"जसले मह काढ्छ, उसले हात चाट्छ" -
यो कालातीत नेपाली उखानले हामीलाई साँचो प्रयासले मात्र साँचो प्रतिफल दिलाउँछ भन्ने कुरो स्मरण गराउँछ। मौरीपालनभन्दा यस ज्ञानलाई अझ सुन्दर ढङ्गले आत्मसात् गर्ने जीविकोपार्जनका क्षेत्रहरू कमै होलान्।
हिमालयको फेदीमा, मौरीपालकहरूका धेरै पुस्ताहरूले प्रकृतिको चक्रसँग तालमेल मिलाउँदै काम गर्दै आएका छन्। उनीहरूले फुल फुल्ने चक्रलाई नियाल्छन्, मौसमका सङ्केतहरू बुझ्छन् र बदलिँदो ऋतुअनुसार मौरीका डुँडहरूको हेरचाह गर्छन्। मौरीसँगको उनीहरूको सम्बन्ध प्रभुत्वमा होइन तर सहयोगमा बनेको छ। यहाँको उत्पादन महमा मात्र सीमित हुँदैन; यसले जीवनयापन, उपचार, संस्कृति र स्मृतिलाई समेत समेट्छ। महको प्रत्येक थोपा जङ्गली फुलहरू, वनका छेउछाउ, गाउँका बगैँचा तथा परागसेचक र मानिस दुवैलाई जीवन दिने भू-दृश्यको स्वाद बोकेर आउँछ।
मौरीसँगको उनीहरूको सम्बन्ध प्रभुत्वमा होइन तर सहयोगमा बनेको छ।
दार्जिलिङका चिया उत्पादन गर्ने पाहाडहरूमा, यो स्थायी अभ्यास विस्तृत चिया बगानको छायाँमुनि चुपचाप गुञ्जयामान छ। विश्वका प्रसिद्ध चिया उत्पादन क्षेत्रहरूमध्ये एउटा यस भूभागमा मौरीपालकहरूको एउटा समुदायले परम्परागत ज्ञान, वैज्ञानिक नवीनता र संरक्षणलाई एकसाथ जोडेर अझ बढी सुदृढ भविष्य निर्माण गर्ने बाटो देखाइरहेको छ।
स्पष्ट दृष्टिमा लुकेको जीविकोपार्जन
खर्साङ, मिरिक र दार्जिलिङका चिया परिदृश्यहरू प्रायः नै कुहिरोले ढाकिएका डाँडाकाँडाहरू क्यामेलिया सिनेन्सिस (चियाको बोट) र क्रिप्टोमेरिया जापोनिका (धुप्पी) जस्ता विदेशी प्रजातिका रूखहरूले ढाकिएका क्षेत्रका रूपमा चिनिन्छन्। तर यो परिचित कथाको पछाडि अर्को कथा लुकेको छ; आदिवासी एसियाली / भारतीय मौरी, एपिस सेराना इंडिकाको उपनिवेशहरूको हेरचाह गर्ने मौरीपालकहरूको कथा ।
आज, यो कथा बढ्दो महत्त्वपूर्ण हुँदैछ। पाहाडको लामो आर्थिक मेरुदण्डको रूपमा रहेको दार्जिलिङको चिया उद्योगले विश्व बजारको उतारचढाव र जलवायु परिवर्तनशीलतामा सीमित नभएर धेरै चुनौतीहरूको सामना गरिरहेको छ। हजारौँ चिया बगानका कामदारहरू र तिनीहरूका परिवारहरूका लागि, यी दबाउहरूले अनिश्चित जीविकोपार्जन र आम्दानी बढाउने सीमित अवसरमा रुपान्तरित हुन्छन्।
यस सन्दर्भमा, विविध जीविकोपार्जन अब केवल वांछनीय मात्र रहेन; तिनीहरू आवश्यक छन्। मौरीपालनले यस्तै एउटा अवसर प्रदान गर्दछ। यसका लागि तुलनात्मक रूपमा थोरै जग्गा, सामान्य लगानी चाहिन्छ र उत्पादनशील जमिनका लागि प्रतिस्पर्धा नगरी चिया बगानको भू-दृश्यसँग निर्बाध रूपमा एकीकृत गर्न सकिन्छ।

