छेत्री, निलाम्बर। ‘द पोलिटिक्स अफ एथ्निक रेनेवल इन् दार्जिलिङ: गोर्खाज एन्ड द स्ट्रगल फर ट्राइबल रिकग्निसन’
रूटलेज इन्डिया, २०२३।
‘द पोलिटिक्स अफ एथ्निक रेनेवल इन् दार्जिलिङ: गोर्खाज एन्ड द स्ट्रगल फर ट्राइबल रिकग्निसन’ -मा , निलाम्बर छेत्रीले दार्जिलिङको परिवर्तनशील जातीय राजनीतिसँग समयसापेक्ष र कठोर संलग्नता प्रस्तुत गर्छन्। उनले दार्जिलिङ र कालेबुङमा ऐतिहासिक विश्लेषणलाई एथ्नोग्राफिक क्षेत्र-कार्य (२०१३-२०१५) सँग समायोजित गर्छन्। उनको यस कार्य गोर्खा जातीय राजनीति कसरी गोष्ठीय नवीकरण मार्फत पुन: आकार प्राप्त गर्दैछ भनेर देखाउने बहुमुखी अन्वेषण बनेको छ। यो पुस्तक त्यस्तो महत्त्वपूर्ण क्षणमा देखा परेको छ, जब आफ्नो परम्परालाई पुनर्जिवित गर्न खोज्ने पाहाडका विभिन्न समूहहरूबाट अनुसूचित जनजातीय दर्जाका लागि आन्दोलन तिब्र बन्दैछ।
छेत्रीले 'गोष्ठीय नवीकरण' (पृष्ठ २८) र 'गोष्ठीय स्विचिङ' (पृष्ठ १०७) जस्ता अवधारणाहरू मार्फत एथ्नोग्राफिक राजनीतिको अन्वेषण गर्छन्। यी अवधारणाहरूले गोष्ठीय राजनीतिक आन्दोलनहरू कसरी दार्जिलिङ पाहाडमा निरन्तर विकसित हुँदैछन्, र कसरी 'नवीकरण' र 'स्विचिङ' जस्ता प्रकार्यहरू रणनीतिक अनिवार्यतावादको स्वरूप ग्रहण गर्छ भन्ने कुरालाई देखाइदिन्छ। यी आन्दोलनहरूमा, समुदायहरूले रणनीतिक अनिवार्यताको कार्यको रूपमा सांस्कृतिक अभ्यासहरूलाई पुनर्जीवित र पुनर्स्थापित गर्छन्। यस इच्छित प्रक्रिया मार्फत, तिनीहरूले राजनीतिक उद्देश्यका लागि जानीबुझी नै परम्पराहरूलाई पुनर्जीवित गर्छन्। उनी यो रणनीतिलाई अनुसूचित जनजातिको स्थिति प्राप्त गर्ने व्यापक प्रयाससँग जोड्छन्, जसको माध्यमबाट पाहाडी समुदायहरूले राज्यबाट वैधता र भौतिक लाभ दुवै दाबी गर्छन्। उनी जोड दिन्छन् , यो गोष्ठीय पुनरुत्थानवाद उनीहरूको आदिवासी जरामा अवचेतन रूपमा फर्केर जानु होइन। बरु, यो एउटा सुविचारित, स्वनिर्देशित प्रदर्शन हो जसमा गोष्ठीय नेताहरू र सङ्घहरूले राज्य मान्यता सुरक्षित गर्न आदिवासी छविलाई सचेत रूपमा निर्मित गर्छन्। 'एथ्नो-कन्टेम्पोरेरी' (मिडलटन, २०१६:१७) -को विचार छेत्रीको विश्लेषणसँग नजिकबाट मिल्छ। यस ढाँचामा, दार्जिलिङका जातीय समूहहरूले आफूलाई पुनर्वर्गीकरण गर्न 'जनजाति' को लेबल जस्ता गोष्ठीय श्रेणीकरणहरू आफैलाई पुनर्वर्गीकरण गर्नु अनि राज्यको मान्यता दावी गर्नलाई सचेत रूपमा प्रयोग गर्छन्। दुवै विद्वानहरूले पाहाडको राजनैतिक मान्यतालाई संवादका रूपमा बुझ्न सकिने तर्क दिएका छन्।
