किराँती क्रमविकास अनुसार (Kirat Chronology), मगर जाति वा समुदाय हिमालयको उत्तरी भागमा पर्ने शीन क्षेत्रबाट आएका हुन्। पाँचौ शताब्दीतिर, दुईजना नेता – शिङ मगर र चितु मगरलाई पछ्याउँदै उनीहरू दक्षिणतर्फ झरेका थिए। दक्षिणका जनमानसले उनीहरूलाई “ताङसाङ थापा” भन्ने गर्थे, अर्थात् टाढा उत्तरबाट आएका मानिसहरू। समय बित्दै जाँदा उनीहरूको सङ्ख्या पनि बढ्दै गयो र पछि बाह्र थरमा विभाजित भए, जसलाई बाह्र मगर भनिन्छ।
किराँतीहरूको इतिहास एवं संस्कृतिमा, इमानसिंह चेमजोङले उनीहरूको वृतान्त दर्ता गर्दै हालको सिक्किम भन्ने इलाकामा आएपछि आफ्नो थात-थलोको सुरक्षा गर्न गढी निर्माण गरे, जसलाई मगरजोङ भनिन्छ। सिक्किम तथा हालको दार्जीलिङ जिल्ला लगायत विभिन्न इलाकामा उनीहरूले मगर शासन स्थापित गरे। उनीहरूले लेप्चा समुदायसँग पनि परस्पर सम्बन्ध बढाएको केही प्रमाण पाइएको छ। लेप्चाहरूमा मोङ्गोर्मु थर पाइन्छ भने मगर, लेप्चा तथा लिम्बूहरूबीच भाषिक नाता रहेको पनि पाउँदछौँ। सिक्किम अनि नेपालमा सकरखण्डको खेती शुरु गर्ने श्रेय मगरहरूलाई जान्छ। लेप्चाहरूले सकरखण्डलाई मगरबुक भन्छन्, अर्थात् मगरहरूले ल्याएका आलु।
महाराजा थुटोप नामग्याल तथा महारानी हिस्से डोल्माको पुस्तकमा, दूतहरूको टोलीसँग फुनसोग नामग्यालले योक्समको यात्रामा जाँदा राक्दोङ पुल पार गरी याङगाङतर्फ अघि बढेका थिए। याङगाङ हुँदै अघि बढ्दा उनीहरूले लेप्चा अनि मगरहरू भेटेका थिए। र योक्सममा फुनसोग नामग्यालको राज्याभिषेक हुँदा त्यहाँ भोटिया, लेप्चा, लिम्बू अनि मगर समुदायका मानिसहरू पनि उपस्थित थिए।
नामग्याल राजवंश शुरु हुनुअघि, सिक्किम लेप्चा, लिम्बू अनि मगरका स-ससाना राजा-रजौटामा विभाजित थियो। 'दी हिस्टोरी अव् मगर पिपल एण्ड देयर कल्चर इन सिक्किम” का लेखक सन्तोष आले अनुसार, करिब १६००-१७०० शताब्दीतिर, यहाँ दुईजना मगर प्रमुख थिए, एकजना कामराङमा र अर्का सुल्डुङमा। मगरहरूले अठाह्रौँ शताब्दीसम्म भोटिया शासक विरुद्ध लडाईँ अनि सङ्घर्ष गरेका थिए। कामराङमा मगर मुखिया दलसिंह मगर मारिएका थिए भने उनकी लेप्चा पत्नी ठाडो भीरमा कतै अल्पिएकी थिइन्। सुल्डुङमा मगर मुखियाको हत्या भएपछि उनका अनुयायीहरू छरप्रस्ट भई अन्य इलाकातिर भागेका थिए। आज पनि तर सुल्डुङ गढी वा जोङ यथावत छ। कालान्तरमा विभिन्न समुदायले त्यसको प्रयोग गरे। भोटियाहरूले यसलाई पूजा स्थल बनाउँदै