Menu
Book Review

टीका भाइको गीतिमयता(लिरिसिज्म):काँचको पोखरीमा आत्म र सङ्घर्षका गीतहरू

Review by
अविनास राई
मार्च 20, 2026

टीका भाइको काँचको पोखरी. उपमा प्रकाशन, कालिम्पोङ, पश्चिम बङ्गाल (२०२४). ISBN: ९७८९३९२०३५९०६

धेरै कमलो

फुलजस्तो आएको थिएँ,

फलामका खुट्टाहरुले,

किचिनु थिएछ- जीवन

हिराका धारमा

रेटिनु पनि थिएछ - जीवन।(७)

यी पङ्क्तिहरूले हामीलाई ‘काँचको पोखरी’ का गीति-वक्तासँग परिचित गराउँदछ- जो संसारको कठोरतामाथि गहिरो चिन्तन गर्दै विलाप गर्छन्, र यही स्मरणीय लयले यस सङ्ग्रहलाई टीका भाइका अघिल्ला कृतिहरूभन्दा फरक बनाउँछ।टीका भाइ कालिम्पोङका एक सम्मानित कवि हुन्, जो राजनीतिक प्रतिबद्धताको परम्परामा आफ्नो नेपाली कविताहरूका लागि परिचित छन्। उनको अघिल्लो सङ्ग्रह ‘पैतालातलतिर’ (मानवी प्रकाशन, फेब्रुअरी २०१२) ले उत्पीडित र शोषित गोर्खा जातिको पक्षमा आवाज उठाएको थियो। त्यो काम यहाँ पनि जारी छ, तर एउटा नयाँ मोडका साथ। यी कविताहरूले संकेत गर्छन् कि कवि अब काव्यिक हस्तक्षेपले मात्र सन्तुष्ट छैनन् र उनी अब केही बढी भावनात्मक र आत्मीय कुरातर्फ लम्किरहेका छन्: गीत।

गीतको आगमन

जोनाथन कलरको ‘थिओरी अफ द लिरिक’ (२०१५) यहाँ उपयोगी छ। आख्यान भन्दा भिन्न, जुन समयसँगै अघि बढ्ने, वा नाटक, जुन पात्र र द्वन्द्वमार्फत प्रस्तुत हुन्छ, गीतले वाक्यांश र अगाडिको गतिलाई प्रतिरोध गर्छ, बरु, यसले आफूभित्र डुब्न, यसमा फर्कन,र केवल पढिनु भन्दा पनि सुनिन आग्रह गर्दछ। यसका परिभाषित हाउभाउहरू - वर्ण लोप चिन्ह , रेफ्रेन , पुनरावृत्ति, तुक, सोझै  सम्बोधन सजावट मात्र नभएर रचनात्मक हुन्, जसको माध्यमबाट कविताले भावना उत्पन्न गराउँछ  र स्मृतिमा रहिरहन्छ। काँचको पोखरी’ यसप्रति पूर्ण रूपमा सचेत छ।स्मरणीय लय संयोग मात्र होइन तर काँचको पोखरीभरि नै निरन्तर छ।उदाहरणको लागि दोस्रो कविता “दुरी” को सुरुवातका पङ्क्तिहरूलाई लिनुहोस :

तिम्रा आँखाले नदेख्ने दुरीमा छु

तिम्रा पाइलाहरूले टेकेका धुलामा कतै। (१०)

यद्यपि अनुवादमा यो पूर्ण रूपमा आएको छैन, तिम्रा,ले, र ‘मा’ को सन्तुलित पुनरावृत्तिले एउटा यस्तो सुमधुर स्वर उत्पन्न गर्दछ जसले गीति वक्ताका रहस्यमय र अतिशयोक्ति दाबीहरूलाई आकर्षित गर्दछ। यी पङ्क्तिहरूको संरचना कविताको अन्त्यतिर पनि दोहोरिन्छ। अघिल्ला पङ्क्तिहरूबाट यथावत रहेको ढाँचालाई तल छड्के अक्षरमा राखिएको छ:

तिम्रा चेतनाहरू नपुग्ने दूरीमा छु,

तिम्रा अहङ्कारले सल्किएका फिलुङ्गाहरूमा कतै। (११)

