लाचेन अनि लाचुङ्को घाटी पूर्वी हिमालयको पश्चिमी अर्धको दक्षिणी ढलानहरूमा अवस्थित छ। लाचेन घाटी जसको अर्थ ' ठुलो मार्ग' ( बिग पास) भन्ने लाग्दछ जसको क्षेत्रफल ३६३५.७५ हेक्टर रहेको छ अनि यो लाचेन नदीको दाहिने किनारामा अवस्थित छ अनि समुद्री तहभन्दा २७०० मिटर माथि छ। लाचुङ्को अर्थ सानो मार्ग (स्मल पास) चाहिँ लाचुङ् नदीको पूर्वी किनारा अनि समुद्री सतहभन्दा २७४५ मिटर माथि अनि २८१५.५२ हेक्टर क्षेत्रफलसित अवस्थित छ। यो घाटी अहिले सिक्किमको, उत्तर जिल्लाको चुङ्थांग प्रशासनिक महकुमा अन्तर्गत पर्दछ। दुवै लाचेन्पा अनि लाचुङपाहरूले एक थरीको तिब्बती बर्मीज भाषा परिवारको भाषा बोल्दछन् जो पश्चिम भूटानको हा घाटीमा बोलिने तिब्बती बोलीसित निकै नजिकको सम्बन्ध पाइन्छ। अहिले बाहिरी संसारसितको सम्पर्कका कारण अनि शिक्षाको विकासले गर्दा उनिहरू नेपाली (सिक्किमको साझे भाषा), हिन्दी, अङ्ग्रेजी आदि पनि बोल्ने गरेका छन्।
उन्नाइसौँ शताब्दीको प्रारम्भिक भागमैँ यी समुदायका निम्ति स्वशासन स्थापित गरियो किनभने सिक्किमका अन्य क्षेत्रहरूमा समान नियम पालन गर्ने केन्द्रीय सत्ता अनि अधिकारभित्र उनिहरूलाई राख्नु धेरै गाह्रो थियो।
आफ्नो भ्रमण अवधि जे.सी. वाइट सिक्किमको पहिलो राजनैतिक अधिकारीको निरीक्षणको निष्कर्ष यस्तो थियो:
दुइ गाउँहरू लाचेनको लाम्टेंग अनि लाचुङ् घाटीको लाचुङको एक असामान्य अनि लगभग आफ्नै प्रकारको कम्युनिष्टिक सरकार छ। सबै मौकाहरूमा उनिहरू सबै जनता पंचायत अथवा परिषदमा भेला हुन्छन्, जहाँ उनिहरू सल्लाहको निम्ति गोलाकार भएर बस्दछन् ... परिणाममा सबै कुरा जानीबुझी गरिएको हुन्छ ... तर त्यो व्यवस्था यी मानिसहरूलाई उपयुक्त छन् अनि म यसलाई केही बद्लावसित निरन्तरता दिन अनुमति दिन्छु।' (White, १९७१ edition).
सुरुमा पिपोन (परिषदको प्रमुख), सबैभन्दा सुयोग्य उम्मेदवारमध्ये एकजना छोग्यालले नियुक्त गर्दथे। पिपोन चयन गर्दा आवश्यक केही मापदण्डहरू यस्ता छन्: उ स्थानीय प्रसाशन जसलाई जुम्सा (बैठक हुने ठाउँ) भनिन्छ त्यसको सदस्य हुनैपर्दैछ; भूमि कर बुझाइरहेको अनि सम्पत्तिको मालिकाना हक भएको हुनपर्छ; विशेषत: एक पुरुष अनि परिवारको मूल हुनपर्दछ अनि ज्ञानी अनि चतुर पनि हुनपर्दछ। पिपोनलाई आफ्नो गाउँहरूको प्रशासन हेर्ने अधिकार प्राप्त हुन्छ। दोर्जी साम्डुप छोग्यालबाट नियुक्त गरिएका लाचेनका प्रथम पिपोन थिए।