गढीको शीरमा प्रार्थना कुँदिएका च्याप्टा ढुङ्गाहरूले सजाएका छन्। सन् १७१७-१७८० तिर गोर्खा सैनिकले दक्षिण र पश्चिम सिक्किममा आक्रमण गर्दा उक्त गढीलाई आफ्नो कब्जामा लिएका थिए। उनीहरू फर्केर जाँदा सूर्य-चन्द्र कुँदिएको शिलालेख छोडेर गएका थिए। धेरै पछि, बीसौँ शताब्दीको सुरुवाततिर, गेलिङका गुरु ज्ञानदिल दासका अनुयायी साधु राई समुदायले यस स्थानलाई पूजा स्थलका साथै आफ्ना गुरुका समाधि स्थलको रूपमा प्रयोगमा ल्याएका थिए। आजको दिनमा पनि मङसीर पूर्णिमाको दिन उनीहरूले यहाँ भक्तिभावका साथ पूजा-अर्चना गर्दछन्।
प्रथम छोग्यालले आफ्नो शासनकालभरी मगरहरूलाई आफ्नो अधीनमा ल्याउने कोशिश गरे। एकातिर लेप्चा अनि लिम्बूहरूले छोग्यालको शासन सहजै स्वीकार गरे तापनि मगरहरूले भने प्रतिरोध जारी राखे। बर्थाङ-बर्फोकका दलकिनरी खपाङ्गी मगर अन्तिम मगर मुखिया थिए, जसको भोटियाहरूले हत्या गरे। एशले ईडेनले “दी ग्याजेटियर अव् सिक्किम”को सन् १८६४ को संस्करणमा फुनसोग नामग्यालको शासनकालबारे यसरी उल्लेख गरेका छन्, “उनको शासनकालबारे धेरै कम जानकारी उपलब्ध छ; तर सम्भवतः रूपमा उनी अरुण नदीको पूर्वमा पर्ने मुलुकमा बसोबासो गर्ने स-साना राजा-रजौटाका मुखियाहरूलाई जित्ने अथवा अधीनमा ल्याउने कोसिसमा थिए।” यसका अतिरिक्त, उनी लेख्छन् “... लात्सान लामाको सहयोगमा, उनले सिन्तु सतिछेनोर मङ्गल ग्याल्पालाई परास्त गरे, तथापि यो लेप्चाको जस्तो देखिए तापनि, नाम भने मगरको जस्तो बुझिन्छ। यो समुदाय कञ्चनजङ्घा-सगरमाथा पर्वत शृङ्खलाको दक्षिणी घाटीमा बसोबासो गर्थे। निखोज रूपमा मुखिया बेपत्ता भए, र भाकल गरी उनलाई दिइएको चोट-पटकका लागि सूर्य अनि चन्द्रलाई बिन्ती बिसाएका थिए।”
अङ्ग्रेजी वनस्पतीशास्त्री जोनडाल्टन हूकरले पनि मगरबारे उल्लेख गर्दै अरुण नदीको पश्चिम दिशामा बसोबासो गर्ने सिक्किमका रैथाने मूलवासी बताएका छन्। उनीहरूलाई पश्चिमतर्फ लिम्बूहरूको अधिराज्यमा र अझ पश्चिमतिर धकेलिएको थियो। उनीहरू गैर तिब्बती मूलका मानिन्थे।
सिक्किममा मगरहरूको इतिहास पूर्णरूपले समाप्त गरिएको छ भने यस समुदायका मानिसहरू पनि आफ्नो थलोबाट छरप्रस्ट भएका छन्। बिर्सिँदै अनि हराउँदै गइरहेका धमिला स्मृतिकै बलमा आफ्नो हराएको इतिहासको खोजी गर्ने अभियानमा केही व्यक्ति लागिपरेका छन्।
