Menu

भूतप्रेत र नेपाली लोकविश्‍वास

भूतप्रेतदेखि प्रायः सबै डराउँछन्। नेपाली लोकमानस मात्र नभएर विश्‍वका सबै जातिका मानिसहरू भूतप्रेतसँग त्रसित हुन्छन्। ‘भूत’ शब्दको कोशीय अर्थ “मरेको मान्छेको आत्मा वा त्यसको कल्पित आकार, मृतात्मा, प्रेत, पिशाच आदि” भन्ने पाइन्छ (अधिकारी, वि सं २०६३, ७६४)। हंसपुरे सुवेदी (वि सं २०५५, १६९)-ले भूतप्रेतलाई यसरी परिभाषित गरेका छन् – “स्थूल शरीर ढलेपछि सत्रतत्त्वका आधारबाट सूक्ष्म शरीर सजीव रूपमा प्रकटित हुने स्थितिमा हुन्छ अनि यसले वायवीय शरीरका आधारमा निर्मित हुन पुग्छ र कर्मअनुसारको गति लिन थाल्छ।…यो सूक्ष्म शरीरमा देखिने वायवीय शरीर नै एक प्रकारको प्रेत हो”। साधारणतः भूतप्रेत भन्नाले मृतात्मा, अकालमै मृत्यु भई अथवा अगतिले मृत्यु भई भट्‌किएको आत्मा भन्ने बुझिन्छ। भूतलाई न देख्‍न सकिन्छ, न स्पर्श गर्न सकिन्छ, केवल यसको स्थितिबोधमा केही सङ्केत मात्र पाइन्छन्। यस्ता सङ्केतहरू हुन् - घरमा हिँडेको, दैलो, खिड्की खोलेकै आवाजहरू आउनु, अन्धकारमा रोएको, हाँसेको, चिच्याएको, बोलेको जस्ता आवाजहरू सुन्नु, अस्पष्ट छाया वा आकृतिहरू देखापर्नु, एकान्तमा बोलाएको जस्तो गर्नु आदि। यी सङ्केतहरूलाई नेपाली लोकबोलीमा ‘तर्साएको‘, ‘चाल गरेको’ भनिन्छ।

मानव सभ्यताको प्रारम्भक काल एवम् लोकपरम्परादेखि नै भूतप्रेतमा विश्वास गरिँदै आएको कुरो लोककथाहरूबाट स्पष्ट हुन्छ।

‘ब्रिटानिका रेडी रेफरेन्स इन्साइक्लोपेडिया (१५५)’मा भूतलाई “मरेको मान्छेको आत्मा” का रूपमा हेरिएको छ। मानव सभ्यताको प्रारम्भक काल एवम् लोकपरम्परादेखि नै भूतप्रेतमा विश्वास गरिँदै आएको कुरो लोककथाहरूबाट स्पष्ट हुन्छ। यसमा आत्मालाई बेग्लै वस्तुका रूपमा हेरिएको पाइन्छ। आत्माले शरीरको मृत्युपछि पनि आफ्नो अस्तित्व कायम राख्छ जुन अस्पष्ट मृत मानिसका रूपमा पनि देखापर्छ। पूर्वीय तथा पाश्‍चत्य दुवैतिरका धर्मग्रन्थ, लोककथा, लोकविश्‍वास साथै साहित्यमा पनि प्रशस्त मात्रामा भूतप्रेतको उल्लेख पाइन्छ। पूर्वीय आयुर्वेद शास्त्रमा भूतपिशाच सम्बन्धी भूतविद्या पाइन्छ भने श्रीमद्‌ भागवत्‌ माहात्म्य, भारद्वाज स्मृति, रामायण आदिमा पनि भूतप्रेतको उल्लेख पाइन्छ भनेर हंसपुरे सुवेदी (वि सं २०५५)-ले चर्चा गरेका छन्। ‘गरूड पुराण’मा पनि भूतको विस्तृत रूपमा जानकारी दिइएको पाइन्छ। पश्चिममा ‘पवित्र बाइबल’, लोककथाहरू, शेक्सपियरको नाटकादिमा पनि भूतको चर्चा पाइन्छ। प्राचीन इजिप्टको पुस्तक ‘बुक अफ् द डेथ’ मा मरेर गएका मानिसहरूले सामान्य रूपले मृत्युपछिको जीवन व्यतीत गरेको देखाइएको छ। यसै क्रममा बेलायती महिला जुलियाको आत्माले आफ्नो मृत्यु ईस्वी १८८१ पछि डब्लु डी स्टेड व्यक्‍तिका माध्यमबाट स्वचालित लेखनद्वारा ‘आफ्टर डेथ’ (१८९७) पुस्तक तयार गरिएको थियो। भूतप्रेत सम्बन्धी विश्‍वमा थुप्रै घटनाहरू घटेका छन् एवम् घटिरहेका छन् आज पनि। भूतप्रेतमाथि किताबहरू मात्र नलेखिएर थुप्रै प्रसिद्ध सिनेमाहरू पनि निर्माण भएका छन्, जस्तै- ‘ड्रयाकुला’, ‘इभिल डेथ’, ‘ओमेन’, ‘सिक्स सेन्स’, ‘बीस साल बाद’ आदि।