हामी भन्न सक्छौँ कि यी ढाँचाहरूको दोहोर्‍याइले  वक्ता र उनका सम्बोधित व्यक्ति बीचको दूरीको मुख्य विषयवस्तुलाई जोड दिन्छ, जसले रेफ्रेनसँगको समानतालाई स्पष्ट पार्छ।

त्यसैगरी, यसपछिको कविता ‘परेवाहरू’, यसमा धेरैजसो पद ‘परेवाहरू छन्’ भन्ने पङ्क्तिबाट सुरु हुन्छन्। यो पुनरावृत्तिपछि परेवाहरूको विडम्बनापूर्ण अस्तित्वबारे तीखा टिप्पणीहरू गरिएका छन्; जस्तै कि तिनीहरू उड्न त उडिरहेछन्, तर लक्ष्यविहिन बनेर। अथवा, तिनीहरू कुनै अनुष्ठानमा बलि चढ्न पर्खिरहेका छन्। अथवा, तिनीहरू सबै युद्धहरूका सामु शान्तिका केवल एउटा खोक्रो प्रतीक मात्र बन्छन्। अथवा, यस भूमिमा उनीहरूको ऐतिहासिक उपस्थिति रहे  तापनि उनीहरूलाई शरणार्थी जस्तै व्यवहार गरिन्छ। अथवा, तिनीहरू आफ्नै पखेटा बिर्सिएका चराहरू जस्तै बाँचिरहेका छन्। छोटकरीमा भन्नुपर्दा, कविताले पारेवाहरूमाथि धेरै व्यङ्ग्य प्रहार गरेको छ। तीन वा चार पङ्क्तिहरू भएका आठवटा संक्षिप्त पदहरूले, यसका वक्तालाई निकै तीखो स्वरमा प्रस्तुत गर्छन्। तापनि, यसमा प्रभावशाली आवृत्तिहरू छन् जुन कानमा गुञ्जिरहने खालको छन्:

 परेवाहरू छन्

अद्भुत उडान छ,

तर लक्ष्यविहिन।

… वा

परेवाहरू छन्

मन्दिर वा देवीथानमा

कुनै भाकल राखेर चढाइने

बेला बखत हच्किने

उड्ने, फेरि जमिनमै झर्ने

परेवाहरू।(१२-१३)

अर्को कविता ‘चियाबोट’ का वक्ताले बगानका मज्दुरहरूलाई आफ्नै ठानी सम्बोधन गर्दै, र उनीहरूलाई  गाँउ खाने कथाको प्रश्न जस्तै घरि घरि सोधि रहन्छन्,”के छ यो चियाबोटमा?”। अघिल्लो कवितामा जस्तै,यो पनि एउटा रिफ्रेन द्वारा संरचित छ जसले चिया श्रमिकको चियाबोटसँगको सम्बन्धलाई आधार बनाएको छ।प्रश्नका धेरै उत्तरहरू सुझाइएका छन्, तर अन्ततः वक्ताले चिया श्रमिकहरूको चियाबोटसँग रगतको नाता छ भन्ने कुराको दाबी गरेका छन्,जुन नाताको नामाकरण हुन अझ बाँकी नै छ।चियाबोट:

रुप्पे दाजु

के छ यो चियाबोटमा ?

तर्साउछ प्रेतजस्तो

र पनि माया लाग्छ

भोकै पार्छ घरी घरी

र पनि आफ्नै लाग्छ

उखेलुङ् पनि आफ्नै मुटु,

हेरुङ् त आफ्नै अनुहार,

के छ यो चियाबोटमा ?

… कुन साइनो छ यससित,

बैदार काका! (१४-१६)