मगरहरूको आफ्नै विवाह, जन्म अनि मृत्युसम्बन्धी रीति-थिति हुन्छ। आफ्नो समुदायदेखि बाहिर बिहेबारीलाई उनीहरू प्रेरित गर्दैनन्, तर यदि भइहालेको खण्डमा बाह्र थरी मगर प्रतिनिधिको उपस्थितिमा आफ्नो जातदेखि बाहिरका बुहारी भित्र्याउन विस्तृत रीति-विधि गरिन्छ। मगरहरूले मृतकलाई भूसमाधि अर्थात् गाड्ने गर्दछन् र अन्तिम संस्कार उनीहरूकै भुसाल थरका पुजारीले गर्दछन्। रीति अनुसार छोरा वा परिवारका पुरुष सदस्यले दसदिनसम्म क्रियापुत्री बसी नचोख्याएसम्म नुन, तेल र मसाला बार्दै कोरा बस्ने गर्दछन्। चोख्याउने विधिमा पानीमा खाँटी सून चोपलेर सूनपानी पनि छर्कने गर्दछन्।
सिक्किममा मगरहरूको इतिहास पूर्णरूपले समाप्त गरिएको छ भने यस समुदायका मानिसहरू पनि आफ्नो थलोबाट छरप्रस्ट भएका छन्। बिर्सिँदै अनि हराउँदै गइरहेका धमिला स्मृतिकै बलमा आफ्नो हराएको इतिहासको खोजी गर्ने अभियानमा केही व्यक्ति लागिपरेका छन्। त्यस्तै एक व्यक्ति हुन् तारानाथ थापा, जो एक अवकाशप्राप्त शिक्षक हुन्। करिब अठाह्र वर्षसम्म उनले तेस्रो गोर्खा रेजिमेन्टमा सेवा पुऱ्याए। सेनामा छँदै उनले आफ्नो शिक्षा पूरा गरे र फर्केर आएपछि उनले शिक्षकको नोकरी पाए। अहिले आएर उनी आफ्नो समुदायको हराएको इतिहास पुनरूद्धार गर्ने अभियानमा लागेका छन्। विभिन्न भागमा मगरजोङको अवशेषले पनि सिक्किमको कामराङ, सुल्डुङ, गढी, रातेपानी, बार्फोक र मङसारी र हाल पश्चिम बङ्गालको दार्जिलिङ क्षेत्रमा मगरहरूको अस्तित्वबोध गराउँदछ।
आफ्नो बाल्यकालमा बज्युको नाता पर्ने चन्द्रमाया तामाङबाट राजा सिन्तुपतिसेन मगर र उनकी रानीको कथा सुन्दै तारानाथ थापा हुर्किएका थिए। भोटियाहरू आउनुअघि यो भेक लिम्बू अनि मगरको अधिराज्य थियो, जसले आ-आफ्नो शासनक्षेत्र स्थापित गर्दै मुखियाको मार्गदर्शनमा बसोबासो गर्थे। मङसारीको मगरजोङ सिन्तुपति सेनले १६औँ शताब्दीतिर स्थापित गरेका थिए। यो क्षेत्र पश्चिम सिक्किमको सोरेङ महकुमा अन्तर्गत पर्दछ।
यसै गढीबाट राजा सिन्तुपति सेनले वरिपरीका इलाकामाथि राज गर्थे। सन् १६४२ मा उनले नयाँ भोटिया राजा फुनसोग नामग्यालबाट आत्मसमर्पण गर्नुपर्ने सन्देश पाए। समर्पण गर्नुको साटो सिन्तुपति सेनले नजिकैका सुब्बा राजा माबुहाङलाई सहयोगको निम्ति गुहार लगाए। भोटिया सेना आइपुग्दा सिन्तुपति सेन लिम्बू अनि मगरको संयुक्त सेनाका साथ तयार थिए। उनले सफलतापूर्वक आक्रमणकारीहरूलाई लखेटे।