भूतप्रेतको अवधारणा

भूतहरूको पुस्तकबाट भारतको भूत नक्शा द्वारा शबनम मिनवाला र रुची बक्षी शर्मा (प्रथम पुस्तकहरू) / श्रेय: DGRRREF पुस्तकालय

अनुमानमा भन्न सकिन्छ, जब मानिसले जीव र आत्माको पार्थक्य बुझ्न थाले तबदेखि नै मानिसका मस्तिष्कमा भूतप्रेतको भावना जन्म्यो होला। मानव जीवनको एउटा कटु सत्य हो - मृत्यु। मृत्युपछि मानिसको आत्मा कहाँ जान्छ?

भूतप्रेतसम्बन्धी मानिसले कसरी अनि कहाँबाट विश्‍वास गर्न थाले भन्ने कुरो आज पनि ठुलो चर्चा र खोजको विषय भएको छ। अनुमानमा भन्न सकिन्छ, जब मानिसले जीव र आत्माको पार्थक्य बुझ्न थाले तबदेखि नै मानिसका मस्तिष्कमा भूतप्रेतको भावना जन्म्यो होला। मानव जीवनको एउटा कटु सत्य हो - मृत्यु। मृत्युपछि मानिसको आत्मा कहाँ जान्छ? यो ठुलो जिज्ञासाको विषय छ। प्राचीन समयदेखि नै मानव सामाजमा आत्मालाई लिएर गहिरो चिन्तन गरिएको देखिन्छ। संसारका प्रायः सबै धर्म पुस्तकमा आत्मा र मृत्युबारे चर्चा गरिएका छन्। लोकमानसको अर्को रहस्यमय कुरो हो - सपना। मानिस निद्रित अवस्थामा सपनाका लोकमा पुग्छन् अनि सपनामा आत्माले शरीरबाहिर गएर काम गरेको जस्तो लाग्छ। सपनाबाट पनि मानिसलाई आत्माका अस्तित्वको आभास भएको हुनुपर्छ।

हाम्रो समाज: एक अध्यान द्वारा जनकलाल शर्मा / श्रेय: गुडरीड्स



द गोल्डन बाऊ द्वारा सर जेम्स फ्रेजर /
श्रेय: विकिपीडिया

प्रकृतिमा भएका सबै वस्तुहरू - मान्छे, पशुप्राणी, रुखपात, ढुङ्गा, माटो आदिमा आत्मा हुन्छ भन्ने धारणा पाइन्छ जसलाई ‘एनिमिजम’ भनिन्छ।... १९ औँ शताब्दीका मानवशास्त्री जेम्स फ्रेजर (१९९६,पृ.२१५)-ले आफ्नो पुस्तक ‘द गोल्डन बाऊ’ मा लेखेका छन् – “प्रत्येक प्राणीहरू आत्माले गर्दा बाँचिरहेका छन्। पशु वा मानिस बाँच्न अनि हिँडडुल गर्नाका पछाडि त्यसभित्र रहेको सानो पशु वा सानो मानिसको हात छ। त्यही सूक्ष्म पशु वा मानिस नै आत्मा हो।”