यहाँसम्म कि तुलनात्मक रूपमा चियाबोट जस्तो ‘निर्वैयक्तिक’ कविताले पनि गीति-काव्यका श्रवणीय परम्पराहरूलाई कुशलतापूर्वक उपयोग गरेको छ।यसले लय, तुक र पुनरावृत्तिबाट बनेको सामञ्जस्यसहित बोलचालको प्रथम-पुरुषीय भाषामा बोल्छ।यसले चियाबोटका पङ्क्तिहरूलाई बिर्सन नसक्ने बनाउँछ।चाहे व्यक्तिगत होस् वा निर्वैयक्तिक, ‘काँचको पोखरी’ का कविताहरूमा यस्तो साङ्गीतिक गुण छ जसले अघिल्लो सङ्ग्रहका कविताहरू भन्दा बढी गीत जस्तो बनाउँछ।पैतलातलतिरमा गिती परम्पराहरू अन्य उद्देश्यका लागि प्रयोग गरिएका छन् - त्यहाँको लय बढी घोषणात्मक छ, मानौँ त्यो कसैलाई फुसफुसाएर वा गाएर होइन, बरु मञ्चबाट कुनै सभालाई सम्बोधन गरिरहेको आवाज हो। जहाँ त्यो अघिल्लो सङ्ग्रहले जीवनका बारेमा बोल्थ्यो, ‘काँचको पोखरी’ भने जीवनभित्रबाट बोल्छ।

गीति वक्ताभित्र

काँचकोपोखरी'का गीतिवक्ता प्रायःव्यक्तिगत विषयमा केन्द्रित हुन्छन्।यसमा कविको  आत्मीय सम्बन्ध र अनुभवहरू ,सम्झनाहरू र भावनाहरूलाई, आफ्ना सम्बोधन र सन्देशहरूका निम्ति  प्रयोग गरिएको छ। उदाहरणका लागि, उनले एउटा बुबा र छोरा दुवै हुनुको अनुभवलाई यहाँ व्यक्त गरेका छन्, जुन कुरा टीका भाइको अघिल्लो सङ्ग्रहमा खासै थिएन। यो अन्तर्मुखी मोडले ‘काँचको पोखरी’लाई ‘पैतालातलतिर’भन्दा स्पष्ट रूपमा फरक बनाउँछ। पहिलेको सङ्ग्रहमा, ‘म’ले एक उत्पीडित समूहको प्रतिनिधिको रूपमा बोलेको थियो—जुन आन्तरिकता भन्दा बढी ऐक्यबद्धताको आवाज थियो, जसले दमित जनमानसका अनुभव, सपना र आक्रोशलाई व्यक्त गर्दथ्यो। काँचको पोखरीमा 'म' भन्नाले कवि आफैंलाई बुझिन्छ, जहाँ उनले आफ्ना दैनिक भोगाइ र भावनाहरू लेखेका छन्। उदाहरणका निम्ति कविता मेरी ‘सानु’-  सित:

 सानु!

तिमीलाई बजारका केही झुठा कथाहरू दिन्नँ

बरु म तिमीलाई बजारमाझ उभ्नालाई

मेरो आँखापछिल्तिर दबिएका स्वाभिमानी मौनता दिन्छु,

तिमीले मेरो औला पक्रिनू

अनि खोज्नू

आफ्नै आँखाले हेर्नू

गति नमिलेको मान्छेको कथा

सुर नमिलेको मान्छेको कथा(२२)

यहाँ बाबुले आफ्नी छोरीलाई सम्बोधन गरेका छन्। यो बुबाले बजारबाट उसको लागि कथाहरू ल्याउन बारम्बार असफल भएको कुरा स्वीकार गरेर सुरु हुन्छ। त्यसपछि उनी आफु किन असफल भए भन्ने कुरा स्पष्ट गर्न अघि बढ्छन्। उनले वर्णन गर्छन् कि बजारमा जादूको कमी छ र अन्त्यमा निष्कर्ष निकाल्छन् कि उनीहरूसँग सुखद अन्त्य हुने चमत्कारिक कथाहरू पनि छैनन्। उनकी छोरीलाई त्यस्ता कथाहरू मन पर्थे, जहाँ राजकुमारहरूले दुष्टसँग लडेर जित्थे, जहाँ सफलता, कृपा र खुशी उसका लागि र अरू सबैका लागि सम्भव हुन्थ्यो। एक पलका लागि, यो कविता पढ्दा यस्तो लाग्छ मानौँ उपहार ल्याउन बिर्सिएका कुनै अभिभावकले आफ्नो बच्चालाई सम्झाउनका लागि बहाना बनाइरहेका छन्।