धेरै कृषि उद्यमहरू भन्दा फरक, मौरीपालनलाई उल्लेखनीय रूपमा कम ठाउँ चाहिन्छ।
अम्बोटिया चिया बगान, मकैबारी चिया बगान र छिमेकी गाउँका मौरीपालकहरूमाझ गरिएको हालैको आधारभूत मूल्याङ्कनले धेरै घरपरिवारका लागि मौरीपालन एउटा महत्त्वपूर्ण सहायक जीविकोपार्जनको माध्यम भएको देखाएको छ। धेरैजसो सहभागीहरू चियाबारीका मजदुर थिए वा आफ्नो प्राथमिक आम्दानीका लागि आकस्मिक दैनिक ज्यालादारी श्रममा निर्भर थिए। यी परिवारहरूका लागि ठुलो भू-स्वामित्व वा पर्याप्त लगानीको आवश्यकता नपरी जीविकोपार्जनका स्रोतहरू विविधीकरण गर्ने अवसर मौरीपालनले प्रदान गर्छ।
धेरै कृषि उद्यमहरू भन्दा फरक, मौरीपालनलाई उल्लेखनीय रूपमा कम ठाउँ चाहिन्छ। घरको छेउमा वा भान्साको बगैँचा नजिकै राखिएका केही डुँडहरूले बहुमूल्य मह उत्पादन गर्न सक्छन् र साथसाथै भू-भागभरि परागसेचनलाई समर्थन गर्न सक्छन्।
मूल्याङ्कनले औसत मौरीपालकले थोरै सङ्ख्यामा मात्र मौरीका डुँड व्यवस्थापन गर्ने गरेको पनि देखाएको छ। केही घरपरिवारले ठुला मौरीपालन केन्द्र सञ्चालन गरे पनि अधिकांशले केवल एउटा वा दुईवटा डुँड मात्र राख्छन्। यसबाट यस क्षेत्रमा मौरीपालन अझै पनि मुख्यतः सानो स्तरमा र घरपरिवारमा आधारित रहेको देखिन्छ। यो प्रायः अन्य जीविकोपार्जनका गतिविधिसँग जोडिएर सञ्चालन हुन्छ, छुट्टै व्यवसायका रूपमा मात्र होइन।
स्वदेशी मौरीका संरक्षकहरू
यस कथाको प्रमुख पात्र केवल मह होइन, स्वयं मौरी हो।
स्वदेशी एपिस सेराना शताब्दीयौंदेखि हिमाली पारिस्थितिक प्रणालीसँग सह-विकास हुँदै आएको छ। व्यावसायिक मौरीपालनमा प्रायः प्रवर्द्धन गरिने आयातित मौरी प्रजातिहरू भन्दा फरक, एपिस सेराना स्थानीय हावापानी अवस्था, मौसमी उतारचढाव र स्थानीय फुल फुल्ने बिरुवाहरूका अनुकूल हुन्छ।
स्वदेशी एपिस सेराना शताब्दीयौंदेखि हिमाली पारिस्थितिक प्रणालीसँग सह-विकास हुँदै आएको छ।

परम्परागत मौरीपालकहरूले लामो समयदेखि यी सम्बन्धहरूलाई गहिरोसँग बुझेका छन्। उनीहरूको ज्ञानमा मौरीहरू कहाँ चरनमा जान्छन्, विभिन्न मौसममा कुन-कुन वनस्पति फुल्छन्, घारमा मौरीको समूह छुट्टिनुअघि अर्थात् स्वार्मिङ हुनुअघि मौरीहरूले कस्तो व्यवहार गर्छन् र मौरीको बाँचाइमा असर नपर्ने गरी कहिले मह संकलन गर्न सकिन्छ भन्ने कुरा समावेश हुन्छ।
आज, यो ज्ञान अमूल्य छ। तर पनि आधुनिक चुनौतीहरू; बासस्थानको सरलीकरण, घट्दै गएको पुष्प विविधता, मौसमको ढाँचामा परिवर्तन, र बागवानी र पुष्पखेतीमा रसायनको प्रयोगजस्ता आधुनिक चुनौतीहरूले थप सिप र सहयोगको आवश्यकता सिर्जना गरेका छन्।
