सिक्किमलाई बौद्ध राज्यको रूपमा परिकल्पना गर्न पेमायाङ्त्से गुम्पाको महत्व दह्रोसँग स्थापित छ। आठौँ शताव्दीमा बौद्ध धर्मलाई तिब्बत पुऱ्यउने गुरू पद्मसम्भवले सिक्किम अथवा बेयुललाई एक गुप्त धार्मिक स्थल बताउँदै एक दिन यहाँ धर्म फस्टाएर जाने भविष्यवाणी गरेका थिए। अहिले पेमायाङ्त्से गुम्पा युक्सोमलाई दुब्दी गुम्पासँगै धार्मिक परिसरको मुख्य भाग मानिन्छ जसको पछाडि नर्बुगाङ छोर्तेन, टाशिडिङ गुम्पा, राब्देन्त्सेको अवशेष, सङ्घ छोअलिङ गुप्बा अनि खेचिपेरी झील आउँछ।
२,०८५ मिटरको उचाईँमा रहेको यो गुम्पा तीन तल्ले संरचनामा बनिएको छ। विभिन्न तलाका भित्ता सन्त अनि रिम्पोछेको मुर्तीहरूले सुसज्जित छन्। सन् १९१३ अनि १९६० को भूकम्पले गुम्पालाई क्षति पुऱ्याएको थियो अनि त्यतिबेलादेखि अनेकचोटि यसको पुनर्सज्जा गरिएको छ। गुम्पा न्यीङ्गमा दर्जा अन्तर्गत आउँछ अनि पद्मसम्भव र उनका दुई सहचारीहरूका मुर्तीहरू यसको विशेष अभिलक्षण हो। दुखाङ अनि लाखाङ दुई मुख्य प्रार्थना सभा (१,५०० वर्ग फिट) हो। मुख्य मन्दिरको झ्याल अनि ढोकाहरूलाई तिब्बतीय बनोटको विशिष्ट नमुना अनुसार विभिन्न रङ्गहरूले रङ्गाइएको छ। यहाँ पद्मसम्भवलाई थुप्रै सिर अनि हातहरू सहित दोर्जे फूर्बा(बज्रकिला)को क्रुद्ध रूपमा देखिन्छ। गुम्पाको निर्माण ता-त्साङको निम्ति गरिएको थियो, जसको अर्थ हुन्छ ‘निष्कलङ्क तिब्बती लामाहरूको वंश’- अर्थात ती लामाहरू जो जितेन्द्रिय छन् अनि जसमा शारिरिक कलङ्क छैन। केवल पेमायाङत्से गुम्पाहरूलाई ता-त्साङ अर्थात निष्कलङ्कको पदवी दिइन्छ। गुम्पाका प्रमुख लामा लोबे दोर्जीलाई सिक्किमका छोग्यालहरूले पारम्परिक रूपमा अभिषिक्त गरेका हुन्।
पहिलो चार परिवारका वंशज आजसम्म गुम्पाले प्रतिनिधित्व गरेको परम्परा अनि संस्कृति बँचाएर राख्न गम्भिर रूपले कार्यनिष्ठ छन्। पहिलो चार परिवारको पिँढी पहिल्याउँदा ख्यै बुम्साको तीन छोरामध्ये एकसम्म पुगे, मी-त्पोन-रबले शाक्य महिलासँग विवाह गरेपछि उनीहरूको चार छोराहरू झान-पो-तार, त्सेस-ब्चो-तार, न्यी-मा ग्यासपा अनि गुरू टाँसे भए। यी चार छोराहरूबाट टोङ-ह्डु-रस-ब्झी भनेर जानिने सिक्किमका चार मुख्य परिवारको उत्पति भएको वंशावलीबाट थाहा लाग्छ। (सिक्किम गजेटियर, एचएच रिस्ले, पृ. स. ९)
गुम्पाले पालन गर्ने नियमित अनुष्ठानहरूमध्ये, दुई मुख्य पर्वहरू छन्। जसमध्ये एक वार्षिक रूपमा पालन गरिने सप्ताहव्यापी ल्यूडेन प्रार्थना पर्व हो, जसमा सिक्किमभरिका गुम्पाबाट लामाहरू पेमायाङ्त्सेमा भेला हुन्छन् अनि सिक्किमको सुरक्षाको निम्ति सातवटा शास्त्रहरू पाठ गर्छन्। अन्तिम दिन पवित्र पुस्तक मानिसहरूलाई देखाउनको निम्ति खोलेर राखिन्छ। दोस्रो, पाङ ल्हाबसोल हो जो सिक्किमका जनता अनि यस पवित्र धर्तीबीच आध्यात्मिक सम्बन्ध सुदृढ गर्नको निम्ति खासगरी महत्वपूर्ण मानिछ।