यसपछि केही शान्ति छायो। सबै शान्त थियो, तर केही समयपछि अरू धेरै सङ्ख्यामा तिब्बती सैनिकका साथ फुनसोग नामग्यालको सेनाले अचानक मगरजोङमा आक्रमण गरी उनीहरूलाई पाहाडको फेदीतिर खेदे। लिम्बू समुदायको चिहानघारी पार गर्दै थर्पूमुनि खुल्ला टार पुग्दा सिन्तुपति सेनलाई घेराबन्दी गरी भोटिया सेनाले उनको हत्या गरे। यस टारलाई आज पनि राजाटार भनिन्छ।
अर्कातिर, शोकाकुल रानीले शत्रुको हातमा पर्नुभन्दा मर्नु नै निको सम्झिन्। उनी लुक्दै पाहाडको फेदमा रहेको खोलामा पुगिन् र त्यहाँ हाम फालिन्। यस खोलालाई आज पनि रानी खोला भनिन्छ।
यस प्रकारका कथाले तारानाथलाई निकै प्रभाव पारेको थियो। भारतीय सेनामा कार्यरत हुँदा उनी एकपटक झाँसीमा तैनाथ भए, जहाँ बृटिश हैकम विरुद्ध साहसपूर्वक लड्ने बुन्देलखण्डकी झाँसीकी रानीको स्मारक घुम्ने मौका पाए। यहीँबाट सिन्तुपति सेनको प्रतिरोध र उनको दुखदायी अन्त्यलाई अमर बनाउन केही गर्न उनी प्रेरित भए। मङसाली-मगरजोङको त कुरै छाडौँ, मगर समुदाय आज धेरै छरपस्ट भएका हुनाले उनीहरूबारे केही पत्तो लगाउन गाह्रो पर्दछ। यस भेकमा पनि पछिबाट तामाङ अनि छेत्री समुदायले बसाइँ जमाए। आजको दिनमा केवल धामी-झाँक्रीले आफ्नो फलाक्ने मुन्धुममा राजाको स्मृति पाइन्छ। मगर समुदायका साथै सन्यासी अनि छेत्री समुदायले मङसिर पूर्णिमाको (बाली उठाउने महिनाको पूर्णिमा) समय राजाको नाम जप्दै उनलाई कुखुरा, अण्डाका साथै फल-फूल चढाउने गर्दछन्।
राजाले आफ्नो धन लुकाएको भीरतर्फ देखाउँदै चन्द्रमायाले त्यस भीरलाई गाढधने भीर रहेको बताउने गर्थिन्। त्यस ठाउँको रक्षा नागहरूले गर्ने र औँसीको रातमा त्यहाँ मानिसहरूले नीलो प्रकाश देखिने गरेको उनी बताउँथिन्। के त्यो प्रकाश आज पनि देखिन्छ त? कहाँ र! मानिसहरूले सडक, बिल्डिङ बनाउनका लागि विस्फोट गर्न थालेदेखि त्यो देखिन छोडेको हो, उनी भन्थिन्।
वर्षौँसम्म तारानाथले एक समय मगरजोङ रहेको ठाउँमा जमीन किन्न भनी आफ्नो समुदायबाट चूपचाप पैसा जुटाउने काम शुरु गरे। चाहिए जति पैसा जमा गरेपछि तथा जमीनधनी तामाङ दाजु-भाइसँग जमीनको मोलभाउ गरी अन्त्यमा गएर २०१६ मा उनले जमीन खरिद गरे।
उनको प्रयास त्यसै खेर गएन। तत्कालीन सिक्किम डेमोक्रेटिक फ्रन्ट सकारको प्राथमिकतामध्ये एक सिक्किमका विभिन्न जनसमुदायको इतिहास अनि संस्कृतिको पुनरूद्धार गर्नुरहेको थियो। सरकारले पर्यटन विभागमार्फत् यस क्षेत्रलाई पर्यटन स्थलको रूपमा विकसित गर्ने परियोजना शुरु गऱ्यो। परियोजनाको शिलान्यास 7th डिसेम्बर 2017 को दिन राखियो भने यहाँ अध्ययन केन्द्र, सङ्ग्रहालयका साथै अन्य पर्यटकीय सुविधा स्थापित गर्न यस जमीनको वरिपरी पर्ने सबै इलाका अधिग्रहण गरियो।