यहीँबाट वैज्ञानिक ढङ्गको मौरीपालनको भूमिका सुरु हुन्छ।
डब्ल्युडब्ल्युएफ-इन्डियाले दार्जिलिङ चिया चिया क्षेत्रमा रहेका मौरीपालकहरूलाई तालिम, सहयोग र अनुगमनको संयोजन मार्फत सहयोग गर्दै आएको छ। २०२४ देखि, अम्बोटिया चिया बगान, मकैबारी चिया बगान र छिमेकी गाउँहरूका नब्बे भन्दा बढी मौरीपालकहरूलाई वैज्ञानिक मौरीपालन र सुधारिएको डुँड व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ।

डब्ल्युडब्ल्युएफ-इन्डियाले दार्जिलिङ चिया चिया क्षेत्रमा रहेका मौरीपालकहरूलाई तालिम, सहयोग र अनुगमनको संयोजन मार्फत सहयोग गर्दै आएको छ।

यो समर्थन तालिमभन्दा बाहिर पनि फैलिएको छ। मौरीपालकहरूलाई आईएसआई-मानक मौरीको बाकस, मौरीको पर्दा र पन्जा जस्ता सुरक्षात्मक उपकरणहरू र समुदायको स्वामित्वमा रहेका मह निकाल्ने उपकरणहरू उपलब्ध गराइएको छ, जसले स्वच्छ र प्रभावकारी ढङ्गले प्रशोधन गर्न सहयोग गर्दछ। डब्ल्युडब्ल्युएफ-इन्डियाले मह उत्पादन, निकासी, ह्यान्डलिङ र भण्डारणका लागि मानक सञ्चालन कार्यविधिहरू (SOPs) सह-विकास गर्न मौरीपालकहरूसँग नजिकबाट काम गरिरहेको छ। यी उपायहरूले गुणस्तर, एकरूपता र स्रोत पहिचान क्षमता सुधार गर्ने लक्ष्य राखेका छन्, जुन प्रिमियम गुणस्तरको मह व्यवसाय स्थापना गर्न अत्यन्त महत्त्वपूर्ण छ।
महत्त्वपूर्ण कुरा, यसको उद्देश्य परम्परागत ज्ञानलाई प्रतिस्थापन गर्नु होइन, बरु पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्थानीय ज्ञानलाई वैज्ञानिक बुझाइसँग जोडेर अझ लचिलो, दिगो र उत्पादनशील मौरीपालन प्रणाली निर्माण गर्नु हो।
परम्परा र नवोन्मेशको सङ्गम
पुस्तौँदेखि, धेरै हिमाली मौरीपालकहरूले खोक्रो रूखका हाँगाहरूबाट बनाइएका परम्परागत काठको डुँडमा मौरी पाल्दै आएका छन् । यी डुँडहरू सांस्कृतिक रूपमा महत्त्वपूर्ण छन् र स्वदेशी मौरीहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
तर न्युटन हाइभ र परिमार्जित ल्याङ्स्ट्रोथ-प्रकारका आधुनिक फ्रेमसहितका डुँडहरूले केही महत्वपूर्ण फाइदा प्रदान गर्दछन्। परम्परागत काठका डुँडको तुलनामा फ्रेम भएको डुँडमा पुरै मौरीको गोलालाई नबिच्काइकन प्रत्येक चाकाको छुट्टाछुट्टै निरीक्षण गर्न सकिन्छ। यसले मौरीको स्वास्थ्य अनुगमन गर्न, रोग वा परजीवीको समस्या सुरुमै चिन्न तथा समयमै व्यवस्थापनका उपाय अपनाउन सहज बनाउँछ।