पछि गएर सिक्किमे इतिहासको गतिमा ग्यालवा ल्हात्सुम छेम्बोको गहन प्रभाव रह्यो अनि उनलाई सिक्किममा मुख्य बौद्ध धर्म संवाहकको रूपमा मानिन्छ। न्यीङमापा पन्थको भएको कारण उनी न्यीङमापा अनि बोन्पो पन्थ दुवैले साझा गर्ने महान सिद्धि शिक्षा जोङछेनका गुरू पनि थिए।
जब तीन नियाङमापा गुरूहरू, ग्यालवा ल्हात्सुम छेम्पो, काथोग कुन्तु झाङ्पो अनि न्गादाक सेम्पा छेम्बो सत्रौँ शताब्दीको पहिलो अर्धमा तीन विभिन्न दिशाबाट सिक्किम आइपुगे, उनीहरूले सिक्किमलाई एक निखोज स्थानको रूपमा पाए। पछि गएर सिक्किमे इतिहासको गतिमा ग्यालवा ल्हात्सुम छेम्बोको गहन प्रभाव रह्यो अनि उनलाई सिक्किममा मुख्य बौद्ध धर्म संवाहकको रूपमा मानिन्छ। न्यीङमापा पन्थको भएको कारण उनी न्यीङमापा अनि बोन्पो पन्थ दुवैले साझा गर्ने महान सिद्धि शिक्षा जोङछेनका गुरू पनि थिए।
कञ्चनजङ्घाको दक्षिणको घाँटी- सिक्किम-नेपाल सिमानाको काङ्लामा अवस्थित उत्तरी ढोकाबाट देमोजोङ छिर्ने क्रममा ग्यालवा ल्हात्सुम छेम्बो सात दिनको निम्ति निखोज बने। उनका चेलाहरूलाई लाग्यो उनी भिरालो पहराबीच विलिन बने अनि उनको मृत्युको शोक मनाउन थाले। उनको स्मृतिमा उनीहरूले लामुने मेन्दाङ निर्माण गरे। फर्कने तयारी गरिरहेको बेला ग्यालवा ल्हात्सुम छेम्पोको काङलिङ ( मान्छेको तिघ्राको हाडबाट बनिएको पारम्परिक नरसिङ्गा बाजा) को आवाज सुने अनि थप सात दिन पर्खिए। तीन हप्तापछि लामुने मेन्दाङ निर्माण गरिएकै ठाउँमा ग्यालवा ल्हात्सुम छेम्पो आइपुगे। उनले पहराको बीचबाट काटेपछि जोङ्गरी जाने बाटो खुलियो।
कथाहरूमा भनिए अनुसार ग्यालवा ल्हात्सुन छेम्पोले बेयुलको बाटो खोलेपछि संरक्षक देवता कञ्चनजङ्घा आफैले उनलाई स्वागत गरेका थिए। ग्यालवा ल्हात्सुन छेम्पो यहाँ आइपुगेपछि पहिलो कामको रूपमा जोङ्गा अनि त्यस भूमिको सम्पूर्ण देवताहरूलाई समर्पित गरेर सुरक्षित यात्राको निम्ति धन्यवाद ज्ञापनको एक अनुष्ठान गरेका थिए। यो अनुष्ठान आज आएर एक महत्वपूर्ण वार्षिक कार्यक्रम बनेको छ।
जब ग्यालवा ल्हात्सुन छेम्पो स्थानीय लेप्चाहरूलाई वौद्ध धर्ममा रूपान्तरण गर्नतिर लागे, ‘उनले यो कार्य उनीहरूको धार्मिक परिदृष्यलाई परिवर्तन गरेर अनि यसका यथावत धार्मिक मान्यतालाई सिक्किमे भूगोल अन्तर्गत उनको वौद्ध चिन्तनभित्र सामेल गराएर गरे। उनले शक्तिशाली धार्मिक भूमिहरूको अर्चना स्वरूप नेसोनको रचना गरे जसले सिक्किमलाई वेयुल अर्थात पवित्र गुप्त भूमिको रूपमा गौरवान्वित गर्छ। अनि कञ्चनजङ्घा( ग्याङ्स हिम, चेङ महान, म्ड्जोड सम्पत्ति, लिङ्गा पाँच), सिक्किमको पहाडी देवता अनि भूमिका देवताहरूलाई अर्चना चढाउँछ।’(डेनजोङ्पा पृ. स. २३) एक राष्ट्रिय झाँक्री अनुष्ठान पाङ ल्हाबसोल ‘ईश्वरको दर्शनको निम्ति अर्चना’ले पवित्र भूमि अनि यसका देवताहरूसँग मानिसहरूको सम्बन्धलाई अनुष्ठानको रूपमा मनाउँथ्यो। (डेनजोङ्पा पृ.स.२३) हिमालको अघिल्लो भागमा दीर्घ जीवन बुझाउने वुद्धको तश्वीर देखिएको विश्वास मानिसहरूमा थियो, जसको मुटुबाट बग्ने सानो खोलाले राथोङ हिमनदी बन्छ जो पश्चिम सिक्किमको पवित्र नदी राथोड चुको स्रोत हो।