सङ्ख्या बलको हिसाबले धेरै घटेर गएका तथा विभिन्न इलाकामा छरपस्ट भई बसाइँ जमाएका यस समुदायका सदस्यहरूले समकालीन सिक्किमको राजनीतिक अनि सांस्कृतिक पटलमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। तीमध्ये एक हुन् रश्मिप्रसाद आले, जसको जन्म आसामको धुबरीमा भएको थियो। आफ्नो प्रारम्भिक शिक्षा उनले असमिया भाषामा लिँदै तेजपुरको सरकारी स्कूलबाट सन् १९१३ मा माध्यमिक उत्तीर्ण गरेका थिए। सन् १९१८ मा उनी आसमको वाणिज्य एवं प्रकाशन कम्पनीका निर्देशक नियुक्त भए। यसपछि उनी गोर्खाली समाचारपत्रका सम्पादक बने। सन् १९१९ मा उनी हरि प्रिन्टिङ प्रेसका निर्देशक बनी खरसाङ आए र पारसमणि प्रधानसँग चन्द्रिकामा काम गरे। सन् १९२९ मा उनी सिक्किम आए र नेपाली बोर्डिङ स्कूलका साथै भोटिया बोर्डिङ स्कूलका प्रधानाचार्य नियुक्त भए। दुवै स्कूलको एकिकरण गरी सन् १९२४ मा उनले टाशी नामग्याल उच्चतर स्कूलको स्थापना गरे।
सन् १९५७ मा गान्तोकवासीको निम्ति ढुवानीको समस्या समाधान गर्न उनले घोडा-गाडीको शुरु गरे। उनले एउटा छापाखाना सञ्चालन गर्नका साथै पहिलो साइकल, रेडियो, ग्रामोफोन र फोटोग्राफीका साज लगायत सिक्किममा आधुनिक जीवनशैलीका परिचायक अन्य साज-सामान जुटाए। राज्यमा ढलपल अवस्थामा रहेको नेपाली साहित्य अभियानलाई उनले सहयोग गरे। कवि अनि लेखकहरूले सिक्किम लेखक सङ्घ स्थापित गरे र उनको पसल पछाडिको कमरामा उनीहरूले बैठक गर्थे। सन् १९५९ तिर सामन्तवाद विरुद्ध टाशी छिरिङद्वारा चलाइएको विद्रोहमा पनि उनी सहभागी बनेका थिए।
सिक्किमका गाउँ-बस्तीतिर पनि सामन्तवाद विरुद्ध असन्तुष्टि बढ्न थालेको थियो। दक्षिण सिक्किमको आसाङथाङमा सन् १९०७ मा जन्मेका भद्रुआले मगरसँग शिक्षाको कमी भए तापनि उनी पढ्न-सिक्न कटिबद्ध थिए, र बीस वर्षको उमेर पार गर्दानगर्दै खरसाङका एकजना शिक्षित व्यक्तिलाई आफ्नो गाउँमा आएर पढाउनका लागि राजी गराए। यसरी उनले आफूसँगै अरूलाई पनि अक्षर पढ्न लेख्न प्रेरित गर्दै न्यायको अर्थबारे चर्चा-परिचर्चाको अगुवाई गर्न थाले। सन् १९३९ ताका उनी जसमणि पन्थका सदस्य बने र सामान्य-सरल जीवन बिताउन थाले। एकदिन आफ्नो