द बोस्टफुल सेन्टिपिड एन्ड अदर क्रिएचर्स। जाई ह्वाइटेकर। पफिन बुक्स। पेन्गुइन बुक्स इन्डिया। (२००६) । ISBN: ९७८०१४३३३५३४४।
डान्सिङ फ्र्ग्स एन्ड अदर क्रिएचर्स इन भर्स। जाइ ह्वाइटेकर। टकिङ कब, स्पिकिङ टाइगर बुक्स (२०२५) । ISBN: ९७८९३६३३६९९३१
जाई ह्वाइटेकरका यी दुई सुन्दर कविता सङ्ग्रहहरूले साना जीवहरू जसलाई हामी वेवास्था गर्छौँ वा डराउँछौँ, तिनकै संसारबाट कविताहरूको न्यानो र विचित्र सङ्ग्रह प्रस्तुत गर्दछन् । यिनीहरूले पशु-प्राणी अनि तिनका स्वभावबारे पढ्न मजा मान्ने नानीहरू (८+) अनि किसोरहरूका लागि पद्यमा रमाइलो पठन सामग्री निर्मित गरेको छ। द बोस्टफुल सेन्टिपिड एन्ड अदर क्रिएचर्सइन भर्स पहिलो पटक २००६ मा पेन्गुइन बुक्स, भारतद्वारा प्रकाशित भएको थियो।त्यसपछि द डान्सिङ फ्रग एन्ड अदर क्रिएचर्स इन भर्स आयो, जुन २०२५ मा स्पिकिङ टाइगरद्वारा प्रकाशित संशोधित र विस्तारित संस्करण हो। यस नयाँ संस्करणमा दसवटा थप कविताहरू छन्, जसमा डान्सिङ फ्रग जस्ता जीवहरू समेटिएका छन्, जसले आफ्ना पोथीहरूलाई आकर्षित गर्ने एउटा राम्रो तरिका पत्ता लगाउँछन्, जलवायु परिवर्तनको सङ्कटको बीचमा भमराहरूको दुर्दशा, आफ्नो रूप बद्लिने चालसित अर्ब माकुरो र हाम्रा निन्दा–घृणा बाहेक सबै कुराको योग्य बिटलहरू, र सूचीमा अझ धेरै पर्दछन्।
जब मैले पहिलोचोटी "द बोस्टफुल सेन्टिपिड एन्ड अदर क्रिएचर्स इन भर्स" पढेँ , साना जीवहरूको बानी र विचित्र व्यक्तित्व रहेको प्रत्येक प्रविष्टिमा हास्यको प्रयोगले मलाई आकर्षित बनायो। यसले मलाई कुनै रूपमा ओग्डेन न्यासका पशु कविताहरूको सम्झना गरायो। विशेष गरी, न्यासको 'द सेन्टिपिड' ह्वाइटेकरको 'द बोस्टफुल सेन्टिपिड' विषयप्रति उनीहरूको चञ्चल र हास्यपूर्ण दृष्टिकोणले गर्दा धेरै मिल्दोजुल्दो छ। यी दुवै कविताहरूमा, सेन्टिपिडहरू मानिसहरूसँग झगडा गर्छन्, जबकि न्यासले हप्काउँछन्, र ह्वाइटेकरले खुलासा गर्छन्।
खजुरो
म सेन्टिपिडलाई बेवास्ता गर्छु,हामीलाई वास्तवमै नचाहिने किरो।निद्राको समयमा ऊ आफ्नो बाटो लाग्छ,सिधै शयनकक्ष वा बाथरूममा।तिमी सधैँ ऊ जहाँ हुँदैन, त्यहीँ प्रहार गर्छौ,
अनि यदि ऊ त्यहाँ छ भने पनि, उसले मात्र दाग छोड्छ।
ओग्डेन न्यास: १९३१
घमण्डी खजुरो……………………….
“अहो! रिसाउँदै सयखुट्टे बोल्यो,
मान्छेको टाउकोमा बुद्धि छैन कि के हो?
कसैले कहिल्यै सुनेको छ र सयखुट्टे लडेको?
साठी खुट्टा हुँदा डर केको, बाधा केको?