हामी माथि उल्लेखित पङ्क्तिहरूमा पुग्दासम्म, उनले आफ्नी छोरीलाई झूटा कथाहरू नदिनु नै किन राम्रो थियो भन्ने कुरा तर्कसङ्गत रूपमा बुझाउन थाल्छन्।वास्तवमा, बजारको शक्तिले छोरीको वा अरू कसैको जीवन सधैंका लागि राम्रो बनाइदिन्छ भन्ने खालको झूटा आशा, उनी कहिल्यै दिन चाहँदैनन्। बरु, उनी चाहन्छन् कि छोरीले आफ्नै आँखाले बजारलाई हेर्ने र बुझ्ने क्षमता र अवसर पाओस्। बजारको शक्ति उसका सपनाहरूका लागि कसरी हानिकारक छ भन्ने कुरा, उसले आफैंले महसुस गरोस् भन्ने उनको चाहना छ। यस स्मरणयोग्य कवितामार्फत, टीका भाइले हामीलाई आफ्ना चिन्ता, आशा र इच्छाहरूले भरिएको भित्री संसारमा स्वागत गराउँछन्।

माटो र पापाको अनुहार पनि त्यत्तिकै व्यक्तिगत र हृदयस्पर्शी कविता हो। यहाँ गीति वक्ताले आफूले सम्हाल्ने माटो, टेक्ने जमिन वा आफू बस्ने धर्तीलाई हेर्दा हरेक पल आफ्ना स्वर्गीय बाबुलाई सम्झन्छन्। वास्तवमा, छोराका लागि आफ्ना बाबुलाई सम्झना नगर्नु असम्भव छ, जससँग एक वयस्क पुरुषका रूपमा उनले धेरै समानताहरू भेट्टाउँछन्; किनभने उनीहरूका बीचमा माटो र मौनताको सर्वव्यापी उपस्थिति रहेको छ।कवितामा, छोराले आफ्ना बाबुका सबल र दुर्बल पक्षहरूलाई निकै कोमलताका साथ प्रस्तुत गरेका छन्, उस्तै गुणहरू भएकाले उनी बाबुसँग आफूलाई जोड्छन्, विशेषगरी सामाजिक अपेक्षाहरू पूरा गर्न नसकेको असफलताका कारण।यस्तो लाग्छ मानौँ माटो र पापाको अनुहारको छोराले मेरी ‘सानु’- सितको असफल बाबुलाई क्षमा गर्न चाहन्छ। दुवै कविताले आमाबाबु र छोराछोरीबीच उमेर, समय र सम्बन्धले ल्याएको  भिन्नतालाई सहर्ष स्वीकार गरेको छ। यसका केही महत्वपूर्ण पङ्क्तिहरू यस प्रकार छन्:

माटोलाई स्पर्श गर्छु,

म पापालाई भेट्छु।

दरखास्त लेखिरहेको उही अनुहार भेट्छु।

केही नबोली बोलिरहने त्यो अनुहार

केही नभनी भनिरहने थियो त्यो।

… हामीमाझ थिए केही मौन संवादहरु,

र संवादको मौन अन्त्य,

… तर हामीमाझ माटोकै सिमाना छ

बिर्कोजस्तै

सधैँका लागि बन्द,

… जतिचोटी पनि हेर्छु माटो

म पापाकै अनुहार देख्छु! (४१-४३)

यहाँ, माथिका दुवै कविताहरूमा संगीत अभिन्न अङ्गको रूपमा रहेको छ। वास्तवमा, गीति परम्पराहरू, जस्तै प्रथम पुरुष वक्ता, वर्ण लोप चिन्ह, आत्मीय स्वर, बोलचालको प्रवाह, तुकबन्दी, पुनरावृत्ति र आन्तरिक अनुभूतिको विषयवस्तु न त सजावटी हो न त केवल भावुकता नै हो।