सिक्किम एक बौद्ध अधिराज्यको रूपमा स्थापित हुन अघि कञ्चन्जङ्घाको निम्ति लेप्चाहरूका आफ्नै अनुष्ठानहरू थिए। पाङ ल्हाबसोलमा जस्तै भूमिका देवताहरूको स्तुतिको निम्ति संयुक्त उत्सव बनाउन ल्हात्सुन छेम्पोले लेप्चा अनुष्ठानहरूलाई पनि समावेश गरे। कालीझोडा बोङथिङहरूले सिक्किमको दक्षिणी ढोकाका संरक्षक देवता याब्द्यूको निम्ति अनुष्ठान गर्थे जसको वासस्थान टिस्टादेखि माथि वर्तमान सिक्किमको दक्षिणतिर थियो। टासो अथवा कोङछेन बोङथिङहरूले कोङछेन च्यू( लेप्चा भाषाबाट कञ्चनजङ्घाको नाम)को निम्ति जङ्घुको लेप्चा स्थल नून(तिङभोङ)को खुल्ला पूजा स्थानमा अनुष्ठान गर्थे।
ग्यालवा ल्हात्सुम छेम्बोको अवतार मानिने तेस्रो छोग्याल(१६८६-१७१६)ले पेमायाङत्से गुम्पामा लामाहरूले प्रस्तुत गर्ने नृत्य सिकाउँथे। साधारण जनताहरूले प्रस्तुत गर्नेजोङ्घा का सैनिकहरूको नृत्य पाइटोएड छम नामको नृत्य पनि प्रदर्शनीको सूचिमा राख्दै यो नृत्य साधनाको एक अनुष्ठानको रूपमा विभिन्न गुम्पाहरूमा फैलिएर गयो।
हरेक वर्ष सातौँ चन्द्रमा मासको पन्द्रौँ दिन पेमायाङत्से लामाहरूले जोङ्ग्रीमा नेसोल अनुष्ठानको आयोजना गरेपछि उनीहरू दब्ला ग्याङ जान्छन्। दब्ला ग्याङ जोङ्ग्रीको सबभन्दा अग्लो स्थान हो जहाँ कञ्जनजङ्घातिर फर्किएको एक प्राकृतिक यज्ञकुण्ड छ। यसपछि लामाहरू सिक्किमको चार मूल देवताहरूलाई समर्पित चारवटा छोर्तेन(स्मारक) भएको स्थान डू त्सेन लु सम जान्छन् अनि प्रार्थना चढाउँछन्। चाउरीलाई खुल्ला छोडेर जोङ्घालाई चढाइन्छ। त्यसपछि लामाहरू काबुर लाम त्सो झिल जान्छन् जहाँ थप अनुष्ठान गरेपछि नेसोल अनुष्ठान समाप्त गर्न फर्किएर जोङ्ग्री जान्छन्। (यस अनुष्ठानको पूर्ण विवरणको निम्ति पाङ ल्हाबसोल: सिक्किमका संरक्षक देवताहरूको अर्चना पढ्नुहोस्) प्रार्थनामा हरेक पवित्र स्थानका देवताहरूको वर्णन सामेल हुन्छ अनि कञ्चनजङ्घामाथि विशेष ध्यान दिइन्छ।
सत्रौँ शताब्दीमा जब तिब्बतीय वंशजका पहिलो छोग्याल फुनत्सोङ नामग्याललाई योक्सोमको सिंहासनमा बसाइयो, नयाँ शासकले लो-मोन-त्सोङ-सम सम्झौतामा हस्ताक्षर गरेर लिम्बु अनि लेप्चाहरूबाट अनुपालन लिए। उक्त सम्झौताले सत्ता अनि सहुलियतको मामिलामा बराबर साझेदारी सुनिश्चित गऱ्यो। विशुद्ध तिब्बती रगतले बनेका पेमायाङत्सेका लामा दर्जाले लिम्बु अनि लेप्चाहरूबाट पूर्ण सहभागिताको सर्त राखे जसको कारण उनीहरूले शासकहरूको धर्मलाई अप्नाउनुपर्ने भयो। ल्हाडे-मेडी सरकार भनिने लो-मोन-त्सोङ सरकार लामा दर्जा अनि साधारण समुदायको मिश्रण थियो। परिषद गठनमा अठाह्र सदस्यहरू थिए। हरेक तीन समुदायले लामा दर्जा अनि साधारण समुदायको निम्ति छ छ जना सदस्य पठाउनुपर्ने