। यसलाई स्थानीय मानिसहरूको आकांक्षा र राज्यले थोपेको वर्गीकरणद्वारा समान रूपमा आकार दिइएको छ। यस्तो प्रारूपले पुनरुत्थानको रणनीतिक पक्षलाई समेट्छ, तर यसले कथाको केही अंश मात्र बताउँछ। मेरो फिल्डवर्क (२०२२-२०२४) -ले देखाउँछ कि सबैजना रणनीतिक कारणहरूले गर्दा यस गोष्ठीय नवीकरणमा संलग्न हुँदैनन्। मैले अन्तर्वार्ता लिएका समुदायका सदस्यहरूले रीतिरिवाज र परम्पराहरूलाई पुनर्जीवित गरे किनभने तिनीहरू साँच्चै आफ्नो आदिवासी सम्पदासँग पुन: जोडिन चाहन्थे। तिनीहरूका लागि, यो पुनरुत्थानले तिनीहरूको पुर्खाको जरा र परम्पराहरूमा इमान्दार फर्काइलाई चिन्हित गर्यो। यो ऐतिहासिक आत्मसातको माध्यमबाट क्षय भएको संस्कृतिलाई पुन: प्राप्त गर्ने तरिका हो। यस अर्थमा, गोष्ठीय नवीकरण राजनीतिक रणनीतिभन्दा बाहिर फैलिएको छ। बरु, यो एउटा मूर्त अभ्यास हो जसको माध्यमबाट मानिसहरूले आफ्नो नैतिक संसारभित्र अर्थ, सम्बद्धता र निरन्तरता पुनर्गठन गर्छन्। यी मूर्त अभ्यासहरू - जातीय पोशाक लगाउने, आदिवासी चाडपर्वहरू अवलोकन गर्ने, जातगत भाषाहरू बोल्ने, र युवा पुस्तालाई बिर्सिएका रीतिरिवाजहरू सिकाउने - दुई विपरीत दृष्टिकोणहरू प्रकट गर्दछ। राज्यको दृष्टिकोणबाट, यो एक सुनियोजित प्रदर्शन हो । समुदायका सदस्यहरूका लागि, यो कसैको जरामा भावनात्मक फर्काइ हो। छेत्रीले यी तनावहरूलाई उल्लेख गरेका छन्, तर उनी प्रदर्शनलाई प्रामाणिकताबाट स्पष्ट रूपमा छुट्याउँदैनन्। न त उनी तल्लो तहका सहभागीहरूको आवाजसँग व्यापक रूपमा संलग्न हुन्छन्। यो भिन्नतालाई अझ स्पष्ट पार्ने र साधारण सहभागीहरूको जीवित अनुभवभित्र यसलाई स्थापित गर्ने हो भने उनको विश्लेषण अझ समृद्ध बनिने थियो।
छेत्री 'जातगत उद्यमीहरू' द्वारा (पृष्ठ १३५) तिनका मागहरूलाई नियमन गर्न, वृद्धि गर्न, र आकार दिन प्रयोग गरिएका रणनीतिहरूको खोजिमा लाग्छन् । उनका कामले यी कर्ताहरूको बहु भूमिकाहरूलाई समेट्छ, जसलाई उनी 'गोष्ठीय पहिचानका निर्माणकर्ता' भन्छन् (पृष्ठ १३८)। यस शब्दको माध्यमबाट, उनले राज्यको आधुनिक वर्गीकरण मोडेलभित्र 'आदिवासी' को एक विश्वसनीय दृष्टिकोण निर्माण गर्न पुर्खाहरूको भण्डार र समकालीन राजनीतिक वाक्पद्धतिहरूबाट तत्त्वहरूलाई चुनेर लिने उनीहरूको क्षमतालाई प्रदर्शित गर्छन्। यस तर्कलाई विस्तार गर्दै, छेत्रीले पाहाडमा यी जातगत अथवा गोष्ठीय राजनीतिक धाराहरूको अन्तर्राष्ट्रिय आयामको जाँच गर्छन्। उनी देखाउँछन् गोष्ठीय उद्यमीहरूले आफ्नो आदिवासी दाबीलाई वैध बनाउन अन्तर- सीमागत सम्बन्धहरूलाई कसरी प्रयोग गर्छन्। उनको तर्कले इच्छुक जातगत समूहहरूले आफ्नो पहिचानलाई ढाँचावद्ध गर्न हिमाली क्षेत्रव्यापी सम्पर्कहरूलाई कसरी सचेत रूपमा तान्दछन् भन्ने कुरा प्रकाश पार्छ। उदाहरणका लागि, तिनीहरूले पूर्वी नेपालबाट किराती मिथकहरू वा मङ्गर समुदायको उत्पत्ति कथालाई आफ्नो कथा सङ्ग्रहको
भागको रूपमा स्थान दिन्छन् (पृष्ठ ११०)। उनले यी अन्तर्राष्ट्रिय सन्दर्भहरूलाई जराको रोमान्टिक खोजीको रूपमा मात्र होइन, तर मान्यताको राजनीतिको रणनीतिक प्रतिक्रियाको रूपमा पनि ढाँचावद्ध गर्छन्। यो देशान्तर कोण अन्तरदृष्टिपूर्ण छ, यसले कसरी जातीय नेताहरू र उद्यमीहरूले बृहत् हिमाली इतिहास र संस्कृतिहरूमा आफ्नो प्रामाणिकतालाई जोड दिन्छन् भनेर देखाउँछ। यसले राज्यको ढाँचाभित्र 'जनजाति' लाई पुन: परिभाषित गर्ने उनीहरूको लचिलोपन र अथक प्रयासलाई प्रतिबिम्बित गर्दछ। छेत्रीको गोष्ठीय नेताहरूले प्रयोग गरेको क्रस बोर्डर कौसलमाथिको ध्यान उल्लेखनीय छ। यद्यपि, मगर, नेवार, र
खम्बु राई जस्ता समुदायहरूसँग मेरो व्यक्तिगत भेटघाटहरूले एउटा फरक कुराको सुझाउ दिन्छ। गोष्ठीय नेताहरूले अनि उद्धमीहरूले आफ्नो राजनैतिक अवस्थानका लागि क्रस बोर्डर आख्यानतिर धेरै झुकाउ राखे पनि सामान्य सदस्यहरूले व्यक्तिगत रूपमा पुनरुत्थानको खोजी गर्छन्। तिनीहरूका लागि पुनरुत्थानको अर्थ कौसललाई निर्माण गर्ने होइन तर फेरि पूर्णता महसुस गर्ने रहेको छ। यसले विभिन्न जातगत समूहलाई तिनीहरूको परम्परासित पुन गाँस्ने माध्यमका रूपमा कार्य गर्दछ।
अन्तमा, छेत्रीले अनुसूचित जनजातिको हैसियतका लागि सङ्घर्ष गरिरहेका गोष्ठीय समूहहरूले सामना गर्ने दुविधाको
जाँच गर्छन्। यो सामूहिक अखिल-गोरखा परिचय र विशेष उप-समूह परिचयको वार्ताको दुविधा हो। यो तनावले
प्राय द्विविधा उत्पन्न गर्दछ। जनजातिको हैसियत खोज्ने समूहहरूले उप-समूह परिचयलाई जोड दिँदा लामो समयदेखिको सामूहिक गोर्खा पहरिचय टुट्ने डर छ। लेखकले पहिचानको थप तरल र विकसित धारणा प्रस्ताव गरेका छन्, जसले व्यक्तिहरूलाई कुनै पनि सम्झौता नगरी दुवै परिचयमा बस्न अनुमति दिन्छ। छेत्रीका कुरालाई दोहोर्याउँदै भन्न सकिन्छ, अब अघिको बाटो भनेको सामुहिक उद्देश्यलाई दिगो तुल्याउँदै, विविधतालाई मूल्य दिने एउटा राजनैतिक संस्कृतितिर बढ्ने कार्य हो।
अन्त्य नोटहरू
सन्दर्भ सामग्रीहरू
Middleton, T., 2015. The Demands of Recognition: State Anthropology and Ethnopolitics in
Darjeeling. Stanford University Press.
सिद्धान्त मोक्तान कोलकाताको प्रेसिडेन्सी विश्वविद्यालयमा समाजशास्त्र विभागमा पिएचडी शोधार्थी हुन्। आफ्नो
खुल्ला समयमा, उनी कोलकाता वरिपरीका ग्रामिण भूस्थलहरूमा साइकल कुदाउन धेरै रुची राख्दछन्।


Designed by NWD.