प्रकृतिमा भएका सबै वस्तुहरू - मान्छे, पशुप्राणी, रुखपात, ढुङ्गा, माटो आदिमा आत्मा हुन्छ भन्ने धारणा पाइन्छ जसलाई ‘एनिमिजम’ भनिन्छ। यस धारणाले जीववादीसँग पनि धेरै मेल खाएको पाइन्छ। जीववादको अर्थ हो - आत्मामा विश्‍वास राख्‍नु। जीवित र मृत शरीरलाई देखेर नै मानवमा आत्माको विचार उत्पन्न भयो। यस्ता आत्मा अनेक हुन्छन्, अप्राकृतिक हुन्छन्, अदृश्य हुन्छन् र तिनलाई हातले स्पर्श गरेर हेर्न सकिँदैन। यस्ता आत्मा पूर्वज, भूतप्रेत, पिशाच, राक्षस आदि कुनै पनि रूपमा हुनसक्छन्। हुन सक्छ उनीहरू रुखपात, पशुपक्षी, ढुङ्गामाटो जेसुकैमा पनि बसेका हुन्छन् र बस्छन् पनि। १९औँ शताब्दीका मानवशास्त्री जेम्स फ्रेजर (१९९६,पृ.२१५)-ले आफ्नो पुस्तक ‘द गोल्डन बाऊ’ मा लेखेका छन् – “प्रत्येक प्राणीहरू आत्माले गर्दा बाँचिरहेका छन्। पशु वा मानिस बाँच्न अनि हिँडडुल गर्नाका पछाडि त्यसभित्र रहेको सानो पशु वा सानो मानिसको हात छ। त्यही सूक्ष्म पशु वा मानिस नै आत्मा हो।” उनले ‘निन्द्रा वा मृत्यलाई आत्माको अनुपस्थिति’ भनेर वर्णन गरेका छन्। ‘निद्रा क्षणिक हुन्छ’ अनि ‘मृत्यु स्थायी आत्माको ह्रास हो’ भनेका छन्।

एक तिब्बती मुखौटे नर्तक, चाम नृत्य मानव जीवन, मृत्यु, राम्रो र नराम्रो विषयवस्तुहरू अन्वेषण गर्ने केही बौद्ध सम्प्रदायहरूको अभिन्न अंग हो (दावा डोल्मा, गाउँ स्क्वायर)/ चित्रकार: सुवेक्षा प्रधान

लोकको भनाइअनुसार प्रेतात्माहरू धेरै अभावमा बाँचेका हुन्छन् जसलाई लोकभाषामा ‘भड्‌किएको आत्मा’ पनि भनिन्छ।यसैकारण जनविश्‍वासअनुसार उनीहरूको इच्छापूर्तिका लागि मानिसलाई तर्साएको वा सताएको भनिन्छ। ...यस्ता भड्‌किरहेका प्रेतआत्मालाई आफ्नै जातअनुसारको झाँक्री, बिजुवा आदिले बाटो लगाउने काम गर्छ भन्ने नेपाली जनमानसमा प्रचलित छ।

लोकविश्‍वासअनुसार देवलोक, असुरलोक, मनुष्यलोक, प्रेतलोक, पशुलोक र नरकलोक आदि कल्पना गरिएका पाइन्छन्। यसमा मनुष्यलोकलाई सर्वश्रेष्ठ लोक मानिन्छ। लोकले प्रेतयोनिको स्रोत सम्बन्धमा विशेष गरी झुन्डिएर, डुबेर, बगेर, विष पिएर, रोगाएर, लडेर, बाघ, सर्प, बिच्छी आदिले टोकेर, दुर्घटना तथा हत्या भएर, यस्तै यस्तै अकाल किसिमले मरेका मानिस उचित संस्कार विधिविधान नपाएर प्रेतयोनिमा पुग्छन् भन्ने विश्‍वास पाइन्छ। भूतले मानिसलाई देख्छ तर मान्छेले भूतलाई देख्दैन भन्ने लोविश्‍वास पनि छ हाम्रा समाजमा। यस्ता भड्‌किरहेका प्रेतआत्मालाई आफ्नै जातअनुसारको झाँक्री, बिजुवा आदिले बाटो लगाउने काम गर्छ भन्ने नेपाली जनमानसमा प्रचलित छ। लोकको भनाइअनुसार प्रेतात्माहरू धेरै अभावमा बाँचेका हुन्छन् जसलाई लोकभाषामा ‘भड्‌किएको आत्मा’ पनि भनिन्छ। यसैकारण जनविश्‍वासअनुसार उनीहरूको इच्छापूर्तिका लागि मानिसलाई तर्साएको वा सताएको भनिन्छ। लोकधारणाअनुसार भूतहरू पुरानो, मान्छे नबसेको घर, खण्डहरतिर बस्ने गर्छ भन्ने विश्‍वास पाइन्छ। यसै सन्दर्भमा जनकलाल शर्मा (वि सं २०५८)-ले उनको पुस्तक ‘हाम्रो समाज : एक अध्ययन’मा विभिन्न भूताहा घरहरू, जस्तै - काशीको भूताहा घर, दार्जिलिङको भूताहा घर, नेपालको भूताहा घरका उल्लेख गरेका छन्।