हुन्थ्यो। यस सरकार अन्तर्गत हरेक परिवारबाट एकजना छोरा (सम्भव भए दोस्रो छोरा) लाई गुम्पा पठाउनुपर्ने हुन्थ्यो। तीनवटा समुदायका सदस्यहरूलाई कर तिर्नबाट छुट दिइएको थियो। यस छुटको बदलामा समुदायहरूले आफ्नो परम्परा अनि संस्कृतिलाई यथावत राख्नु (स्वीकार गर्नु) पर्ने हुन्थ्यो। हरेक परिवारसँग लाखाङ अथवा पूजा स्थल हुन जरूरी थियो जहाँ परिवारको मूल सदस्यले प्रार्थनामा परिवारको नेतृत्व गर्नुपर्ने हुन्थ्यो। हरेक दिन घ्यूबत्ती बाल्नु अनि सातवटा पेलामा हरेक बिहान पानी चढाउनु र साँझमा हटाउन पर्थ्यो। बुद्ध पूर्णिमा अथवा राष्ट्रिय छुट्टीजस्ता विशेष दिनमा समुदायले गुम्पामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन पर्थ्यो।
अठाह्रौँ शताब्दीमा छागदोर नामग्यालले सिक्किममा बौद्ध धर्मलाई दह्रो बनाउन अनेक पहल गरे। तीनवटा खोलाहरू- उत्तरमा राथोङ छु, पूर्वमा रङ्गीत अनि दक्षिणमा कालेज-ले बाँधिएको नेपालको सिमानासम्म छुने ठूलो भूभाग पेमायाङत्सेलाई दिए। जमिनबाट आएको आमदानी राजमहल अनि गुम्पाबीच साझा हुन्थ्यो। आमदामी गुम्पा अनि सरकारबीच साझा हुने यो प्रथा आजसम्म यथावत छ।
सन् १९७५ मा सिक्किम भारतमा अन्तर्भुक्त भएपछि वार्षिक अनुष्ठानहरूले अड्चन भोग्नुपऱ्यो। पाङ ल्हाबसोल पर्व, त्सुक्लाखाङको महलमा पारम्परिक नृत्य बन्द भयो। यद्यपि, राजा शासनको समय पारम्परिक रूपमा राजकीय अनुष्ठानहरू आयोजना गर्ने पेमायाङत्से लामाहरूले सन् १९९४ मा आफ्नो गुम्पामा यसको पूर्ण प्रस्तुतिलाई पहिलोचोटि पुन:शुरूवात गरे। सन् १९९० को दसको मध्यतिर नयाँ रूप अनि व्यख्याय सहित गान्तोक बजारमा पाङ ल्याहसोल पर्व पालन गरियो। यस पर्वमा लेप्चा अनि भुटिया समुदायबीच तेह्र शताब्दी पूरानो रगतको भाइचारामाथि बल दिइएको थियो, जसको गवाही देवता जोङ्घालाई मानिन्छ। अहिले यस पर्वलाई राबोङ गुम्पासम्म विस्तारित गरिएको छ जहाँ स्थानीय मानिस अनि पर्यटक समेत सहभागी बनेर यसलाई एक मुख्य पर्वको रूपमा मनाउँछन्। सन् २००९ मा स्वर्गीय लाछेन रिम्पोचेले लाछेन थाङ्गु गुम्पामा यसको प्रस्तुतिको निम्ति पहल गरे। सन् २००० सालमा स्थापित भएको त्सुकलाखाङ ट्रस्टले यस पवित्र अनुष्ठानलाई बिउँताउने कार्य गऱ्यो। यतिका वर्षपछि पहिलो पाङ ल्हाबसोल पर्व सन् २०१६ मा मनाइयो अनि त्सुकलाखाङ पर्वले मानिसहरूको भूमिसँगको सम्बन्धलाई बिउँताउने कार्य गऱ्यो। अनुष्ठानको परिधिले आज साङ्केतिक रूपमा सिक्किमका सबै समुदायलाई समावेश गर्छ जसले सिक्किमका जनताबीचको एकताको सन्देश दिन्छ। क्याप्टन योङ्डाले एउटा अन्तर्वातामा भने अनुसार देन्जोङको निम्ति मात्र होइन तर सारा विश्वकै रक्षाको निम्ति यो पर्व मनाइन्छ। त्यसकारण परिस्थिति बदलिएर गए पनि पेमायाङत्सेको अनुष्ठानिक महत्व यथावत छ।
सन्दर्भ सामाग्री:
अनुवादक: लेखनाथ छेत्री
Photo Gallery
(Click to enlarge)
Designed by NWD.