उदाहरणका लागि,उनले मेरो ‘सानु’ -सित (सुर नमिलेको मान्छेको कथा)मा प्रयोग गरेको सङ्गीतात्मक रूपक छ ।यो पङ्क्तिले टीका भाइको कविता र समग्रमा मानव जीवनमा सङ्गीत कति महत्त्वपूर्ण छ भन्ने कुरा देखाउँछ। यहाँ सुरले ध्वनिको तत्व र सुन्ने अभ्यासको महत्त्वलाई जोड दिन्छ।आखिर, कविता र सङ्गीत दुवैलाई सिर्जना गर्न र ग्रहण गर्नका लागि राम्रो सुन्ने क्षमता आवश्यक हुन्छ। यसबाहेक,सुन्नु हाम्रो अस्तित्वको एक आधारभूत अनुभव पनि हो।त्यसैले गितिमयता केवल काव्यात्मक विधा मात्र होइन, तर कविको निजी र सार्वजनिक जीवन दुवैसँग संलग्न हुने दर्शन पनि हो।काँचको पोखरीका गीति वक्ताका विभिन्न भाषिक शैलीहरूसँग हामीलाई परिचित गराउँदै, टीका भाइले हामीलाई आफूलाई अभिव्यक्त गर्न प्रयोग गर्ने भाषाबारे सोच्न बाध्य बनाउँछन्। के तिनीहरू केवल तिम्रो लागि मात्र बोलेका हुन्?

यो भित्री मोडले भाइको कवितालाई परिभाषित गर्ने सामाजिक–राजनीतिक टिप्पणीलाई त्याग्दैन।बरु, उनी सामूहिकताको विश्लेषकबाट विश्लेषणको विषयतर्फ सर्छन्—र आफूलाई अभिव्यक्त गर्ने क्रममा, दुवै भूमिका सम्हाल्दै, व्यक्तिगत अनुभवलाई निरन्तर, तर अहिले अझ घनिष्ठ बनेको राजनीतिक समालोचनाको दृष्टिकोण बनाउँछन्। सानुको बाबुले बजारको वैचारिक प्रभुत्वको प्रतिरोध आफ्नी छोरीलाई आदेश दिएर वा मनाएर होइन,तर संघर्षको सहयात्रीका रूपमा उनलाई ‘गरिमामय मौनता’को हतियार प्रदान गरेर गर्छन्।

गीतकारको बाजी

केही भनिराखेर जान आएको छु का गीति वक्ताले काँचको पोखरीमा टीका भाइको काव्यिक महत्त्वाकांक्षालाई प्रस्ट्याउँछन्। उनको उद्देश्य निशब्द शान्त धुनहरूलाई शब्दहरूको चित्रमा रूपान्तरण गर्नु हो। यो ती शान्त धुनहरूलाई स्मृतिमा जीवित राख्ने एउटा इच्छा पनि हो। यसले देखाउँछ कि काँचको पोखरीको परियोजनामा सङ्गीत कसरी एकभन्दा धेरै अर्थमा महत्त्वपूर्ण छ। किनभने सङ्गीत नै स्मृतिकरणको विषय (आन्तरिक्ता), माध्यम (बोलाई) र स्वरूप (गीत) हो। जब टीका भाइ सडक र आकाशसँग कुरा गर्छन्, उनी बोल्न नसक्नेहरूलाई जीवन्त बनाउँछन् ताकि तिनीहरूलाई आवाज दिन सकियोस् जो अब बोल्न सक्दैनन्। यी कविताहरू आफ्ना  मानिसहरूका जिब्रोमा बसिरहोस् भन्ने चाहन्छन्— मौखिक रूपमा फैलियोस्,लोक-स्मृतिमा त्यसरी नै जीवित रहोस्, जसरी गीतहरू आफ्ना गायकहरूभन्दा धेरै पछिसम्म बाँचिरहन्छन्। फलस्वरूप, यो चित्र चित्रकलामा होइन, बरु गीतको माध्यमबाट सुनिन्छ।टीका भाइको काव्यिक महत्त्वाकांक्षाको यो घोषणाले सबै पाठकलाई चासो दिन नसक्ला, तर उनका शब्दहरूको माधुर्यले उनीहरूलाई अछुतो भने पक्कै छोड्ने छैन। उनी लेख्छन्:

 चुपचाप चुपचाप गएकाहरुका

चुपचाप चुपचाप भएकाहरुका

मुटुका धुनहरू उनेर

पाइलाका टिपेर

चित्र कोरी राख्नेछु

बाटाहरूलाई केही भनिराख्नेछु(४६-४७)