यो त मेरो आफ्नै रेल हो — ‘सेन्टी एक्सप्रेस’,
यात्रा गर्दा मलाई कहिल्यै हुँदैन तनाउ।
साठीवटा बलिया घुँडा पनि छन् मेरा,
घुँडाको ढकनीसहित — के जान्दछौ यी कुरा! ……………………………………………
जाइ ह्वाइटेकर: २००६
यद्यपि, दुवै विनोदपूर्ण भए तापनि स्वरमा धेरै फरक छ। ह्वाइटेकरको अडान मनोरञ्जनात्मक र हल्का सावधानीपूर्ण छ, जबकि न्यासको दिग्दारी भरिएको र खारेज गर्ने प्रकारको छ , जुन उनको शैलीको विशिष्टता हो। थप रूपमा, दुबै कविताहरूमा अनियमित मिटरहरूले कुनै न कुनै रूपमा विषयको मुखर र अप्रत्याशित प्रकृतिलाई प्रतिबिम्बित गर्दछ। दुवैलाई आकर्षक बनाउने कुरा भनेको लयबद्ध योजना र लयको प्रयोग हो, जसले हास्य प्रभावलाई बढाउँछ। यस समीक्षाधीन सङ्ग्रहहरूभरि यो विनोदपूर्ण संयोजन निरन्तर रूपमा देखिन्छ, जसले छन्दमा लय र हास्य मिसाएर प्रयोग गर्ने ह्वाइटेकरको कुशलतालाई उजागर गर्दछ।
बाल कविताको रूपमा, सङ्ग्रहहरूको शक्ति लय र संरचना मार्फत संवेदी अनुभव प्रदान गर्नुमा निहित छ। यी तत्त्वहरूले तिनीहरूलाई युवा पाठकहरूको हृदयमा सिधै बोल्ने अनुमति दिन्छन्, जस्तो तिनीहरूले मभित्र प्रभाव पारे। कविताहरूमा स्थिर लयबद्ध धड्कन र संरचना छ, प्रायः एबिसिबी वा एएबिबी राइम योजनाहरू जस्ता सरल मिटरको साथ चार-लाइनका पङ्कतिहरू समावेश गर्दछ। यसबाहेक, दुई उदाहरणहरूमा देखाइए अनुरूपको अनगिन्ती दृश्य चित्रणको साथ ध्वनिको प्रत्याशाले बालबालिकाको कल्पनाशक्तिलाई विस्तार गर्दछ।
अहिले देखिन्छ, अहिले हराउँछ,
एक्कासि ऊ छैन जस्तो लाग्छ।
उसले त हराउने खेल देखायो,
हावामै बिलाएर गयो जस्तो लाग्छ।अहो! ऊ त रहेछ जादुगर साहसी,
जो आउँछ–जान्छ,कति रमाइलो चाल यो।
छिटो–छिटो भेष बदलेर
देखिँदैन ऊ फेरि, हेर न कमाल यो।
……………….
गिरगिटको जादु
लुटेरा गङ्गटो थालजत्रै ठुलो,
भारी भएकाले, हिँड्नै उसलाई गाह्रो।
हिँड्दा आवाज आउने खट–खटा–खट,
बाङ्गोटिङ्गो बाटो बनाउँदै गयो फटाफट।अब त चढ्दैछ नरिवलको रूख,
लुटेरा गङ्गटो आफ्नो लगनमा मग्न।
देब्रे–दाहिने लडखडाउँदै हिँड्छ,
देखेको छ सानो गङ्गटो यसले चिया पिउन।
....................
लुटेरा गँगटो र नरिवल
यी कविताहरूले बाल कविताप्रतिको संज्ञानात्मक दृष्टिकोणलाई सुन्दर ढङ्गले समेटेका छन्, जुन आलोचक करेन कोट्स (२०१३) ले उल्लेख गरेका छन् । उनी भन्छिन्, बाल कविता भनेको के हो भन्दा पनि यसले के गर्छ र यसले तपाईंलाई कस्तो महसुस गराउँछ भन्ने हो। उनको अनुसार, यसले इन्द्रियहरूमा जरा गाडेको लय, चाल र कल्पना मार्फत भाषामा शरीरलाई जीवित राख्छ। र यसो गर्दा, यसले भावनात्मक सम्बन्धलाई समर्थन गर्दछ र बालबालिका र बाल कवितासँग संलग्न हुने अन्यहरूमा सहानुभूतिलाई पोषण गर्दछ।
व्यक्तिगत अनुभवबाट भन्नुपर्दा, म प्रकृतिको काखमै हुर्किएको भए पनि डरलाग्दा–घस्रिने जीवहरू—सभ्य भाषामा भनौँ भने ‘सानातिना जीवहरू’-ले मलाई अझै पनि असहज बनाउँछन्। ननिम्त्याई पस्ने माकुरा, ह्यामरहेड जुका, विभिन्न किराहरू र लाब्रेहरू मेरा कोठामा पस्दा, मेरो प्रतिक्रिया प्रायः डर वा घिनमध्ये एउटा हुन्छ। यो व्यवहार सायद उनीहरूप्रति अन्यायपूर्ण नै हो, किनकि अन्ततः हामीले नै उनीहरूको घर खोसेका छौँ र आफ्नो उपस्थितिले उनीहरूको जीवन जटिल बनाएका छौँ। जसरी ह्विटेकर लेख्छन् -“यो अन्याय हो। हामी वरिपरिका साना जनावरबारे प्रायः कहिल्यै सोच्दैनौँ।” ठुला र साना दुवै प्रकारका प्रकृति र वन्यजीवनसँग पाठकलाई नजिक ल्याएर यी काव्य–सङ्ग्रहहरू सबैभन्दा प्रभावकारी बन्छन्। असहजताकै बिच पनि सानातिना जीवहरूप्रति अलिक बढी कदर गर्न सुरु गर्न यी कविताहरूले सौम्य धक्का दिन्छन्। वास्तवमा, सिन्के किरा (सिन्का जस्तो देखिने किरा) बारे पढेपछि, मृत्युसँग जोडेर हेर्ने मेरो बाल्यकालीन अन्धविश्वासमाथि नै प्रश्न उठ्न थाल्यो।
कास, म पनि यो कलासिक्न पाउँथेँ—
साधारण सिन्काझैँ देखिन सक्ने,
हेर्न मन नपरेका मानिसहरूबाट
सजिलै उम्किन सक्ने!
अब भने म ती जीवहरूको चतुर चालबाजी बुझ्न थालेको छु—जसले कसैलाई हानि गर्दैन र केवल नदेखिनु वा आँकलन नगरिनु मात्र चाहन्छ। अब कसैले सोच्न सक्छ-यति सानो विषयमा आएको यस्तो सामान्य परिवर्तन किन उल्लेखनीय भयो? तर यसले हामी कति सजिलै यस्ता जीवहरूको अस्तित्वलाई बेवास्ता गर्छौँ र उनीहरूप्रतिको असहजता तथा अन्धविश्वास कति गहिरो गरी गाडिएको छ भन्ने उजागर गर्छ। उनीहरू सधैँ हाम्रो सौन्दर्य, सहजता वा उपयोगिताको मापदण्डमा मेल नखान सक्छन्, तर उनीहरूले बोकेको पारिस्थितिक मूल्यलाई हामी नजरअन्दाज गर्न सक्दैनौँ। यही नै यी सङ्ग्रहहरूको एउटा ठुलो आकर्षण हो-मानवेतर जीवहरूप्रति करुणा विकास गर्न बाल-मनमा स्थान सिर्जना गर्नु।
यसका अतिरिक्त, यी सङ्ग्रहहरू पछाडिको उद्देश्य इमानदार र सच्चा देखिन्छ। जाइ एकजना प्रख्यात प्रकृतिविद् हुन्, जसलाई ठुला–साना सबै प्रकारका जनावरमा गहिरो रुचि छ-विशेषतः ती, जसलाई हामी प्रायः बेवास्ता गर्छौँ वा गलत रूपमा बुझ्छौँ। पहिलो संस्करणमा उनी लेख्छन्यी-जीवहरूले असाध्यै रोचक काम गर्छन्र यही कारणले यी पुस्तकहरू जन्मिए। बिच्छी, भालेमुङ्ग्रो, पाहा, हर्मिट गङ्गटोजस्ता उनका साना साथीहरूको गोप्य जीवन पाठकसँग बाँड्ने उनको प्रतिबद्धता यहाँ स्पष्ट देखिन्छ-मानौँ हामीले बिर्सिसकेका उनीहरूको योगदान पुनः सम्झाउनलाई हो। यसरी यी सङ्ग्रहहरूको विषयगत अभिप्राय पूर्ण रूपमा इको-क्रिटिकल छ, किनकि यसले पारिस्थितिक यथार्थलाई मानव–केन्द्रित दृष्टिकोणबाट अलग राख्छ। यसले प्रकृतिका जीवहरूको जटिल, विचित्र, सुन्दर र संवेदनशील जीवनलाई प्रभावकारी रूपमा अग्रभूमिमा ल्याउँछ।
बालसाहित्यका रूपमा हेर्दा, सूक्ष्म दृष्टि भएका पाठकले सजिलै बुझ्न सक्छन्यी- कविताहरूले बालबालिका र प्राकृतिक संसारबिचको सहज र भावनात्मक सम्बन्धलाई पुनःस्थापित गर्छन्। यो यु (२०२१)- को क्रिएचर्लीनेस सम्बन्धी अवधारणासँग मेल खान्छ-जसले बालसाहित्यमा बालबालिका र जनावरहरूलाई साझा असुरक्षा र शारीरिकतामार्फत बाँध्ने पश्च-मानवीय नैतिकताको चर्चा गर्छ।
जाइको कविताले प्रकृतिमा विद्यमान लचिलो अन्तरसम्बन्धलाई उजागर गर्दै क्रिएचर्लीनेस - को अवधारणालाई आफ्नै ढङ्गले प्रस्तुत गर्छ र बालपाठकलाई अर्थ-निर्माणको प्रक्रियामा सहभागी हुन आमन्त्रण गर्छ।
मलाई अत्यन्त प्रभाव पार्ने अर्को पक्ष भनेको यी सङ्ग्रहहरूको विचारपूर्वक गरिएको संरचना हो, जसले पाठकको कल्पनाशक्ति र संलग्नताको क्षमतालाई ध्यानमा राख्दै शिक्षा शास्त्रीय ‘टेको’-लाई अनुसरण गरेको छ। ह्विटेकर हरेक कवितापछि अर्को जीवतर्फ लैजानुअघि पाठकलाई मार्गदर्शन गर्दै सानो टिप्पणीका लागि रोकिन्छिन्, अन्त्यमा सौम्य पद्यका साथ समापन गर्छन्। यसले साना जीवहरू मात्र होइन, पाठकप्रति पनि सचेत शिक्षकको दृष्टिकोण झल्काउँछ।
यससँगै कालो, खैरो र सेताका छायामा सीमित न्यूनतम चित्रणले शान्त, एकरङ्गी सौन्दर्य सिर्जना गरेको छ। पहिलो सङ्ग्रहमा साना भिग्नेट-शैलीका एक-दुई चित्र मात्र छन्, जो मुख्यतः सन्दर्भ बिन्दुका रूपमा काम गर्छ। नयाँ संस्करणमा भने गति, क्रिया र भावना थपिएको छ-कतिपय ठाउँमा चित्र आफै कथा बनेझैँ लाग्छ। उदाहरणका लागि-घाममुनि रुँदै गरेका भमरा, समुद्री एनेमोनीको मुखमा पर्नदेखि बाँच्न सिकारीलाई छल्न चाँडो फन्को मार्ने क्लाउनफिस, वा थाकेको मालिकको पछि-पछि दौडिँदै रङ्गब्रस बोकेर भाग्ने चञ्चले न्याउरी। यी दृश्यात्मक तत्त्वहरूले कथन प्रक्रियामा संलग्नता बढाउँदै र अर्थ-निर्माण सहज बनाउँदै सहकार्य गर्छ, जुन बालसाहित्यका लागि अत्यावश्यक हो। तर बालकवितामा अत्यधिक चित्रण कहिलेकाहीँ निष्क्रिय सहभागितातर्फ लैजान सक्छ। त्यसैले सन्तुलन आवश्यक हुन्छ र त्यो सन्तुलन यी दुवै सङ्ग्रहमा कविता र चित्रबिचको सुन्दर सामञ्जस्यमा देखिन्छ।
अन्त्यमा भन्नुपर्दा, जाइको कविता सतहमा देखिएजति मात्र होइन। चाहे बुद्धि र आकर्षणसहितको छन्द प्रयोग होस्, उद्देश्य होस् वा शैक्षिक दृष्टिकोण-यी सबैले लय र जिज्ञासामार्फत बालबालिका र पाठकलाई प्रकृतिसँग आत्मीय हुन स्वाभाविक रूपमा आमन्त्रण गर्छन्। साना बालबालिकामा पारिस्थितिक चेतना विकास गर्न यो एक अत्यन्त आवश्यक साधन हो भन्ने मेरो विश्वास छ।
सन्दर्भहरू
कोट्स, के. (२०१३).The meaning of children's poetry: A cognitive approach. International Research in Children's Literature, 6(2), 127-142.यु. सी. (२०२१). The necessity of an anthropomorphic approach to children’s literature. Children's Literature in Education, 52(2), 183-199.
कुर्सोङ्कित लेप्चा सिक्किमकी शिक्षिका र शोधकर्ता हुन्। उनी हाल सिक्किम प्रोजेक्ट मा सम्पादकीय तथा अनुसन्धान सहयोगको भूमिका निर्वाह गर्दै डिजिआरआरआरएफएफ-का विभिन्न गतिविधिहरू समन्वय गर्छिन्। उनले कलकत्ता विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक, अम्बेडकर विश्वविद्यालय प्रारम्भिक बालशिक्षा, र क्याम्ब्रिज विश्वविद्यालयबाट बालसाहित्यमा एम.फिल. उपाधि प्राप्त गरेकी छिन्। समय मिलेमा उनी पढ्न, लेख्न र सपनामा हराउन मन पराउँछिन्।


Designed by NWD.