परम्परागत काठका डुँडको तुलनामा फ्रेम भएको डुँडमा पुरै मौरीको गोलालाई नबिच्काइकन प्रत्येक चाकाको छुट्टाछुट्टै निरीक्षण गर्न सकिन्छ।
फ्रेमको डुँडले चाका विनाश नगरी मह सङ्कलन गर्नलाई पनि सहज बनाउँछ। चाकालाई क्षति नपुर्याई छनोट गरिएका फ्रेमबाट मह निकाल्न सकिन्छ, जसले मौरीको समूहमा पर्याप्त खाद्य भण्डार सुरक्षित रहन दिन्छ। यसले मौरीहरूमा तनाव कम गर्छ र मौरीको दीर्घकालीन बाँचाइलाई बलियो बनाउन सहयोग पुग्छ।। भुटान जस्ता तुलनात्मक हिमाली भू-दृश्यमा गरिएको अनुसन्धानले देखाएको छ, आधुनिक फ्रेमको डुँडमा व्यवस्थापन गरिएका एपिस सेराना मौरीका समूहहरूले समान परिस्थितिहरूमा परम्परागत डुँडमा राखिएका भन्दा बढी मह उत्पादन गर्न सक्छन्।
दार्जिलिङका धेरै मौरीपालकहरूका लागि, यो सङ्क्रमण परम्पराबाट विचलन होइन तर यसको विकास हो। मौरीहरू उस्तै रहन्छन्, पारिस्थितिक ज्ञान सान्दर्भिक रहन्छ र मौरीपालक र मौरीका समूहमाझको सम्बन्ध कायम रहन्छ। परिवर्तन भएका छन् त केवल ती उपकरणहरू, जसले मौरीपालकहरूलाई आफ्ना घारमा रहेका मौरीको अझ प्रभावकारी रूपमा हेरचाह गर्न र अझ दिगो तरिकाले मह संकलन गर्न सहयोग गर्छन्।
कथा सहितको मह
उपभोक्ताहरूका लागि, मह प्रायः पसलको अल्मारीमा राखिएको अर्को उत्पादन मात्र हो। तथापि, हिमाली मौरीपालकहरूका लागि, मह भनेको उनीहरूका ठाउँको प्रतिबिम्ब हो।
दार्जिलिङको चिया क्षेत्रमा उत्पादन हुने विविधका महले विविध पारिस्थितिक संरचनाको विशिष्ट पहिचान बोकेको हुन्छ। चिया बगान, घरआँगनका बगैँचा, वनका किनारा, जङ्गली झाडीहरू, फुल फुल्ने रूखहरू र स्थानीय जमिनमुनिका बोटबिरुवाहरू। प्रत्येक फुल फुल्ने मौसमले फसलको स्वाद, सुगन्ध र विशेषतामा योगदान पुर्याउँछ।
प्रत्येक फुल फुल्ने मौसमले फसलको स्वाद, सुगन्ध र विशेषतामा योगदान पुर्याउँछ।

यस क्षेत्रका अधिकांश मौरीपालकहरूले वसन्त र शरद ऋतुमा फुल फुल्ने मौसममा वर्षमा दुई पटक मह सङ्कलन गर्छन्। उनीहरूको मह सामान्यतया गाउँ, छिमेकका समुदाय वा स्थानीय बजारमा सिधै बेचिन्छ। केही उत्पादकहरू खरीददारहरू खोज्न नजिकैका सहरहरू जस्तै खरसाङ, सोनादा र सिटोङमा यात्रा गर्छन्।
उत्पादनको उच्च गुणस्तर र विशिष्ट भौगोलिक उत्पत्तिका बाबजुद धेरै मौरीपालकहरूले तुलनात्मक रूपमा न्यून आम्दानी प्राप्त गर्छन्। आधारभूत मूल्याङ्कनले देखाएअनुसार मह प्रायः ब्रान्ड, लेबल वा औपचारिक बजारको दर्जाकरणबिनै बिक्री हुन्छ। फलस्वरूप, प्रिमियम स्वदेशी मौरीको महका लागि उपभोक्ताहरूले तिर्न इच्छुक हुने मूल्यको केवल सानो हिस्सा मात्र उत्पादकहरूले प्राप्त गर्छन्।