कविता बाढले माथि कविद्वारा गरिएका सबै प्रतिज्ञाहरूलाई क्रियाशील रूपमा समेटेको छ।यसको वक्ताले बाढी पीडितका भन्न नसकिने कष्टहरू सुन्छन् र तिनलाई एउटा स्मरणीय बहाव र बहुमूल्य सन्देशसहितको कवितामा रूपान्तरण गर्छन्। माथि उल्लिखित कविताका सिद्धान्तहरूलाई यसले कसरी पालन गर्छ भन्ने कुरा प्रष्ट पार्न म यसका सुरुका केही पङ्क्तिहरू मात्र यहाँ उद्धृत गर्नेछु:

वाक्यहरू भत्किँदै

शब्दहरू चुँडिँदै

अक्षरहरू डुब्दै आएर

आँगनका सम्झनाहरू पनि लिएर गए। (27)

वाक्य, शब्द र अक्षरहरू एकैसाथ बाढीका वास्तविक हानी हुन् र बाँचेकाहरूबीचको बोली, भाषा र सञ्चारको विखण्डनका प्रतीक पनि हुन्।आघातपूर्ण अनुभवले सामान्य भाषालाई प्रतिरोध गर्छ—यो कथाको रूपमा फर्कँदैन, बरु टुक्रिएर, खण्डित, मौन रूपमा फर्कन्छ। भाइको बाढ  कविताले खासगरी यही कुरालाई प्रस्तुत गर्छ: यहाँ भाषाले बाढको वर्णन मात्र गर्दैन, बरु यो बाढसँगै आफैँ पनि विखण्डित हुन्छ।बाढले मेटाएका कुराहरूलाई स्मरण गर्दै, कविले जीवित रहेकाहरूको ती कुराहरूलाई पुन: प्राप्त गर्ने  सङ्घर्षमा साथ दिन्छन्।

टीका भाईलाई थाहा छ कि सङ्गीतमार्फत कविता अझ धेरै स्मरणीय बन्छ।उनले सङ्गीतको शक्तिमाथि भरोसा गर्दै आफ्ना मौन विषयहरूका अनुभवहरूलाई हाम्रा स्मृतिहरूमा अंकित गर्ने प्रयास गरेका छन्।यी मौन विषयहरूमा बाढ पीडित देखि लिएर बगानका श्रमिकहरू, कहिलेकाहीँ कवि स्वयम् पनि पर्छन्, जसका आफ्नै असफलता, शोक र मौनताहरू काँचको पोखरीको स्मृति परियोजनाका समान हिस्सा हुन्। हाम्रा स्मृतिमा स्थान ओगटेर, उनका गीति कविताहरूले व्यक्तिगत र सार्वजनिक जीवनका विभिन्न विषयबारे हाम्रो सामान्य अनुभूति, विशेष गरी हाम्रो क्षेत्रमा, र भारत तथा संसारमा हाम्रो महसुस गर्ने ढाँचालाई परिवर्तन गर्न चाहन्छन्।हाम्रा भावनाहरूमार्फत, काँचको पोखरी’का कविताहरूले हामीमाथि बिस्तारै प्रभाव पार्छन्, जसरी केवल गीतहरूले मात्र गर्न सक्छन्। गीति कविताको यो सबैभन्दा पुरानो बाजी  हो— कसैलाई भावनात्मक रूपमा प्रभावित गर्नु भनेको उनलाई नैतिक रूपमा पनि प्रभावित गर्नु हो, र जुन कविता स्मृतिमा रहिरहन्छ त्यसले त्यसलाई बोक्ने अन्तस्करणलाई पनि चुपचाप नयाँ आकार दिन्छ।

सन्दर्भ सूची

भाइ, टीका.पैतालातलतिर.पहिलो संस्करण

भाइ, टीका. काँचको पोखरी. पहिलो संस्करण., उपमा प्रकाशन,२०२४ ।

कलर, जोनाथन डि.थियोरी अफ द लिरिक. हार्वर्ड विश्वविद्यालय प्रेस, २०१५।

समीक्षकको बारेमा

अविनाश राई सांस्कृतिक अध्ययनका अनुसन्धानकर्ता हुन्। उनलाई चलचित्र र श्रृंखलाहरू हेर्न, गीत र पोडकास्ट सुन्न, साइकल चलाउन, पौडी खेल्न र बास्केटबल खेल्न मनपर्छ।

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram