासो जाग्न शुरु भयो।
बी. बी. मुरिङ्लाको जन्म सन् १९४३ मा जिल्ला मुख्यालय गेजिङको बाहिरी क्षेत्रको एउटा गाउँ लिमचोङमा भएको थियो। गेजिङ पूर्व नेपाललाई पश्चिम सिक्किमसित जोड्ने व्यापार मार्गमा पर्ने हुनाले लिम्बूहरू खेतिपाती गर्नुका साथसाथै सिमानावारि र पारि व्यापारिक क्रियाकलापहरूमा व्यस्त रहने गर्दछन्। बी. बी. मुरिङ्लाका पिताले एउटा पसल चलाउँथे अनि स्थानीय मानिसहरूलाई आवश्यक पर्ने सरसामानहरू बिक्री गर्दथे। तिनले स्कूलका सामग्रीहरू पनि आफ्नो पसलमा राख्थे। बी. बी. मुरिङ्ला स्थानीय प्राथमिक पाठशाला जान्थे अनि प्राथमिक शिक्षा पूरा गरिसकेपछि तिनलाई गान्तोक पठाइयो जहाँ तिनका दाजुले अध्ययन गरिरहेका थिए। तर तिनी उदीयमान सांस्कृतिक केन्द्र दार्जीलिङ जान चाहे जहाँको वातावरण तिनको स्वभावको निम्ति उपयुक्त थियो भन्ने तिनलाई विश्वास थियो। बी. बी. मुरिङ्ला त्यस परिवेशमा पूर्ण रूपमा डुबेका थिए अनि तिनले कोलकातामा एचएमभी कम्पनीको निम्ति नेपाली गीत रेकर्ड गर्ने पहिलो व्यक्ति बन्नुको गौरव प्राप्त गरे। तिनी एकजना गायक मात्र थिएनन् तर तिनले गीतहरू पनि लेखे जुन गीतहरू गाउनका लागि प्रसिद्ध गायकहरूलाई दिइएको थियो।
स्कूलको शिक्षा सकेपछि तिनी कलेजमा भर्ती भए तर सन् १९६५ मा तिनकी आमाको अकस्मात् मृत्यु हुँदा तिनी लिङ्चोम फर्किनुपऱ्यो। तिनका दुइजना दाजु घरदेखि टाढ़ा रहेकाले तिनका पितालाई घरमा मदतको आवश्यकता पऱ्यो। घरमा तिनले आफ्नो मनभित्रबाट आएको आह्वानलाई पछ्याए- त्यो आह्वान लेख्नका लागि थियो, तिनका केही कविता र कथाहरू नेपाली पत्र-पत्रिकाहरूमा प्रकाशित भए। तिनले आफ्नो लेखनकार्यलाई खेतीपातीको काम, गाईवस्तु हेर्ने काम र विभिन्न फसलहरूको खेतीसँगै जोढ़े। यसै समयबीच तिनले आफ्नो ध्यान लिम्बू भाषातर्फ लगाए। तिनले त्यो भाषा सिकाउन रात्रि कक्षाहरू शुरु गरे। तिनका विद्यार्थीहरू विभिन्न उमेरका थिए।
ती विद्यार्थीहरूले धिब्रीको निम्ति मट्टितेल किन्नका लागि केही पैसा दिने गर्दथे। पाठहरूको निम्ति बी. बी. मुरिङ्ला प्रायः नै गाईवस्तुहरूको हेरचाह गर्दै प्रत्येक कथा र पाठहरू हातैले लेख्थे अनि कार्बनद्वारा प्रतिलिपि तयार पार्थे। तिनी आफ्नो कक्षाका विभिन्न उमेरका विद्यार्थीहरूलाई ध्यानमा राखेर कथाहरू लेख्ने गर्दथे। ती कक्षाहरू चाँड़ै लिम्बू भाषा सिक्ने मात्र नभएर लिम्बू इतिहास र लिम्बू सम्प्रदायका मानिसहरूको वर्तमान स्थितिबारे कुराकानी गर्ने मञ्च पनि बन्दै गए।
गहिरो छानबीनका विषयहरूमध्ये एउटा विषय मूल ‘लो-मोन-चोङ-सुम’ सन्धिको सम्बन्धमा तिनीहरूको बद्लिएको स्थिति थियो। लिम्बू भाषा धेरै लामो समयदेखि प्रतिबन्धित भएकोले तिनीहरूले सिक्किमका मूल रैथानेहरूमध्ये एकको रूपमा आफूहरूलाई बहाल गर्नका लागि आफ्ना भाषा महत्त्वपूर्ण कुरा थियो भन्ने कुरामा तिनीहरूलाई दह्रो विश्वास थियो। नेपाली र अङ्ग्रेजीसितै भोटे र लेप्चा भाषाहरू स्कूलहरूमा पढ़ाइन्थे तर लिम्बू भाषालाई चाहिँ उपेक्षा गरिन्थ्यो। यसकारण हर्कधोज मण्डल अनि राज्य परिषदमा भएका प्रतिनिधिहरूले यस बुँदालाई प्रत्येक सभामा उठाए र अन्त्यमा तिनलाई लिम्बू भाषामा भएका पुस्तकहरू देखाउनू भनियो। त्यस्ता दुइवटा मात्र पुस्तक उपलब्ध थिए र तिनै पुस्तकहरूलाई परिषदमा प्रस्तुत गरियो।
सन् १९८६ मा बी. बी. मुरिङ्लाले वर्ण छापाखानाको निम्ति लिम्बू भाषाको लिपि तयार गरे जुनचाहिँ कम्प्यूटरहरूको आगमनसितै व्यर्थ ठहरिए। त्यसपछि तिनले त्यो लिपिलाई सन् १९९२ र त्यसपछि फेरि सन् २००० मा नयाँ गरी तयार पारे।
सन् १९५१ मा, लिम्बू भाषाका दुइवटा पुस्तक याक्थुङ तुम निङवाफु साप्ला (पहिलो प्रवेशिका) अनि याक्थुङ निस्गेक साप्ला (दोस्रो प्रवेशिका)-लाई ईमानसिंह चेम्जोङ, पदमसिंह सुब्बा र मन बहादुर खाम्दोकद्वारा एकसाथ राखियो। यी दुइ पुस्तक स्व-अध्ययनका लागि सङ्कलन गरिएका थिए अनि दुइवटा भाषामा थिए- नेपाली र लिम्बू । एक समय जब प्रत्येक शब्द हातले लेखिन्थ्यो, त्यसबेला यीमध्ये प्रत्येक पुस्तकका १०० प्रति लिङचोममा ल्याइएका थिए जहाँ ती वितरण गरिए, केही प्रतिहरू सिमानापारिका यात्रीहरू र व्यापारीहरूमार्फत नेपाल पुऱ्याइए।
बिस्तारै लिम्बू भाषा स्कूलहरूमा शुरु गरियो, हुन त पाठ्यपुस्तकहरूको अभावको कारणले यस भाषाका शिक्षकहरू पाउनु वा खोज्नु एउटा गाह्रो काम थियो। सिक्किमको सन्दर्भमा विभिन्न स्कूलहरूमा पाठ्यपुस्तकहरू विकसित गर्ने काममा ग्याल्मोले विशेष चासो लिए अनि लिम्बू भाषाले पनि लक्ष्य पाउनथाल्यो, तर सन् १९७० को शुरुमा सिक्किमको राजनीतिमा अकस्मात् आएका नाटकीय परिवर्तनहरूले केही भ्रम सिर्जना गरे। तरैपनि, शिक्षा-प्रणालीमा सुधारको जुन प्रक्रिया शुरु भएको थियो त्यो जारी नै रह्यो। पेलिङ स्कूल परिसरमा, एउटा उच्च विद्यालयको छेउमै प्राथमिक पाठशाला शिक्षक प्रशिक्षण केन्द्र खोलियो। यहाँ सङ्गीत