यो अन्तरले चुनौतीसँगै अवसर पनि प्रस्तुत गर्छ।
विश्वभरि, उपभोक्ताहरूले प्रामाणिक, स्रोत पहिचान गर्न सकिने, न्यूनतम प्रशोधन गरिएका र वातावरणप्रति जिम्मेवार उत्पादनको खोजीमा क्रमशः बढी रुचि देखाइरहेका छन्। दार्जिलिङको एपिस सेराना महमा प्राकृतिक रूपमा यी सबै गुणहरू छन्। उपयुक्त गुणस्तर आश्वासन, ब्रान्डिङ र बजार पहुँचप्राप्तिसित, समुदायमा आधारित उत्पादकहरूले आफ्नो उत्पादनबाट बढी मूल्य प्राप्त गर्ने सम्भावना राख्छन्, साथै व्यवसायमाथिको स्वामित्व पनि आफ्नै हातमा कायम राख्न सक्छन्।
परागसेचक र भू-दृश्य
मौरीपालनको भविष्य डुँड व्यवस्थापनमा मात्र निर्भर गर्दैन।
स्वस्थ मौरीको जनसङ्ख्यालाई स्वस्थ परिदृश्य चाहिन्छ। परागसेचक मौरीहरूलाई वर्षभरि निरन्तर रूपमा फुलका रस र परागका स्रोतहरू उपलब्ध हुनुपर्छ। मोनोकल्चर बगैँचाको प्रभुत्व भएका भू-दृश्यहरूमा, यो आवश्यकता एक महत्त्वपूर्ण चुनौती बन्न सक्छ।
स्वस्थ मौरीको जनसङ्ख्यालाई स्वस्थ परिदृश्य चाहिन्छ। परागसेचक मौरीहरूलाई वर्षभरि निरन्तर रूपमा फुलका रस र परागका स्रोतहरू उपलब्ध हुनुपर्छ।
यो वास्तविकतालाई स्वीकार गर्दै, दार्जिलिङको मह उद्यमका लागि उदीयमान दृष्टिकोण उत्पादन मात्र भन्दा बाहिर फैलिनु पर्छ र पहिलो स्थानमा मह उत्पादन सम्भव बनाउने पारिस्थितिक आधारहरूलाई बलियो बनाउनु पर्छ।

रासायनिक झारनाशक र कीटनाशकहरूमा कम निर्भरताले मौरीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न सक्छ र बृहत् पारिस्थितिक प्रणालीको स्वास्थ्यमा सुधार ल्याउन सक्छ।
रैथाने फुल फुल्ने रूखहरू, झाडीहरू र जडीबुटीहरूले मौसमभरि चरन तथा आहारका स्रोत उपलब्ध गराउन सहयोग गर्न सक्छन्। घरबार, सामुदायिक जग्गा र खेतबारीका सिमानाहरू महत्वपूर्ण परागसेचक वासस्थान बन्न सक्छन्। रासायनिक झारनाशक र कीटनाशकहरूमा कम निर्भरताले मौरीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न सक्छ र बृहत् पारिस्थितिक प्रणालीको स्वास्थ्यमा सुधार ल्याउन सक्छ।
यस अर्थमा, प्रत्येक डुँड महको स्रोत मात्र होइन, पारिस्थितिक स्वास्थ्यको एउटा सूचक पनि बन्न सक्छ।
जब परागसेचकहरूको जनसङ्ख्या फस्टाउँछ, यसले त्यसले फूलका स्रोतहरू अझै पर्याप्त रहेको, भू-दृश्यले आफ्नो विविधता कायम राखेको र समुदायले आफ्नो प्राकृतिक परिवेशसँगको सम्बन्धलाई निरन्तरता दिएको सङ्केत गर्छ। जब मौरीको जनसङ्ख्या घट्छ, तिनीहरू प्रायः गहिरो पारिस्थितिक चुनौतीहरूलाई सङ्केत गर्छन् जसलाई ध्यान दिन आवश्यक हुन्छ।
मौरीको भुनभुनाहटका संरक्षकहरू
दार्जिलिङको चिया क्षेत्रबाट निस्कने सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको संरक्षण र जीविकोपार्जनलाई प्रतिस्पर्धात्मक प्राथमिकता दिनु आवश्यक छैन भन्ने हो।
अम्बोटिया, मकैबारी र सेरोफेरोका गाउँका मौरीपालकहरूले आर्थिक अवसरलाई पारिस्थितिक संरक्षणसँग जोड्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। आम्दानी सिर्जनालाई परागसेचकको स्वस्थ जनसङ्ख्यासँग जोडेर समुदायले जैविक विविधता संरक्षण र बासस्थान पुनर्स्थापनामा प्रत्यक्ष चासो र जिम्मेवारी प्राप्त गर्छन्।
अम्बोटिया, मकैबारी र सेरोफेरोका गाउँका मौरीपालकहरूले आर्थिक अवसरलाई पारिस्थितिक संरक्षणसँग जोड्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्।
यस दृष्टिकोणको सफलता केवल मौरीमा मात्र निर्भर हुँदैन, मानिसहरू—‘संरक्षकहरू’—मा पनि निर्भर हुन्छ, जसले मौरीका समूहको अनुगमन गर्छन्, ज्ञान आदानप्रदान गर्छन्, फुल फुल्ने चक्रलाई नियाल्छन् र पुस्तौँदेखि कायम रहेका परम्पराहरूलाई निरन्तरता दिन्छन्।

उनीहरूको काम प्रायः अरूको नजरमा पर्दैन। तर फस्टाउँदै गरेको प्रत्येक मौरीको समूह, सफल प्रत्येक मह सङ्कलन र महको प्रत्येक चम्चाले धैर्य, हेरचाह र सहअस्तित्वको कथा सुनाउँछ।
पाहाडमा, मह कहिल्यै पनि उत्पादनको बारेको कुरो मात्र रहेन। यो मानिसहरू र परागसेचकहरू, वन र खेतहरू, परम्परा र नवीनता माझको सम्बन्धलाई दिगो बनाउने सम्बन्धमा हो।
एपिस सेरानाको चर्चा जारी रहँदा, यसले आशाजनक सन्देश बोकेको छ- लचिलो जीविकोपार्जन र समृद्ध पारिस्थितिक प्रणाली सँगसँगै अघि बढ्न सक्छन्, एक-एक डुँडबाट।
यी भूदृश्यहरूको भविष्य परागसेचक र तिनीहरूका संरक्षकहरू माझको यी मिठो सम्बन्धलाई जोगाउनमा निर्भर हुन सक्छ।
अभिषेक पूर्वी हिमालय क्षेत्रमा काम गर्ने समुदायमा आधारित अभ्यासकर्ता हुन्, जो पारिस्थितिकी र सामाजिक विकासमा संलग्न छन्। उनको काम सिक्किम-दार्जिलिङ हिमालयमा वन-किनारा र चिया-बगान छेउछाउका समुदायहरूसँग घनिष्ठ संलग्नतामा आधारित छ। हाल, उनी WWF-भारतको दार्जिलिङ फिल्ड कार्यालयमा परियोजना अधिकारी - समुदायको रूपमा काम गरिरहेका छन्, जुन प्राकृतिक पारिस्थितिक प्रणालीमा तत्काल मानवजन्य तनाव कम गर्ने र पुनर्जन्मशील जीविकोपार्जनलाई प्रवर्द्धन गर्ने कुरामा केन्द्रित छ। उनले इन्धनको माग घटाउने, जिम्मेवार पर्यटन, मौरीपालन र स्थानीय खाद्य प्रणालीलाई प्रवर्द्धनमा काम गरेका छन्।


Designed by NWD.