जुम्साभित्र धेरै थोरै सदस्यता रहेको कारण जसले पनि यसमा भर्ना लिन चाह्यो स्वागत गरिन्थ्यो। यसको सदस्यता सन् १९३६ सालमा साठी रहेको थियो जो सन् २००३ मा १७६ पुग्यो। सन् १९९० मा, बढ्दो सदस्यतालाई नियन्त्रित गर्नु नयाँ उपायहरू अघि ल्याइए। अहिले केवल जन्मदेखि नै लाचेनपा अनि लाचुङपा रहिआएकाहरू मात्र जुम्सामा प्रवेश लिन सक्छन् अनि गाउँको महासभाभित्र वार्षिक दुइ सदस्य मात्र थप्न सकिन्छ। सबै परिवारका पुरुष प्रमुखहरू कानूनन् सदस्य हुनसक्छन् तथापि कसैको छोरा कम उमेरको भए विधवा पनि सदस्य बन्न सक्छन्। छोरा बढेपछि आमाको ठाउँमा सदस्य बन्दछन्।
१२ नोभेम्बर २००१ मा, राज्य सरकारले गैजेट् एक्सट्रा अर्डिनेरी संख्या ४०९ जारी गरेर तय गऱ्यो कि 'राज्यको उत्तर जिल्ला अवस्थित दुइ गाउँ लाचेन अनि लाचुङमा अस्तित्ववान पारम्परिक संस्थान जुम्सा भविष्यमा पनि जुम्साको परम्परागत अनि प्रथागत कानून बमोजिम निरन्तर अस्तित्वमा रहनेछ। सिक्किम पंचायत ऐनका अन्य प्रावधानहरू रहेकै भए पनि लाचेन अनि लाचुङमा अस्तित्ववान जुम्साको पारम्परिक संस्थानले चलिआएको दस्तुरको कानूनसँगै ऐनमा उल्लेखित क्षमता अनि कार्यलाई अभ्यास गरिरहनेछ। हाल पिपोनको चुनाव हुने गर्दछ। गाउँका सम्पूर्ण वयस्कहरू जुम्साको सदस्य हुन्छन् अनि उनिहरू सबै पिपोन, छ जना गेम्बोज, दुइ छिपोस, अनि दुइ ग्यापोन्सको पदको छनौट प्रक्रियामा सामेल हुने अधिकार प्राप्त छ। चुनाव खुल्ला अनि पारदर्शी हिसाबमा हुने गर्दछ।
प्रत्याशीहरू उनिहरूका निम्ति निर्धारित ठाउँमा उभ्ने गर्दछन् अनि मतदाताहरू उनिहरूको समर्थन रहेको प्रत्याशी वरिपरी भेला हुन्छन् अनि शिर गनती सुरु हुन्छ। जसको बडी संख्यामा मतदाता हुन्छन् उनलाई पिपोन चयन गरिन्छ अनि थोरै मत संख्या भएकोलाई सहायक पिपोन बनाइन्छ। सबै कार्यलयिक अधिकृत गाउँलेहरूबाट सोझै चयन गरिन्छ अथवा ग्यापोन्सका निम्ति भने परिषद सदस्यहरूको परामर्शमा चयन गरिन्छ। पिपोन यो पदानुक्रमको सबैभन्दा प्रमुख अधिकृत हो अनि उनलाई सहायता गर्ने ग्यापोन्सले बैठक डाक्ने जस्ता जिम्मेवारी निर्वाह गर्दछ अनि उनिहरूले पिपोनको सिपाहीको रूपमा पनि भूमिका निर्वाह गर्दछ।
जुम्सा गाउँको दैनन्दिन मामिला हेर्न जिम्मेवार हुन्छ। यसमा स्थानीय कानून व्यवस्था, न्याय दिने, कर सङ्ग्रह गर्ने, सामाजिक कार्यहरूको आयोजना अनि सरकारी योजना अन्तर्गत आउने कोषको वितरण आदि जिम्मेवारी पनि पर्दछ।
जुम्साको जीवन माङ् खिममा घुमिरहन्छ जहाँ सबै बैठक, सुनवाई, झगडा, बिहे, भोज अनि धार्मिक चाड पर्वआदिका निर्णयहरू हुनेगर्दछ। बैठकमा अग्लो ठाउँमा मौसमी सरुवा (Migration) खेती, पशु पालन अनि सरकारी सहयोगको वितरण आदि कुराहरू बहस गरिन्छ। यहाँ विकास योजनाहरूको टेन्डरको काम पनि हुने गर्छ।
जुम्सासित कतिपय न्यायिक शक्ति पनि हुन्छ। यसले घाटीभरी नै झगडा मिलाउने निकायका रूपमा पनि काम गर्दछ अनि झगडा समाधान गर्दछ।
जुम्सा क्षेत्रमा चलिआएका सबै पारम्परिक नियम अनि रीती रिवाजको संरक्षक पनि हुन्छ। यसले सदस्यहरूलाई नियम अनि परम्पराको विरुद्ध जानदेखि रोक लगाउँदछ। जुम्साको कतिपय धार्मिक कार्यहरू पनि हुन्छ। यसमा धार्मिक क्रियाकलापको निम्ति कोष सङ्ग्रह, गुम्बा निर्माण, मर्मति अनि व्यवस्थापन, तथा महत्वपूर्ण मुखुन्डा नृत्य अनि अन्य पारम्परिक रिवाज जस्ता धार्मिक पर्वहरू आयोजित गर्ने आदि रहेका छन्।
जुम्सासित कतिपय न्यायिक शक्ति पनि हुन्छ। यसले घाटीभरी नै झगडा मिलाउने निकायका रूपमा पनि काम गर्दछ अनि झगडा समाधान गर्दछ। जुम्सा अघि आउने झ्याउला-झगडाहरू विविध प्रकारका हुन्छन्। यसको न्यायिक क्षेत्राधिकारभित्र सबै स-साना झ्याउला, चोरी, सामान्य सम्पति विवाद, पारिवारिक झगडा अनि वैवाहिक समस्या जसभित्र पति-पत्नीबीचको अन्याय, छुटानाम, बहुबिहा अनि रक्स्याहापन आदि पर्दछन्। कहिलेकाहिँ हत्या अनि अन्य गम्भीर अपराधहरू उच्च निकायतिर पठाइन्छ।
जुम्सासित कुनै पनि अपराधको निम्ति अपराधसिद्ध व्यक्तिलाई दण्ड दिने अथवा जरिमाना तोक्ने अधिकार रहन्छ। दण्डको स्वरूप अनि जरिमानाको रकम पिपोनले गाउँका बुडापाकासित सरसल्लाह लिएर तोक्ने गर्दछन्। दण्ड धेरै ठुलो जरिमानासहित जसमाथि अपराध भएकोछ उसलाई पारम्परिक तरीकाबाट खुसी बनाउनेसम्मको हुनसक्छ। धेरै ठुलो अपराधको निम्ति गाउँनिकाला भोग्नु पर्नेसम्मको हुन्छ।
जुम्सालाई हालमा सबै केन्द्र अनि राज्य सरकारका ग्रामीण विकास योजनाहरू कार्यान्वयन गर्ने जिम्मेवारी पनि दिइएको छ। यसमा लाभार्थीको पहिचान गर्नु, कामको निम्ति उपयुक्त स्थलको चयन, पूर्वाधार विकासको ठेकादारी काममा क्षेत्रको सिमांकन गर्नु आदि रहेका छन्, यी सबै जुम्साको वार्षिक बैठकमा तय गरिन्छ।
जुम्सासित अरू पनि धेरै जिम्मेवारीहरू रहेका हुन्छन्: विकास एवं कल्याण योजनाहरूबारे आम जनतालाई सूचना प्रसार गर्ने, विभिन्न कार्यान्वित विकास कार्यक्रमहरूको निष्पादनमा सरकारलाई सुझाव-प्रतिक्रिया दिने अनि जुम्साको वित्तीय वृद्धिका निम्ति क्षेत्रीय संसाधन जुटाउने आदि। पिपोनले ग्यापोन्सहरूको सहयोगमा सरकारी करहरू सङ्ग्रह गर्दछ जसमा भूमि कर, वन्य कर, पशु चरन कर आदि पर्दछन्।
यी समुदायहरूले आफ्नो जीवन पद्धतिलाई जोगाउन प्रतिबद्ध छन्। जब मैले यी लाचेन अनि लाचुङका पिपोनसित भेट गरेँ, उनिहरूले बताए कि उनिहरूको समुदायलाई एकताको सूत्रमा बाँधेर राख्न उनिहरूले कुनै पनि बिभाजन ल्याउन सक्ने राजनैतिक दलहरूलाई सामुदायिक रूपमा राजनैतिक प्रचारको अनुमति दिँदैनन्। राज्यको चुनावी समय, दलीय कार्यकर्ताहरू प्रचारका निम्ति आए, उनिहरूले घाटीमा प्रवेश गर्दा दलीय झन्डालाई निकालेको हुनपर्छ। तथापि, जनताले आफ्नो क्षेत्रबाट पनि विधानसभा प्रत्यासीलाई भोट भने गर्दछन्।
त्यस क्षेत्रमा भारतीय सेनाको उपस्थिति ध्यान दिन योग्यको कुरा छ, मानिसहरूले यहाँ सन् १९६० को दसक भारत-चीन युद्धको बेला भारतीय सेनालाई अनिच्छापूर्वक स्वागत जनाए। सैन्य पोस्टका निम्ति समान्य भूमिको निकै ठुलो चौडो चिस्सा बुझाउनु परेपछि निकै ठुलो परिवर्तन आयो। सुरक्षा उद्देश्यका निम्ति सडकहरू पनि बनिए।
क्षेत्रका जनतालाई अझ बिझाउने कुरा एउटा गुरुद्वारा निर्माण गर्ने काम थियो, यसले लाचेन अनि लाचुङ्को मात्र नभएर सिक्किमको अन्य क्षेत्रका मानिसहरू पनि रूष्ट बने।
हालै, क्षेत्रीय अर्थतन्त्रको मजबूतीका निम्ति पर्यटनको बढ्दो महत्वका कारण होटल, अतिथि गृह , रेस्टोरेन्टहरू बढेर गए, यस क्षेत्रको निकट रहेको पर्यटकीय स्थल लाचुङ् भएर जाने युमथाङ् घाटी अनि लाचेन भएर जाने गुरुदोङमार लेकका निम्ति सवारी साधन पनि बढेर गए। यो लेक हिमालयको उच्च अवस्थानमा रहेको लेकका रूपमा प्रसिद्ध मात्र नभएर सिक्किमका सन्त पुरुष गुरु रिम्पोचेले आशीर्वाद दिएको झिलका रूपमा बौद्ध जनताका बीच पनि महत्वपूर्ण छ। यसको नजिक एक सानो धार्मिक तीर्थाटन निर्मित छ, जो यहाँको अमूल्य पर्यावरण अनि झिलको पवित्रतालाई कायम राख्ने उद्देश्यले निर्मित हुन्।
केही समयका निम्ति भारतीय सेनाको शिख रेजिमेन्टका कारण अनिर्णित विवाद सिर्जना भएको थियो, रेजिमेन्टले गुरुदोङमार झील गुरु नानकद्वारा पवित्र पारिएको बनाउने भए। क्षेत्रका जनतालाई अझ बिझाउने कुरा एउटा गुरुद्वारा निर्माण गर्ने काम थियो, यसले लाचेन अनि लाचुङ्को मात्र नभएर सिक्किमको अन्य क्षेत्रका मानिसहरू पनि रूष्ट बने।
लाचुङदेखि केही घन्टाको यात्रापछि युमथाङ् पुगिन्छ, जसलाई फूलको घाटी भनिन्छ। बसन्त ऋतुका बेला यस घाटीको जमीन सबै सुन्दर फूलहरूले ढाकिएका हुन्छन्। पृष्ठभूमिमा अवस्थित सुन्दर हिमखण्ड, घुम्दै बगेका नदी अनि फूलको दृश्य अत्यन्त मनोरम देखिन्छ।
पर्यटन व्यवसायको प्रवेश, विकास कार्यहरूले ल्याएको परिवर्तन, धेरै अघिदेखि स्थापित गरिएको सैन्य छाउनी सबै देख्दा कसैलाई पनि लाग्न सक्छ कि यो बन्द जुम्सा व्यवस्था कहिलेसम्म सुरक्षित रहला।
लाचेन नदी अनि लाचुङ् नदी टिस्टाका दुइ श्रोत नदी हुन्, जो भूटानको दोङ्गा रेंजको विपरीत भएर उदय हुन्छ अनि उत्तर सिक्किमको चुंगथाङ्सम्म आवृत्त छ।
References:
White, C. edn. (१९७१). Sikhim and Bhutan: १८८७-१९०८ (p. ७९). Delhi: Vivek Publishing House.
अनुवादक: टीका 'भाइ'
Photo Gallery
(Click to enlarge)
Designed by NWD.