सिकाउन भनी बी. बी. मुरिङ्लालाई आग्रह गरियो अनि पूर्व निदेशक एम. के. जहिंगिरा त्यस केन्द्रको भ्रमणमा आउँदा उनले मुरिङ्लालाई पेलिङ प्रशिक्षण केन्द्रमा सङ्गीत शिक्षकको पदमा कायम रही सेवा जारी राख्न आग्रह गरे। त्यसै बेला बी. बी. मुरिङ्लाले जहिंगिराको ध्यान सिक्किमको लिम्बू भाषातर्फ आकर्षित गरे अनि त्यो भाषा सिकाउनका लागि पाठ्यपुस्तकहरू विकसित गर्ने आवश्यकतामाथि जोड दिए। जहिंगिराले तिनलाई अनुभवी पाठ्यपुस्तक लेखकहरूसित काम गर्न भनी गान्तोक बोलाए अनि यसरी विद्यालयहरूमा लिम्बू भाषा सिकाउनका लागि पाठ्यपुस्तकहरू विकसित गर्ने लामो यात्रा शुरु भयो। सन् १९८६ मा बी. बी. मुरिङ्लाले वर्ण छापाखानाको निम्ति लिम्बू भाषाको लिपि तयार गरे जुनचाहिँ कम्प्यूटरहरूको आगमनसितै व्यर्थ ठहरिए। त्यसपछि तिनले त्यो लिपिलाई सन् १९९२ र त्यसपछि फेरि सन् २००० मा नयाँ गरी तयार पारे। बी. बी. मुरिङ्लाले प्राथमिक पाठशालादेखि लिएर कलेज स्तरसम्मका पाठ्यपुस्तकहरू लेखेर सिक्किम सरकारसित तीस वर्षसम्म अथक रूपमा काम गरे। तिनले स्वास्थ्य, परिवार, कृषि आदि व्यावहारिक विषयहरूमाथि अन्य भाषाहरूबाट पाठ्य सामग्रीहरू अनुवाद गरे। तिनले दर्शन, संस्कृति (वैवाहिक संस्कारहरू)-माथि पुस्तकहरू लेखे अनि लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश र एउटा हिन्दी-लिम्बू शब्दकोशमाथि पनि काम गरे। तिनले जोनाथन स्वीफ्टकृत ‘गुलिवर्स ट्र्याभल्स’- अनि लियो टलस्टायका कथाहरूलाई पनि लिम्बू भाषामा उल्था गरे। तिनले पण्डित जवाहरलाल नेहरू, चन्द्र शेखर आजाद र देशबन्धु चित्तरञ्जन दासजस्ता प्रसिद्ध भारतीयहरूमाथि चित्रकथाका पुस्तकहरू पनि तयार पारे। तिनले विभिन्न विषयहरूलाई समेटे अनि लिम्बू पत्रिकाहरूको सम्पादन र कविताहरूका सङ्कलनहरू पनि प्रकाशित गरे। तिनका प्रयास र उपलब्धिहरूलाई अदेखा गर्न सकिन्न। तिनले सिक्किम, भारत र नेपालमा धेरै पुरस्कारहरू प्राप्त गरेका छन् अनि सांस्कृतिक क्षेत्रमा पनि निरन्तर सक्रिय रहेका छन्। लिम्बू विद्या र संस्कृतिबारे तिनको विस्तृत ज्ञानले सुदूर र नजिकका शोधार्थीहरूलाई आकर्षित गरेर लिङचोमस्थित तिनको घरसम्म ल्याउने गर्दछ।
सन्दर्भ ग्रन्थहरूः
वाङ्चुक, पी., एन्ड जुल्का, एम. (२००७), कञ्चनजङ्घा सेक्रिड समिट (पृ. ६७-६८), गान्तोकः पेमा वाङ्चुक।
अनुवादक: प्रदीप रसाइली
Photo Gallery
(Click to enlarge)
Designed by NWD.