नेपाली लोकविश्‍वासअनुसार भूतप्रेतका प्रकार
नेपाली लोकविश्‍वासअनुसार भूतप्रेतका पनि थुप्रै प्रकार छन्, जस्तै- चुडेल, मसान, मुर्कुट्टा, राँके भूत, पिशाच, जागित्र, इन्द्रेणी भूत, नाङ्ले भूत, थाङ्ने भूत, सुङ्गुरे भूत इत्यादि।

चुडेल-चुडेलनी
साधारणतः युवा उमेरका मान्छेको मृत्यु हुँदा चुडेल-चुडेलनी बन्छ भन्ने जनविश्‍वास पाइन्छ। लोकविश्‍वासअनुसार प्रेममा असफल भई अकालमै मृत्यु भए ती युवायुवतीहरू चुडेल चुडेलनी भई भड्‌किहिँडछ भन्ने धारणा छ। डरलाग्दा एवम् शक्‍तिशाली भूतहरूमा चुडेल चुडेलनीलाई मानिन्छ। चुडेल चुडेलनीले युवायुवतीलाई प्रेममा फँसाएर बिस्तारै शरीरको खुन चुसेर मार्छ भन्ने जनविश्‍वास छ। चुडेल पुरुष हो भने यसको स्त्रीलिङ्ग चुडेलनी हो। लोकविश्‍वासअनुसार यसले आफ्नो वशमा पार्दा युवती छ भने चुडेल अनि युवक छ भने चुडेलनी वा सुन्दरी युवतीको रूप धारण गर्छ। चुडेलभन्दा चुडेलनीबाट लोक धेर डराएको पाइन्छ। चुडेलनीले आफ्नो वशमा कुनै युवकलाई पारे पछि युवक एक्लै भएको वेला चुडेलनी आएर मिठामिठा प्रेमका कुरा गरेर सम्मोहित पार्छे अनि खुन चुसेर बिस्तारै पहेँलो पारी मारीदिन्छे भन्ने लोकविश्‍वास छ। विशेष चुडेलनीका वशमा परेको युवक बिस्तारै दुब्लाउँदै जान्छ, शरीर पनि पहेँलो हुँदै जान्छ, कसैसँग नबोल्ने, अवसाद भएर अन्तमा मृत्यु हुन्छ भन्ने विश्‍वास छ। यदि त्यस चुडेलनीलाई नाश गर्नु हो भने त्यसले थाहा नपाई कम्मरपछाडि मेरुदण्ड (भनिन्छ - चुडेलनीका पछाडिको भाग खोक्रो हुन्छ)-मा रिल धागो बाँधिदिएर धागो पछ्याउँदै गएर धागो जहाँ अन्त हुन्छ त्यहाँ खने नलीखुट्टा भित्र रगत भेटिन्छ भन्ने जनविश्‍वास छ। त्यस नलीखुट्टाको दाहसंस्कार गरे पछि चुडेलनीबाट मुक्‍ति पाइन्छ भन्ने विश्‍वास छ। जनकलाल शर्माले पनि उनको पुस्तकमा राजा प्रतापमल्लको छोरो चक्रवर्तीन्द्रसित यस्तै घटना घटेको उल्लेख गरेका छन्।

राँके भूत

दाँते कथा फिल्मको एक स्टिल जहाँ राँके भूतलाई प्रतिनिधित्व गरेको छ /श्रेय: दिशांत प्रधान
दाँते कथा फिल्ममा राँके भूतको अर्को स्टिल जहाँ फायर गॉड को रूप मा देखिएको छ /श्रेय: दिशांत प्रधान

राँके भूत राति खोलानाला, पाखापखेरामा काँधमा बत्ती बाली यताउता हिँड्ने गर्छ। राँके भूतले गाउँ घरमा पसी कुनै अनिष्ट गर्ने, तर्साउने काम गर्दैन भन्ने लोकविश्‍वास पाइन्छ। तर रातिहुँदो भने खोलानाला, खोल्सा र पाखातिर हिँड्नेलाई भने दुख दिने एवम् तर्साउने गर्छ भन्ने लोकविश्‍वास छ। अँध्यारा रातमा राँकका रूपमा देखिने हुनाले नै यसलाई लोकले राँके भूत भनेको हुनुपर्छ।

इन्द्रेणी भूत
इन्द्रेणी भूतसम्बन्धी नेपाली लोकमानसमा कुनै स्पष्ट धारणा छैन। विशेष गरी आकाशमा इन्द्रेणी लागेको समय, इन्द्रेणी लागेको ठाउँबाट हिँडे यस भूतले समात्छ भन्ने लोकविश्‍वास पाइन्छ। इन्द्रेणी भूतले नानीहरूलाई छिटो सिकार बनाउँछ भन्ने विश्‍वास छ। त्यसै कारण नानीहरूलाई खोलानाला वा झरना जहाँ इन्द्रेणी लाग्छ ती ठाउँहरूमा जान वा हिँडडुल गर्न दिइँदैन।

सुँगुरे भूत
लोकले विश्‍वास गरी आएका विभिन्न प्रकारका भूतहरूमध्ये सुँगुरे भूत पनि एउटा हो। यस भूतलाई कसैले भेटे पहिला सुँगुरको आकृति लिन्छ अनि त्यसपछि मान्छेको रूप धारण गरी बढ्दै बढ्दै गएर यसका उचाइले आकाश छुन्छ भन्ने लोकविश्‍वास पाइन्छ। सुँगुरे भूतले मान्छेलाई भेटे मान्छको सातो लान्छ अनि बिमारी भएर मर्छ भन्ने जनविश्‍वास छ।

मसान
भूतहरूमा सबैभन्दा डरलाग्दो, भूतहरूको राजा मसानलाई मानिन्छ। मसान शब्दले मुर्दा पोल्ने वा गाड्ने ठाउँ विशेषलाई पनि बुझाएको पाइन्छ। संस्कृतको ‘श्मशान’ शब्दको अपभ्रंश रूप ‘मसान’ रहेको छ। लोकविश्‍वासअनुसार मसानघाटमा नै धेर भूतहरूको बास हुन्छ। यसैकारण तान्त्रिक एवम् लामाहरूले पनि मसानघाटमा नै साधाना गर्छन्। भनिन्छ - जोगीहरूले पनि मसान खेलाउँछ अनि राती फेरी फुक्दा मसानलाई साथमा लिएर हिँडछ।
मसानले गाउँघरमा गई तर्साउँदैन। यसले प्रायः मसानमा नै धर्ना हाल्छ र त्यहीँ आउने प्राणीहरूलाई सताउँछ। यसैले यिनीहरूको लागोलगन प्रायः घरमा नभई मसानमा मात्र पाउन सकिन्छ। यिनीहरू शक्तिशाली भूत विशेष मानिन्छन् र यिनीहरूको खोट चर्को हुन्छ भन्ने विश्‍वास गाउँघरमा छ। मसानलाई मानिसका निम्ति हानिकारक मात्र नभएर लाभदायक पनि मानिन्छ। जन्ड झाँक्री, बिजुवा एवम् मसान खेलाउने मान्छेले मसानलाई राति विभिन्न कामहरू, जस्तै - दाउरा काट्नु, बारी खन्नु, खेत रोप्नु आदि काम पनि लगाएको जनश्रुति पाइन्छ। मसानलाई काम लगाउँदा खानापिना टन्न दिनुपर्छ अनि मसानको अनुहार हेर्न हुँदैन, यदि अनुहार हेरिपठाए त्यस मान्छेको ठहरै मृत्यु हुन्छ भन्ने जनश्रुति छ। सिक्कमको पाक्खियोङ भन्ने ठाउँमा त खेतको नाम नै ‘मसान खेत’ छ। त्यो खेत मसानले बनाएको हुनाले मसान खेत भनिएको हो भन्ने जनश्रुति त्यस ठाउँमा छ। मसानका पनि थुप्रै रूपहरू पाइन्छन्, जस्तै - वीरमसान, जलमसान, दाह्रेमसान, कालीमसान आदि।