घरमा साधुहरूसँग गरिएको बैठकमा गाउँका मानिसहरू पनि भेला गरी गाउँका मण्डललाई खजाना नतिर्न आह्वान जनाए। “हामीले मेहनत गरेर उनीहरूलाई धनी पार्नु मिल्दैन; हालमा चलिरहेको तन्त्रलाई समाप्त गर्नुपर्नेछ र सबैलाई आफ्नो अधिकार दिनुपर्नेछ” उनले बल दिएर भने। उनलाई पक्राउ गरी कचहरी लगियो, तर तुरुन्तै छोडियो पनि।
यसै गरी साङबोङ खण्डमा ७ नोभेम्बर, १९०२ को दिन अशिक्षित कृषक परिवारमा बलवीर केपचाकी मगर जन्मेका थिए। गाई-वस्तु चराउँदै उनले आफैलाई रामायण बाच्न सिकाए। पछि उनी बर्मा गए अनि बृटिश शासनको अधीनमा ठेकादारको रूपमा काम गर्दै उपनिवेशक मालिकहरूको दमनकारी तन्त्रको अनुभव बटुले। पछि सिक्किम फर्केर उनले उक्त तन्त्र विरुद्ध लड्ने सङ्कल्प लिए। उनले शिक्षाको प्रसार गर्दै गाउँमा स्कूलको स्थापना गर्न सहयोग गरे। महिलाहरू शिक्षित बने समाजको विकासमा ठूलो टेवा पुग्ने विचारका साथ उनले महिलाहरूको शिक्षालाई पनि प्रोत्साहित गरे। उनले मानिसहरूलाई काजी-ठिकादार तथा उनीहरूका अरौटे-भरौटेहरू विरुद्ध खडा हुन प्रेरित गरे। भद्रआले मगर, धनबहादुर पुलामी मगर, लाजङ सुब्बा, पाण्डुमान राई, देवरूप राई, नन्दलाल नेपाल र भगिरथ शर्मा जस्ता गाउँका मनमिल्ने साथीहरूले पनि उनलाई सहयोग गरे।
अस्ट्रेलियामा पशुपालन तथा कृषि विषयमा आठ वर्षको गहन तालिमपछि पश्चिम बङ्गालको पङ्खाबारीमा जन्मेका जीवनकुमार थापा सन् १९५८ मा सिक्किम आए। यहाँ आएर उनले कृषि विभागमा अधिकारी एवं अधीक्षकको पदभार सम्हाले। समर्पणका साथै कडा मेहनतको कारण उनी चाँडै निर्देशक बने। सन् १९७५ मा सिक्किम भारतमा विलय भएपछि, अन्य वरिष्ठ नोकरशाह जस्तै उनी पनि भारतको प्रतिष्ठित लोक सेवा क्याजर अन्तर्गत भारतीय प्रशासनिक सेवामा (आइएएस) सामेल गरिए। यसपछि उनले स्वास्थ्य तथा योजना एवं विकास विभागमा पनि काम गरे। सिक्किमको प्रशासनमा यस प्रतिष्ठित उच्च पदमा पुग्ने उनी मगर समुदायका पहिलो व्यक्ति थिए।
अझ पनि धेरै काम गर्न बाँकी रहेको अधिकांश मगर समुदाय ठान्दछन्। शिक्षक, डाक्टर, अभियन्ता साथै सैनिकका रूपमा उनीहरूले यथोचित स्थान प्राप्त गरेको भए तापनि, सिक्किमका रैथाने मूलवासीका रूपमा जबरजस्ती विस्मृत गराइएको उनीहरूका इतिहास पुनः दुरूस्त बनाउने दिशामा उनीहरू हाल अघि बढिरहेका छन्।
सन्दर्भ:
अनुवादक: खगेन्द्र मनी प्रधान
Photo Gallery
(Click to enlarge)
Designed by NWD.