मुर्कुट्‍टा

कवि दुर्गालाल श्रेष्ठ को छ वटा बालगीतहरूबाट अनुकूलित र सुमन महर्जनले चित्रण गरेका धाप्लां ख्याक्/ फोटो: DGRREF पुस्तकालय

मुर्कुट्टालाई नेपाली जनमानसले डरलाग्दो एवम् शक्‍तिशाली भूतका रूपमा मानेको पाइन्छ। यस भूतको शिर हुँदैन अनि कुममा नै ठुला ठुला आँखा, कालो भयानक रुखको ठुटाजस्तो शरीर हुन्छ। नेवारी भाषामा यसलाई ‘मुलकता ख्या’ भनिन्छ। नेवारीमा मुण्डलाई ‘मुल’ भनिन्छ। ‘कता’ शब्द काटिएको भन्ने अर्थमा प्रयोग गरिएको हो। त्यसैकारण ‘मुल’ र ‘कता’ शब्द मिलाएर यसको नाम ‘मुलकता’ हुन गयो। यो भूत भयानाक, एकान्त जङ्गल, सुनसान ठाउँ, पाखापखेरा, पानीको पधेँरो, गाउँको मूलबाटो र दोबाटातिर भेटिन्छ भन्ने जनविश्‍वास पाइन्छ। मुर्कुट्टाको आँखाबाटै डरलाग्दो रापिलो दाह्रा निस्केको हुन्छ भन्ने जनश्रुति पाइन्छ
माथि उल्लेख गरिएका भूतबाहेक अरू पनि थुप्रै प्रकारका भूतहरू पाइन्छन्, जस्तै - कराँसे भूत, नाङ्ले भूत, थाङ्ने भूत, पिशाच, छौँडा आदि। नानीहरू मरेर आत्माले बाटो नपाए छौँडा हुन्छ भन्ने जनविश्‍वास पाइन्छ।

नेपाली लोकजीवनमा भूतप्रेतको प्रभाव

नेपाली लोकजीवनमा भूतप्रेतसम्बन्धी थुप्रै लोककथा, लोकविश्‍वास, उखान अनि तुक्काहरू लोकधारणा अनुसार पाइन्छन्।...भूतप्रेतका दुष्प्रभावबाट बाँच्नका निम्ति डाक्टरी दबाईले काम गर्दैन, धामीझाँक्रीकै झारफुक, तन्त्रमन्त्र एवम् बुटी बाँध्न आवश्यक हुन्छ।

भूतप्रेतसम्बन्धी आजसम्म कुनै ठोस् एवम् वैज्ञानिक प्रमाण नपाइए तापनि जनमानसमा भूतप्रेतको गहिरो प्रभाव पाइन्छ। संसारका सबै जातिमा भूतप्रेतका कथा पाइन्छन् एवम् भूतप्रेतले लोकमानसलाई प्रभाव पारेको पाइन्छ। नेपाली लोकजीवन पनि यसको प्रभावबाट अछुतो रहन सकेको पाइँदैन। नेपाली लोकजीवनमा भूतप्रेतसम्बन्धी थुप्रै लोककथा, लोकविश्‍वास, उखान अनि तुक्काहरू पाइन्छन्। भूतप्रेतले समाते मानिसलाई विभिन्न ढङ्गले पिराउने गर्छ। रातको मध्य बाह्र बजे, बेलुकी भूतले मानिसलाई छिटो समात्छ भन्ने लोकविश्‍वास पाइन्छ। मानिसलाई भूत लागे शारीरिक अवस्था कमजोर हुने, निस्लोट ज्वारो आउने, धताउने, खुन सुकेर पहेँलो हुने, आकस्मिक बेहोस हुने, मानसिक सन्तुलन हराउने जस्ता विभिन्न लक्षणहरू जनमानसमा पाइन्छन्। लोकधारणाअनुसार भूतप्रेतका दुष्प्रभावबाट बाँच्नका निम्ति डाक्टरी दबाईले काम गर्दैन, धामीझाँक्रीकै झारफुक, तन्त्रमन्त्र एवम् बुटी बाँध्न आवश्यक हुन्छ।

एक लाखे नर्तकी, नेवारी लोककथा अनुसार एक लाखे (दानव वा देवता) माजिपाकी एक मानव केटीसँग प्रेममा परे र शहरको संरक्षक बने (विकिपिडिया)/चित्रकार: सुवेक्षा प्रधान

लोकजीवनलाई भूतप्रेतले विभिन्न प्रकारले प्रभाव पारेको पाइन्छ।...रातिहुँदो मासु बोकेर नहिँड्नु, मासु बोकेर हिँडे भूतप्रेत, पिशाचले दुख दिन्छ, पछ्याउँछ भन्ने लोकविश्‍वास छ।नेपाली समाजमा भूतप्रेतसम्बन्धी थुप्रै उखान, तुक्का, वाग्धाराहरू पनि छन्, जस्तै – “भाग्यमानीको भूतै कमारो” आदि। कुनै शोषक, अत्यचारी, दुष्ट मानिस एवं समान्तीहरूलाई पनि लोकले भूतको संज्ञा दिइएको पाइन्छ।

लोकजीवनलाई भूतप्रेतले विभिन्न प्रकारले प्रभाव पारेको पाइन्छ। घरको कुनै सदस्य बाहिरबाट आउने बित्तिकै काखका नानीलाई छुनु हुँदैन किनभने बाहिर घुम्दा मानिसका शरीरमा भूतप्रेत, पिशाच, बोक्सी, डाइनी आदि लागेको हुन सक्छ र त्यसको प्रभाव बालबालिकाहरूमा पर्न सक्छ भनिन्छ। पहिले आगो छोएर मात्र नानीलाई छुन पाइन्छ। रातिहुँदो मासु बोकेर नहिँड्नु, मासु बोकेर हिँडे भूतप्रेत, पिशाचले दुख दिन्छ, पछ्याउँछ भन्ने लोकविश्‍वास छ। मानिसका लासलाई जलाएर वा गाडेर फर्किँदा बाटामा काँडाले छेक्नुपर्छ अथवा काँडा तेर्साउनुपर्छ। यसो गर्दा भूतप्रेतले पछ्याउँदैन भन्ने लोकविश्‍वास पाइन्छ। कालो घोडाको नाल दैलामाथि झुन्ड्याउँदा घरमा भूतप्रेतले दुख दिँदैन भन्ने पनि विश्‍वास पाइन्छ। राति हिँड्दा पैतालाका धुलाको टिका लगाउनु, राति सुत्दा सिरानीमा खुकुरी, कर्द अथवा फलामको वस्तु राखे डाइनी, बोक्सी, भूतले दुख दिँदैन भन्ने विश्‍वास पाइन्छन्।
नेपाली समाजमा भूतप्रेतसम्बन्धी थुप्रै उखान, तुक्का, वाग्धाराहरू पनि छन्, जस्तै – “भूत चढ्नु”, “भूतको खाजा हुनु”, “भूतको रौँ गनाइ”, “टाढाको देवताभन्दा नजिकको भूत नै काम लाग्छ”, “भूत समानको देवता हुन्न, मामा समानको इष्ट हुन्न”, “भाग्यमानीको भूतै कमारो” आदि। कुनै शोषक, अत्यचारी, दुष्ट मानिस एवं समान्तीहरूलाई पनि लोकले भूतको संज्ञा दिइएको पाइन्छ।

निष्कर्ष

बालबालिकाहरू आफ्ना बुढापाकाका कथाहरू सुन्दै गरेको/चित्रकार : सुवेक्षा प्रधान

भूतप्रेत सम्बन्धीको अवधारणा नपाली जनमानसमा मात्र नभएर संसारका प्रायः सबै समाज, धर्म, देशमा पाइन्छ। भूतप्रेतमाथि विभिन्न शोधहरू भइरहेका छन् तरै पनि आजपर्यन्त यस सम्बन्धी प्रमाण भने पाइएको छैन। तसर्थ, भूतप्रेत एउटा विश्वास मात्र हो भनेर भनिन्छ। भूतप्रेतसम्बन्धी मानिसमा धेरै अघिदेखि विभिन्न प्रकारका जिज्ञासाहरू उत्पन्न भएको थाहा पाइन्छ। भूतप्रेत सम्बन्धी विभिन्न प्रकारका आश्चर्यजनक घटनाहरू घटेक छन् भने यससम्बन्धी वैज्ञानिकहरूले पनि प्रशस्त चिन्तन र व्यापक अनुसन्धान गर्दै आइरहेका छन्। वर्तमान समयमा विज्ञानले विकास गरेर आकाश छुए पनि लोकमानसले भूतप्रेतमाथि विश्वस गरीरहेको छ। अझै पनि चलचित्रहरू, उपन्यासहरू, र हाम्रा कथाहरूमा भूतप्रेतमाथि चित्रण जारी छ।

वर्तमान समयमा विज्ञानले विकास गरेर आकाश छुए पनि लोकमानसले भूतप्रेतमाथि विश्वस गरीरहेको छ। अझै पनि चलचित्रहरू, उपन्यासहरू, र हाम्रा कथाहरूमा भूतप्रेतमाथि चित्रण जारी छ।

सन्दर्भग्रन्थसूची
१. शर्मा, जनकलाल, वि सं २०५८, हाम्रो समाज : एक अध्ययन, काठमाडौँ, साझा प्रकाशन।
२. सुवेदी, हंसपुरे, वि सं २०५५, नेपाली लोकजीवन : लोकविश्‍वास, काठमाडौँ, साझा प्रकाशन।
३. हेमाङ्गराज, अधिकारी र बद्रीविशाल भट्टराई(सम्पा), वि सं २०६३, प्रयोगात्मक नेपाली शब्दकोश, दोस्रो संस्करण, काठमाडौँ, विद्यार्थी प्रकाशन।
४. इभान, जो (सम्पा), २००२, ब्रिटानिका रेडी रेफरेन्स इनसाइक्लोपेडिया, भाग-४, नयाँ दिल्ली, थमसन प्रेस इन्डिया।
५. फ्रेजर, जेम्स, १९९६, द गोल्डन बाऊ, लन्डन, पेन्गुइन बुक्स।
६. स्टेड, डब्ल्यू., 1905, मृत्यु पछि: जुलियाबाट पत्रहरू, बोर्डरल्याण्डबाट पत्रहरू।
७. htpp://www.wikipedia.org/wiki/Ghost

About the Author

डा. सुचन प्रधान थर्पु, पश्चिम सिक्किमका निवासी हुन्। दार्जिलिङ र मिरिकमा आफ्नो विद्यालय शिक्षा पुरा गरेपछि उनले सिलगुढी महाविद्यालयबाट नेपाली विषयमा स्नातक, उत्तर बंगाल विश्वविद्यालयबाट स्नातकोत्तर र एमफिल गरे पश्चात् सिक्किम विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि प्राप्त गरेका छन्। हाल उनी कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किममा नेपाली विषयका सहायक प्राध्यापकका रूपमा कार्यरत छन्। उनी एघार वर्षको उमेरदेखि कविता लेख्न थाले। सन् २०१४ मा उनले आफ्नो पहिलो पुस्तक ‘नेपाली चाडपर्वहरूको सांस्कृतिक अध्ययन’ प्रकाशित गरे। सन् २०२३ मा प्रकाशित उनको पहिलो कविता सङ्ग्रह ‘झ्यालिन्चा’ भारत र विदेशमा लोकप्रिय बन्यो। उनका कविता, लेख, अनुसन्धान पत्रहरू विभिन्न अनलाइन तथा छापा पत्रपत्रिका र जर्नलहरूमा प्रकाशित भएका छन्। उनी विशेष रूपमा कविता लेखन, फोटोग्राफी, चित्रकला, अध्ययन र यात्रा गर्न मन पराउँछन् साथै उनी लोकसाहित्य र आख्यान लेखनमा विशेष रुचि राख्छन्।


One comment on “भूतप्रेत र नेपाली लोकविश्‍वास”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram